नेपाली बालबालिकाहरुलाई आध्यात्मिक ज्ञान दिन अमेरिकाको  ड्यालसको युलेशमा समर क्याम्प

नेपाली बालबालिकाहरुलाई आध्यात्मिक ज्ञान दिन अमेरिकाको  ड्यालसको युलेशमा समर क्याम्प

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०१, २०८१

नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशाला तथा नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा आयोजना गरिएको एक साता लामो साँस्कृतिक तथा अध्यात्मिक शिबिर सोमबारबाट युलेशमा शुरु भएको छ । अमेरिकामा जन्मेका र हुर्केका नेपाली समुदायका बालबालिकाहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त शिविरमा टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका ३ सय बालबालिकाहरुले साँस्कृतिक तथा अध्यात्मिक विषयमा जानकारी प्राप्त गर्ने छन । 

यहाँको परिवेशका कारण अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरूमा नेपाली भाषा, सँस्कृति प्रति निकटता देखिएन । नेपाली बालबालिकाहरुलाई साँस्कृतिक तथा अध्यात्मिक ज्ञान दिन एक साता लामो साँस्कृतिक तथा अध्यात्मिक शिबिरको आयोजना गरिएको नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले बताउनु भयो । 

साँस्कृतिक तथा आध्यात्मिक शिविरमा अध्यात्मिक जागरण, प्रेरक कथाहरु, योग, ध्यान, मित्रता, आत्मविश्वास निर्माण, नेपालको परम्परागत चित्रकला, नेपाली नाटक र नृत्य र वित्तीय साक्षरता सम्बन्धि ज्ञान दिने कार्यक्रम रहेको छ । 

डा. बलायरका अनुसार सहभागीहरुको अत्यधिक चाप र व्यवस्थापनमा सहज होस भनेर जुनियर बालबालिकाका लागि जुलाई १५ देखि २१ सम्म र सिनियरका लागि जुलाई २२ देखि २८ सम्म कक्षा हुनेछन् । शिबिरमा डा. चिन्तामणि योगी मुख्य बक्ता९प्रशिक्षक० र बिषय अनुसार अन्य सहायक प्रशिक्षक प्रशिक्षकले सहजिकरण गर्नु हुने ग्लोबल नेपाली पाठशालाले जनाएको छ ।

नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशको सभाकक्षमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, युलेश सिटीका उप मेयर टीका पौडेल, नेपाली समाज टेक्सासका बरिष्ठ, उपाध्यक्ष जनक भण्डारी, ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा। भोजबहादुर बलायर, नेपाली मन्दिरका पुजारी मेघनाथ निरौलाले नेपाली साँस्कृतिक तथा अध्यात्मिक शिबिरको महत्वको बारेमा बोल्नु भएको थियो । 
गर्मी मौसमको स्कुल छुट्टीको समयमा नेपाली समाज टेक्ससले सन २००७ देखि स्कुल जाने उमेरका बालबालिकाहरुलाई हिन्दु धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षाका बारेमा जानकारी दिन समर क्याम्प आयोजना गर्दै आएको छ ।

नेपाली समाज टेक्सासले अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई नेपाल प्रति निकटता बढाउन बिभिन्न जानकारीमूलक, शिक्षामूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।