रुषा थापा | दृष्टिकोण | साउन ०४, २०८१
केही वर्षअघि सुनसरीको इटहरीमा एनआईसी एसिया बैङ्कले ऋणीको घरमै गार्ड राख्यो । त्यसअघि झापाको दमकमा पनि किस्ता तिर्न दबाब दिँदै उक्त बैङ्कले ऋणीको घरमै सुरक्षाकर्मी खटाएको थियो । यति मात्र होइन ऋणीलाई नजरबन्दमा नै राख्यो बैङ्कले । बैङ्कको यस्तो कार्यको चौतर्फी विरोध भयो ।
चारैतिरबाट आलोचना हुन थालेपछि नेपाल राष्ट्र बैङ्कले एनआईसी एसिया बैङ्कलाई यस्तो कार्य नगर्न सचेत समेत गराउनु परेको थियो । अहिले बजारमा बैङ्कको आतङ्क बढ्दै गएको छ । विभिन्न बैङ्कले ऋणीको घरमा गुन्डा पठाउनुका साथै ऋणीका बालबच्चालाई धम्क्याउने, थर्काउने गरेको पाइएको छ ।
‘तेरो बाउले बैङ्कको ऋण खाको छ’ भन्दै बैङ्कका गुन्डाहरूले ऋणीका छोरा छोरीको स्कुलमै गएर भन्ने गरेको बताइन्छ । बैङ्कले ऋणीको घरमा सूचना टाँस्नुका साथै सार्वजनिक स्थलमा समेत ऋणीको फोटोसहित सूचना टाँसेको पाइन्छ । हामी जनताले पनि बुझेनौँ कि 'ऋण भनेको घिन' हो र बैङ्क भनेको लुट, ठग हो ।
करोड मूल्य पर्ने धितो राखेर २० लाख रुपैयाँ कर्जा लिए । बैङ्कले कर्जा दिने बेला एक प्रतिशत सेवा शुल्क भने पनि लिने बेला तीन प्रतिशतसम्म लियो । तीन लाख रुपैयाँ घुस खायो । कर्जाको १२ प्रतिशत ब्याज भनेर ७५ प्रतिशत असुल्यो । ऋणीले बैङ्कले २० लाख त ऋण लियो । तर, मालपोतमा राजस्व तिर्दा, लेखनदास लगायतलाई दिँदा १५ लाख मात्र हातमा पर्यो ।
अनि ऋणीले तीन किस्ता तिर्न नसक्ने बित्तिकै बैङ्कले करोड मूल्य पर्ने धितो १५ लाखमै पचाइदियो । बैङ्कले लाखौँ मान्छेलाई सडक छाप बनाइसकेको छ । हजारौँ सर्वसाधारण बैङ्ककै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । बैङ्कमा जाँदा कर्मचारीहरू मिठो बोल्छन् । चिया, पानी कि चिसो खाने भनेर फर्काउँछन् ।
बैङ्क, वित्तीय संस्थाको ठगी धन्दा विरुद्ध सर्वसाधारण एकजुट हुँदै गएका छन् । त्यसैले, यस्ता ठग संस्थाहरूलाई जनताले नै लखेट्ने छन् । कारबाही गर्ने छन् र कालोमसो पनि दल्ने दिन टाढा छैन । किनकि सरकार त बैङ्क, वित्तीय संस्थाको अगाडि लम्पसार नै परेको छ ।
अनि ऋण लिएपछि तीन किस्ता नतिर्ने बित्तिकै ऋणीको घरमा गुन्डा पठाउ नेदेखि अनेक गर्छन् । अहिले बैङ्कहरूको आतङ्क बढ्दै गएको छ । ऋणीको गाडी तान्ने देखि घरजग्गा, सेयर लिलाम गर्न समेत बैङ्कहरूले गुन्डा प्रयोग गर्ने गरेका छन् । यति मात्र होइन ऋणीको उठीबास लगाएर उनीहरूलाई कालोसूचीमा राख्छन् ।
तीन पुस्ते पत्रपत्रिकामा निकाल्छन् । बैङ्कका कर्मचारीहरूले राति १२ बजे समेत ऋणीलाई फोन गरेर यातना दिने गरेको बताइन्छ । सार्वजनिक बिदाको दिन समेत ऋणीको घरमै पुगेर पूरै समाजकै अगाडि उसको बेइज्जत गर्ने गर्छन् । ऋणीलाई मर्नुपर्ने अवस्थामा बैङ्कले पुर्याउने गरेको छ ।
बैङ्कको यातनाका कारण कयौँ ऋणीले आत्महत्या गर्नुका साथै घरपरिवार नै सकाएको समेत उदाहरण छन् । केही वर्षअघि भक्तपुरको थिमीमा बैङ्कले घरजग्गा लिलाम गरेपछि एक व्यक्तिले आफ्नो श्रीमती, छोरा र कुकुरलाई समेत विष खान दिएर मार्नुका साथै आफू पनि झुन्डिए । यो प्रतिनिधिमूलक घटना मात्र हो । बैङ्ककै कारण धेरै ऋणीले आत्महत्या गरेका छन् ।
अहिले बैङ्कले ऋणीलाई मात्र नठगेर बचतकर्तालाई समेत लुटेको पाइएको छ । बैङ्कका कर्मचारीहरूले बचतकर्ता खाताबाटै पैसा चोर्ने गरेको घटना बाहिरिएका छन् । यति मात्र होइन पढे नलेखेका अशिक्षित व्यक्तिलाई बैङ्कले झनै ठग्ने गरेको छ । पछिल्लो समय हरेक काम बैङ्कमार्फत गर्नुपर्ने अवस्था आएको छ ।
त्यसैले, शिक्षित देखि अशिक्षित व्यक्तिहरू बैङ्कसँग जोडिन पुगेका छन् । तर, बैङ्कले यसको फाइदा उठाउँदै उनीहरूलाई ठगेको पाइन्छ । नपढेको व्यक्तिले अक्षर चिन्दैन । अनि उसले बैङ्कमा पैसा राखे पनि बैङ्कले दिएको रसिद बुझ्दैन । यसैको फाइदा उठाएर बैङ्कले कयौँ बचतकर्तालाई उठेको पाइन्छ ।
अहिले बजारमा सुनिन्छ कि बचतकर्ताहरूले बैङ्कमा ३३ लाख रुपैयाँ राखे पनि कर्मचारीहरूले रसिदमा ३३ हजार मात्र लेखिदिँदा बचतकर्ता आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी कयौँ बचतकर्ता रसिद पढ्न नसक्दा समेत बैङ्कबाट ठगिने गरेका छन् । बैङ्कले अशिक्षित, सिदासादा सर्वसाधारणलाई भुलाएर समेत लुट्ने गरेको छ ।
कतिपय बचतकर्ताले घरपरिवारलाई जानकारी नगराई बैङ्क तथा वित्तीय संस्थामा ठुलो रकम जम्मा गरेका हुन्छन् । तर, बचतकर्ताको कुनै कारणवश निधन भएमा र उसको घरपरिवार कोही पनि रकम लिन नआएमा पनि बैङ्क, वित्तीय संस्थाहरूले कुनै जानकारी वा सूचना नै ननिकाली सो रकम पचाइदिन्छन् ।
पछिल्लो समय बैङ्कहरूप्रति सर्वसाधारणको अविश्वास बढ्दै गएको छ । एकातिर बैङ्कको लापरबाही, गैर जिम्मेवारी अर्कोतिर कर्मचारी, सञ्चालकहरूकै मिलेमतोमा चोरी हुनु । सबै बचतकर्तालाई कुन कुन मितिमा कति रकम राखेको भनेर स्पष्ट याद हुँदैन । यसैको फाइदा उठाएर बैङ्कले बचतकर्ताको रकम चोरी गर्ने गरेको पाइन्छ ।
अनि आफ्नो रकम चोरी भएको भनेर बोल्न वा प्रमाण पेस गर्न सक्ने बचतकर्तालाई बैङ्कले ‘तपाईँको रकम अरूको खातामा ट्रान्सफर भएछ’ भन्दै फिर्ता गर्ने र बोल्न वा प्रमाण पेस गर्न नसक्ने बचतकर्ताको रकम नै पचाइदिने गरेको पनि बताइन्छ । अहिले बैङ्कमा बचतकर्ता गर्ने र ऋण लिने दुवै बैङ्कलाई चोर, ठग भन्छन् ।
बैङ्कले घरजग्गा दलालदेखि सेयर दलाल, गाडी दलाललाई पाल्ने मात्र होइन पोस्ने गरेका छन् । बैङ्कले सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर चार हजार पुराएर सर्वसाधारण फसाउने पनि यिनै दलाली र बैङ्क हुन् । रोपनीको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिन वा डाँडा पाखा समेत प्लटिङ वा खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बिक्री गर्ने पनि यिनै बैँकको हात छ ।
दुई रुपैयाँ किलोमा बिक्री नहुने फलाम, प्लास्टिक, सिसाबाट भारत र चीनले गाडी बनाए । अनि छिमेकी मुलुकबाट एक लाखमा गाडी ल्याएर यहाँ करोडसम्ममा बेच्ने पनि यिनै बैङ्क र दलाली नै हुन् । बैङ्कले करोडौँ जनतालाई सुकुम्वासी बनाइसकेको छ । अहिले सार्वजनिक स्थलमा आम नागरिकहरू बैङ्क चोर, ठग हुन् भनेर कुरा गरिरहेको भेटिन्छ ।
बैङ्कलाई सर्वसाधारण ठग्न छुट दिने सरकार नै हो । किनकि बैङ्कले जतिसुकै सर्वसाधारण जनतालाई ठगे पनि वा लुटे पनि राष्ट्र बैङ्क र अर्थ मन्त्रालय केही गर्दैन । वित्तीय संस्थाहरूले पनि आम नागरिकको रुवाबासी गराएका छन् । ३५ हजार बढी सहकारीले करोडौँ जनताको खरबौँ रकम खाइदिएको छ । लघुवित्त, फाइनान्सका कारण पनि धेरैको उठीबास र बिचल्ली भएको छ ।
अझै पनि राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी भन्छन्, ‘बैङ्कमा ऋण लिन कोही आएन ।’ अनि यस्तो ठग, चोर बैङ्क कहाँ पनि अझै सर्वसाधारण ऋण लिन जान्छन् त ? । अब जनताले बुझिसके कि बैङ्कमा बचत गर्नु र ऋण लिनु आफूले आफूलाई सकाउनु हो । तर, राष्ट्र बैङ्कका गभर्नर र अर्थमन्त्री अहिले पनि सर्वसाधारण ठग्न पाइन्छ कि भनेर बैङ्कमा सर्पोटमा कम्मर कसेर लागिपरेका छन् ।
बैङ्क, वित्तीय संस्थाको ठगी धन्दा विरुद्ध सर्वसाधारण एकजुट हुँदै गएका छन् । त्यसैले, यस्ता ठग संस्थाहरूलाई जनताले नै लखेट्ने छन् । कारबाही गर्ने छन् र कालोमसो पनि दल्ने दिन टाढा छैन । किनकि सरकार त बैङ्क, वित्तीय संस्थाको अगाडि लम्पसार नै परेको छ ।