रङहरूको सौन्दर्यमा श्रावण: प्रकृति, हरियो रङ र ‘ग्रिन कार्ड’

निबन्ध

रङहरूको सौन्दर्यमा श्रावण:  प्रकृति, हरियो रङ र ‘ग्रिन कार्ड’

ज्ञानेन्द्र विवश  |  साहित्य  |  साउन ०५, २०८१

हरियो रङ, प्रकृतिको रङ, जीवनको रङ, पहिरन र पहिचानको रङ । प्रकृति हरियो रङमा आवाद भएको समय श्रावण महिना । पहिरन हरियो रङमा रूपान्तरण भएको महिना । हरियो लुगामा सजिसजाउ दिदीबहिनी र आमाहरू । हरियो तिलहरी पोते । हरियो टीका, हरियो मेहन्दी र अरू गहनाहरू सबै हरियो रङमा । 

प्रकृतिसमेत हरियो रङमा हराभरा । मकैबारीको हरियाली । धान रोपाइले हल्लक हरियो रङमा बद्लिएको खेतका गराहरू । घरका करेसाबारीमा हरियो रङले सजिएका काक्रा फर्सी, बोडी र सिमीहरू । केराघारीमा लामा–लामा केराका पातहरूको हरियो रङ !

झारपातहरूसमेत हरियो रङमा सुन्दर पहिचानले परिचय गाँस्न खोज्ने रहेछ यो महिनामा । कामकाजी महिला र तुलफूल, बोटविरुवाको के कुरा मौका पाएपछि सबै बैंसको रङमा देखापर्न अग्रसर हुने रहेछन् साम्राज्य हरियो रङ–रूपकै ।

श्रावणको हरियाली मौसम र मन । कहाँ मात्र छैन र हरियालीको फैलावट ? हरियालीले खेती किसानीको मन पनि हराभरा । मङ्सिरमा घरका ढिकुटी अन्न–ऐश्वर्यले भरिभराउ पार्ने सपना । त्यही सपना पूरा गर्नैका लागि पनि श्रावणमा हरियोपरियोको प्रवेश हुनैपर्छ । हरियो नभई सुख्खा खडेरी प्रकोप भइदिँदा कहाँ मन रमाउनु, कहाँ भोको पेट भर्नु ?

परिस्थितिले गोता खान्छ । ज्यान प्राणले परमधामको बाटो लिन्छ । सुन्दरता सिद्धिएपछि, हरियालीको अभाव खड्किए पछि कहाँ बचिरहन्छ र रङ–सौन्दर्यको मिठास ? कहाँ रहिरहन्छ र हरियालीको अंश ?

अतः हरियो रङको धेरै नै आवश्यकता । हरियो विना सुन्दरताकै समाप्ति । यसरी श्रावणको रङ हरियो । प्रकृतिको रङ हरियो । नारी र प्रकृतिको पहिचान नै हरियो रङ । दुवै सिर्जनाका सारथि । हरियो रङमा रूपान्तरित दुवै । हरियो सारी चोली र पछ्यौरी । हरियै पोते र चुरा । 

हरियो रङको उन्नत मौसममा हरियो हराभरा । हरियो रङको लेपनले प्रकृति र नारीको सौन्दर्य खुलेको ‘सुनमा सुगन्ध’ भएर ।

यसरी श्रावणमा हरियो रङको व्याप्तिमा प्रकृति र नारी सजिसजाउ । जताततै छताछुल्ल हरियो रङको छवि । हरियोले ढाकेको नारी र प्रकृतिको सौन्दर्य । 

मनमोहक मादक प्राकृतिक परिवेश ! कति प्यासी प्रकृति, कति उन्मादी प्रकृति । कति बेहोशी, कति सन्तोषी र कति मगनमस्ती प्रकृति । हरियो रङमा आवाद भएपछि प्रकृति र नारी सौन्दर्यमय आभाहरूले भरिभराउ । हेर्नेका आँखामा मदहोशी पार्ने क्षमता । 

श्रावण महिना हरियो, भरिलो, रसिलो र रमाइलो स्वरूप–संरचनाका नवीन दृश्यहरू । तिनले कति पनि नथाक्ने हेरेर आँखाहरू । कति पनि नविझाउने दृश्यहरू । गाढा हरियो रङको प्रभाव र प्रेमले आँखाहरू झन्–झन् तेजिलो हुने रहेछ । आँखाको ज्योति झन् तिख्खर हुँदै जाने रहेछ ।

हरियो रङको समुपस्थितिमा कसरी मुस्कान पनि बेग्लै । कसरी सुन्दरताको परिभाषा पनि अलग्गै ? कसरी दृश्य–रमणमा पनि बेग्लै तृप्तिको तरङ्ग ...! यौटा उत्सवको मौसम । अर्कै उमङ्गको उर्वर याम । उत्साहले दौडिरहेका पाइलाहरू । खुसीले हेरिरहेका आँखाहरू । आनन्दले रमाइरहेका मनहरू । हृदयको पानामा हरियो रङको गहिरो छाप र स्वर्णिम छवि !

झमझम झरीको भेलबाढीमा पनि मन रमाएर नाच्न थाल्ने रहेछ । मन खुसीले रमाउने याम यही रहेछ । काल आएपछि कसैले रोक्न सक्दैन । भेलबाढीमा ज्यान माया मारेर पाइतो सार्नु हुँदैन । पानी बग्ने बाटोमा घरखेतको जगेडा गर्नु हुँदैन । 

दैवी विपत्ति जहिले र जहाँ पनि आउँछ । प्रकृतिलाई प्राकृतिक रूपमै रहन दिनुपर्छ । प्रकृतिको दोहन कसैले पनि कहिल्यै गर्नु हुँदैन ।

वर्षादका पानी सिञ्चनले हरियालीलाई आवाद गर्छ । मर्न लागेका जीर्ण बनस्पतिमा नयाँ शक्ति सञ्चारले क्रमशः हरियालीको बहार आउँछ ।
हेरौँ प्रकृतिलाई हरियालीमा मुस्कानले खुसीहरु बाँड्दै । खोलानाला, नदी, झरना तिनै हरियाली हेर्दै रमाउँदै झरिरहेछ । 

हरित सहरको गुरुयोजना हराभरा हरियालीकै परिकल्पना हुनुपर्छ । बगैँचा निर्माण, फूलबारी, वृक्षारोपण, गमलामा फूल रोपिने परम्परा हरियाली अभियानकै कार्य हुन् । सहरका सडक किनारमा रोपिने रुख विरुवाहरू पनि हरियाली प्रवद्र्धनकै परियोजना हुनुपर्छ । जहाँ हरित सौन्दर्यका साथै सुगन्धमय वातावरणको परिवेश पनि निर्माण हुन्छ ।

धार्मिक मान्यतानुसार शिवको आराधना गर्ने महिना हो श्रावण । पौराणिक कालमा पार्वतीले श्रावण महिना भरि निराहार रही कठोर व्रत बसेर ‘भगवान शिव’ लाई प्राप्त गरेको धार्मिक विश्वास छ । यही मान्यताका आधारमा महिलाहरूले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । आफ्ना पति र परिवारको आरोग्यका निम्ति महिला दिदी बहिनीहरू हरियो रूप–सौन्दर्यले सजिएर मन्दिर जान्छन् । ब्रत बसी पूजापाठ गर्छन् ।

यसरी श्रावण मासमा ब्रत बसी  शिवजीको आराधना गर्दा र हरियो पहिरिँदा भगवान शिव खुसी हुने जनविश्वास छ । श्रावण महिना ‘प्रकृतिको हरियाली महिना’ हो । धार्मिक शास्त्रमा त श्रावण महिना महिलाहरूको शक्तिको महिना भनेर ब्याख्या गरिएको छ । श्रावणको हरियो रङलाई उर्बर शक्तिका रूपमा लिइन्छ ।  

वास्तवमा हरियो रङलाई सौभाग्यको प्रतीक मानिन्छ । यही सौभाग्य र श्रावण अनि हरियालीको संयोजन महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिएको हुन सक्छ । 

जहाँका हरियाली फाँटहरूमा नयाँ मुना–मुजुराहरूले अङ्कुरित हुँदै नव जीवनको पालुवा हाल्दै छ । त्यो पालुवामा हरियो रङको प्रवेशले विस्तारै प्रकृतिको परिवर्तनशील नियमलाई पालना गर्दैछ । त्यही नियमको नियमित सिलसिलाले प्रकृति रङ्गीन बन्छ । प्रकृति सुन्दर देखिन्छ । 

प्रकृतिको काया–कलेवरमा हरियो रङको पदार्पणले नयाँ काया–कल्प धारण गर्छ । त्यही हुर्किँदै, बढ्दै वयस्क बन्दै कति खानेकुराको मिठास बनेर घरका भण्डारदेखि भान्सासम्म बेग्लै मिठासको स्वाद बनेर भित्रिन्छ । कोही बोट बनस्पतिको पहिचान लिएर हरियालीले सुसज्जित भएर रहन्छ ।

तिनै साना बोट विरुवाहरू, जहाँ नयाँ कोपिला, फूल र स्वादिष्ट फलको स्वरूप लिँदै छ । तिनैमा प्राणीका लागि जीवनदानको अमृत फल निर्माण हुँदैछ । तिनैमा हेर्नका लागि देखेसम्म हरियालीको पृथक सौन्दर्यले मान्छेका मनहरू आकर्षित गरिरहेछ ।

सायद यही हरियो रङको व्याप्‍ति र प्रसिद्धिले होला प्रकृतिसँगै नारी अङ्ग–अवयवसमेत हरियो रङको आवरणमा आवृत्त हुँदोरहेछ । गाउँघरदेखि बस्ती, बजार, मेलापात, मन्दिर र मनहरूमा हरियो रङकै रङरौसले प्राथमिकता पाएको देख्न सकिन्छ ।

विकिपिडियामा उल्लेख भएअनुसार प्रचुर मात्रामा वन वनस्पति भएको अवस्थालाई ‘हरियाली’ भनिन्छ । श्रावण भदौलाई नेपाललगायत उत्तरी गोलार्धका पूर्वी एसियाली भू–भागहरूमा ‘प्राकृतिक हरियो प्रधान याम’ मानिन्छ । यस समयमा प्रचुर मात्रामा बर्षाले जताततै वनस्पति मौलाएको देख्न सकिन्छ ।

‘हरियो बन नेपालको धन ।’ भन्ने उखान नेपाली समाजमा पहिले प्रचलित र प्रसिद्ध थियो । हिजोआज पहिलेको जस्तै हरियाली वा ‘हरियो बन नेपालको धन’ भन्ने उखान यथार्थमा छैन ।

जे होस् श्रावण महिनामा प्रकृति नै गाढा हरियो रङमा सजिएको हुन्छ । मानिसहरू पनि हरियो लुगा लगाउने, हरियो श्रृङ्गार गर्ने गर्छन् । यसले प्राकृतिक र मानव  वातावरण नै मनमोहक र रमाइलो रूपमा पेश हुने गर्छ ।

वास्तवमा हरियो रङ भन्नु प्राकृतिक रङ हो । सबै प्रकारका  बिरुवाको हरियो रङको हुन्छ । यो रङले सुरक्षित रहेको सूचित गर्छ । जस्तै ‘ग्रीन कार्ड होल्डर’ भनिन्छ नि  ! विदेशमा बस्नलाई पाउने अनुमति पत्र जसलाई ‘ग्रीन कार्ड’ भनिन्छ र यो पाएपछि व्यक्ति सो देशमा बस्न सुरक्षित र आधिकारिक मानिन्छ । हाम्रा प्रकृति र नारी पनि सम्पन्न र आधिकारिक हुन हरियो रङमा परिणत हुन लालायित हुन्छन् सायद !

श्रावणलाई धर्म कर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । 

विज्ञका अनुसार प्रकृतिमा घुलेको यो हरियो रङले मनलाई तत्कालै तन्दुरुस्त पार्दै नयाँ स्फुर्ति प्रदान गर्छ । अहिले देखिएको हरियाली मौसम वस्तुतः प्रकृतिसँग मनको मेलको रहस्यमय सन्दर्भ पनि हो । यसले हरेक संवेदनशील मान्छेका मनमा प्रेम र खुसीको मात्रा सञ्चार गरिरहेको हुन्छ । जीवनमा कोही पनि रङहीन जिन्दगी बाँच्न सक्दैनन् । रङहरू जस्तै उल्लासमय र रङ्गिन जिन्दगी बाँच्न सबै चाहन्छन् ।

श्रावण महिनामा बोटबिरुवाले रङ फेर्छ । पहेँलो पालुवालाई हरियो रङमा परिवर्तन गर्छ । र, नवजीवन प्रदान गर्छ । हामीले पनि श्रावण महिना र यसका हरेक प्रसङ्गलाई मनन गर्नु आवश्यक छ । मनभित्रको माया, खुसी र आनन्दसँग जोड्न सक्नुपर्छ । यो महत्वपूर्ण कुरा हो । श्रावणको सार र सन्देश पनि यही हो ।

यसप्रकार श्रावण र हरियाली गाथाले मेरा अनुभूतिहरू अक्षर बनेर मसँग हैन अरूसँग संवाद गर्न थाल्छन् । म तिनलाई हेर्दै मनको आनन्दमा एक्लै रमाउन थाल्छु । श्रावणको हरियाली मौसम र हरियो रङको छताछुल्ल प्रकृतिले बर्षादी विना भिजेर आफू निथ्रुक्क हुँदाको दृश्य सम्झन्छु । हरियो रङको सुन्दरतामा डुब्दै प्रकृतिको हरियो रङमा विलीन हुन उत्सुक हुन थाल्छु ।