म्यानचेस्टरमा नेपाल डे-२०२४ भव्यताका साथ सम्पन्न

म्यानचेस्टरमा नेपाल डे-२०२४ भव्यताका साथ सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०६, २०८१

म्यान्चेस्टर । नेपाली संस्कृति  प्रवर्धन, कला संवर्द्धन  र पर्यटन चिनाउने उदेश्यले नेपाली  समाज म्यानचेस्टर, साउथ एसियन ग्ल्यालरि र म्याचेस्टर म्युजिएमले संयुक्त रुपमा आयोजना गरेको नेपाल डे-२०२४ आज (शनिवार) म्यानचेस्टर म्युजिएममा सम्पन्न भएको हो । 

नेपाली राष्ट्रिय गान, शंखधुन, शान्तिवाचन बाट कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा  नेपाली राष्ट्रिय गीतहरु, साँस्कृतिक नृत्यहरू, भजन आदि प्रस्तुत गरिएको थियो । नेपाल डेको दोस्रो खण्डमा नेपाल चिनाउने डिजिटल फोटो प्रदर्शनी,  योगा प्रदर्शनी र त्यसबारे जानकारी , बालबालिकाको लागि  नेपाल चिनाउने चित्रकला सेसन प्रस्तुत गरिंदा, तेस्रो खण्डमा सामुहिक नृत्य, खुला नृत्य सहित कार्यक्रम समापन गरिएको थियो।
कार्यक्रम अवधिभर नेपाली हस्तकला, नेपाल चिनाउने विश्व सम्पदा सुचिकृत साँस्कृतिक र पर्यटकीय स्थलबारे जानकारी मुलुक पोस्टर तथा नेपाली घरयाशी सामाग्रीको प्रदर्शनी राखिएको थियो ।  

  झन्डै एक सय नेपाली उपस्थित कार्यक्रममा संयौ विदेशीले प्रत्यक्ष अबलोकन गरेका थिए ।म्यानचेस्टरमै नेपाल डे नामक साँस्कृतिक कार्यक्रम पहिलो भएको र आफुहरुले सोचेभन्दा राम्रो भएको समाजका सल्लाहकार दामोदर खनालले युरोप खबरलाई बताए । भविष्यमा यस्तो खालको नेपाल चिनाउने कार्यक्रम गर्न म्यानचेस्टर नेपाली समाजले बेलायतका अन्य सस्थासँग थप समन्वय गर्ने समाजका अध्यक्ष जीवन गौतमले जानकारी दिए ।      
म्यानचेस्टर म्युजिएममा सम्पन्न कार्यक्रमको  संचालन म्यानचेस्टर नेपाली समाजकी अनिता खड्काले गरिकी थीइन भने समापन मन्तब्य समाजकै अध्यक्ष जीवन गौतमले गरेका थिए ।