पूर्व कुलपति उप्रेतीको नयाँ निबन्धकृति  ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ सार्वजनिक

पूर्व कुलपति उप्रेतीको नयाँ निबन्धकृति  ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  साउन ०८, २०८१

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक कार्यकाल उपकुलपति र दुई कार्यकाल कुलपतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी डेढ वर्षअघि कार्यकाल पूरा भएपछिको  पूरै समय साहित्य सिर्जनामा समर्पित गरिरहेका वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नयाँ निबन्धकृति सार्वजनिक भएको छ । उप्रेतीको ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ नामक निबन्धकृति सार्वजनिक भएको हो । 

शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उप्रेतीको उक्त निबन्धकृतिभित्र सेतु सुब्बा र सेतु सुब्बाहरू, कोरोना कहरका उपहारः एकजोडी विरालाका छाउराहरू, आरुका फूल र मुर्झाएको काठमाडौँ, जीवनको मोलः मृत्युको तराजुमा, लौरो– मेरो साथी, कपी एन्ड पेष्ट डटकम, निलो रङ्गको आवरणमा चतुर स्यालहरू, थरी थरीका ढँटुवाहरू र तिनको ढाँट्ने कला, कुकुर जन्तीः विरालो बाहुन, मैले किन, के र कसरी साहित्य लेखेँ, समय, मन र हामी, ठुला दारकी आइमाई, आठराई, प्रतिस्पर्धा र प्रगति, जीवनयात्राको जगः मेरो गाउँ, मेरो विद्यालय र हामी कस्तो मान्छे बन्ने ? शीर्षकका पन्ध्रओटा विचारोत्तेजक निबन्ध समाविष्ट छन् ।

कृतिमा प्रा.डा. अभि सुवेदीको भूमिका छ । भूमिकामा प्रा.डा. सुवेदीले विशेष गरी निजात्मक निबन्ध लेखनमा आफूलाई भिन्न बनाएका उप्रेतीको सात दशक लामो साहित्यिक साधनाले नेपाली साहित्यलाई उर्बर बनाएको उल्लेख गरेका छन् । उनले नेपाली समाजको जनजीवन, संस्कार, संस्कृति अनि संरचनालाई आफ्ना निबन्धका विषय बनाउने उप्रेतीलाई उनका निबन्धले उनलाई एक सामाजिक चिन्तक, मनोवैज्ञानिक र दार्शनिक चेत भएका लेखकका रूपमा चिनाएको विचार व्यक्त गरेका छन् ।  १ सय ५२ पृष्ठको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ । 

‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ उप्रेतीको सत्र औँँ प्रकाशित कृति हो । यसअघि उनका स्मृतिका छालमा इटाली (नियात्रा संस्मरण, २०४४), दृष्टिकोणका विविध बिसाउनी (समालोचना, २०४६), व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८), इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००७), बेसिक नेपाली फर फेरनर्स (भाषा शिक्षण, इ. २००८), तिब्बतमा दस दिन (नियात्रा, २०६४), नामको खोल (निबन्ध, २०६४), भाषा र संस्कृति (लेखसंग्रह, २०६५), देश देशान्तर (नियात्रा, २०६८), स्मृतिमा फुलेका बहुरङ्गी पूmलहरू (संस्मरण, २०६९), समालोचना विविध (समालोचनासंग्रह, २०७१), चक्रव्यूह (कविता सङ्ग्रह, २०७३), घुम्दै फिर्दै अमेरिकामा (नियात्रा, २०७७), स्मृतिमा तरङ्गित बिम्बहरू (संस्मरण, २०७७), स्मृति–बिम्ब (संस्मरण संग्रह, २०७९) प्रकाशित छन् ।
उनले उत्साह (त्रैमासिक, सहसम्पादन, २०४२), प्रतिबिम्ब (मुखपत्र, २०२२), कुम्भकर्ण (वार्षिक, २०२५), छिन्नमस्ता (२०३५), संस्कृति (त्रैमासिक, २०५१), शृङ्खला (त्रैमासिक, सहसम्पादन, २०४५), आजको तिब्बत (त्रैमासिक), तिब्बतको बदलिँदो अनुहार (लेखसंग्रह), प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान, सम्पादन, संयोजक), बृहत् नेपाली शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान, सम्पादन, संयोजक), जर्नल अफ नेपलिज स्टडिज, इतिहासशिरोमणि बाबुराम आचार्य (पुस्तक), समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह (पुस्तक), फक्ताङलुङ (लिम्बू भाषाको पत्रिका), महुवा (भोजपुरी भाषाको पत्रिका, नेपाल प्रज्ञा–प्रतिष्ठान), नेपाली सन्दर्भ व्याकरण (नेपाल प्रज्ञा–प्रतिष्ठान, सम्पादन, संयोजक), विभिन्न स्मृतिग्रन्थ आदिको सम्पादन गरेका छन् ।

यसै गरी अनुवादतर्फ द भ्वाइस अफ नेपाल (पुस्तक), वङ्गबन्धु शेखमुजिबुर रहमानका अपूरा संस्मरणहरू (नेपालीमा अनुवाद सम्पादन, २०७५), पाकिस्तानी महिला लेखन (अनुवाद नेपालीमा, पुस्तक, २०७३), बङ्गबन्धुको जेल डायरी (नेपालीमा अनुवाद), नेपाली कविताहरूको संग्रहको भ्वाइस अफ नेपाल नाममा अङ्गे्रजीमा अनुवाद गरेका छन् । नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति उल्लेखनीय योगदान गरेबापत उप्रेती दीर्घ शिक्षा सेवा पदक (२०५९), शिक्षा पदक (२०५३), सुप्रबल जनसेवाश्री तृतीय (२०७६), सुकीर्तिमय राष्ट्रदीप (२०७९) आदि पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भएका छन् ।