जीर्ण बस, विमान र बाटोले प्यारो ज्यान–प्राणको प्राणपखेरु नै उडेपछि

जीर्ण बस, विमान र बाटोले प्यारो ज्यान–प्राणको प्राणपखेरु नै उडेपछि

ज्ञानेन्द्र विवश  |  साहित्य  |  साउन १२, २०८१

सुन जस्तो बिहानी ओ हो ! जीवन जस्तो प्रकृति ओहो !! जगमगाउँदै, चलमलाउँदै गतिमय पाइला–पदचापमा जिन्दगीको स्वर्णिम यात्रा प्रस्थानको प्रारम्भमा । दिनभरिको कार्य योजनानुसार सारेको पाइतो । चालेको पाइला र हिँडेको गन्तव्य । फड्को मार्दै प्रगतिको उछिनापाछिन गर्दै गन्जागोलमा । शुभ दिन र शुभ बिहानीको कामना गरेको दिन ! 

कलिलो बिहान छिप्पिएर मध्यदिन हुनै लाग्दा अनायसै अपशगुन समाचारको प्रवाह । विभत्स घटनाले धेरैको मन भक्कानिएको । कस्तो अप्रिय समाचारले सारालाई स्पर्श गरेको । छँदाखँदाको प्यारो ज्यान छिनभरमै खेर गएर खरानीमा परिणत भएको । 
ओहो ज्यान केही होइन रहेछ । विमानमा बसेर एकैछिनमा अर्को ठाउँ सजिलै पुगिन्छ भन्ठान्नु गलत रहेछ । यो साता यस्तै भयो । विमान दुर्घटनामा पर्नेहरू रुवाबासीमा परिवारजनको होशहवास गयो ।

एक्कासी बज्रेको बज्रपात । व्यथाभूत भक्कानाले व्यथित बनेको मन । कहालिलाग्दो समाचारले सबैलाई स्तब्ध पारेको दिन । शोकमा डुबेको परिवारजन । सम्झाएर नसम्झिएको मन । बुझाएर नबुझेको मन । पीडाको असह्य चोट । निःशब्द बनेको हृदय । संसारै शून्य जस्तो ।

कतिसम्म खेलाँची खेल हो ? जीर्ण बस, विमान र बाटो रहेसम्म काल पल्किरहन्छ । मृत्युले हाँसेर प्यारो ज्यान–प्राणलाई खाइरहन्छ । महिना दिन नबित्दै कसैको मरण पहिरोमा पुरिएर भइरहन्छ । कोही बाढीले बगाएर अत्तापत्तो हुँदैन । कोहीको ज्यान डढेर खरानी हुन्छ । यी सबै जीर्ण बस, विमान र बाटोकै अलच्छिनी अवस्थाले निम्त्याइएका दुर्घटनाहरू हुन् । हाम्रा प्रिय मान्छेहरूको अकाल मरणको कारण यिनै हुन् ।

हामीले प्रत्येक पाइला–पाइलामा मृत्यु टेकेर हिँडिनु परिरहेको छ । मर्मतसम्भार, सुधार, सुव्यवस्थाको कसैलाई कुनै मतलव नभएपछि लापर्वाहीले पराकाष्टा नाघ्छ, नाघिरहेछ । र, हाम्रा प्रिय जनहरू अकालमा मृत्युवरण गर्न बाध्य हुनु परिरहेको छ । अफसोसको कुरा हरेक पटक घटना घटेपछि प्रतिवद्धता व्यक्त गरिन्छ । समिति बनाएर कार्वाही र क्षतिपूर्तिको घोषणा त गरिन्छ तर समयसँगै ती बितेर जान्छन् । प्रगति केही हुँदैन अनि उही जीर्ण बस, विमान र बाटोको यात्रा गर्न हामी विवश हुनुपर्छ, परिरहेको छ ।

कहिलसम्म यस किसिमको जोखिम यात्रा तय गर्नुपर्ने हो ? यसबाट मुक्ति पाइने दिन सायदै आउँला । कामना गर्नु र आशा राख्नु पनि व्यर्थ नै छ । किनभने सम्बन्धित पक्ष आफैले यसमा जिम्मेवारीबोध नगरी घटना घटिसकेपछि गोहीको आँसु झार्न थाल्छ । यस अवस्थामा कसरी आशा गर्नु अब सम्भावना दूर होला भनेर ।

यहाँसम्म कैयौँ कष्ट सहेर, कैयौँ दुःख–सुखलाई पेलेर जीवन–धाममा घमाइलो पल उदाइरहेको बेला यति भयङ्कर घटना घटित भइदिन्छ कि जहाँ मानिसको ज्यान नै सदाका लागि समाप्त भइदिन्छ । 

कति दर्दनाक दृश्य । दैविविपत्तिमा मानवीय क्षतिको कसरी तुलना गर्नु ?! अप्रत्याशित घटित घटनामा परेका जीवनका क्षतिपूर्ति कहाँ, कसरी, कहिले पाउनु ? सधैँ लापर्वाहीले हाम्रा ज्यानहरू मरिरहेछन् बर्सेनि । खासगरी विमान र बस सञ्चालकहरू सचेत रहनुपर्ने हो । यसमा गम्भीरपन कसैको छैन । 
सरकार पनि दोषी छ यसमा । चुस्तदुरुस्त सेवा र सुविधा जनतालाई उपलब्ध गराउनु पर्दैन र ? जनता मरेर शोकमा डुबेको बेला दिएको आश्वासनले केही गर्दैन । असुरक्षित सडक र आकाश मात्र छैन । सवारी साधनहरूको अवस्थामा पनि ध्यान–दृष्टि दिनुपर्ने हो । घटना घटिसकेपछिको रोइकराइले के हुन्छ र ? घटना घटेपछि केही दिन अलिकति संवेदना र श्रद्धाञ्जली व्यक्त गरेपछि सकिन्छ, सेलाउँछ ।\

आँखाले सुन्दरता देख्न पाएपछि । मनले मिठो महसुस गर्न थालेपछि । रोग र शोकले पनि कुलेलम ठोक्दोरहेछ । सौन्दर्य नै रहेछ मन बुझाउने र मन भुल्याउने अचुक ओखति । यति भएपछि वेदना पनि भाग्दोरहेछ । आँसु पनि मुस्कानमा बद्लँदोरहेछ । 

जीवन, जीवन रहेन अब जीवन्त । जिन्दगीको मीठो सपना विपनामा ध्वस्त भएर खरानी–खरानी भएपछि ... ! कहाँ रहनु र प्यारो ज्यान–प्राणको ढुकढुकी जीवित ? केही होइन जीवन भन्नु पनि । कोही होइन आफन्त ठान्नु पनि । केवल बाँचेसम्मको प्रेम मात्र । जीवन रहेसम्मको सम्झना र चिनाजानी मात्र ।

कठै हाम्रो ज्यान–प्राण त केही होइन रहेछ । बाँचुनज्यालको लागि मात्र रहेछ हाँसो र खुसीहरू । भेट हुन्जेलको मिलन र छुटेपछिको विछोड जस्तो । कति नमिठो ! कति बेस्वादको । कति दिक्कदारीका पलहरू ।

एक दिनको जिन्दगी पनि सुखले बाँच्न नसकिने । शान्ति, सुव्यवस्थामा व्यवस्थित भएर देश र जनताले सुखपूर्वक तङ्ग्रिने तर्खर गर्दानगर्दै फेरि अर्को बज्रपातले आक्रमण गरिहाल्ने । हाँसेको पल र खुसीको अनुभव आदान–प्रदान गर्न नपाउँदै निष्ठुरी काल पल्किएपछि घाउचोटका पीडा भनिसाध्य नहुँदोरहेछ ।

कस्तो भूगोलका हामी नेपाली । भूस्वर्ग भनेर हेर्न ओइरिन्छन् विदेशी । प्रकृति र संस्कृतिले धनी हामी । अथाह सम्पदाका मुहान यहाँ छन् । अनन्त सुन्दरताका भण्डार पनि यहीँ छन् । 

परन्तु तिनको संरक्षण र सम्वद्र्धन मात्र भइदिए कस्तो हुन्थ्यो होला ! प्राकृतिक मौलिकताका उन्नत अवयवहरूलाई हामीले चिनेर पनि चिनाउन सकेका छैनौँ । आफैँ खोज्दै, घुम्दै, डुल्दै, रमाउँदै आइरहेछन् पाहुना पर्यटकहरू  । तिनलाई मित्र–मिजासले स्वागत–सत्कार पनि गर्न सकेका छैनौँ । बरु सकेसम्म ठग्दै । हैरान–हैरान पार्दै । हायल–कायल गर्दै । सताउनुसम्म सताइरहेका छौँ । सामान्य सेवा र सुविधासमेत हामीले ती पाहुनाहरूलाई दिन सकिरहेका छैनौँ । 

पाहुनाहरू पदयात्राका लागि योजना बुनेर आउँछन् । तर उनीहरूको योजना बाटो न घाटोको विजोक अवस्थाले अत्याउनुसम्म अत्याउँछ ।

हिउँदमा हिउँदे दुःखका कैरनहरू छन् । वर्षादमा बाढीपहिरोको कहालिलाग्दो घटना घट्छन् । कहिले बाढीहिरोले बगाउने, कहिले दुर्घटनामा ज्यान जाने । कति सस्तो र सजिलो हाम्रो प्यारो ज्यान–प्राण । केवल जरा–जीर्ण पाइला । धरापको धरातल टेकेर धन्न–धन्न बाँच्नेहरू मुटु हत्केलामा राखेर हिँडिरहेछन्, बाँचिरहेछन् ।

हिक्क–हिक्क रोएर रुन नसकेका अनुहारहरू । अस्वाभाविक मृत्यु–पीडाले आहत मन–प्राण । राहत नपाएर छट्पटिएका समयहरू । प्रत्येक क्षण त्रस्त मन, भग्न मुटु र छिया–छिया हृदय । तथापि जून र जुनेली रातको सन्नाटा । तथापि यो मौनतामा पनि प्राकृतिक मुर्छनाहरू । विना आवाज अनुभूतिका वेगवान छालहरू । रङका कल्पनातीत तरङ्गहरू । दृश्यका मायावी मुस्कानहरू । जिन्दगीका सुन्दर सपनाहरू ! शीतल र शान्त जूनको उज्यालोमा हार्दिकता बाँडेर टहटह टल्किरहेका पहेँलपुर फूलहरू । 

जहाँ तनावको कुनै छिटा–बाछिटा छैन । जहाँ कतै रोदनको चित्कार सुनिदैन । बरु मगमग सुगन्धसँगै सौन्दर्यका स्वादिष्ट व्यञ्जनहरू चाख्न पाइन्छ ! जे जसो भए पनि मन भुल्याउनुपर्ने छ । मन रमाउनुपर्ने छ । बाँचुन्जेलसम्म आशा पनि बचाइ राख्नै पर्ने हुन्छ ।

आँखाले सुन्दरता देख्न पाएपछि । मनले मिठो महसुस गर्न थालेपछि । रोग र शोकले पनि कुलेलम ठोक्दोरहेछ । सौन्दर्य नै रहेछ मन बुझाउने र मन भुल्याउने अचुक ओखति । यति भएपछि वेदना पनि भाग्दोरहेछ । आँसु पनि मुस्कानमा बद्लँदोरहेछ ।