लोकसंवाद संवाददाता | समाचार | साउन १३, २०८१
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार( २०८१ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ ।
स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको नेपाली सङ्गीत दरबार,धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्नहरू त बाँकी नै रहन्छन्, खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान परेका विज्ञप्तिमा जनाइएको छ ।
वाङ्मय परिषद्लाई प्राप्त कृतिहरूमध्ये सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए ।
सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति छनोट गरी सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार- २०८१ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र छ ।