सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ को शुभारम्भ

सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ को शुभारम्भ

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  साउन १५, २०८१

काठमाडौँ  । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरू भएको छ । डिल्ली बजारस्थित  सफ्टवेरिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिनुभयो । 

'प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेलाई लक्षित गरिएको छ', उहाँले भन्नुभयो,'प्रदर्शनी साउन २० गतेसम्म  बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।'
    प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सञ्चालन गरिने छ । लिगमा ४० भन्दा बढी रोबर्टहरूले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै ‘रोबो वार ब्याटल’मा सहभागी हुने र सो लिग छ महिनासम्म चल्ने जनाइएको छ ।

  प्रदर्शनीमा रोबोटिक डग, पुस्तकालय तथा विमानस्थल व्यवस्थापनका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरूले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने कलेजले जनाएको छ । 

कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी दिनु रहेको छ । विद्यार्थीहरूले आइटीसम्बन्धी अध्ययनपश्चात् जीवनोपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिनेछ । 

'आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन्, यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र हामीलाई आइटी अध्ययन किन जरूरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो', कलेज प्रमुख प्रमोद पौडेलले भन्नुभयो ।

विद्यार्थीले बनाएको परियोजना निकै राम्रो भएको र नयाँ पुस्ताको प्रविधि देख्दा खुसी लागेको अवलोकनकर्ता अनुसुया भट्टराईले बताउनुभयो । 

 फुडस्टल, बौद्धिक खेल समावेश हुने प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव लिन सकिने छ । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वारलगायतका ३० भन्दा बढी इन्नोभेटिभ प्रोजेक्टहरू राखिएको छ ।