चूडामणि गौतम: शुद्ध नेपाली र अङ्ग्रेजी भाषाका ज्ञाता/गुरु

चूडामणि गौतम:  शुद्ध नेपाली र अङ्ग्रेजी भाषाका ज्ञाता/गुरु

ज्ञानेन्द्र विवश  |  अन्तर्मन्थन  |  साउन १९, २०८१

१११ किताबका लेखक चूडामणि गौतमलाई नेपाली भाषीले ‘ग्रामर गुरु’ का रूपमा सम्मानपूर्वक सम्झिने गर्छन् । उहाँ भाषाविद्, वैयाकरण तथा कोशकारका रूपमा ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ । आजभन्दा ४४ वर्षअघि उहाँले प्रारम्भ गर्नुभएको ‘अङ्ग्र्रेजी–नेपाली व्याकरण’ को आज पनि उत्तिकै खोजी हुन्छ । जुन लाखौं प्रति बिक्री भएको छ । तिनको चर्चा र चासो हुन्छ । ज्ञानोपयोगी र व्यावहारिक किसिमका उहाँका प्रत्येक किताब दर्जनौँ संस्करण छापिएका छन् । 

भाषिक विकासका साथै वैयक्तिक र शैक्षिक उन्नयनका सहयीगी उहाँका कृतिहरूले ठूलो भूमिका खेलेका थिए, खेलेका छन्, अझै खेलिरहेका छन् र भविष्यमा पनि खेलिरहने छन् ।

गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञानलगायतका भाषा र व्याकरण सम्बन्धी पुस्तकहरू प्रकाशित छन् ।

उहाँको ‘बाफरे जिन्दगानी !’ नामक कृति जीवनका आरोह–अवरोहको दस्तावेज  हो । जीवनभर उहाँ शुद्ध भाषा, व्याकरणकै लागि रातदिन केही नभनी खटिनुभयो । पछिल्लो समय भाषिक आन्दोलनमा पनि उहाँको योगदान स्तुत्य छ ।

उहाँ भन्नुहुन्छ– ‘आफू शुद्ध र अशुद्ध भाषाको छ्यानब्यान गर्न नसक्ने, अशुद्ध र अस्वीकार्य हिज्जे जबर्जस्ती लाद्न खोज्ने अनि संविधानको शुद्ध र सर्वस्वीकार्य भाषालाई गलत देख्ने प्रज्ञा–प्रतिष्ठान र यस कृत्यमा निरन्तर उससँग काँधमा काँध मिलाउँदै आएको त्रिभुवन विश्वविद्यालयप्रति नेपाली भाषाप्रेमीले हाँस्ने कि रुने ? यद्यपि, भाषिक विकृतिका विरुद्ध नेपाली–भाषा–प्रयोगकर्ताहरूको आक्रोश उर्लिएको १२ वर्षपछि हामीले सही न्याय पाएका छौँ ।’

उहाँका अनुसार सबैभन्दा पहिले त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका प्रमुखले तहस–नहस गरे, दोस्रो नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रा.डा. प्राज्ञले गरे, तेस्रोमा आएर पाठ्यक्रम विकास केन्द्रका निर्देशकले तहस–नहस गरे । यसलाई शिक्षा मन्त्रालयले पनि सदर गरिदियो । 

उहाँ अगाडि भन्नुहुन्छ– ‘यसमा संलग्न हुने धेरै छैनन् । दुईवटा हातका औँलाजति भन्ने गरेको छु मैले, झन्डै १० जनाजति छन् । उनीहरूलाई मैले ‘वर्णविन्यासका दुस्मन’ करार गरेर भाषा आन्दोलनको अन्तिम पुस्तिका लेखेको छु । अन्य विषयमा लेखिरहने छु, तर भाषिक आन्दोलनका विषयमा सर्वोच्चले न्याय दिएकाले मैले अब धेरै लेख्नुपर्ने छैन ।’ 

गौतम चिन्तित हुँदै प्रश्न गर्नुहुन्छ‘ यसो गमिहेर्नोस् त, नेपाली वाङ्मयका दिवङ्गत विभूतिहरू ‘प्रज्ञा’ र ‘त्रिवि’ ले मच्चाएको भाषिक भाँडभैलोबाट त्यस लोकमा पनि कति आहत भएका होलान् ? शायद, महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो अमर कृति ‘मुनामदन’ को ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ लाई अनन्तलोकबाट मत्र्यलोकको पटाङ्गिनी अर्थात् प्रज्ञा–प्रतिष्ठानतर्पm नजर लगाउँदै तलको हरफ थपेर गुनगुनाउँदा होलान्- ‘मानिस ठूलो प्रज्ञाले हुन्छ, प्राज्ञले हुँदैन ।’

यसैबीच २०८० साल मङ्सिर २ गते धुलाबारी, झापामा त्रिफला राष्ट्रिय पुस्तकालयको सभाकक्षमा एक पृथक कार्यक्रम सम्पन्न भयो । सो पुस्तकालयद्वारा आयोजित विशेष समारोहमा स्रष्टा चूडामणि गौतमको ११० औँ कृति ‘शुद्ध नेपाली लेख्ने यसरी’ नामक कृति लोकार्पण गरिएको यहाँ स्मरणीय हुन्छ ।

सो कृतिले ‘हाम्रो देश विविध भाषा र संस्कृतिले सजिएको छ । हरेक जातिको, हरेक भाषाभाषीको आफ्नै महत्व छ । मानिसले मातृभाषालाई प्रेम गर्नुपर्छ, यो उसले आमाको काखमा सिकेको भाषा हो । आफ्नो भाषालाई अनादर गरेर अरूको भाषालाई सम्मान गर्न सकिँदैन ।’ भन्ने भावलाई मुख्य प्राथमिकता दिएको छ । 

उहाँको बानी सधैँ नयाँ शब्दको खोजीमा रमाउने छ । त्यसैले चिने जानेकाहरूले उहाँलाई ठेट नेपाली शब्द बताइदिन अनुरोध गर्ने गर्छन् । यही अनुरोधलाई स्वीकार्दै उहाँले पनि नयाँ शब्दको जन्म गराउनुभएका नेपाली शब्दहरू प्रशस्त छन् । उहाँको वृहत्तर शब्द कोशमा प्रशस्तै नयाँ शब्दहरू रहेका छन् ।

त्यस्तै सो कृतिले ‘हाम्रोमा धेरै भाषा हुँदाहुँदै पनि देवनागरी लिपिमा लेखिने नेपाली भाषाले सबै जाति र संस्कृतिलाई जोडेको छ । एक–अर्कालाई आफ्नो भाव व्यक्त गर्दा नेपाली भाषा नै प्रयोग गर्नुपर्ने हुन्छ र नेपाली भाषा नै सम्पर्कका रूपमा प्रयुक्त हुन्छ । अरू भाषालाई अनादर होइन । तर, नेपाली भाषालाई नै सम्पर्क भाषाका रूपमा संरक्षण गर्नुपर्छ ।’ भन्ने मान्यतालाई आत्मसात् गरेको छ ।

तीन किलोभन्दा वढी तौलको शब्दकोश मात्र होइन उहाँले सानोभन्दा सानो तर त्यत्तिकै गहकिलो कृतिको पनि सिर्जना गर्नुभएको छ । सानो भए पनि यसको आवश्यकता र महत्वबारे व्याकरण गुरु चूडामणि गौतम भन्नुहुन्छ– ‘नेपाली भाषाको मौलिकतालाई सिध्याउन आफूलाई विद्वान व्याकरणविद र भाषाविद बताउनेहरू नै नेपाली वणर्का जथाभावी खुट्टा काट्ने, अक्षर र वर्णहरू घटाउने दुष्ट्याइँपूर्ण कार्यमा लागेको हुँदा यी दुष्कार्य रोक्नकै निम्ति म यो उमेरमा क्रियाशील रहेको हुँ । ‘सानो छ यसले शुद्ध लेख्ने खाँचो त टार्दछ, अँधेरी रातमा जूनकीरी झैंं काम लाग्दछ ।’ यो पुस्तक त्यही जूनकीरी हो ।’

शुद्ध र सही वर्णविन्यासको पक्षधर भाषा तथा व्याकरणविद चूडामणि गौतमको पुस्तक  सरल र सहज ढङ्गले नेपाली भाषालाई शुद्ध ढाँचामा लेख्न अभिप्रेरित गर्ने कृति हो । यो कृति नेपाली भाषामा कलम चलाउने जो कसैको लागि उपयोगी छ । सानो भए पनि यो कृतिले नेपाली भाषामाथि वितण्डा मच्चाउनेहरूलाई मुखभरिको जवाफ दिएको छ ।

चूडामणि गौतमले बताउनुभए अनुसार अहिलेसम्मकै उहाँको सबैभन्दा ठूलो ‘बृहत्तर नेपाली शब्दकोश’ हो । यसबारे उहाँ भन्नुहुन्छ– ‘वर्णविन्यासमा भित्र्याइएका सम्पूर्ण विकृतिहरूबाट मुक्त, शिष्ट परम्परा तथा स्वनामधन्य साहित्यकारहरूको प्रयोगमा आधारित, धेरै राष्ट्र भाषाहरूका शब्दहरू प्रविष्ट भएकाले समावेशी अनि अरू शब्दकोशहरूभन्दा धेरै शब्दहरू यो शब्दकोशमा समेटिएको छ । सच्चा अर्थमा सबैभन्दा शुद्ध तथा मानक हुनुका साथै अहिलेसम्मकै सबैभन्दा ठूलो यो शब्दकोश हो ।’

आफूले शुद्ध भाषा बोल्न र लेख्नका लागि अरू धेरैलाई उहाँले ठूलो गुन लगाउनुभएको छ । ‘अक्सफोर्ड डिक्सनरी र ग्रामर’ ले बजार लिइरहेको समयमा ‘चूडामणि गौतमको व्याकरण’ आएपछि नेपाली भाषाप्रेमी मनले धेरै ठूलो राहत महसुस गरे । उहाँले पनि ‘अङ्ग्र्रेजी–नेपाली व्याकरण’ को महत्वलाई मनन गरी शुद्ध व्याकरणको मानक स्थापनामा मरिमेट्नु भयो । 

उहाँ भन्नुहुन्छ– ‘आफूले बोल्ने भाषा शुद्ध र सरल हुनुपर्छ । यसकै लागि मैले नेपाली भाषाको शुद्धीकरण र अङ्ग्रेजी भाषाको सरलीकरणका लागि शब्दकोष र व्याकरण लेखनमै जीवन समर्पण गरेँ ।’

बिहान झिस्मिसेदेखि राति २ बजेसम्म भाषा–व्याकरणको शुद्ध लेखनमा लागेको सम्झना उहाँ सुनाउनुहुन्छ । त्यसको प्रतिफल पनि राम्रै भएकोमा पनि उहाँलाई सन्तोष लागेको छ । उहाँका अनुसार आजसम्म पनि उहाँले आफ्नो सिर्जनाकर्ममा अल्छी पाल्नुभएको छैन । यही सक्रिय र सिर्जनशील जीवनवयका कारण यो उमेरसम्म पनि आफूले लेखनमा सफलता हासिल गर्दै आइहेको अनुभव उहाँ सुनाउनुहुन्छ ।

उहाँको बानी सधैँ नयाँ शब्दको खोजीमा रमाउने छ । त्यसैले चिने जानेकाहरूले उहाँलाई ठेट नेपाली शब्द बताइदिन अनुरोध गर्ने गर्छन् । यही अनुरोधलाई स्वीकार्दै उहाँले पनि नयाँ शब्दको जन्म गराउनुभएका नेपाली शब्दहरू प्रशस्त छन् । उहाँको वृहत्तर शब्द कोशमा प्रशस्तै नयाँ शब्दहरू रहेका छन् ।

असारको मौसममा झमझम पानी पर्नुपर्ने तर गर्मीको धूपले बिहानै पसिनाले भिजेर हैरान थियो । गौतम सरको आँखा अप्रेशनको आराम लिनुपर्ने हुँदा मैले उहाँले निम्त्याउनुभएको समयमा पुग्नुपर्ने थियो । डिल्लीबजार २९ वडा कार्यालय पछाडिकै उकालोमा रहेछ उहाँको घर । उहाँको नाम लिनासाथ उहाँलाई कसले नचिन्ने र ? घर देखाएर उहाँप्रति सम्मान दर्शाउने छिमेकीहरू भएको थाहा पाएर मैले पनि मनमा आनन्द महसुस गरेँ ।

चूडामणि गौतम तेह्रथुम जिल्लामा जन्मनुभएको हो । ८१ वर्षको उमेरमा पनि अद्यापि सक्रिय लेखन कर्ममै रमाइरहनुभएको छ । यसरी आफ्नै कर्ममा समर्पित तपश्वी आदरणीय गौतमज्यूलाई निकै वर्षपछि उहाँकै निवास डिल्लीबजारमा भेट्न पाएर मैले पनि मनमा आनन्द महसुस गर्न पाएँ  । परिपक्व विचार, बौद्धिक तर्क, तथ्य र तौरतरिकामा अब्बल अग्रज व्याकरणविद् गौतमले नयाँ नेपाली शब्दको खोजी गर्दै बृहत्तर नेपाली शब्दकोशको प्रकाशन गर्नुभएको छ ।

उहाँले लेख्नुभएका सरल भाषा, प्रशस्त उदाहरण, धेरै अभ्यास, चिठी, निबन्ध लेख्ने तरीका समेटिएकाले पनि पुस्तक चालीसको दशकदेखि असीको दशकसम्म पनि झन् लोकप्रिय रहँदै आएका छन् ।

यस्ता आदरणीय भाषाप्रेमी तथा व्याकरणविदको चिनारी धेरै गर्न सकिन्छ । अहिलेलाई आगामी दिनमा उहाँबाट हामी शुभचिन्तक पाठकले अझ यस्तै जीवनोपयोगी कृतिहरू पढ्न पाउने अपेक्षासहित उहाँको सुस्वास्थ्यको मङ्गल कामना गर्नु समीचिन लाग्छ ।