हरिविनोद अधिकारी | साहित्य | साउन १९, २०८१
शृङ्खला २०१को अन्तिम अनुच्छेदमा लेखिएको रहेछ....
वैवाहिक स्वर्ण महोत्सव आउँछ जान्छ अरु बाँचिए ती वर्षहरु अरु थपिन्छन् तर बाँचुन्जेल समाजका लागि केही दिन सकियोस् , परिवारका लागि मार्गदर्शन गर्न सकियोस् र मरण सहज होस् भन्ने कामना गर्नुपर्छ । मृत्यु अपरिहार्य हो र त्यो एकदिन बाजा नबजाई आउँछ र लान्छ । कसरी कहाँबाट कुन निहुँमा लान्छ , त्यो थाहा हुने कुरा भएन । अहिलेसम्मको जीवनलाई पनि आशीर्वादका रुपमा लिनुपर्छ र जतिदिन बाँचिन्छ , त्यो पनि मानव जीवनका लागि स्वास्थ्य विज्ञानको उपलब्धि मान्नुपर्छ । हामी किशोरावस्थामा हुँदा औसत उमेर ४१ वर्ष थियो भने अहिले औसत उमेर ७३ वर्ष हुन पुगेको छ । त्यसका मुख्य कारण औषधि विज्ञानको चमत्कार नै हो । हामी बाँच्न चाहन्छौँ र स्वास्थ्य विज्ञानले हाम्रो चाहनालाई साथ दिएको छ । भनिन्छ, कृति , यशमात्र अमर रहन्छ । भोलिका दिनमा सन्ततिले आफ्ना पुर्खाको नाम लिँदा आदरका साथ लिऊन् भन्ने कामना गर्नु धृष्टता होइन कि ? ........
मानिसमा प्रशंसाको भोक लागिरहन्छ । प्रशंसाको भोकले सताएको प्राणी मान्छे नै हो । कसैले सत्य कुरामा खरो टिप्पणी गरे पनि हामीलाई रिस उठ्छ र सत्यमाथि आधारित तर खरो टिप्पणी गर्नेहरुसँग पनि अनावश्यक विवाद हुन्छ र सके बोलचालसम्म पनि हुन छोड्छ । यो हाम्रो लोक चलन भएको छ र आफूलाई अरुभन्दा फरक देखाउने चलन पनि चलेको छ । केमा फरक भन्ने टुङ्गो नभए पनि राम्रो म भन्ने चलन यथावत् नै देखिन्छ ।
मैले खासै चाहना त्यस्तो राखेको पनि थिइँन कुन्ती लोकार्पणको भव्यताका साथ । भव्यताको अर्थ हो खर्चिलो तरिकाले लोकार्पणको तयारी । खर्चिलोको अर्थ हो होटल या कुनै भाडाको ठाउँ लिएर कार्यक्रम गर्ने तरिका । तर मेरा पाँचवटै छोराछोरीले हाम्रो विवाहको ५० वर्ष पुगेको दिन -असार १४गते-छानेर स्टाफ कलेजको एउटा ठुलै कोठा लिएछन् र मलाई भने-कति मानिस बोलाउने हो, कोको अतिथि बोलाउने हो, हामी सबैलाई आमन्त्रण गर्नेछौँ । त्यसो त मैले चिनेका मेरा विभिन्न पेसासँग सम्बद्ध साथीहरु र मेरा तर्फबाट मान्यवरहरूको संख्या धेरै हुने थियो तर केही मात्र आफन्तहरुलाई बोलाउने काम भयो । त्यसदिन केही मान्यवरहरुलाई मात्र मञ्चमा राख्ने निधो गरेछन् छोरा छोरीहरुले । यहाँ छोराछोरी भन्ने बित्तिकै बुहारीहरू र ज्वाईँहरु पनि पर्नुहुन्छ ।
परिवारमा बच्चाहरुले सल्लाह गरेछन् , प्रमुख अतिथिमा सर्वोच्च अदालतमा पूर्व वरिष्ठ न्यायाधीश माननीय गिरीशचन्द्र लाल र उत्तर आधुनिक साहित्यका व्याख्याता तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई मुख्य वक्ताहरू, कुन्ती उपन्यासमा टिप्पणी गर्नका लागि साहित्यकार प्राध्यापक डाक्टर विष्णु एस राई, साहित्यकार तथा मदन पुरस्कार विजेता डाक्टर नवराज लम्साल तथा वरिष्ठ पत्रकार तारानाथ दाहाल( दुवै जनाले कुन्ती उपन्यासमा भूमिका पनि लेख्नु भएको छ), समालोचक ज्ञानु अधिकारी र हामी दम्पतीलाई मात्र मञ्चमा राख्ने । वरिष्ठ राजनीतिज्ञ सानाबा विपिन कोइराला र सानीमा बिना कोइरालाले सो कार्यक्रममा आउन नसक्ने भनेर पूर्व जानकारी पाएकाले उहाँहरुलाई मञ्चमा व्यवस्था गरिएको थिएन । तर कार्यक्रमको बिचमा उहाँहरु आउँदा हामीले भव्यताका साथ स्वागत गर्यौँ र उहाँहरुको आशीर्वाद प्राप्त गरेका थियौँ ।
हामीले त्यस समारोहमा बोलाएका सबै नै समान माननीय हुनुहुन्थ्यो र सबैलाई स्वागत गर्ने जिम्मा हामीले दिएका थियौँ अक्षराङ्क प्रकाशनका प्रकाशक हिमाल रेग्मी जो मेरा प्यारा विद्यार्थी पनि हुन् । उनकी दिदीको अस्वस्थताका कारणले उनी आउन सकेनन् र स्वागतको जिम्मा पनि मेरी ठुली छोरी करुणा अधिकारीले नै लिइन् । त्यसदिनको समारोहको सम्पूर्ण प्रक्रियामा केटाकेटी नै लागेका थिए । अनि मञ्चमा रहेका हामीले पुस्तक लोकार्पण गर्यौँ । कुन्ती उपन्यासको लेखाइको सन्दर्भ र विषय प्रवेश मैले आफैँले गरेको थिएँ भने हाम्रो परिवारका तर्फबाट भाइ शम्भुले नै शुभकामना व्यक्त गरेको थियो । बहिनी मुना न्यौपाने, भाइ कान्छो तारिणी सँगै हाम्रो परिवारका अन्य सदस्यहरु पनि थिए । कतिलाई भन्न पनि भ्याइएन छ ।
एकातिर मेरो पाँच दशक देखिको लेखन परम्परासँग तादात्म्यता राखेको भए पनि पुस्तकाकार कृति आएको थिएन स्वतन्त्ररुपमा । पाठ्यपुस्तकका रुपमा आएका कृति मेरा स्वतन्त्र कृति थिएनन् । कति प्रायोजनमा लेखिएका थिए भने कति पाठ्यक्रमको सीमाभित्र बाँधिएर लेखिएका हुन्थे । यो कृति पनि फिँजारिएका लेखहरुलाई आफैँले मिहिन तरिकाले सम्पादन गरेको थिएँ ।
चित्त बुझाउने कुरा यत्ति हो कि कसो कसो मेरा नाममा एउटा कृति छापिएर सार्वजनिक भएको हो । यो पनि महाभारतमा आधारित पात्राको आत्मालाप हो । स्वतन्त्र लेखाइ भन्दा पनि कुन्ती पात्राको मन भएर म आफैँ बोलेको हुँ । त्यस बेलामा, त्यो आत्मालापका विभिन्न धारामा, कुन्तीका जीवनका विभिन्न आयाममा म आफूलाई सँगसँगै बगाउन मलाई असाध्य गाह्रो हुन्थ्यो किनभने मैले आफूलाई द्वापर युगमा बाँचेकी एक त्यस्ती रानीको रुपमा बाँच्नु परेको महसुस हुन्थ्यो कि जो बोल्न पनि नसक्ने तर गुम्सिएर पाक्नु पर्ने अनि मनमा तुफान चलिरहने ।
पाण्डु राजा हुँदा पटरानी भए पनि राजाको खासै ध्यान राज पाठमा भन्दा पनि देशको सीमा बढाउने तिर बढी हुने अनि दरबारमा जेठाजु धृतराष्ट्रको तर्फबाट बुनिने षडयन्त्रका बारेमा थाहा पाए पनि थाहा नपाएजस्तो गर्नुपर्ने अवस्थामा बाँचेकी रानीको जीवनलाई अन्तिम अवस्थामा आफैँले आफूलाई र आफ्नो अतीतको निष्पक्ष मूल्याङ्कन गर्नु पर्ने काम , अत्यन्त कठिन कल्पनासँग म भिडेको थिएँ । कस्तो भयो , कस्तो कल्पना गरेँ , थाहा छैन । तर त्यस्तो कठिन कामको इतिवृत्तलाई बिट मारेर प्रकाशन हुन सकेको थियो, त्यस्तो कृतिको लोकार्पण मेरोलागि सन्ततिले गरेका थिए । झन मेरा लागि गर्वको विषय बनेको थियो, कार्यक्रमको सम्पूर्ण सञ्चालन मेरा सन्ततिले गरेका थिए र मेरा बारेमा मेरी पहिलो नातिनी विश्रुताले तेस्रो पुस्ताको प्रतिनिधित्व गर्दै बोलेकी थिइन् ।
मैले त्यस दिनको कार्यक्रमका लागि सन्ततिलाई धन्यवाद दिनैपर्छ । जो जो हाम्रो निम्तो मान्न आउनु भयो, सबैलाई धन्यवाद दिन्छौँ र उहाँहरु सबैमा आभार व्यक्त गर्छौँ । जो जो आउन पाउन भएन, उहाँहरुको पनि शुभकामना थियो भन्ने सोचेका छौँ ।
यो कुनै ठुलो कुरो होइन किनभने मेरा साथीहरुले धेरै पुस्तक लेखेर, मभन्दा पछिका उमेरका भाइबहिनीहरूले पुस्तकाकारमा धेरै कृति प्रकाशन गरिसकेको अवस्थामा मैले यसमा धेरै गर्व गर्नुभन्दा अरु मेरा कृतिहरु अब कसरी सार्वजनिक गर्ने भन्ने हुटहुटी मेरा सन्तानमा मैले देखेको छु । आफ्ना बारेमा धेरै प्रशंसाका कुराहरु लेख्दा महाभारतको एउटा प्रसङ्ग याद आउँछ । महारथी अर्जुन जे कुरा गर्दा पनि आफ्नो गाण्डीव धनुको क्षमतामा गर्व गर्थे र जस्तोसुकै शत्रुलाई पनि गाण्डीवका सहयोगले सखाप पार्छु भनेर घमण्ड पनि गर्थे । जब महाभारतको युद्ध भयो, अर्जुनले लड्ने शपथ खाएर लड्न थालेपछि भन्थे - मैले गाण्डीवमार्फत् एकैदिनमा शत्रुपक्षलाई सखाप पार्नेछु ।
एकदिन जेठा पाण्डव, जो भावी राजा हुनका लागि महाभारतको युद्धमा होमिएका थिए अर्जुनसहित अन्य ११ अक्षौहिणी सेनाको सहयोगमा । युधिष्ठिरले अर्जुनलाई भनेछन् , खोइ त तिम्रो गाण्डीवको क्षमता ? युद्ध त समाप्त हुने नामै लिँदैन त ? गाण्डीवको फुर्ती लगाउन छोड अब । यस्तै के भन्दै थिए युधिष्ठिर , अर्जुनलाई असह्य भयो । उनको प्रतिज्ञा थियो, जसले गाण्डीवको अपमान गर्नेछ ,उसको हत्या गर्ने । अब अर्जुनले आफ्नो प्रतिज्ञा पूरा गर्न युधिष्ठिरको हत्या गर्नु जरुरी थियो । महाभारतको युद्धको बिच भाग थियो ।
लडाईँ जोडतोडको साथ चल्दै थियो । त्यस्तो बेलामा सेना नायकका रुपमा नेतृत्व गर्ने भावी राजा युधिष्ठिरको हत्या कति सान्दर्भिक थियो एकातिर भने अर्कोतिर अर्जुन जस्ता महावीरको प्रतिज्ञा पूरा गर्नु पनि थियो । दाजुको रुपमा राजाको हत्या गर्नु कसरी ? तर नगरी नहुने अवस्था । त्यसको समाधान कसरी भयो भने आत्मश्लाघा त हत्याभन्दा बढी पाप हो भन्ने धर्मशास्त्रमा लेखिएकाले अर्जुनले आफ्नो प्रशंसा आफैँ गर्ने जसले गर्दा उनको हत्या गर्ने प्रयासको पापभन्दा ठुलो पाप त्यही हुने । दाजुको हत्या गर्ने कल्पना, राजाको हत्या गर्ने कल्पना सम्म पनि पापको भकारी बनेको थियो अर्जुनका लागि । त्यसैले अर्जुनले आत्मप्रशंसा गरेर त्यो पाप पखाले भन्ने लोकोक्ति छ । त्यस्तै मैले पनि आत्म प्रशंसा गरेर त्यो पापको भकारीमा किन पाप थप्ने ?
यतिमात्र भनौँ कि केटाकेटीले मेरो कृतिको लोकार्पण गरे, गराए । प्रकाशक हिमालले त्यसदिन जति अतिथिहरू आउनु हुनेछ, सबैलाई कुन्ती उपन्यास निःशुल्क वितरण गर्ने सल्लाह दिए । त्यसपछि आउनु भएका अतिथिहरूलाई र विभिन्न पुस्तकालयहरुलाई पुस्तक निःशुल्क उपलब्ध गराएका छन् । कतिपय साथीहरुले पुस्तक कहाँ पाइन्छ भनेर जानकारी माग्नु हुन्छ, त्यसबारेमा पनि व्यवस्थापन गर्नु जरुरी भएको छ जसका लागि मलाई हिमाल रेग्मीको सहयोग जरुरी हुनेछ । क्रमशः