ज्योतिलाल बन | अन्तर्मन्थन | साउन २९, २०८१
जसले जीवनको कुनै पनि कालखण्डमा थकानको अनुभव गरेनन् । सदैव लडिरहे । राजनीतिको मैदानमा, पत्रकारिताको फाँटमा र अरू सामाजिक एवं सांस्कृतिक मोर्चाहरूमा समेत । अनवरत रूपमा सङ्घर्षमय यात्रा जारी राखे । तिनै एक अथक यात्री, एक सङ्घर्षशील योद्धाको नाम लिनुपर्दा सामुन्नेमा आउँछन्- गोपालप्रसाद थपलिया ।
यो कृति तिनै सङ्घर्षशील योद्धा थपलियाको जीवन-यात्रालाई उजागर गर्ने हेतु अनुरूप लेखिएको हो। मलाई लाग्छ, उनको जीवनयात्राको शृङ्खलाबद्ध क्रम- उपक्रमलाई प्रतिनिधित्व गर्ने सुहाउँदो उपमा हुनसक्छ कहिल्यै नझुक्ने योद्धा ।
सङ्घर्ष-सङ्घर्षले भरिएको देखिन्छ थपलियाको जीवन-यात्रा । जीवन जिउनका लागि मनुष्यले मात्र होइन, यो धराका सम्पूर्ण जीवहरूले अथक सङ्घर्ष गर्दै आएका छन् । जीवन-सङ्घर्ष सबै जिउँदा प्राणीका निम्ति स्वाभाविक र अपरिहार्य आवश्यकता पनि हो। तर थपलियाको जीवन-सङ्घर्ष
आम मानिसभन्दा विशिष्ट एवं कठिन प्रतीत हुन्छ । नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्य राखी उनले किशोरावस्थादेखि थालेको जीवन-सङ्घर्ष आजपर्यन्त जारी नै छ ।
उनको जीवन-सङ्घर्ष निजी जीवनलाई सुविधासम्पन्न बनाउनका लागि थिएन, अकुत सम्पत्ति आर्जन गरेर 'सात पुस्ताको भविष्य सुरक्षित तुल्याउन का निम्ति पनि थिएन र समाजमा कुनै वैशिष्ठ्य प्रभाव वा सान-मान देखाएर आफ्नो नामलाई चर्चित बनाउने र जयजयकार पाउने अभिलाषाले निर्देशित पनि थिएन ।
उनी जुन समाजमा जन्मिए, हुर्किए, त्यस ठाउँमा शोषण, उत्पीडन र भेदभावमा बाँचेका कृषि-श्रमिक र अन्य श्रमजीवी जनताका पीडादायी अवस्थालाई उनले प्रत्यक्ष अनुभव गरेका थिए । समाजमा देखिने यस्ता नरमाइला दृश्यहरूले उनको किशोर मन-मस्तिष्कलाई नराम्ररी बिथोल्थ्यो । समाजभित्रका तिनै श्रमजीवी वर्गलाई दयनीय अवस्थामा पुर्याउन नकारात्मक भूमिका खेल्ने शोषक, उत्पीडक, विभेदकारी, जाली फटाहा र सामन्तहरूका शोषण, उत्पीडन, छुवाछूत, छिःछिः- दुरदुर र अन्याय-अत्याचार देखेर उनको कलिलो मनभित्र आक्रोशरूपी ज्वालामुखी विस्फोट हुन्थ्यो । तिनै दृश्य-परिदृश्य नियाल्ने क्रममा उनको मन सामाजिक ऐंजेरूहरूलाई उखेलेर दण्डित गर्न र तिनीहरूका शोषण र अत्याचार भोग्न बाध्य जनतालाई अधिकार दिलाउन तम्सेको थियो । शुरुवाती चरणमा उनको मनभित्र पलाएको यस्ता भावना र चेतना कसैले प्रशिक्षित तुल्याएर भएको थिएन, स्वतःस्फुर्त रूपमा उब्जिएको थियो ।
जुन समय थपलिया दोलखाको सुस्पा क्षमावती स्कुलमा आठ कक्षाका विद्यार्थी थिए, सो स्कुलको शिक्षकका रूपमा आए- मेघनाथ लम्साल । उनी भित्रको छिपछिपे चेतनालाई गहिऱ्याउन तथा गुम्सिएको भावनालाई जागृत तुल्याउन दरिलो प्रेरणा र ऊर्जाको स्रोत बन्न पुगे- मेघनाथ सर । मेघनाथ सर आएको केही महिनापछि सोही ठाउँमा आई पुगे भूमिगत कम्युनिष्ट नेता बुलन्द । बुलन्द र मेघनाथ दुवैका मार्क्सवादको सैद्धान्तिक चेतना रूपी ज्ञानले उनी प्रशिक्षित हुँदै जान थाले । सैद्धान्तिक चेतना र ज्ञानको विकासका साथै सोही चेतनामा आधारित भएर श्रमजीवी जनताको अधिकारका लागि सङ्घर्षमा होमिनुपर्ने कर्तव्य बोध पनि हुन थाल्यो, उनलाई । साथै, समाजमा शोषण, उत्पीडन, भेदभावलगायत अनेकौँ विकृति र विसङ्गतिहरू कायम रहनुका पृष्ठभूमिमा सामन्तवादमा आधारित निरङ्कुश राजतन्त्र नै प्रमुख कारण रहेको यथार्थ पनि मेघनाथ र बुलन्दबाटै उनले बुझे ।
उनी नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनका साथै पत्रकारिता आन्दोलनको एक अविच्छिन्न योद्धा एवं अभियानकर्मी रहेकाले उनको सङ्घर्षशील जीवनगाथालाई निजी जीवनीमा मात्र सीमित रहनु न्यायोचित ठानिनँ मैले । प्रारम्भमा कम्युनिष्ट पार्टीमा संगठित हुँदा उनले के-कस्ता प्रशिक्षण पाए ? त्यस्ता प्रशिक्षणहरूबाट उनी के-कसरी प्रभावित बन्न पुगे र कसरी सङ्घर्षमा होमिनका लागि प्रेरित भए ?
उनलाई शोषित, उत्पीडित जनताको अधिकार प्राप्ति र निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनमा होमिन अग्रसर तुल्याउने पात्रद्वय बने- मेघनाथ र बुलन्द । उनीहरूबाट प्राप्त दीक्षा र मार्गनिर्देशनअनुसार अघि बढ्दै गए । १६ वर्षको कल्कलाउँदो उमेरमा कृषि मजदूरको बनी (ज्याला) बढाउ आन्दोलन (२०२२) बाट थालनी भएको थियो उनको सङ्घर्ष र आन्दोलनरूपी यात्रा । उनले तात्कालिक समयमा चालेको यो यात्रा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको कारक बन्न पुगेको ऐतिहासिक वृहत् जनआन्दोलन र संविधान जारी हुने अवस्था (२०६२/६३) र २०७२/७३ को संविधान जारी हुने अवस्थासम्म निरन्तर जारी रह्यो करिब पाँच दशकभन्दा लामो ।
निरङ्कुश वा अरू जनविरोधी शासन व्यवस्थाका विरूद्ध छेडिएको आन्दोलन र सङ्घर्षहरूमा क्रियाशील रहँदा अनेकौ व्यवधानका सामना गरे उनले । आन्दोलन-यात्राको लगभग पाँच दशकीय (२०७२/२०७३) अवधिभित्र उनी ४० पटकभन्दा बढी प्रहरी प्रशासनको गिरफ्तारीमा परे । हिरासत र कारागरमा गरी करिब ७ वर्ष बन्दी जीवन बिताए, चरम यातना सहे । प्रहरी प्रशासनको यातनाकै कारण उनको शरीर थिलथिलो र जर्जर बन्न पुग्यो ।
ज्याला बढाउ आन्दोलन' को सफलतापछि उनी विद्यार्थी आन्दोलनमा होमिए । विद्यार्थी आन्दोलनमा अग्रसर रहेकै समय २०२८ सालको वृहत् भोकमरी आन्दोलनमा उनको अग्रणी भूमिका रहन पुग्यो । विद्यार्थी जीवनकालमा आफू आबद्ध कम्युनिष्ट पार्टीको निर्देशनअनुसार पत्रकारिता गर्न थालेका उनले जीवनका लामो र ऊर्जावान् वर्षहरू राजनीति र पत्रकारिता क्षेत्रमा नै बिताए । तर उनले अँगालेको पत्रकारिता व्यावसायिक उद्देश्यबाट निर्देशित थिएन । 'मिसन' अर्थात् समाजवाद प्राप्त गर्ने महान लक्ष्यतिर उन्मुख एक माध्यम थियो । र, थियो- सम्झौता हीन आन्दोलनको आधार पनि ।
विद्यार्थी आन्दोलनको क्रममा राजा वीरेन्द्रले आफ्नो शासन व्यवस्थालाई अझै बडी निरङ्कुश बनाउने उद्देश्यअनुसार ल्याएका थिए-शिक्षा प्रणाली। अरु शिक्षा प्रणालीविरूद्ध प्रारम्भ भएको आन्दोलन, सुस्तामा भारतीय पक्षले गरेको हस्तक्षेप विरोधी आन्दोलन, अमेरिकी साम्राज्यवादले भियतनाममा गरेको आक्रमण विरूद्ध भियतनामी जनताका पक्षमा गरिएको आन्दोलन, भारतले आफूमा सिक्किम विलय गरेको विरुद्धमा उछालिएको आन्दोलन, यी सबै आन्दोलनमा उनले प्रभावकारी भूमिका निभाए ।
उनले पत्रकारिता थालेपछिको पहिलो सबभन्दा ठूलो घटना थियो- पिस्कर हत्याकाण्ड । उक्त काण्डमा तात्कालिक पञ्चायती सरकारको प्रत्यक्ष संलग्नता थियो र सो नृशंस हत्याकाण्ड र त्यसपछि मच्चाइएको दमन विरूद्ध उनले आफ्नै सम्पादनमा प्रकाशित 'छलफल साप्ताहिक' मा सशक्त रूपमा विरोध जनाउँदै समाचार र समीक्षात्मक लेखहरू प्रकाशित गरे । सोही कारण उनलाई गिरफ्तार गरिनुका साथै चरम यातना दिँदै अत्यन्त सकसपूर्ण तरिकाले चार महिनासम्म प्रहरी हिरासतमा राखियो ।
नयाँ शिक्षादेखि गाउँफर्क राष्ट्रिय अभियान विरोधी आन्दोलन, २०३६ सालमा पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई दिएको फाँसीविरूद्ध उर्लिएको विद्यार्थी आन्दोलन, २०४६ सालमा प्रजातन्त्र प्राप्तिका लागि गरिएको जनआन्दोलन, शिक्षक आन्दोलन, मानवअधिकार आन्दोलन, पत्रकारहरूका पेशागत आन्दोलनजस्ता अनेकौँ आन्दोलनमा प्रत्यक्ष वा परोक्ष रूपमा उनको सक्रिय सहभागिता रहँदै आयो । २०६२/०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनमा उनी प्रत्येक दिन नै सहभागी भएर आन्दोलनलाई उचाइँमा पुर्याउन अग्रसरता देखाए । सो आन्दोलनमा सक्रिय भएर लागेकै बेला प्रहरीले उनलाई चरम यातना दिइनुका साथै दाहिने हातको पातै भाँचिदिएको थियो ।
पछिल्लो समय (२०५७-०६८) दक्षिण एसियाली स्वतन्त्र पत्रकार संगठन ( साफ्ना) को संस्थापक क्षेत्रीय अध्यक्ष तथा नेपाल च्याप्टरको अध्यक्षको जिम्मेवारीसमेत सम्हाले उनले । साफ्माको जिम्मेवारी सम्हाल्ने क्रममा उनले दक्षिण एसियाली पत्रकारिता जगत्को हक अधिकारका लागि आवाज मात्र उठाएनन्, नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफलतामा पुर्याउन समेत महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
प्रारम्भमा नेपाल कम्युनिष्ट पार्टी (२०२२ सालमा उनी संगठित हुँदा नेकपा विभाजित भएको थिएन) र २०२८ सालतिर मोहनविक्रम सिंह निकट रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका उनी २०३० सालपछि वर्तमान नेकपा ( एमाले) को पृष्ठभूमि बनेको पूर्व नेकपा (कोअर्डिनेशन केन्द्र) मा आबद्ध हुन पुगे । त्यसयता उनी सोही पार्टीमा निरन्तर रूपमा लागिरहे । सोही पार्टीको निर्देशनअनुसार पत्रकारिता गर्दागर्दै पनि उनले कहिले विद्यार्थी, कहिले शिक्षक त कहिले बुद्धिजीवीहरूका बीच पार्टीको संगठक, प्रशिक्षक तथा विभिन्न आन्दोलनमा नेतृत्वदायी तहमा आफूलाई उभ्याउँदै आए ।
यसरी उनी नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील हुँदै आएका एक विशिष्ट 'जनयोद्धा' का रूपमा परिचित बन्न पुगे । किशोरकालीन समयदेखि आजको वयोवृद्ध अवयवसम्म आइपुग्दा पनि उनको जीवन निजी स्वार्थका लागि नभई नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, लोकतन्त्र, मानवअधिकार तथा शोषित, उत्पीडित र दमित जनताको मुक्तिका लागि समर्पित रहँदै आएकोमा कुनै दुईमत देखिँदैन । .
उनी नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनका साथै पत्रकारिता आन्दोलनको एक अविच्छिन्न योद्धा एवं अभियानकर्मी रहेकाले उनको सङ्घर्षशील जीवनगाथालाई निजी जीवनीमा मात्र सीमित रहनु न्यायोचित ठानिनँ मैले । प्रारम्भमा कम्युनिष्ट पार्टीमा संगठित हुँदा उनले के-कस्ता प्रशिक्षण पाए ? त्यस्ता प्रशिक्षणहरूबाट उनी के-कसरी प्रभावित बन्न पुगे र कसरी सङ्घर्षमा होमिनका लागि प्रेरित भए ? यस्ता विषय र सन्दर्भहरू पनि उनको यो जीवनीमा समेटिएका छन् ।
उनी जुन पार्टीमा आबद्ध भएर मुलुकका तमाम शोषित, उत्पीडित र दमित (दबाइएका)हरूको अधिकार एवं मुक्तिका लागि निरन्तर क्रियाशील हुँदै आए, त्यस पार्टीको इतिहास झल्किने घटनाक्रमहरूसमेत उजागर गरेको छु । उनी प्रारम्भमा संगठित भई विभिन्न आन्दोलनमा सरिक रहेको विद्यार्थी संगठनको इतिहासलाई संक्षेपमै भए पनि समेट्नै पर्ने आवश्यक ठानिएकोले वाम विद्यार्थी संगठन अनेरास्ववियुको इतिहासलाई कोट्याइएको छ । सिन्धुपाल्चोक, पिस्करको महादेवस्थानमा २०४० सालको माघे संक्रान्तिमा आयोजित मेला (जात्रा) मा पञ्चायती निरङ्कुश सरकारले मच्चाएको नृशंस हत्याकाण्ड र अत्याचारविस आफूद्वारा सम्पादित छलफल' साप्ताहिकमा समाचार तथा तत्सम्बन्धी लेखहहरु प्रकाशित गरेबापत थपलियालाई सबभन्दा बढी यातना दिइएको थियो । हत्याकाण्डको जानकारीलगायत पिस्करका शोषित-उत्पीडित जनताले स्थान सामन्तहरू विरूद्ध गरेको सङ्घर्षसमेतलाई समेटेर यसको छोटकरी विवरणले पनि यो पुस्तकमा समावेश गर्नु असान्दर्भिक ठानिएन ।
भारतले नेपालको विभिन्न सीमाक्षेत्रमा अतिक्रमण र हस्तक्षेप गर्दै आएक छ । यस्ता हस्तक्षेपहरूमध्ये नवलपरासीको सुस्तामा २०१६ सालदेखि भारतबाट अतिक्रमण र हस्तक्षेप हुँदै आएको विदितै छ । सो हस्तक्षेपविरूद्ध स्थानीय नेपाली जनता, नेपालका विद्यार्थी संगठनहरू अन्य राष्ट्रप्रेमी संगठनहरूले विभिन्न पटक आन्दोलनहरू गर्दै आए । सुस्ता अतिक्रमण विरोधी आन्दोलनहरूमा थपलियाको पनि सक्रिय सहभागिता रह्यो । त्यसैले राष्ट्रिय सार्वभौमिकतासँग सम्बन्धित सुस्ता अतिक्रमणको प्रसङ्गलाई सक्षेपमा समावेस गर्नुलाई मैले उचित नै ठानें ।
थपलिया भियतनाममा अमेरिकाले गरेको आक्रमणविरोधी आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका थिए । त्यसैले भियतनाममा अमेरिक साम्राज्यवादको नाङ्गो आक्रमण र सो आक्रमण विरूद्ध भियतनामी जनताले गरेक साहसिक सङ्घर्ष तथा साम्राज्यवाद विरोधी संसारका जनताले भियतनाम जनताको पक्षमा गरेको आन्दोलनलाई पनि यसमा समेटिएको छ ।
तात्कालिक समय भारतीय विस्तारवादले सिक्किममा हस्तक्षेप मात्र गरेन सो मुलुकको स्वतन्त्र एवं सार्वभौम अस्तित्वलाई नामेट पारेर एउटा प्रान्त बनाए आफूमा गाभ्यो । भारतले सिक्किमलाई आफूमा गाभेपछि सो कार्यविरूद्ध नेपालमा पनि आन्दोलन चर्कियो, जसमा थपलियाले नेतृत्वकारी भूमिका निभाएका थिए छिमेकी मुलुकको अस्तित्व नै मेटाइदिने भारतीय विस्तारवादको सो कुकर्मबा पनि यो पुस्तकमा उल्लेख गर्नु उचित नै ठानियो ।
दक्षिण एसियाभरिका पत्रकारहरूको हकहित, ऐक्यबद्धता र सवलीकरणका साथै लोकतन्त्र, प्रेस स्वतन्त्रता र जनअधिकारका लागि समेत क्रियाशील दक्षिणएसियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) मा थपलियाले अध्यक्षको भूमिका निभाएका थिए । यस विषयमा पनि सङ्क्षेपमा केही जानकारी दिन छाडिएको छैन ।
माथि उल्लेख भए जस्ता विषयहरू समेटिएकोले यो कृति थपलियाको निजी जीवन कथा मात्र नभएर यसमा समावेश कतिपय विषयहरू प्रारम्भिक कम्युनिष्ट शिक्षाका लागि पाठ्य सामग्रीजस्तै बन्न पुगेका छन् । साथै, नेपालमा लोकतन्त्र, समाजवाद र सामाजिक रूपान्तरणका लागि हुँदै आएका विभिन्न सङ्घर्ष वा आन्दोलनहरूको सङ्क्षिप्त इतिहास नै पनि बन्न पुगेको छ यो पुस्तक । यस्तो बन्नुलाई असान्दर्भिक र अस्वाभाविक ठानेको छैन मैले । किनकि यदि हिसाब गरेर छुट्याउने हो भने थपलियाको जीवनले आफ्नो र आफ्नो परिवारको भरणपोषण व्यवस्थापनका लागि २० प्रतिशतभन्दा बढी समय खर्चेको पाउन सकिने छैन । उनको ८० प्रतिशतभन्दा बढी समय र जीवन-ऊर्जा देशको राष्ट्रिय स्वाधीनता, वर्गीय असमानता, सामाजिक भेदभाव विरोधी आन्दोलनका लागि नै समर्पित हुँदै आयो । त्यसैले थपलियाको यो जीवन सङ्घर्षको इतिवृत्त पनि सोही किसिमले प्रस्तुत हुन पुगेको छ । यो पुस्तकमा गोपाल थपलियाको वंश इतिहासदेखि उनको पारिवारिक विवरण र घटनाहरूले बढीमा ३० प्रतिशत ओगटेका छन् भने ७० प्रतिशत उनी संलग्न र सम्बद्ध आन्दोलनका घटना र गतिविधिहरूले नै भरिन पुगेको छ ।
कहिल्यै नझुक्ने योद्धा (गोपालप्रसाद थपलियाको जीवनयात्रा) पुस्तकबाट