निर्माण कम्पनीले भुक्तानी नपाउँदा सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोग विहीन

निर्माण कम्पनीले भुक्तानी नपाउँदा सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोग विहीन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  साउन ३२, २०८१

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढ गाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोग विहीन भएको छ । 

प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । 'निर्माण व्यवसायीलाई दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,” उहाँले भन्नुभयो । 

बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन । निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न  बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।