सानो खुशी, ठूलो सन्तुष्टि: के.के. कर्माचार्यको कूचीमा जदौ दाहालको मुस्कानभरि खुशी

सानो खुशी, ठूलो सन्तुष्टि: के.के. कर्माचार्यको कूचीमा जदौ दाहालको मुस्कानभरि खुशी

ज्ञानेन्द्र विवश  |  साहित्य  |  भदौ ०१, २०८१

कहिलेकाहीँ सानो खुशीले पनि धेरै ठूलो सन्तुष्टि मिल्न सक्दोरहेछ । गएको साता यस्तै खुशी र सन्तुष्टिले मन आनन्दित भइरह्यो । ‘जदौ दाहाल’ को मुस्कान भरि अनुहारलाई वरिष्ठ कलाकार के. के. कर्माचार्यको कूचीले आकार दिँदा यौटा दिव्य सिर्जनात्मक पलको उदय भयो । उहाँले रेखाचित्रदेखि क्रमशः आकार उतार्दै रङहरूमा रूपान्तरण गर्दै ठोस अनुहारमा आकृतिवद्ध गरिरहँदाकJ नवीनतम् सिर्जनाको दृश्य हेरिरहँदा मेरो मनमा धेरै भावहरू तरङ्गित भइरहे । रङ रेखाको कुशल संयोजन क्षमताबाट कति सुन्दर र कति जबीवन्त स्वरूप आकृतिवद्ध हुनसक्छ । प्रथमतः यस कलाकर्ममा सर्जकको एकाग्रता र साधनाको समर्पित पहिचानले निश्चित गति निर्धारण गर्ने क्षमता राख्ने रहेछ ।

नेपाली ललितकलामा के. के. कर्माचार्यको नाम र कामको ख्याति प्रसिद्ध छ । उहाँले लामो समय सरकारी सेवामा रही नेपाली हुलाक टिकट डिजाइनमा ठूलो योगदान दिनुभएको छ । यसका साथै व्यक्तिचित्र, दृश्यचित्र, सांस्कृतिक चित्र, जनजीवन, दृष्टान्त चित्र उतार्दै आइरहनुभएको छ ।

यस्ता आदरणीय अनुभवी कलाकारको सिद्धहस्त हातबाट अर्का त्यस्तै आदरणीय व्यक्तित्वलाई क्यानभासमा जीवन्त उतारिनु नेपाली ललितकलाकै उपलब्धि हो । यो शुभ र पुनित कार्यलाई केवल दुई दिनको समयमा सम्पन्न गर्न सहर्ष स्वीकार गरी कलात्मक अनुहार सिर्जना गरी त्यसलाई सौजन्य उपहार उपलब्ध गराइदिनु हुने अग्रज कलाकार के. के. कर्माचार्यज्यूलाई धन्यवाद तथा आभार मात्र दिनु थोरै हुन्छ । तथापि उहाँको यो सत्कर्मले भविष्यका पुस्तालाई पनि महत्वपूर्ण उपहार प्रदान गर्ने नै छ । अहिलेलाई कलाकारको यो सदासयताका निम्ति मेरो व्यक्तिगत र ‘दाहाल यज्ञनिधि सुधा सदन’ का तर्फबाट सविनय कृतज्ञता निवेदन गर्छु । 

जदौ दाहाल यज्ञनिधिमा हार्दिक श्रद्धा भाव । उहाँले गर्नुभएको माया र प्रेम उहाँको अभावमा पनि झल्झली सम्झना आइरहेछ । यसरी थोरै समयमा सिर्जित अमूल्य उपहारलाई सहर्ष स्वीकार गरी दाहालको छैठौँ स्मृति दिवसमा समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईबाट सार्वजनिक गराउनु हुने सुधा भाउजूलाई पनि धेरै–धेरै धन्यवाद ! स्मरणीय छ, दाहालको इच्छानुसार उहाँको तस्बिरमा माला लगाइएन र फूल चढाइएन ।

आवाजको संसारमा अलग्गै आवाजको प्रिय स्वर–सुसेली । स्पष्ट शब्दोच्चारण, प्रखर बोली सरल स्वभाव तर प्रहार गर्न बाँकी नराख्ने शैली ।  एक्लो, असहाय, विपन्न व्यक्ति, परिवार र समुदायलाई मायाले सुम्सुम्याउने । हार्दिकताको अँगालोमा बेर्ने ।

हेपिएका, पीडित र पछाडि पारिएका प्रति अल्पसंख्यक, दलित, गरीबगुरुवालाई ज्यानै दिन तयार । मित्रमिजासका नरम बोली, शिष्ट विशिष्टपन र पहिचानका धनी । मनपर्नेलाई मन र मुटु नै सर्वश्व सुम्पिदिने । मन नपर्नेलाई डाम्नुसम्म डाम्ने । नछोड्ने जालिफटाहा, गरीवमारालाई कहिल्यै । ईमानमा नरहनेहरूको उछित्तो काड्न नछोड्ने । आफू सदासर्वदा खरो सत्यको पक्षमा उभिन नछोड्ने । 

यस्ता आदरणीय व्यक्तित्वलाई कलामा जीवन्त उतारिदिनु हुने कलाकार कर्माचार्य मूलतः दृश्यचित्रकार हुनुहुन्छ । तथापि उहाँको सिर्जनात्मक विषय र शैलीमा आफ्नै पहिचान छ । अर्थात् उहाँ जुन माध्यम, विषय र शैलीमा काम गरे तापनि कलात्मक पहिचानको मौलिकता उहाँको कलागत विशेषता हो । नेपाली कलामा कोलाज कलाका प्रयोक्तासमेत उहाँ नै मानिनुहुन्छ । उहाँले कोलाज कलाको प्रथम एकल प्रदर्शनी २०२८ सालमै गरिसक्नुभएको छ । 

त्यस्तै रेखाचित्र, पानीरङ, पोष्टर, तेलमाध्यममा व्यक्तिचित्र उतार्नमा पनि के. के. कर्माचार्य कुशल मानिनुहुन्छ । रङको सन्तुलन र संयोजनको मिठासमा उहाँले बनाउने दृश्यचित्र हुन् वा अमूर्तचित्र ती सबै भावपूर्ण लाग्छन् । रङ संयोजनको सन्तुलित र सौन्दर्यमय प्रस्तुतिले चित्रको भाव पक्षलाई उचाइतिर डोर्‍याउँछ । फलतः कलापारखी दर्शकहरू तिनै कलामा मन्त्रमुग्ध हुन्छन् । 

व्यक्तिको सजीव अनुहार उतार्नमा उस्तै सिपालु कलाकर्मी हुनुहुन्छ उहाँ । उहाँले २०४८, २०६२ र २०७० सालमा प्रत्यक्ष व्यक्तिचित्रण कार्यशालामा उपस्थित धेरैलाई प्रभावित पार्नुभएको सम्झना अझै ताजै छ । त्यसमध्ये २०६३ सालको कार्यशालामा उहाँले राष्ट्रकवि माधव घिमिरेको अनुहारलाई छोटो समयमा क्यानभासमा उतारेको प्रत्यक्ष देख्न पाएर कलाका विद्यार्थी, कलाकार, कलासमीक्षक तथा कलानुरागी निकै आनन्दित बनेका थिए ।

यसभन्दा अघि २०४८ सालमा सिर्जना आर्ट ग्यालरीले जमलमा प्रत्यक्ष व्यक्तिचित्रण कार्यशालाको आयोजना गरेको पनि उहाँ स्मरण गर्नुहुन्छ । उहाँका अनुसार सो कार्यशालामा उहाँले ऋषिकेश शाहको अनुहारलाई आकृतिबद्ध गर्नुभएको थियो ।

यसैगरी उहाँको अर्को व्यक्तित्व आवरणकला र दृष्टान्त चित्ररचनामा पनि परिचित छ । उहाँले थुप्रै पुस्तक, पुस्तिकाहरूमा यस किसिमका कार्य गरिसक्नुभएको छ । स्वतन्त्र कलारचना, कलाकार्यशाला र कलाप्रदर्शनीहरूमा नियमित संलग्नता त हुने नै भयो । उहाँ बाल साहित्य समाजमा पनि आवद्ध हुनुहुन्छ । सो संस्थामा सम्बद्ध भएर उहाँले आफ्नो सिर्जनात्मक कर्मलाई बालचित्रकलाका माध्यमबाट पनि सेवा प्रदान गर्दै आइरहनुभएको यहाँ स्मरणीय हुन्छ । उहाँले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा कुलपति जस्ताे गरिमामय पदकाे कार्यभारसमेत सम्हाली सक्नुभएकाे पनि यहाँ स्मरणीय हुन्छ ।

अग्रज साहित्यकारहरू पारिजात, युद्धप्रसाद मिश्र, चन्द्रमान मास्के, चित्तधर हृदय, पहलमानसिंह स्वाँर, जयपृथ्वीबहादुर सिंह, सोमनाथ सिग्द्याल, बाबुराम आचार्य, ज्ञान दिलदास, सिद्धिदास अमात्य, सूर्यविक्रम ज्ञवाली, बीपी कोइराला, गणेशमान सिंह, नारायणगोपाल, धरणीधर कोइराला आदि धेरै प्रतिभाका अनुहारलाई उहाँले टिकटमा उतार्नुभएको छ । यसरी टिकटमा उतार्नभएका व्यक्तित्वबाहेक पनि उहाँले अरू धेरै वरिष्ठ र विशिष्ठ व्यक्तित्वलाई अनुहारमा उतारिसक्नुभएको छ । त्यसमध्ये जदौ दाहाल र यो पङ्क्तिकारको ‘पोट्रेट’ पनि पर्छ ।

उहाँ भन्नुहुन्छ– ‘मैले बनाएका नेपालका हुलाक टिकटहरूमा प्रख्यात व्यक्तिमात्र नभएर सम्पदा, हिमाल, चराचुरूङ्गी, फूल, जीवजन्तुका चित्र आदि पनि प्रशस्तै छन् । कतिपयले क्यामराले खिचेभन्दा राम्रो पोट्रेट भनेर प्रशंसा गरेका छन् । यसबाट मैले राम्रै कलासिर्जना गरेछु भन्ने मलाई लाग्छ ।’ 

कलाकार कर्माचार्यले विभिन्न बालसाहित्यका धेरै बाल पुस्तकहरूमा दृष्टान्त चित्ररचना पनि गर्नुभएको छ । कैयौं साहित्यिक कृतिको आवरण उहाँका कलाले सजिएका छन् । २०३८ सालदेखि उहाँ बालसाहित्यका पुस्तक–पुस्तिकाहरूमा चित्ररचना गर्दै आइरहनुभएको छ । ‘बालपोष’ नामक बालपत्रिकामा सर्वप्रथम आफूले चित्ररचना गर्न थालेको उहाँ बताउनुहुन्छ । 

उहाँका कलारचनाले स्वदेशदेखि विदेशसम्म पनि आफ्नो कलाकारी चिनारी सार्वजनिक गरिसकेको छ । यसरी उहाँले विभिन्न देशमा एकल र सामूहिक कला प्रदर्शनीहरू सम्पन्न गरिसक्नुभएको छ । 
‘मरेको मान्छेलाई धेरै सम्झनु हुँदैन’ भन्नुहुन्थ्यो तर बिर्सिन पनि कसरी सकिन्छ र दाहाल दाजु ! अब त यस वर्ष जस्तै हरेक वर्ष श्रावण २५ गते के. के. कर्माचार्यद्वारा सिर्जित ‘पोट्रेट’ ले यहाँको सम्झना झन् ताजा गराइरहने छ ।