'अन्तर्मनका क्षितिजहरू' मा घुमेको मेरो मन

'अन्तर्मनका क्षितिजहरू' मा घुमेको मेरो मन

रामकृष्ण काफ्ले , वरिष्ठ अधिवक्ता  |  साहित्य  |  भदौ ०१, २०८१

साहित्यका तीन रसायाम-काल, चेतना र सौन्दर्य । अन्तर्मनका क्षितिज' पल्टाएपछि नसकिएसम्म आँखा हटाउन मनै लागेन ।

सुरूमा नै  यी तीनवटै भङ्गाला समेटेर मानवता (उफ् कति भयङ्कर छ युद्ध ...युद्ध), मानवीयपक्ष (कहाँ थियो, कहाँबाट आयो....फर्किएका खुसी), दर्शन( क महिमा), व्यङ्ग्यविनोद (संयोग कस्तो), प्रकृतिप्रेम(बिरूवा प्रेमी, उषा दर्शन), जीवन-जगतप्रतिको दृष्टिकोण (समयलाई नाप्दै र दिनहरूलाई गन्दै.... यात्रीका भावनाहरू, अदृश्य किताव रहेछ यात्रा... यात्रा किताव), शान्तिभाव (मूर्ति राख), आलोचनात्मक चेत र देश प्रेम (व्यग्र प्रतीक्षामा रहेकोछ मेरो देश.... मेरो देश),  समसामयिक राजनीतिक-सामाजिक-साँस्कृतिक–साहित्यादि क्षेत्रका विकृतिविसङ्गति (सधैं मिठा बोली....वाणी, कस्तो सत्तामोह), सामाजिक मनोविज्ञान (कमाउने, रमाउने विदेशी प्रभूहरू समाउने....सत्ता लिप्सा, सडके स्वानहरू, परिवेश, समाज–पेशा–आदिप्रतिको दायित्त्ववोध(म त सूचीकारको सियो.... सूचीकारको सियो), मातापिता आदिप्रतिको आदरभाव (आमा भएर आफ्ना सम्पूर्ण भूमिका निभाउन पाए.... आमाको मन ।हजुरका जीवनका पत्र पत्र उघार्दै...बुबा) आदि सबै पक्ष समेटिएको महासागर झैं लाग्छ ( साहित्यकार हरिप्रसाद उप्रेतीको 'अन्तर्मनका क्षितिजहरू'  शीर्षकमा उनिएको कविता सङ्ग्रह (२०८१) ।

कृति पठनीय छ ! हो, सधैं लेख्नुपर्ने र बोल्नुपर्ने पेशा (वकालत) मा हुनुहुन्छ सर्जक । तर व्यावसायिक लेख छतमा बचतगरेर राखेका पानीका स्रोतमा आधारित जडित धारा हुन् भने काव्यको सिर्जना भनेको जरूवाका धारा, कुवा र पँधेरा जस्तो हुन्छ- भुल्भुलाएर आउनुपर्छ भित्री मनको भावना- स्वानुभाव र परानुभूतिबाट। 

यो कृति जरूवा हो, सर्जकको अन्तर्मनको चेतना, भावना र शब्दसिल्प भुल्भुलाएको छ यसमा !

गद्य र पद्य गरी दुई खण्डमा विभक्त यस कृतिले पाठकलाई स्वरूचीको छनौट दिएको छ । अटाउन पनि कति सक्नुभएको हो १३४ मूल पृष्ठमा खाँदेर !!!

अरूका विवाद सुनेर ती विवादको कानुनी उपचार–राज्यले बनाएको कानुन, पक्षले दिनसक्ने कानुन सापेक्ष साक्षी, प्रमाण र आफूमा भएको विधि शास्त्रीय शैक्षिक ज्ञान, अनुभव र चेतको संयोजन गरेर यान्त्रिक न्याय खोजि दिनुपर्ने निरस पेशाबाट समय निकालेर यति रसीलो कृति तयार गर्नु कविको कवित्त्वभित्र लुकेको साहित्यिक व्यक्तित्त्वको अमनमोल खुवी हो । 

समादरणीय साहित्यकार प्रा.डा. कुमार प्रसाद कोइरालाको मेहनती हातबाट  भूमिका स्वरूप विषयगत र वस्तुगत रूपमा केस्राकेस्रा उदिनेर, केलाएर पाइन लगाइएबाट पनि कृतिले न्याय पाएको छ । आवरण पृष्ठमा भने फुस्रो सिन्दुरे रङ भन्दा कताकता नीलगगन, हरियाली, ऊ........प.....र वादलको धूप छायाँ खोजे आँखाले । 

शब्द र भावमा माता पिता प्रति संस्मरण सहित समाजप्रति समर्पित यस्ता नव्यकृति समाजले पाइरहोस् ! समादरणीय सर्जकप्रति हार्दिक आभार सहित भूरिभूरि साधुवाद !