सप्रेम भेटमा साँच्चिकै भेटिएको प्रेमिल भेट यात्राको लयमा

सप्रेम भेटमा साँच्चिकै भेटिएको प्रेमिल भेट यात्राको लयमा

ज्ञानेन्द्र विवश  |  साहित्य  |  भदौ ०८, २०८१

सप्रेम भेटमा साँच्चिकै भेटिएको यौटा प्रेमिल भेट ‘यात्राको लय’ सँगै सप्रेमोपहार कृति बोकेर । जीवन भोगाइका दृश्यमय अनुभूतिका अक्षरहरूमा कोरिएका कोमल भावनाका भेलमा यात्राको लय लयवद्ध पाउँदा म नियात्रा प्रेमी पाठक हर्षित हुनु स्वाभाविक थियो । त्यही स्वाभाविक स्वभावमा समाहित भएर केही पाठकीय लेखौट लेखिटापल्ने चेष्टा गर्दैछु ।

‘यात्राको लय’ लिएर सप्रेम भेटमा साँच्चिकै भेटिएको प्रदीप सापकोटासँगको प्रेमिल भेट ! लेखनले चिनिएका तर भेटहरूमा नभेटिएका हामी । व्यस्त शहरको अस्तव्यस्त भीडहरू भन्दा टाढा । सिर्जनाकर्ममा मस्त हामी । हिजोअस्तिसम्म नदेखी–नदेशी अनायासै देखिएका हामी । नभेटी–नभेटिकन पनि भेटिएका थियौँ हामी । नचिनिकन चिनिएका थियौँ हामी । भेटिने कुरा नभेटिएको भेटमा बद्लिँदै गइरहेथ्यो क्रमशः । 

समयले कहाँ पर्खिन्थ्यो र ! गएको श्रावण ८ गते मध्याह्न समय लाग्दै गर्दा हामी यसरी भेटियौँ सङ्कटा मन्दिरलाई सामुन्ने साक्षी राखेर । यो शहरको कोलाहलमय जीवनवयको लयमा पृथक लयको सिलसिला बुन्नु निकै कठिनतम काम हो । त्यही कठिन काममा सफलता हात लाग्नु भनेको सिर्जनात्मक उन्नतिको उचाइ–यात्रा हो ।

यही मेसो र मेलामा मित्र महोदय प्रदीपको लेखकीय पहिचानलाई मैले केही समयदेखि नियालिरहेको छु । कति सक्रिय, कति गतिशील, कति ऊर्जामय अनुभूतिका अभिव्यक्तिहरू उनका । मैले पढेको, मेरो पाठक मनले देखेको समीक्षा र नियात्रा लेखनमा उनको लगनशील समर्पण मेरा लागि चासोको विषय रह्यो । किनभने  हरेक समय लेखकीय उल्लासले भरिभराउ उनका लेखन लेखकलाई उत्साह प्रदान गर्न तल्लीन । अनि पाठकलाई कृति छनौटको प्रेरणा पनि ।

आजको समयमा अर्काले लेखेको पढ्ने फुर्सद कसले निकाल्ने ? निकाली हाले तापनि लेखेर समीक्षा कसले, किन गर्ने ? अनि घुमेर थाकेको, दुःख पाएको र रमाउनुसम्म रमाएका कुराहरूलाई बुनेर कसले लेख्ने ? सबै आ–आफूमै रमाइरहेको, व्यस्त भइरहेका बेलामा कसले नदुखेको टाउको दुखाउने लेखन कर्म गरेर ? 

तर केही व्यक्ति केही न केही पढिरहन्छन् । कतै गइरहन्छन् । केही लेखिरहन्छन् । आफैँभित्र हराएर अभिव्यक्ति विहीन हुन कदापि पनि चाहँदैनन् । यसरी नचाहनु भनेको सकारात्मक पक्षको उदाहरणीय स्वभाव हो । यस्तै स्वभाव मैले पाएको थिएँ मित्र प्रदीपको लेखनमा, टिप्पणी, समीक्षाहरूमा । 
अतः हामी भेटिन चाहन्थ्यौँ । व्यस्त कामको घुइचैमा भए पनि । फुर्सद त कहाँ मिल्छ र केटा–केटाबीचको भेटाइमा । हिजोआज केटा र केटीबीच पनि भेटको दूरीजो टाढिँदै गइरहेको अवस्था विद्यमान छ ।

सप्रेम भेटमा सप्रेमोपहार ‘यात्राको लय’ नामक कृतिलाई त्यत्तिकै त कहाँ फाल्न सकिन्छ र कोठाको कुनातिर । वा थन्क्याएर कहाँ राखिराख्न सकिन्छ र किताबको चाङभित्र दराजमा । अथवा ‘खालीशिशी, पुरानो कागज’ लाई दिने कुरा त झन् टाढाकै भयो । 

उनकै शब्द सापटीमा हाम्रो भेट यस्तो रह्यो– ‘एउटा आत्मीय भेट । समयका वेगवान बहावले हान्दा कहिले कता, कहिले कता ! भेटुम भन्यो हस् हुन्छ मै टार्दै जानुपर्ने बाध्यता । प्रगाढ चाह तर अप्राप्तिले जहिले बाटो अबरोध गथ्र्यो । मन, भाव र विचारले जहिले भेटेजस्तो तर स–शरीर भेट्ने अवसर भने बल्ल मिल्यो । एकजोडी घन्टाको बसाई ! बार्तालाप, गफगाफ नहुने कुरै भएन । एक अर्काका प्रश्न अनि उत्तर चले मज्जैले । अगाडि सङ्कटा मन्दिर मित्रताको झरीले मज्जैले रुझेर फर्किएँ म ।’

स्रष्टा प्रदीप सापकोटासँग भलाकुसारी कति भए र के के भए ? थाहा छैन । छिन–छिन सेवाग्राहीको आऊ जाऊमा कति सम्झनु, कति बिर्सनु ? के र कति सोध्नु, कति र कसरी जवाफ दिनु ? तथापि चिया गफै सही केही उपलब्धिका उचाइ पदचाप निश्चय चालियो । केहीछिन चुपचाप मौनता पनि साँधियो । हतारले आएकाहरूलाई हतपत विदा गरियो । फुर्सदमा आएर धेरै जानकारी लिन खोज्नेहरूलाई फुर्सदमै आउन विन्ती बिसाइयो ।

कार्यालयको दैनिकी यस्तै हो । अलिकति जानकारी, अलिकति सल्लाह र सुझाव । सेवाग्राहीहरू आउने र जाने क्रमको क्रमागत सिलसिलामा हामीबीचको मित्रवत भलाकुसारी लम्बिँदै गइरहेको थियो । त्यसबीचमा मिठो चियाचमेनाले मुख मिठ्याउने समय मिलेन । खानु त खाइन्थ्यो होला चिकेन, पिजा, बर्गर, मःमहरू । अहिलेका पुस्ताका लोकप्रिय शहरीया खानपानका यी स्वादिष्ट भोजन । तर स्वास्थ्यका आँखाले तिनमा रोगको खानी देखिन थालेको समाचार आइरहेको हामीले पढेको र सुनेकै हो । यिनमा भुतुक्कै हुन अब छाडिदिए हुन्छ ।

केवल भुलुक्क उम्लेको बेस्वादे चिया चुस्कीमा पनि हामीले स्वादको चखिलोपन महसुस गर्‍यौँ । त्यो पनि लामो प्रतीक्षापछि बल्ल ढोकाबाट फुत्त छिरेर आइपुगेको बेनामे पत्र जस्तै थियो । किनभने दूधचिया, कालोचिया, कफी वा कागतीपानी र चिनी कम, बेसीको कुनै मोलतोल गरिएन । सोधिखोजीको पनि कुनै समय भएन । जे आयो त्यहीमा चित्त बझाउन बाध्य भएजस्तै भयो । त्यो पनि ढिलो, धेरै ढिलो । 

आखिर निबन्ध र नियात्राको एक–एक सँगालो साटफेर गरियो । यो साटफेरमा कति प्रिय भावनाहरूको आदान–प्रदान भयो । आजको भेटको यो चिनो भविष्यको मिठो दस्तावेज पनि हो । किनभने दिनेको हातमा पनि र लिनेको हातमा पनि आ–आफ्ना सिर्जना–कृतिका प्रेमोपहार थिए । 

अन्ततः तिनले बताउँथे सिर्जनशील मनहरूका सौजन्य–सौगातका मूल्यवान खुराकहरू । लेखकीय संवाद–सम्प्रेषणका बन्दनीय  आलेखहरू ।

तिनै थिए एक मित्रको हातमा ‘यात्राको लय’ र अर्को मित्रको हातमा ‘सुन्दरीचोक’ को उपहार किताब । यिनै थिए मित्र–मिलनका एक प्रतीक्षित पल । तब औकातअनुसारको सौगातले दुबैको हातखाली नभएको क्षण थियो । 

जहाँ आफ्नै जीवन भोगाइका यथार्थ आलेखनको अध्याय पढ्न सकिन्थ्यो । मनन–महसुस गरी त्यसमा जीवनको सुख, दुःख, सङ्घर्ष तथा हर्ष र विस्मातदेखि समकालीन सन्दर्भहरूका अनेक भावहरू पनि । 

ठ्याक्कै महिना दिनको अन्तरालपश्चात् मेरो लेखकीय आँखा र मनले ‘यात्राको लय’ लाई आज यसरी प्रेषित गरिरहेछु । वास्तवमा जीवनको यात्रामा कहाँदेखि कहाँ पुगेर बाँच्नुपर्ने बाध्यता, हाँस्नुपर्ने अनिवार्य स्वभाव हाम्रो । त्यही बाध्यताले विवश बनाएर लेखनकर्मले जुराएको चिनारी । र, जुटाएको भेटको अवसर । 

‘यात्राको लय’ मा अनुभूतिहरूले वेग मारेका छन् । संवादहरूले सुइकुच्चा ठोकेका छन् । कतिसम्म भने कहिले पाइला ‘टनकपुरमा दुखेको मन’ ले थला पर्छ । कहिले मन दार्जीलिङ, मिरिकतिर साहित्यकार र तिनका कृतिको चिनोचपेटा खोज्न पुग्छ । जहाँ पुग्छ त्यहाँ कति सुन्दर चिनारी र चित्र देखिन्छ । कति प्रिय पल गुर्जिन्छ र लेखिन्छ यात्राको लयमा लहरिँदै जीवनका दैनिकीहरू ।

काभ्रे, पनौती रयालेका प्रदीप सापकोटा नगरपालिकाकै पूर्व कर्मचारी । केही वर्षदेखि पर्यटन व्यवसाय चलाउँदै आएका रहेछन् । यससँगै अनलाइन पत्रिका सञ्चालनमा पनि उनको संलग्न समय रहेको थाहा भयो । यसरी हेर्दा फुर्सदका मान्छे उनी पटक्कै होइनन् । यही व्यस्त समयमा पनि उनको लेखनधर्म र  कर्मले इमान्दारी भावविम्बको सुमधुर सुगन्ध प्रत्येक यात्राभरि पाठकलाई बाँड्न सधँै अग्रसर रहिरहन्छ । जनयुद्धकालीन घाइते मनःस्थितिका चित्रण पनि पढ्न पाइन्छ । नेपाली समाजका परिवर्तित समाज, राजनीति र तिनले हाम्रो जीवनमा पारेका प्रभावमाथि पनि लेखकीय अनुभूति अभिव्यक्त छ ।

मूलत ‘यात्राको लय’ मा मैले नियात्राको सुस्वादु बान्की र बनौटको मनग्यै आस्वादन गर्न पाएँ । म आफैँ उहिल्यै पुगेका टनकपुर, बराहक्षेत्र, दार्जीलिङ, मिरिक, बाग्लुङ, जिरी आदि स्थानहरू । जहाँ पुगेर, घुमेर, डुलेर र रमाएर अनुभूति गरेका कुराहरू यहाँ धेरै पढ्न पाइन्छ । उनको यस किसिमका यात्रावृतान्त पढिरहँदा पाठक मन पनि लेखकसँगै यात्रारत् रहनु अर्को उल्लेख्य पाटो मान्न सकिन्छ ।

सुगम र दुर्गमका कुराहरू आउँछन् । बाटोको विकटता र अपठ्यारा सन्दर्भहरूले हैरान पार्छन् । यतिसम्म त ठिकै थियो भाग्य दाहिना हुनाले खुकुरीको प्रहारबाट बँचेर लेखेका लेखौटहरू आज हामी निर्बाध पढ्न पाउँछौँ । यसका अतिरिक्त यात्रामा भोक, प्यास, थकाइलाई सामान्य मानेर हिँडिरहँदाको उपलब्धि नै भन्नुपर्छ सिर्जनात्मक लेखनको यो कृति ‘यात्राको लय’ ।

भोगाइभन्दा अर्को शिक्षा अरू विरलै होलान् । पाइतो सारेर र फड्को मारेर जङ्घार तरेर पाएको पाठ भन्नु जिन्दगीको एक स्वप्निल सौगात हो । तिनै पाठ, त्यही स्वप्निल सौगातलाई यसरी लिपिबद्ध गरेर हातमा थमाइ दिनु पढेर आत्मसात् गरिदिनु है भन्ने अभिप्राय पनि हो । 

सप्रेम भेटमा सप्रेमोपहार ‘यात्राको लय’ नामक कृतिलाई त्यत्तिकै त कहाँ फाल्न सकिन्छ र कोठाको कुनातिर । वा थन्क्याएर कहाँ राखिराख्न सकिन्छ र किताबको चाङभित्र दराजमा । अथवा ‘खालीशिशी, पुरानो कागज’ लाई दिने कुरा त झन् टाढाकै भयो । 

वास्तवमा प्रेमले दिएको कुरा, मायाले उपलब्ध गराएको अमूल्य कृतिलाई नपढी त्यसरी उपेक्षा कसरी गर्न सकिन्छ र प्रिय प्रदीपजी मैले । सायद अरूहरूले पनि पढेर केही न केही प्रतिक्रियाका झटारोले यसैगरी प्रहार गरिहेकै होलान् भन्ने मेरो अनुमान सही नै हुन सक्ला ।

अहिलेलाई नियात्रा लेखनको नियास्रो गल्छेँडोमा त्यत्तिकै नअल्मलिनु है भन्छु । र, लेखकीय ऊर्जालाई मलजल दिएर जतनले हुर्काउँदै समृद्ध नियात्राको भण्डार भर्न उद्दत हरिरहन मेरो शुभेच्छा र शुभकामना छ !