माओत्सेतुङ

माओत्सेतुङ

ऋतु आशिक  |  साहित्य  |  भदौ ०८, २०८१

तिम्रो मृत्युको वर्षौ बितिसक्दा पनि 
तिम्रा विचारहरु 
झन्–झन् देदिप्यमान हुँदै गइरहेका छन् ।
मानव जाति
झन्–झन् संगठित हुँदै गइरहेका छन् । 
तिमी विचारको घाम बनेर 
धर्ती भरि शान्ति शीतलता न्याय समानता दिइरहेका छौ ।

म आफू भएकोमा गर्व गर्छु । 
म तिम्रो युगमा जन्मिए
तिम्रो विचारको घाममा नुहाउँदै, सिञ्चित हुँदै
तिम्रै सृष्टिको घाममा
कोटी–कोटीको लस्करको पुछारमा आफूलाई उभ्याएको छु ।

मानिसको विशाल समुद्रमा 
जनताको उत्कण्ठ चाहनामा 
तिम्रो विचारको खेती त्यहाँ लहलाई रहेको हुन्छ । 
भूतलको प्रत्येक जीवनको जुलुसमा
तिम्रो दृढटा अठोटको घामले प्रकाशपुञ्ज दिइरहेको हुन्छ । 
आकाशतिर फर्किएर थुक्नेको गति पनि थाहा पाएका छौ ।
तिम्रो विचारको दृढतालाई 
कसले रोक्न सक्छ ? 
किनभने सबैलाई थाहा छ 
समय रोकिँदैन । 
सूर्य रोकिँदैन । 

कल–कारखाना
खेत खलिहानमा
कार्यालय शिक्षालयमा 
विचारले लटरम्म परेका आँपको रूख झैँ 
झुकेर विनम्र हुँदै 
निरन्तर आफूलाई समर्पण गर्छन्, अठोट उमार्छन् ।

तिम्रो र म बीचको सम्बन्ध के छ ? 
तिमी र म बीच रगतको सम्बन्ध पनि त होइन ।
तिम्रो र मेरो भूगोल फरक छ । 
तिमीलाई कहिले देखिन 
म आर्य 
तिमी मङ्गोल
भन न म तिमी प्रति किन नतमस्तक हुन्छु ? 
तिमी मेरो बिहान बेलुकाको सामल पनि त भर्दैनौ ? 
तर पनि 
तिम्रो मृत्युमा मुटु भरि छटपट्‌याहट किन ?
मेरो आँखामा कर्णाली नदी किन बग्छ ?

जब–जब म केही बुझ्ने भएँ
मैले तिम्रो विचारमा
तिम्रो प्रकाश पुञ्ज अनुहार देखेँ 
तिम्रो विचारलाई आफ्नो दृश्यमा बाली लगाए 
मैले थाहा पाएँ 
रगतको सम्बन्ध भन्दा विचारको सम्बन्ध, माथि–माथि हुन्छ ।
तिम्रो विचारका सूर्यको प्रकाश पुञ्ज देखेको छु । 
तिम्रो विचार सूर्यको झुल्के घाम हो । 
मेरो देशलाई 
तिमीले सम्मान दिएका छौ । 
मेरो देश प्रकाश पुञ्जको न्यानो घाममा 
नुहाएको देख्न चाहन्थेउ 
मेरो सानो देशलाई 
जनता र राष्ट्रलाई 
मुक्तिको निम्ति अभिप्रेरित गर्‍यौ ।

यो पृथ्वीको सुन्दर संरचनामा 
मान्छेले मान्छे माथिको अपमानको विरुद्धमा
तिमीले गीत गाएका छौ ।
तिमीले जहिले पनि 
सूर्यको पक्षमा
नारी जातिको मुक्तिको पक्षमा गीत गाएका छौ ।
संसारको फोहोरी रीतिथितिलाई बदल्न
विचारको क्षेप्यास्त्र दिएका छौ । 
चेतनशील मान्छेहरु 
तिम्रो विचारलाई बोकेर निर्धक्क 
कुम्भकर्णको सुताइ सुत्न सक्दैनन् ।
तिनीहरु कहिले कारखानमा
कहिले खेतका आलीहरुमा
कहिले विश्वविद्यालयमा 
विचारलाई सघन जस्तै लागू गरेका हुन्छन् । 

आमाले शिशुलाई स्तनपान गराए झैँ
मानव जातिमा–
मेरो बाबु तिमी भोकायौँ होला ?
तिमीलाई तिर्खा लाग्यो होला ? 
तिमीलाई पेट दुख्यो होला ?
तिमीलाई कतै कष्ट भयो कि ?
तिमी बिरामी पर्‍यौँ कि ? 
हाम्रो अगाडि कहिले आमा बनेर 
कहिले बाबु बनेर
स्नेह र अठोटता प्रदान गरिरहेका छौ । 
तिमीलाई न त कुनै लालच छ । 
न त कुनै लोभ थियो ? 
तिम्रो विशाल हृदय 
सूर्यको अरबौँ माइल प्रकाश पुञ्जको सडक झैँ 
तिम्रो हृदयको गहिराइ कसैले देख्न सक्दैन । 
निस्वार्थ, निश्च्छल सागर जस्तै गहिरो 
चुपचाप विनम्र भएर 
विचारको सौन्दर्य झण्डालाई उचाली रहेका छौँ । 

हाम्रो धाँजा फाटेको 
खेतको गरा जस्तै दिमागमा 
विचारको नदी भएर उर्वरा बनाई रहेका छौ । 
दृष्टा र अटलता दिइरहेका छौ । 
हिउँले खाएका कठाङ्ग्रिएका हाथ 
ठेला उठेका हाथहरुमा 
खिइएका पाइताला र पिठ्यूहरुमा
तिम्रो विचारको न्यानो 
कोमलभन्दा पनि कोमल 
तिम्रो सुकोमल हाथको स्पर्शले, 
हाम्रो जीवनमा भुइँचालो आएको छ । 
हामीलाई विवेकी र नम्र बनाउँछ । 
हाम्रो जीवन हिजोको जीवनभन्दा 
झन्–झन् आकर्षक लाग्न थालेको छ । 
जीवन सौन्दर्यबोध भएको छ । 
हो ! जीवनको सौन्दर्यबोध भएको छ । 

तिम्रो विचारको सूर्यले, 
हामीमा स्फूर्ति ल्याएको छ । 
तिमीले अन्तर दृष्टि दिएका छौ । 
खराब र असल बीच सीमाङ्कन गर्न सिकाएका छौ ।
यो पृथ्वीको रङ्गमञ्चमा 
हामी आउँछौँ, हामी जान्छौ ।
तिम्रो विचार आउने जाने गर्दैन । 
निश्चल, दृढ अटल भएर 
यस धरातल भरि 
प्रत्येक कुना, कुइनोटोमा वर्षा भएर वर्षिरहने छ । 

(An expression to China नामक कविता सङ्ग्रह प्रथम संस्करण नोभेम्बर १९९१ बाट)