चाणक्यनीतिदर्पण: मूर्ख मनुष्य प्रत्यक्षरुपमा दुईवटा खुट्टा भएको पशु !

चाणक्यनीतिदर्पण: मूर्ख मनुष्य प्रत्यक्षरुपमा दुईवटा खुट्टा भएको पशु !

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  भदौ ०९, २०८१

कस्य दोषः कुले नास्ति व्याधिना को न पीडितः ।
व्यसनं केन न प्राप्तं कस्य सौख्यं निरन्तरम् ।।१।।

शब्दार्थ –कस्य–कसको,  कुले– कुलमा,  दोषः–दोष, नास्ति– छैन, कः–को,  व्याधिना–रोगले, न पीडितः–पीडित छैन र, केन–कसले, व्यसनम्–दुःख, न प्राप्तम् – पाएको छैन र, कस्य- कसको, सौख्यम् -सुख, निरन्तरम्- निरन्तर छ र ?

भावार्थ – कसको कुलमा दोष हुँदैन र ? रोग कसलाई लाग्दैन र ? कसले दुःख पाएको छैन र ? कसले सधैंभरि सुख पाएको छ र ? त्यसकारण रोग लाग्नु, दुःख पाउनु सामान्य कुरा हुन् ।

आचारः कुलमाख्याति देशमाख्याति भाषणम् ।
सम्भ्रमः स्नेहमाख्याति वपुराख्याति भोजनम् ।।२।।

शब्दार्थ–आचारः -शील, स्वभावले, कुलम्-कुलका बारेमा, आख्याति-बताउँछ, भाषणम्-बोली वचनले, देशम्-स्थानका बारेमा, आख्याति भन्छ, सम्भ्रमः-मान सम्मानको तरिकाले, स्नेहम् – प्रेमलाई, आख्याति – अभिव्यक्त गर्दछ, वपुः – शरीरले भोजनम् – भोजनका बारेमा, आख्याति — भन्दछ ।

भावार्थ–मानिसको  शील स्वाभाव हेरेर उसको कुल खानदान कस्तो छ थाहा पाइन्छ । बोली  वचनको नम्रता र कठोरताबाट उसको जन्म ठाउँका बारेमा थाहा पाइन्छ । मान सम्मानको तौर तरिकाबाट स्नेह कस्तो छ जानिन्छ । मानिसको ज्यान हेरेर उसले कस्तो किसिमको भोजन गर्दछ थाहा हुन्छ ।

सुकुले योजयेत्कन्यां पुत्रं विद्यासु योजयेत् ।
व्यसने योजयेच्छत्रुं  मित्रं धर्मे नियोजयेत् ।।३।।

शब्दार्थ–कन्याम्-कन्यालाई, सुकुले–राम्रा घरमा, योजयेत्–देओस्, पुत्रम्-पुत्रलाई, विद्यासु-विद्या अध्ययनमा, योजयेत् -लगाओस्, शत्रुम्-शत्रुलाई, व्यसने-दुःख कष्टमा, योजयेत्–फसाओस्, मित्रम्–मित्रलाई, धर्मे–धर्ममा, नियोजयेत् – लगाओस् ।

भावार्थ– बुद्धिमान् मानिसले छोरीलाई सभ्य कुलमा विवाह गरिदिनुपर्छ । छोरालाई विद्या अध्ययनमा लगाइ दिनुपर्छ । शत्रुलाई  दुःख कष्टतिर फसाइ दिनुपर्छ । मित्र बिग्रियो भने सङ्गतले आफू पनि बर्बाद भइन्छ त्यसैले मित्रलाई भने धर्ममा, सत्कर्ममा लगाउनुपर्छ ।

दुर्जनस्य च सर्पस्य वरं सर्पाे न दुर्जनः ।
सर्पाे दंशति कालेन दुर्जनस्तु पदे पदे ।।४।।

शब्दार्थ–दुर्जनस्य–दुर्जनको, च-र, सर्पस्य–सर्पको तुलनामा, सर्पः -सर्प, वरम्- ठिक हो, न दुर्जनः–दुर्जन होइन, सर्पः – सर्पले, कालेन– संयोगवश, दंशति - डस्छ, तु – तर, दुर्जनः–दुर्जनले, पदे पदे–पाइला पाइलामा डस्छ ।

भावार्थ–यदि सर्पको र दुर्जनको तुलना गर्ने हो भने दुर्जनभन्दा सर्प  नै ठिक देखिन्छ किनभने सर्पले संयोगवश मात्र डस्दछ तर दुर्जनले त जानीजानी पाइलै पिछे दुःख दिने गर्दछ ।

एतदर्थं कुलीनानां नृपाः कुर्वन्ति सङ्ग्रहम् ।
आदिमध्याऽवसानेषु न त्यजन्ति च ते नृपम् ।।५।।

शब्दार्थ–नृपाः–राजाहरू, कुलीनानाम्–राम्रा मान्छेहरूलाई, एतद्+अर्थम् – यसकारण, सङ्ग्रहं कुर्वन्ति–जम्मा गर्दछन्, ते–ती मान्छेहरू, आदिमध्य+अवसानेसु – उन्नतिका समयमा, अवनतिका समयमा र अन्तकालमा पनि,  नृपम् – राजालाई, न त्यजन्ति – छोड्दैनन् ।

भावार्थ–त्यही भएर कुशल शासकहरू वा राजाहरू, बुद्धिमान, आचारवान् कुलीन मानिसहरूलाई राज्य सञ्चालनका लागि जम्मा गरेर राख्दछन् किनभने त्यस्ता सत्यवादी मानिसहरूले उन्नतिमा अवनतिमा र अन्त्य समयमा पनि राजाको साथ छोड्दैनन् ।

प्रलये भिन्नमर्यादा भवन्ति किल सागराः ।
सागरा भेदमिच्छन्ति प्रलयेऽपि न  साधवः ।।६।।

शब्दार्थ–सागराः– समुद्रहरू, प्रलये–प्रलयका बेलामा, किल – निश्चय पनि, भिन्नमर्यादा भवन्ति–आफ्नो मर्यादा छोडिदिन्छन्, सागराः – समुद्रहरू, भेदम् इच्छन्ति- किनार भत्काउन चाहन्छन् । साधवः -साधु सज्जनहरू, प्रलये+अपि–प्रलयका बेलामा, जस्तो सुकै आपत्ति आइपर्दा पनि, न – मर्यादा  उल्लङ्घन गर्दैनन् ।

जसरी पलाँसका फूलको सुगन्ध नभएका कारण कुनै महत्त्व छैन त्यसरी नै  सुन्दरता र यौवनले पुष्ट भए पनि, ठुलो कुलमा जन्मिएको भए पनि विद्या रहित छ भने त्यो मान्छे सुहाउँदो हुन्न । अर्थात् विद्या विहीन मानिस सुगन्धरहित पलाँसका फूलजस्तै महत्त्व हीन हुन्छन् । 

भावार्थ–समुद्रभन्दा पनि साधुहरू दृढनिश्चयी हुन्छन् । किन भने प्रलयकाल आउँदा सागरले पनि मर्यादा तोड्छन्, किनार भत्काएर बाहिर जान खोज्छन् तर साधुसज्जन तथा ज्ञानी मानिसहरू भने दुःख, कष्ट आपत्ति आइपरे पनि आफ्नो मर्यादा तोड्दैनन् ।

मूर्खस्तु परिहर्तव्यः प्रत्यक्षो द्विपदः पशुः ।
भिनत्ति वाक्यशल्येन ह्यदृष्टः कण्टको यथा ।।७।।

शब्दार्थ मूर्खः तु– मुर्ख मनुष्यलाई त, परिहर्तव्यः- छोडिदिनुपर्छ, प्रत्यक्षः – प्रत्यक्ष रूपले, द्विपदः- दुईओटा खुट्टा भएको, पशुः-पशु हो । वाक्य शल्येन–वाक्यरूपी काँडाले, भिनत्ति – घोप्छ । हि-निश्चय पनि, अदृष्टः– देख्न नसकिने, कण्टकः– काँडाले, यथा– जस्तै ।

भावार्थ – मूर्ख मनुष्य प्रत्यक्षरुपमा दुईवटा खुट्टा भएको पशु हो त्यसकारण त्यस्तो मानिससित सङ्गत गर्नुहुँदैन, टाढा भइ हाल्नुपर्छ । मूर्ख मानिसको मुखमा भएको काँडा जस्तो बोलीले अरूलाई घोचिरहन्छ । मूर्ख मानिस आँखाले देख्न नसकिने बाटोका काँडो जस्तै हो ।

रूपयौवनसम्पन्नाः विशालकुलसम्भवाः ।
विद्याहीना न शोभन्ते निर्गन्धा इव किंशुकाः ।।८।।

शब्दार्थ–रूपयौवनसम्पन्नाः–रूप र बैंसले भरिएका, विशालकुलसम्भवाः–उच्च कुलमा जन्मिएको भए पनि, विद्याहीनाः-नपढेको मानिस, न शोभन्ते–सुहाउँदा हुँदैनन्, निर्गन्धाः–सुगन्धरहित, किंशुकाः–पलाँसका फूल, इव -जस्तै हुन्छन् ।

भावार्थ–जसरी पलाँसका फूलको सुगन्ध नभएका कारण कुनै महत्त्व छैन त्यसरी नै  सुन्दरता र यौवनले पुष्ट भए पनि, ठुलो कुलमा जन्मिएको भए पनि विद्या रहित छ भने त्यो मान्छे सुहाउँदो हुन्न । अर्थात् विद्या विहीन मानिस सुगन्धरहित पलाँसका फूलजस्तै महत्त्व हीन हुन्छन् । 

कोकिलानां स्वरो रूपं स्त्रीणां रूपं पतिव्रतम् ।।
विद्या रूपं कुरूपाणां क्षमा रूपं तपस्विनाम् ।।९।।

शब्दार्थ–कोकिलानां–कोइलीहरूको, रूपम्–सुन्दरता, स्वरम्–स्वर, स्त्रीणाम्–नारीहरूको, रूपम्–सुन्दरता, पतिव्रतम्–पतिव्रताधर्म, कुरूपाणाम्–कुरूपहरूको, रूपम्–सुन्दरता, विद्या–ज्ञान, तपस्विनाम्–तपस्वीहरूको, रूपम्–सुन्दरता, क्षमा–क्षान्ति हो ।

भावार्थ–कोइलीको महत्त्व उसको स्वरमा हुन्छ । नारीको सुन्दरता उसको पतिव्रता धर्ममा हुन्छ । जो शारीरिक रूपमा कुरूप छन् त्यस्ता मानिसहरूको सुन्दरता भनेको विद्या हो अनि तपस्वीहरूको पहिचान क्षमाशीलता हो ।

त्यजेदेकं कुलस्याऽर्थे ग्रामस्याऽर्थे कुलं त्यजेत् ।
ग्रामं जनपदस्याऽर्थे आत्माऽर्थे पृथिवीं त्यजेत् ।।१०।।

शब्दार्थ–कुलस्य+अर्थे–कुलको प्रगतिका लागि, एकम्–एक जनालाई, त्यजेत्–छोडिदेओस्,  ग्रामस्य+अर्थे–गाउँको उन्नतिका लागि, कुलम्–कुललाई, त्यजेत्– त्यागिदेओस्, जनपदस्य+अर्थे–जिल्लाको उन्नतिका लागि, ग्रामम्–गाउँलाई, त्यजेत्–त्यागिदेओस्, आत्म+अर्थे–आत्मोन्नतिका लागि, पृथिवीम्–पृथिवीलाई नै, त्यजेत् –त्यागिदेओस् ।

भावार्थ–बुद्धिमान मानिसले कुलको कल्याणका लागि एक जनालाई त्यागि दिनुपर्छ । गाउँको कल्याण हुन्छ भने कुललाई त्यागि दिनुपर्छ । जिल्ला वा प्रदेशकै कल्याण हुन्छ भने गाउँलाई पनि त्यागिदिनुपर्छ । यदि आत्मोन्नति हुने अवस्था छ भने पृथ्वीलाई नै त्यागिदिनुपर्छ । 
 
उद्योगे नास्ति दारिद्र्यं जपतो नास्ति पातकम् ।
मौने च कलहो नास्ति, नास्ति जागरिते भयम् ।।११।।

शब्दार्थ–उद्योगे–उद्यम गर्नेलाई, दारिद्र्यम् –दरिद्रता, नास्ति- छैन । जपतः–भगवान्को नाम जप गर्ने मनिसमा, पातकम्–पाप, नास्ति–हुँदैन, मौने–चुप लागेका खण्डमा, कलहः – झगडा, नास्ति – हुँदैन, जागरिते – जागा रहनाले, भयम् – डर, नास्ति – हुँदैन ।

भावार्थ – काम गर्ने मानिसलाई दरिद्रताले छुँदैन । भगवानको नाम जप्नेलाई पाप लाग्दैन, अनावश्यक बोल्न छोडेर शान्त बस्ने हो भने झगडा हुँदैन । जागा मानिसलाई डर हुँदैन अथवा चेतनशील मानिसलाई सांसारिक प्रपञ्चदेखि डर हुँदैन ।

अतिरूपेण वै सीता अतिगर्वेण रावणः ।
अतिदानं बलिर्दत्वा अति सर्वत्र वर्जयेत् ।।१२।।

शब्दार्थ–अतिरूपेण–अत्यन्त सुन्दरताका कारण, वै–साच्चै, सीता–सीताको अपहरण भयो, अतिगर्वेण–धेरै घमण्डका कारण, रावणः–रावण नासियो, अतिदानं–धेरै दान, दत्वा–दिएर, बलिः–बलिराजा बन्धनमा परे । अति– ज्यादा, सर्वत्र–सबैतिर, वर्जयेत्–छोडोस् ।

भावार्थ – अत्यधिक सुन्दरी भएकै कारण सीता अपहरणमा परिन् । अति धेरै अभिमान (घमण्ड) का कारण रावणको विनाश भयो । धेरै दान दिएकै कारण राजा बलि बाँधिए त्यसकारण कुनै पनि चिज आवश्यकताभन्दा ज्यादा भयो भने समस्या जन्मिन्छ त्यसकारण अति गर्नुहुँदैन । 

रुपक अलङ्कार अनुवाद गरी हालै बजारमा आएको 'चाणक्यनीतिदर्पण: नेपाली शब्दार्थ र भावार्थसहित' नामक पुस्तकबाट