दुई उपन्यास पुंसवन र उज्यालो औँसीमाथि घोत्लिँदा

दुई उपन्यास पुंसवन र उज्यालो औँसीमाथि घोत्लिँदा

हरिविनोद अधिकारी  |  साहित्य  |  भदौ १०, २०८१

१. पुंसवन (उपन्यास)
सिद्धहस्त उपन्यासकार, मानव अधिकारवादी वरिष्ठ पत्रकार कपिल काफ्लेको तेस्रो उपन्यासको रुपमा पुुंसवन हालै प्रकाशित भएको छ । यसो कृतिको नाम सुन्दा  पक्कै यो उपन्यासले पुरातन गर्भाधारणका नियमहरु, जन्मने प्रक्रियादेखि मृत्युपर्यन्तका सोह्र कर्मका बारेमा सविस्तार वर्णन गरेको हुनुपर्छ भन्ने लागेको थियो ।

उपन्यासकार आफैँ त पत्रकारिता गर्ने र पत्रकार तयार गर्ने शिक्षण-प्रशिक्षणमा लागेका व्यक्तित्व हुन् तर उनको पाँच पुस्तादेखि नै नामुद ज्योतिषीका पण्डित परिवारसँग सम्बन्ध राख्थ्यो । त्यसैले पनि सुरुमा लाग्यो, यो पुस्तकले शास्त्रीय प्रमाणहरु खोजेर मानव जीवनको सुरुदेखि अन्त्यसम्मको , गर्भको लागि समयको निर्धारणदेखि शास्त्रीयरुपमा गर्भको चित्रण, जन्मेपछि देखि मृत्युपर्यन्तको बारेमा गर्नुपर्ने र गरिँदै आएको चलनका बारेमा अनुसन्धानात्मक कृति आयो होला ।

तर जब पुस्तक हातमा पर्‍यो र पढ्न थालियो, यो त एउटा विज्ञानमा आधारित तर भावी दिनमा यथार्थमा आउन लागेको नयाँ सृष्टिको अवस्थाका बारेमा कल्पनाशील भएर लेखिएको यथार्थमा छिटै परिणत हुन सक्ने अवस्थाको चित्रण पो रहेछ । 

आधुनिक जीवन , आधुनिक सोचाइ र नयाँ पुस्ता र पुराना धारणाको एकीकृत धारणाले उपन्यासलाई सफल बनाउँछ । आखिर प्राकृतिकता विरुद्ध कृत्रिमताको पक्षमा मानव समाज नजाओस् भन्ने सन्देश दिन सफल यो उपन्यासको केन्द्रीय धारले नेपाली साहित्यमा पक्कै नयाँपन प्राप्त भएको छ । 

पुंसवनको अर्थ हुने रहेछ- गर्भाधानदेखि मृत्युपर्यन्त गरिने द्विजातिका षोडशसंस्कारमध्ये गर्भधारण भएको तेस्रो महिनामा गरिने एक संस्कार । गर्भवती स्त्रीले छोरा पाउन गरिने संस्कार, षोडशसंस्कारमध्ये द्वितीय संस्कार । 

पुस्तकको नाम अनुसारका केही क्रियाकलाप पनि छन् तर आधुनिक तरिकाले त्यसको अर्थ खोजिएको छ । कल्पनाशील उपन्यासकारले लैंगिक विभेदलाई यसरी देखाइएको छ कि आजको समाजमा त्यसलाई पचाउन पनि गाह्रो छ, पत्याउन पनि सजिलो छ र राजधानी उपत्यकाको काँठको अवस्थादेखि आजको समाजमा देखिने नयाँ चलनको रुपमा आपसमा देखिने मनमुटावलाई प्रस्तुत गरिएको छ । तर सबैभन्दा बढी यो उपन्यासले झकझकाउने पक्ष चाहिँ कृत्रिम मानवले सृष्टिको जिम्मा लिने अवस्था आउन लागेको  नयाँ धार पस्किएको मैले पाएँ । लेखक त्यसलाई निमिट्यान्न पार्न चाहन्छन् र प्राकृतिकताका विरुद्ध समाज , विज्ञान र अनुसन्धाताहरु गए भने सृष्टिको मौलिक कारणले अर्थ भेट्ने छैन भन्ने कुरालाई केन्द्रीय अर्थको रुपमा लिन सकिन्छ । 

यसका सबै पात्रहरु सजीव छन्, हामीसँग वार्ता गर्न सक्षम छन् तर एक पात्र मायामार्फत् नै जीवन कसरी बाँच्न सकिन्छ भन्ने हिम्मत र हौसला दिइएको छ । बाँच्नका लागि गरिने अनेक उपायहरूसँग भोलिका दिनमा गर्भाधानका विषयमा आउने अनावश्यक विवादको हुनसक्ने कारणलाई अहिले नै देखाउन खोजिएको छ । 

त्यसो त उपन्यास सुरुमा जुन रमाइलोका साथ नारी क्षमताको प्रदर्शन सुरु गरिएको थियो, त्यसको निरन्तरता नभएको जस्तो लाग्थ्यो तर अन्त्यतिर आए पछि आधुनिक जीवन , आधुनिक सोचाइ र नयाँ पुस्ता र पुराना धारणाको एकीकृत धारणाले उपन्यासलाई सफल बनाउँछ । आखिर प्राकृतिकता विरुद्ध कृत्रिमताको पक्षमा मानव समाज नजाओस् भन्ने सन्देश दिन सफल यो उपन्यासको केन्द्रीय धारले नेपाली साहित्यमा पक्कै नयाँपन प्राप्त भएको छ । 

विद्वान उपन्यासकारले आफ्ना आदर्श र दर्शनलाई पात्रहरु मार्फत् व्यक्त गरेका छन् र सबै पात्रहरु सतर्कताका साथ आफ्ना कर्तव्य पूरा गर्न तल्लिन देखिन्छन् । पाठकलाई सुरुदेखि अन्तिमसम्म पढ्नै पर्ने अवस्था जुन सृजना गरिएको छ, त्यो पनि उपन्यासको सफलताको पाटो मान्नुपर्छ । कता कता भोलिको सम्भावनालाई इंगित गरेजस्तो पनि उपन्यासको सङ्केत पाइन्छ । 

यस उपन्यासको प्रकाशक अमेरिकामा रहनु हुने मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डे हुन् भने यसको मूल्य ४०० रुपयाँ छ । यसको प्रकाशन विसं २०८१(२०२४इस्वी )को सुरुमै भएको हो । 

वरिष्ठ पत्रकार काफ्लेका अन्य रसिला साहित्यिक कृतिहरु अरु पनि शीघ्र आऊन् भन्ने कामना गरिन्छ । यो उपन्यासले नेपाली वाङ्मयलाई नयाँ खुराक दिएकोमा बधाई तथा शुभकामना दिनैपर्छ र पठनीय सामग्री पाएकोमा हामीले पनि आफूलाई धन्य भएको महसुस गर्नुपर्छ । 

२. उज्यालो औँसी उपन्यास

उदीयमान युवा लेखकको रुपमा देखिन थालेकी अनिता कोइरालाले विभिन्न पत्रिका तथा अनलाइन माध्यममार्फत् आफ्ना फुटकर रचनाहरू, खासगरी कथा र मार्मिक सत्य घटना जस्तै लाग्ने लेखले नेपाली साहित्यमा स्थान बनाउन सुरु गरेकै बेलामा उपन्यास लिएर आइन् उज्यालो औँसी । 

यो उपन्यास वास्तवमा सत्य घटनामा आधारित हो । एउटी छोरी जब गर्भे टुहुरी भएर जन्मेकी हुन्छे र उसको मनमा उठेका तुफानहरुको उत्पादन हो यो । उसले आज पनि सामन्तीको अर्थ खोज्दैछे र ऊ गर्भमा आउने बित्तिकै उग्रवादीहरुले हत्या गरेर उसले पिताविहीन हुनुपर्ने अवस्थाको कारण आज पनि खोज्दैछिन् भन्ने उपन्यासले देखाउँछ । 

यसका मुख्य पात्र सिन्धुली, भिमानका हक्की समाजसेवी रघुनाथ कोइराला हुनुहुन्छ जसलाई त्यो बेलामा आफूलाई साम्यवादी हौँ र व्यक्तिको अस्तित्व भौतिकरुपमा सफाया पारेपछि मात्र साम्यवादको विकास गर्न सकिन्छ भन्ने भ्रमबाट पीडितहरुले हत्या गरेका थिए । तिहारको बेलामा झुक्क्याएर गरिएको हत्याको उनको पिताको हत्याको वैचारिक उत्खनन् गर्ने काम कान्छी छोरी अनु अर्थात् अनिताले गरेकी छिन् । उनी गर्भमा रहँदा नै पितासँग कसरी साक्षात्कार गरेर भावी जीवनका लागि बाटो तय गरिन्  र पछि घर छोेडेर हिँडेका हजुर्बासँग कसरी ध्यानमग्न हुँदा भेट भयो र आफू जन्मेको ठाउँको सेवामा आइन् , त्यसको कल्पनाशील विवरणले कहिले आँखा रसाउँछन् त कहिले उनले पाउनु पर्ने न्यायका लागि आजै आन्दोलनमा उत्रनु पर्ने जोस आउँछ । 

उपन्यासमा यसो भए हुन्थ्यो भन्ने ठाउँ यसकारणले छैन कि अनु आफैँ अनिता हुन् र आफूले भोगेका कुराहरु नढाँटी लेखेकी छिन् । साधुवाद छ उपन्यासकार युवा अनिता कोइरालालाई जसले अरु कृतिहरु छिटै नेपाली साहित्यमा दिन सकून् । 

औँसीमा पनि देखिने उज्यालोले जीवनलाई सदैव उज्यालो बनाउने सत्यता खोज्ने यो उपन्यास भन्दा पनि उनका परिवारसँग  चिर परिचितहरुले भन्न  सक्छन्, यो अनुको शान्त चीत्कार हो जसले आज पनि सामन्ती भनेर हत्या गरिएका समाजसेवी पिताको हत्याको कारण बुझ्न सकेकी छैनन् । सामन्तीको अर्थ खोज्दैछिन् । त्यही खोजीको कारणले नै यो उपन्यास बनेको बुझ्न सकिन्छ । त्यसपछि तिनै हत्या गर्ने भनिएका र आफूलाई सामन्तवाद विरोधी मान्ने समूहले मुलुकमा जनयुद्ध पनि गर्‍यो तर के भयो ? आज पनि संक्रमणकालको अन्त्य भएको छैन भनेर चिच्च्याइ रहेको बेलामा अनिताले तर देखिन् उनी औँसीको उज्यालोमा आफूलाई शुभ्र र स्निग्ध शैलीमा शान्त चीत्कारमार्फत् पितासँग साक्षात्कार भएर शान्ति पाएकी रहिछन् , जीवनको गोरेटो तय गरेकी रहिछन् । 

उपन्यासमार्फत् उनले विषादको जीवन बाँच्ने बालकको मनोविज्ञान यसरी देखाउन सफल भएकी छन् कि उनी आफैँलाई उदाहरणीय मान्दै शब्दहरु उनेकी छिन् । यो उपन्यासमा यसो भए हुन्थ्यो भन्ने ठाउँ यसकारणले छैन कि अनु आफैँ अनिता हुन् र आफूले भोगेका कुराहरु नढाँटी लेखेकी छिन् । साधुवाद छ उपन्यासकार युवा अनिता कोइरालालाई जसले अरु कृतिहरु छिटै नेपाली साहित्यमा दिन सकून् । 

नयाँ शब्दहरुको खोजी र नयाँ विषयहरुको कल्पनाभन्दा पनि आफैँले भोगेको जिन्दगीलाई कल्पनाका आधारमा हामीलाई सजीव वर्णन गर्छिन् र हामी कहिले सिन्धुलीको भिमानमा हुन्छौँ त कहिले कमला नदीको किनारमा हुन्छौँ, कहिले जनकपुरको बाह्र विघा वरिपरि घुम्दै हुन्छौँ र सिमरनले यस्तो प्रभाव पार्छ कि उसको जीवनलाई कसले बिगार्‍यो भन्ने कथा अर्को पनि कथ्न सकिने छ । 

सत्य घटना र कल्पनाको कति राम्रो अन्तर्घुलन छ भने उपन्यासले अनु वरिपरि नै घुमाई रहन्छ र अनु पाठकलाई बारम्बार उसका पिताजीको हत्याको कारण खोज्न विवश गराउँछिन् । 

यो उपन्यास अनिताको पहिलो पुस्तकाकार कृति हो भन्ने जस्तो लाग्दैन किनभने उनको कल्पनाशीलताले पाठकलाई आकर्षित यतिसम्म गर्छ कि पुस्तक अन्त्य हुँदा पनि अझै लेखेको भए हुन्थ्यो भन्ने आभास हुन्छ । 

शिखा बुक्सले प्रकाशित गरेको सत्य घटनामा आधारित तर अनुत्तरित प्रश्नको पेटारोको रुपमा तयार भएको उपन्यासको मूल्य रु. ४७५। छ । गर्भमै टुहुरी भएकी बालिका, किशोरी, युवतीको मनोभावकोे विश्लेषणको रुपमा शब्दहरुले बनेको पठनीय र संग्रहणीय उपन्यासको रुपमा लिन सकिन्छ ।