प्रा.डा. देवी नेपाल | साहित्य | भदौ १०, २०८१
कहिलेकाहीँ गरेको सानो कामले पनि निकै ठुलो उपलब्धि र जस प्रदान गर्दो रहेछ । जम्मा तीन वर्षअगाडि कवि विमल खतिवडा मेरो सम्पर्कमा आउनुभएको हो । कोभिडले त्रसित बनाएर सबै घरभित्र बन्दी बनेका समयमा मैले सुरु गरेको ‘छन्द–पराग’ युट्युब च्यानल र त्यसमार्फत सम्प्रेषण हुन थालेको ‘छन्दकविता पाठशाला’ नै कवि विमल र मेरो सम्बन्ध सूत्र बन्यो । त्यही पाठशाला हेरेपछि उहाँले मलाई खोजी गरेर पत्ता लगाउनुभयो र अनलाइन सम्पर्कमार्फत कविता सिर्जनासम्बन्धी अन्तरक्रियाहरू हुन थाले ।
मैले थोरै दिनको सम्पर्कमा नै उहाँको प्रतिभालाई चिन्ने मौका पाएँ । त्यति बेला उहाँ गजल लेख्नुहुन्थ्यो र लोकछन्द तथा वार्णिक छन्दमा कविता लेख्ने प्रयास गरिरहनुभएको थियो । एक दिन उहाँले आफूले लोकछन्दमा खण्डकाव्य लेख्ने चाहना राखेको जानकारी दिएपछि मैले नपत्याउँदै प्रयास गर्नुहोस् सक्नुहुन्छ भनेँ । त्यसको केही महिनापछि उहाँले ‘उडान’ खण्डकाव्यको पहिलो पाण्डुलिपि मलाई पठाएर सुझाव माग्नुभयो । म छक्क परेँ र आद्योपान्त पढेँ । पहिलो लेखाइ नै यत्तिको हुनु उज्यालो भविष्यको सङ्केत हो भन्ने मलाई लागिहाल्यो । त्यस लेखनमा वर्णनात्मक पाटो बढी र कवित्व अलि कम थियो । यसपछि मैले खण्डकाव्यको थोरै सैद्धान्तिक पक्षका बारेमा र आख्यानलाई कवित्वसँग जोड्ने सम्बन्धमा केही सुझावहरू दिएर परिमार्जनका लागि आग्रह गरेँ । यो उहाँ प्रतिको मेरो धैर्यको र साधनाको परीक्षा पनि थियो तर उहाँ त्यस परीक्षामा अत्यन्त अब्बल देखापर्नुभयो । छोटो समयमा नै उहाँले त्यो खण्डकाव्य परिमार्जन गरी मलाई भूमिकाका लागि पठाउनुभयो, जति बेला उक्त खण्डकाव्य अत्यन्त सुन्दर बनेको थियो । यसपछि मैले उक्त खण्डकाव्यका लागि विस्तृत भूमिका पनि लेखिदिएँ ।
पेदोङमा जन्मिएर हाल सिलिगुडीमा स्थायी बसोबास गर्दै आउनुभएका विमल खतिवडा साहित्यिक यात्रा गर्न थाल्दादेखि नै खतिवडा माइलाका नामले चिनिन थाल्नुभएको थियो । सोही खतिवडा माइलाले प्रकाशन गर्नुभएको ‘उडान’ खण्डकाव्यको भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएको ३२ औँ नेपाली भाषा मान्यता दिवसको सन्दर्भ पारेर विमोचन गर्ने जानकारीका साथमा २०२४ अगस्ट १७ (२०८१ भदौ १ गते) सिलिगुडी आइदिनका लागि उहाँले मलाई एक महिना अगाडि नै अनुरोध गर्नुभयो । मैले उहाँलाई त्यस दिन सिलिगुडी आउने वचन दिएँ । यसका साथै भारतको सिलिगुडीदेखि डुवर्स, मिरिक, दार्जिलिङ, राँगेरुङ, घुम, खरसाङ, कालेबुङ, पेदोङ, गान्टोकसम्मका विभिन्न स्रष्टा मित्रहरूले मलाई बारम्बार आमन्त्रण गरिरहनुभएको थियो । सबैतिर पुग्न नभ्याए पनि केही ठाउँमा त भ्याइएला भन्ने सोचेर मैले केही साथीहरूलाई आफू सिलिगुडी आउन लागेको जानकारी दिएँ । यति जानकारी पाउनासाथ विभिन्न ठाउँमा एक साताव्यापी कार्यक्रमहरू तय भइहाले । यही कारण यसपटक मेरो पूर्वी नेपाल र भारतको भ्रमणमा नौ दिनमा बाह्रवटा कार्यक्रमहरू सम्पन्न भए । तिनको समष्टिगत शब्दचित्र उतार्ने प्रयास यहाँ गरिएको छ ।
१. पहिलो कार्यक्रम झापाको चन्द्रगढीमा
२०८१ साउन ३२ गते म भद्रपुर हुँदै भारतको यात्रामा जाँदै छु भन्ने थाहा पाउनासाथ प्रखर स्रष्टा एवम् सञ्चारकर्मी खगिन्द्रा खुसीले गाई जात्राको सन्दर्भ मिलाएर लेखनाथ पुस्तकालय चन्द्रगढीमा हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना हुन लागेको र त्यसका लागि दुई घण्टाको समय छुट्याएर प्रमुख अतिथिका रूपमा उपस्थित भइदिनुपर्ने अनुरोध गर्नुभयो । मेरो यात्राको प्रारम्भविन्दु नै शुभ हुने देखेर मैले उक्त अनुरोधलाई स्वीकार गरेँ र मध्याह्न एक बजेको फ्लाइटमा भद्रपुर पुग्नासाथ स्रष्टा गोविन्द कोइराला मलाई लिन आइ सक्नुभएको थियो । उहाँका साथमा म दुई बजेको उक्त कार्यक्रममा उपस्थित हुन सफल भएँ ।
लेखनाथ पुस्तकालयको वर्तमान अध्यक्षसमेत रहेकी खगिन्द्रा खुसीको अध्यक्षता एवम् गङ्गा ओली र दुर्गा भट्टराईको विशिष्ट आतिथ्य रहेको उक्त हास्य व्यङ्ग्य विशेष कार्यक्रममा समालोचक होम सुवेदीले नेपाली हास्य व्यङ्ग्य परम्परा, प्रवृत्ति र झापाको योगदानका विषयमा ज्ञानवर्धन मन्तव्य प्रस्तुत गर्नुभएको थियो । यस अवसरमा तीर्थ चापागाईं, हरिप्रसाद न्यौपाने, महेन्द्र भट्टराई, सत्यनारायण ताय, विरही अधिकारी, लीला भट्टराई, जय भण्डारी, मिना अधिकारी, निर्मला बास्तोला, गणेश निरौला, केशव आचार्य, राजेश ढुङ्गाना, टङ्क विकल्प, रत्नबहादुर बस्नेत, आरती पोखरेल, फणीन्द्र पोखरेल, उषा गुरुङ, शालिग्राम भट्टराई, महेन्द्र कोइराला र गोविन्द कोइरालाले आआफ्ना हास्य व्यङ्ग्यात्मक रचनाहरू प्रस्तुत गर्नुभएको थियो भने गङ्गा ओली र नवराज घिमिरेले सान्दर्भिक मन्तव्य राख्नुभएको थियो । त्यति बेलासम्ममा मलाई लिनका लागि कवि विमल खतिवडा र इन्द्र खतिवडा काँकडभिट्टा आइ सक्नुभएको थियो तापनि उक्त अवसरमा मैले हास्यव्यङ्ग्य सिर्जनाका सम्भावना र चुनौतीका बारेमा केही विचारहरू राख्ने मौका पाएँ । मैले वर्तमान नेपाली हास्यव्यङ्ग्य साहित्यको उच्च संस्था सिस्नुपानी नेपालको नेतृत्व नै झापाका लक्ष्मण गाम्नागेले गरिरहेको र त्यससँग सम्बन्धित मनोज गजुरेल, टङ्क आचार्य, नरनाथ लुइँटेल, देवी घिमिरे, हरिकला उप्रेती, थरेन्द्र बराल, सरोज घिमिरे आदि सबै झापाकै स्रष्टा भएकाले यस परम्परालाई बचाउनुपर्ने कुरामा जोड दिएको थिएँ ।
यस अवसरमा सभाध्यक्ष खगिन्द्रा खुसीले लेखनाथ पुस्तकालयले केही नयाँ प्रकृतिका कार्यक्रमहरूका बारेमा सोचिरहेको र त्यसैको प्रारम्भविन्दुका रूपमा हास्यव्यङ्ग्य कार्यक्रम गरिएको विचार राख्दै मलाई दोसल्ला ओढाएर सम्मान गरी भारत यात्राका लागि बिदाइ गर्नुभएको थियो ।
२. दोस्रो कार्यक्रम भारतको सिलिगुडीमा
अगस्ट १७, २०२४ (२०८१ भदौ १ गते): लेखनाथ पुस्तकालयको कार्यक्रम सकेर म हतार हतार काँकडभिट्टा पुग्दा मलाई लिनका लागि आउनुभएका विमल खतिवडा र इन्द्र खतिवडाले निकै लामो प्रतीक्षाको घडी पूरा गरिसक्नुभएको थियो । उहाँहरूले त्यहाँबाट मलाई सिधै सिलिगुडी लैजानुभयो र मिलनमोड स्थित इन्द्र सरको घरमा ससम्मान बस्ने व्यवस्था मिलाउनुभयो । संयोगवश त्यसै दिन इन्द्र सरका सुपुत्र आविष्कार खतिवडाको शुभ जन्मदिन परेको रहेछ । साँझ दर्जनौँ बालबालिकाका साथमा आविष्कारको जन्मदिनको उत्सवमा सहभागी हुने मौका पाइयो ।
भोलिपल्ट क्याप्टेन न्यौपाने फाउन्डेसनले मिलनमोड स्थित लिटिल एन्जल्स स्कुलको प्रेक्षालयमा आयोजना गरेको ‘प्रतिभा सम्मान तथा पुस्तक लोकार्पण समारोह’मा प्रमुख अतिथिका रूपमा सहभागी भएर कवि विमल खतिवडा माइलाद्वारा लिखित ‘उडान’ खण्डकाव्यको विमोचन गर्ने मौका पाइयो । भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएको ३२ औँ नेपाली भाषा मान्यता दिवस (अगस्ट २०) को पूर्वसन्ध्यामा चम्पासरी नेपाली साहित्य परिषद्का अध्यक्ष श्रीमती शुषमा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मैले अहिले नेपाली जाति महाजाति र नेपाली भाषा विश्वभाषा भइसकेको कुराको चर्चा गर्दै नेपाली भाषा मान्यता दिवसका उपलक्ष्यमा सम्पूर्ण भारतीय नेपालीहरूलाई शुभकामना व्यक्त गरेको थिएँ । साथै प्रत्येक नयाँ पुस्ताले पुरानो पुस्तालाई एक कदम मात्र भए पनि उछिन्न सकेन भने समाज यथास्थितिमा रहने कुराको चर्चा गर्दै कवि खतिवडाको सिर्जनाले गुरु पुस्तालाई चुनौती दिए पनि सबैले गर्व गर्नुपर्ने कुरामा जोड दिएको थिएँ । विमोचित कृतिका बारेमा बोल्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’कै शैलीमा झ्याउरे छन्दमा लेखिएको ‘उडान’ खण्डकाव्यमा दार्जिलिङ र कालेबुङ क्षेत्रको भारतीय नेपाली जीवनलाई आधार बनाएर पेदोङदेखि चाल्सासम्मको भौगोलिक परिवेश र नारी समस्या, संवेदना र करुणाको संवेगात्मक चित्रण गरिएको हुनाले यस कृतिले भारतीय नेपाली पाठकहरूका बिचमा ‘मुनामदन’ले जस्तै लोकप्रियता हासिल गर्ने अपेक्षा राखेको थिएँ ।
कार्यक्रममा स्रष्टा माइलाको व्यक्तित्वका बारेमा परिचय दिँदै राधिका न्यौपानेले उहाँ आजसम्म आफ्नो जिम्मेवारीमा अत्यन्त समर्पित, असल र कर्तनिष्ठ शिक्षक हुनुहुन्थ्यो भने आजबाट समाजसचेत कविका रूपमा पनि परिचित हुनुभएको विचार राख्नुभयो । उक्त अवसरमा कवि माइलाले आफूले नेपाली समाजमा नारी नारीका बिचको बेमेलका कारण उत्पन्न हुने समस्यालाई केन्द्रमा राखेर सामाजिक दायित्व निर्वाह गर्नका लागि यो खण्डकाव्य सिर्जना गरेको जानकारी दिनुभयो । क्याप्टेन न्यौपाने फाउन्डेसनका निर्देशक दीपक न्यौपानेले आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूलाई स्वागत गर्दै संस्थाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो भने कर्नेल केशव राईले क्याप्टेन के.के. न्यौपानेको योगदानको चर्चा गर्नुभएको थियो । उक्त अवसरमा आआफ्नो प्रतिभा र क्षमताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नाम राख्न सफल मिलनमोड क्षेत्रका दश जना प्रतिभाहरूलाई क्याप्टेन न्यौपाने स्मृतिसम्मान–२०२४ बाट सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा मेरिना विश्वकर्मा, सञ्चिता उपाध्याय, अङ्गद क्षेत्री, प्रशंसा थापा, क्षितिज क्षेत्री, सुमित विश्वकर्मा, सन्दीप ब्राह्मिन (पपिन सेन्डी), ममता क्षेत्री र पवन लामा गरी नयाँ पुस्ताका नौ जना र बहुमुखी प्रतिभाका धनी कृष्ण बस्नेत गरी दश जना हुनुहुन्थ्यो ।
वरिष्ठ साहित्यकार लोकनाथ चापागाईं, कर्नेल पिके शर्मा, केशव राई, बिडी शर्मा, देवकोटा सङ्घका अध्यक्ष मिलन रुचाल, सचिव पिटी याल्मो, तेजमान बराइली, डा. सुकराज दियाली, खेम सापकोटा, गीताश्री शर्मा, निर्मला न्यौपाने, दिवस न्यौपानेलगायतका अत्यन्त विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले खचाखच भरिएको सभाकक्षमा चर्चित गायक पुष्पन प्रधानको विशेष प्रस्तुति, क्षितिज क्षेत्री, ममता क्षेत्री र सन्दीप ब्राह्मिनको प्रतिभा प्रदर्शनका साथै विभिन्न सांस्कृतिक झलकहरू प्रस्तुत गरिएका थिए । स्रष्टा एवम् कलाकार कृष्ण बस्नेतले कवितात्मक एवम् अत्यन्त प्रभावकारी शैलीमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्रष्टाका पिता चन्द्रप्रसाद खतिवडा, हाम्रो किताब घरका व्यवस्थापक छेवाङ योञ्जन, कार्यक्रमका संयोजक इन्द्रबहादुर खतिवडाले आआफ्नो मन्तव्य राख्नुभएको थियो भने साना साना बालबालिका अभियान शर्मा र तेजस्वी शर्माले कविता वाचन गर्नुभएको थियो ।
३. तेस्रो कार्यक्रम वसुन्धरा पुस्तकालय डुवर्समा
अगस्ट १८, २०२४ (२०८१ भदौ २ गते) डुवर्स क्षेत्रका अग्रज स्रष्टा शङ्कर प्रधानको निमन्त्रणामा हामी बिहान १० बजे बाग्राकोट पुग्नुपर्ने थियो । इन्द्र खतिवडा सरको गाडी व्यवस्थापनमा कवि विमल खतिवडा र म बिहान ८ बजे नै डुवर्सतिर लाग्यौँ । सिलिगुडीबाट टिस्टाको ऐतिहासिक बाघपुल हुँदै करिब डेढ घण्टाको यात्रामा हामी डुवर्सको बाग्राकोट पुग्यौँ । त्यहाँको भीमसेन भवनमा वसुन्धरा पुस्तकालयद्वारा आयोजना भएको स्रष्टा सम्मान कार्यक्रममा मैले प्रमुख अतिथिका रूपमा सहभागी हुने मौका पाएँ ।
डुवर्सका अग्रज स्रष्टा गङ्गा प्रधानको अध्यक्षता एवम् गोपालसिंह विश्व र विमल खतिवडाको विशिष्ट आतिथ्य र भीमप्रसाद दाहालको काव्यात्मक सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टा डा. सुकराज दियालीलाई सम्मान गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारणले उहाँ उपस्थित हुन नसक्नुभएका कारण कवि खतिवडामार्फत उहाँको सम्मान पत्र हस्तान्तरण गरियो । आयोजकका तर्फबाट स्वागत गर्दै शङ्कर प्रधानले डुवर्सको साहित्यिक गतिविधि प्रस्तुत गर्नुभएको थियो भने मैले नेपाली भाषाको विश्वव्यापी महत्त्व र सिर्जनात्मक अमरताका बारेमा मन्तव्य राखेको थिएँ । यसरी नै विशिष्ट अतिथि गोपालसिंह विश्व, विमल खतिवडा माइला, मदन खड्का, क्या. खगेन्द्र शर्मा आदिले आआफ्ना विचार र सिर्जना प्रस्तुत गर्नुभएको थियो भने लोकगायक गोकुलसिं थापाले आफ्नो लोकगीत प्रस्तुत गर्नुभएको थियो ।
४. चौथो कार्यक्रम बाग्राकोट डुवर्समा
अगस्ट १८, २०२४ (२०८१ भदौ २ गते): वसुन्धरा पुस्तकालयद्वारा आयोजित बिहान १० बजेको कार्यक्रम १२:३० मा सम्पन्न भयो । त्यसपछि हामी स्रष्टा शङ्कर प्रधानको घरमा खाना खाएर १:३० बजे केही पर रहेको भानु भवनमा साहित्य परिक्रमाद्वारा आयोजित सम्मान कार्यक्रममा सहभागी हुन पुग्यौँ । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन स्रष्टा अजय खड्काले गर्नुभएको थियो । उहाँले पन्ध्र दिन अगाडिदेखि नै मलाई ससम्मान आमन्त्रण गर्नुभएको थियो । सोही निम्तोलाई सम्मान गर्दै हामी भानु भवन पुग्यौँ ।
बाग्राकोट बजारमा नै रहेको उक्त भव्य भानु भवनमा आदिकवि भानुभक्त आचार्य उपरखुट्टी लगाएर बसेको सालिक रहेछ । सोही सालिकलाई दायाँपट्टि साक्षी राखेर साहित्य परिक्रमाको कार्यक्रम सुरु भयो । उक्त कार्यक्रममा मलाई प्रमुख अतिथिका साथै सम्मानित व्यक्तित्वका रूपमा सहभागी गराइयो । अग्रज स्रष्टा जे.बी. क्षेत्रीको अध्यक्षता, गोपालसिंह विश्व, विमल खतिवडा, अशोक रोका, गौतम विश्व, मोहनसिंह रोका, शङ्कर प्रधानको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कवि अजय खड्काले अत्यन्त रोचक शैलीमा गर्नुभएको थियो । सिङ्गो डुवर्सबासीका तर्फबाट मलाई भव्य सम्मान गरिएको उक्त कार्यक्रममा बिचैमा मुसलधारे पानी परेर केही समय बाधा पुगे पनि केही क्षणमा शान्त भएको प्रकृतिलाई नियाल्दै मैले नेपाली जाति, नेपाली भाषा र सिर्जनात्मक लेखन तथा प्रकाशनको महत्त्वका बारेमा झन्डै एक घण्टा लामो सम्भाषण प्रस्तुत गरेको थिएँ । उक्त अवसरमा कवि माइलाले ‘उडान’ खण्डकाव्यको रचनागर्भका साथै त्यसमा समेटिएको विषयवस्तु र भूगोलका बारेमा प्रकाश पार्नुभएको थियो भने रूपेश विश्व, बिनु राई, अनिशा प्रधान, करुणा काफ्ले र रोश्ना प्रधानले अत्यन्त सशक्त कविताहरू वाचन गर्नुभएको थियो । यस कार्यक्रममा पनि लोकगायक गोकुलसिं थापाले ‘बाग्राकोट यसै रमाइलो, त्यसै रमाइलो...’ बोलको अति नै रोमाञ्चक लोकगीत प्रस्तुत गर्नुभएको थियो ।
यसपटकको भारत भ्रमण उपलब्धिमूलक रहेको चर्चा गर्दै नयाँ पुस्तामा भाषा, साहित्य, कला र संस्कृतिको हस्तान्तरण गर्न सके मात्र नेपाली जाति र नेपाली भाषा माथि उठ्ने विचार व्यक्त गरेर आफू सिर्जनात्मक लेखनको अभियानमा नै लाग्नुको उद्देश्यका बारेमा जानकारी दिएको थिएँ । साथै शताब्दीभन्दा लामो इतिहास बोकेको यस पुस्तकालयमा पहिलोपटक उपस्थित हुन पाउँदा खुसी लागेको विचार व्यक्त गरेको थिएँ । सो कार्यक्रममा डा. सुकराज दियाली र देवीलाल प्रधानले मेरा बारेमा र यस साहित्यिक भ्रमणका बारेमा प्रकाश पार्नुभएको थियो ।
बाग्राकोटको कार्यक्रम सकिँदा साँझको पाँच बज्न लागेको थियो तापनि भारतीय भूमिमा जातीय स्वाभिमानका साथ बसेका भानुको प्रतिमासँग छोटो कुराकानी गर्ने इच्छा ममा जागृत भयो र प्रतिमानजिक गई भावनात्मक भलाकुसारी गरेँ । त्यस समयमा ममा यस्तो कविता स्फुरण भयो-
भेटेँ भारतमा भानु बाग्राकोट बजारमा
‘वरशिक्षा’ थिए लेख्दै टुङ्ग्याउने हतारमा
सोधेँ जीवनको मन्त्र भने रोकेर लेखनी
“गर कर्म सधैँ बाबू ! बन्ला अमर जीवनी ।”
यही समयमा मैले उक्त भानुभक्तको सालिक निर्माण गर्नुहुने कलाकार अमिर सुन्दास पनि त्यहीँ नजिकै हुनुहुन्छ भन्ने थाहा पाएँ । त्यसपछि क्या. खगेन्द्र शर्माका साथमा कवि माइला र म कलाकार सुन्दासका घरमा गयौँ । दर्जनौँ निर्माणाधीन सालिकहरूका बिचमा मुस्कुराउँदै बस्नुभएका अनौपचारिक तर अत्यन्त हार्दिक व्यक्तित्व अमिर सुन्दासलाई भेट्दा मलाई वर्षौंदेखि परिचितझैँ लाग्यो । छोटो भेटमा उहाँले मलाई ‘तपाईंको देशका लागि मैले पनि दुई वर्षको जेल जीवन बिताएको छु है’ भन्दै माओवादी नेता मोहन वैद्यसँगै आफू पनि जेलमा बसेको जानकारी दिनुभयो । साथै हाम्रा पूर्वप्रधानमन्त्री प्रचण्डले पनि बाग्राकोटमा कैयौँ रात बिताएको प्रसङ्गसमेत सुनाउनुभयो । कलाकार सुन्दासको कला देखेर म चकित भएँ । उहाँले छोटो समयमा मूर्तिकलाको सिप सिकेर विभिन्न व्यक्तित्वहरूका दर्जनौँ सालिकहरू बनाइ सक्नुभएको रहेछ । अहिले भारतका विभिन्न ठाउँमा राखिएका भानुभक्त आचार्य, स्वामी विवेकानन्द, महात्मा गान्धी, अम्बर गुरुङलगायतका विशिष्ट व्यक्तित्वहरूका सालिक उहाँकै सिर्जना रहेछन् ।
यसरी कलाकार सुन्दासको प्रतिभाको सागरमा पौडी खेल्दाखेल्दै साँझको छ बजिसकेको थियो । हामी भने डुवर्सका सबै कार्यक्रमको सुन्दर संयोजनका लागि स्रष्टाद्वय शङ्कर प्रधान र अजय खड्कालाई हृदयदेखि नै आभार प्रकट गर्दै त्यहाँबाट बिदा भयौँ र साँझ आठ बजे पुनः इन्द्र खतिवडा सरको घरमा आइपुग्यौँ । डुवर्सका साथीहरूको आग्रहलाई स्वीकार गरेर हामी त्यहीँ बास बस्ने अवस्थामा थिएनौँ किनभने भोलि बिहान १० बजेसम्ममा हामी मिरिक पुग्नुपर्ने थियो ।
५. पाँचौँ कार्यक्रम मिरिकमा
अगस्ट १९, २०२४ (२०८१ भदौ ३ गते): अघिल्लो दिन डुवर्सका दुई कार्यक्रम, भेटघाट र यात्राले थाकिएको भए पनि बिहानै उठेर नित्यकर्म सकी आठ बजे नै इन्द्र खतिवडा सरको सवारी साधनमा हामी डा. सुकराज दियाली, विमल खतिवडा, देवीलाल प्रधान र म मिरिकतिर लाग्यौँ । अत्यन्त रमाइला सिर्जनात्मक कुराकानी गर्दै दार्जिलिङ रोडको चियाबारी, मिरिक रोडका मनोरम दृश्यहरू हेर्दै मिरिकको छेउमा पुग्दा ‘आइ लभ मिमिर’ लेखेको ठाउँ आइपुग्यो । त्यहाँ एकछिन गाडी रोकेर फोटो खिच्न लाग्दा मैले त्यसैको दायाँपट्टि हाम्रा राष्ट्रगानका सङ्गीतकार, गायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको भव्य सालिक देखेँ । त्यो पनि पूर्वपरिचित कलाकार अमिर सुन्दासले नै बनाउनुभएको रहेछ । हारमोनियक बजाउँदै गरेको उक्त भव्य सालिकको छेउमा पुग्दा मेरो छाती गर्वले फुल्यो अनि मैले अम्बर गुरुङको कालजयी गीत ‘नौलाख तारा उदाए...’ लाई सम्झिएर त्यही शैलीमा यस्ता चार हरफ सिर्जना गरेँ–
‘नौलाख तारा उदाए’ एउटै चन्द्र अम्बर
नेपाली जाति चम्काउने धर्तीका सूर्य अम्बर
नेपाल होस् कि भारत एउटै माया देखियो
मिरिक चोक छेउमा नेपाली गौरव भेटियो ।
यही गौरवले द्रवीभूत हुँदै हामी अगाडि बढ्यौँ । त्यो दिन जनैपूर्णिमा वा नेवारी समुदायका लागि सांस्कृतिक पर्व क्वाँटी पूर्णिमा पनि थियो । मिरिकभन्दा अलि तल पुग्दा नेवारी समुदायको एक भव्य जुलुस भेटियो । नेवारी वेशभूषामा सजिएका हजारौँ व्यक्तिहरू लाखे नाचसहित बाटामा निस्किएको देख्दा आफ्नो संस्कृतिको महत्त्व कति हुँदो रहेछ भन्ने कुरा थाहा पाइयो । त्यस भिडलाई छिचाल्दै हामी मिरिकका स्रष्टा अजम प्रधानका घरमा पुग्यौँ । अजम सरको परिवारद्वारा हामीलाई क्वाँटीले स्वागत गरियो । क्वाँटीका साथमा खाना खाएर कवि माइला र चालक भाइ सिलिगुडी फर्कनुभयो, हामी (अजम प्रधान, डा. सुकराज दियाली र म) चाहिँ मिरिकको अत्यन्त प्रसिद्ध लुविस इङ्लिस स्कुलमा पुग्यौँ । डा. दियाली र स्रष्टा प्रधान त्यस विद्यालयका अभिभावक पनि हुनुहुँदो रहेछ ।
त्यस दिन मिरिकको लुविस स्कुलका कक्षा ८ देखि १२ सम्मका २०० भन्दा बढी विद्यार्थीहरूका साथमा कविता लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा मिरिकका बालबालिकाको नेपाली भाषा र कविता प्रतिको प्रेम र उत्साह देख्दा मलाई अत्यन्त खुसी लाग्यो । करिब दुई घण्टाको उक्त प्रशिक्षण कार्यक्रममा झन्डै एक दर्जन विद्यार्थीले स्थलगत रूपमा तत्काल कविता लेखेर सुनाए । उक्त अवसरमा मलाई सम्मान गर्दै विद्यालयका प्राचार्य लियोनार्ड सुब्बाले समय छोटो भएकामा पश्चात्ताप गर्दै प्रशिक्षण जादुमय भएको प्रतिक्रिया दिनुभयो । म भने यस्तो अविस्मरणीय अवसर प्राप्त भएकामा कार्यक्रमको सेतु बन्नुहुने स्रष्टा अजम प्रधान, विद्यालयका प्राचार्य लियोनार्ड सुब्बा, कार्यक्रम सञ्चालक शिवप्रसाद घिमिरेलगायत विद्यालय परिवारप्रति कृतज्ञ हुँदै त्यहाँबाट बिदा भएँ ।
त्यस रात मेरो बसाइ अजम प्रधान सरकै घरमा भयो । मिरिक क्षेत्रका अत्यन्त सम्मानित शैक्षिक व्यक्तित्व यज्ञनिधि ढकालसहित अजम सर र म रातिसम्म साहित्यिक भलाकुसारी गरेर बस्यौँ । भोलिपल्ट बिहानै दार्जिलिङका लागि हामीले प्रस्थान गर्नुपर्ने थियो ।
६. छैटौँ कार्यक्रम दार्जिलिङमा
अगस्ट २०, २०२४ (२०८१ भदौ ४ गते): बिहानको खाजा अजम सरको घरमा खाएर आठ बजे हामी (डा. सुकराज दियाली, देवीलाल प्रधान र म) दार्जिलिङतिर लाग्यौँ । सिलिगुडीदेखि नै साथ दिनुभएका दियाली र प्रधानको सम्मानले मलाई नै लज्जित बनायो । डा. दियाली बारम्बार ‘मेरो गुरुलाई कुनै पनि प्रकारको दुःख हुनु हुँदैन’ भन्नुहुन्थ्यो भने डीएल प्रधान ‘हाम्रो पाहुनालाई सकुशल नेपाल पठाउनुपर्छ’ भन्दै सेवा गर्नुहुन्थ्यो । त्यसैले मलाई कुनै साह्रोगाह्रो हुने हो कि भन्ने डरले दुई जना दुईतिर मेरो बैसाखी जस्तो बनेर हिँड्नुहुन्थ्यो र त्यस्ता गह्रौँ झोलाहरू पनि मलाई बोक्नै नदिएर उहाँहरू नै बोक्नुहुन्थ्यो अनि पानी पर्यो भने तत्काल छाता ओढाइहाल्नुहुन्थ्यो । यस्तो अनुपम सत्कारले मलाई निकै भावुक बनायो । मैले चाहिँ ठट्टा गर्दै यसरी अर्कालाई झोला बोकाएको र अर्काले छाता ओढाएको फोटो कसैले खिचेर सामाजिक सञ्जालमा राखिदियो भने मलाई त नेपालमा बसी खानै नहुने अवस्था आउँछ है, त्यसैले यति धेरै सम्मान नगर्नुहोस् भन्दै आफ्नो झोला आफैँ बोक्न खोजेँ तर उहाँहरूले दिनुभएन । श्रद्धाका अगाडि कुनै सिद्धान्तको केही लाग्दो रहेनछ ।
बिहानको ठिक ११ बजे हामी साहित्य सम्मेलन दार्जिलिङ पुग्यौँ । त्यहाँ ३२ औँ नेपाली भाषा मान्यता दिवसका अवसरमा आयोजना भएको भव्य कार्यक्रम थियो । उक्त कार्यक्रममा मलाई विशिष्ट अतिथि तथा वक्ताका रूपमा आमन्त्रण गरिएको थियो । एक सय वर्षभन्दा लामो इतिहास बोकेको नेपाली साहित्य सम्मेलन दार्जिलिङको सुधपा प्रेक्षागृहमा सम्मेलनका अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षता, सचिव महेन्द्र प्रधानको संयोजन र स्रष्टा सुमित्रा अविरलको कुशल सञ्चालनमा सम्पन्न उक्त भव्य कार्यक्रममा भाषासङ्ग्रामी डम्बरमणि प्रधान र युवास्रष्टा धीरज सुब्बा ‘धैर्य’लाई सम्मान गरिएको थियो । उक्त अवसरमा मैले नेपाली भाषाको एक हजार वर्षको इतिहासका गतिविधिहरू प्रस्तुत गर्नुका साथै उत्तरोत्तर रूपमा विकास हुँदै गएको विगतदेखि वर्तमानसम्मको ऐतिहासिक स्वरूप र गौरवलाई प्रस्तुत गर्ने मौका पाएको थिएँ । साथै आज नेपाली भाषा विश्वभाषा बन्न सफल भएका अनेकौँ साक्ष्यहरू प्रस्तुत गरी भारतीय संविधानमा नेपाली भाषालाई मान्यता प्रधान गर्नका लागि जीवनसमेत अर्पण गर्नुहुने र जीवित हुनुहुने सबै योद्धाहरूप्रति सम्मान भाव व्यक्त गरेको थिएँ ।
सम्मानित व्यक्तित्व डम्बरमणि प्रधान र सम्मेलनका पूर्वअध्यक्ष हरेन आलेले भारतीय संविधानमा नेपाली भाषाले मान्यता प्राप्त गर्दासम्मका सङ्घर्षका कथाहरू प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा डा. जीवन नामदुङ, डा. प्रेम प्रधान, डा. विन्द्या सुब्बा, डा. गीता शर्मा, डा. सुकराज दियाली, देवीलाल प्रधान, विमला प्रधान जोशीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सकिएर खाना खानासाथ राँगेरुङबाट स्रष्टा सरस्वती शर्मा क्षेत्रीले हामीलाई लैजानका लागि गाडी पठाइसक्नुभएको थियो । दर्के झरी र दार्जिलिङको ट्राफिक व्यवस्थापनका असहजताहरूलाई झेल्दै सरस्वतीजीका श्रीमान् बस्नेतजीका साथमा हामी दार्जिलिङदेखि झन्डै डेढ घण्टाको यात्रा गरी साँझको छ बज्नै लाग्दा राँगेरुङ पुग्यौँ ।
७. सातौँ कार्यक्रम राँगेरुङमा
अगस्ट २०, २०२४ (२०८१ भदौ ४ गते): साँझको छ बजे राँगेरुङ पुगेका हामी (डा. सुकराज दियाली, देवीलाल प्रधान र म) लाई स्रष्टा सरस्वती शर्मा क्षेत्रीले बाटैदेखि यति भव्य स्वागत र सम्मान गर्नुभयो, त्यसको वर्णन गर्नै सकिन्न । साँझको समयमा हामीलाई स्वागत गर्नका लागि उपस्थित हुनुभएका राँगेरुङ चियाकमानबासीहरूको आत्मीयतापूर्ण सम्मान देखेर म त निकै भावुक भएछु । स्थानीय साई मन्दिरमा ज्योति सङ्घका अध्यक्ष विकास राईको अध्यक्षतामा आयोजना भएको सन्ध्याकालीन कार्यक्रममा राँगेरुङ चियाकमानका म्यानेजर दीपेश गुप्ताज्यूको समेत उपस्थिति रहेको थियो । शास्त्रीय सङ्गीतमा स्वर्णपदक विजेता रोदन शाहज्यूको नेतृत्वमा उहाँका शिष्यहरू यासिका, तेन्जी, पेसाली, अजु, श्रीपन्ना, युवराज आदिको समूहबाट गुरुवन्दना, सरस्वती वन्दना र विभिन्न गीतसङ्गीतहरूको प्रस्तुति र बालप्रतिभा प्रध्यायिका क्षेत्रीको ‘गुरु’ शीर्षकको कविता वाचनसँगै सुरु भएको उक्त कार्यक्रम साँच्चै गुणात्मक प्रकृतिको थियो ।
तुलनात्मक रूपमा दार्जिलिङको विकट क्षेत्र मानिने राँगेरुङ चियाकमानमा साँझको समयमा हातमा खादा र पुष्पगुच्छाका साथमा उपस्थित ग्रामवासीहरूले खचाखच भरिएको साई प्रार्थनाकक्षमा आमन्त्रित हामी तीन जनालाई अकल्पनीय सम्मान गरिएको थियो । पहिले सभाध्यक्ष विकास राई, म्यानेजर दीपेश गुप्ता र कार्यक्रम संयोजक सरस्वती शर्मा क्षेत्रीले दोसल्ला, पुष्पगुच्छा र स्मृतिचिह्नले सम्मान गरिसकेपछि सिङ्गो राँगेरुङबासीको प्रतिनिधित्व गर्दै उपस्थित जनसमुदायका तर्फबाट खादा र पुष्पगुच्छाले सम्मान गरिएको थियो । यसरी खादा र मालाले पुरिने अवस्था जीवनमा कहिलेकाहीँ मात्र आउने गर्दछ । त्यसमा पनि राँगेरुङबासीको यो सम्मान साँच्चै अविस्मरणीय बन्यो । उक्त अवसरमा मैले ग्रामीण जीवनको निःस्वार्थ मायाको चर्चा गर्दै नेपाली मन, नेपालीपन, नेपाली जीवन, नेपाली भाषा, नेपाली साहित्य र संस्कृति एवम् सिर्जनात्मक अमरताका बारेमा आफ्नो अभिमत प्रस्तुत गरेको थिएँ । रातको नौ बज्न लाग्दा पनि उपस्थिति जनसमुदायको धीत मरेको थिएन, अझै केही कुरा सुन्ने भन्ने आवाज आइरहेका बेलामा एक घण्टा लामो मन्तव्य पनि मैले जबर्जस्ती रोक्नुपरेको थियो । अन्त्यमा यस्तो अद्भुत संयोजनका लागि स्रष्टा सरस्वती शर्मा क्षेत्रीलाई धन्यवाद व्यक्त गर्दै मैले मन्तव्य टुङ्ग्याएको थिएँ ।
उक्त कार्यक्रममा डा. सुकराज दियाली र देवीलाल प्रधानले मेरा बारेमा परिचयात्मक मन्तव्य राख्दै राँगेरुङबासीको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो भने अध्यक्ष विकास राई, सचिव राज ठाकुर, सङ्गीतज्ञ रोदन शाह र सम्पूर्ण कार्यक्रमको संयोजन गर्नुहुने सरस्वती शर्मा क्षेत्रीले हाम्रो सम्मानमा आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यस रातभरि मुसलधारे पानी परि नै रह्यो । हामी स्रष्टा सरस्वतीको परिवारबाट सञ्चालित बस्नेत हामेस्टेमा बास बस्यौँ । साँझमा पुगेर पानीझरीका बिचमा नै कार्यक्रम सम्पन्न गरी बासस्थानसम्म पुगेर खाना खाई सुतेका कारण हामीले राँगेरुङको सौन्दर्यपान गर्न पाएका थिएनौँ । दिनभरको दौडाइ र कार्यक्रमले गर्दा निकै थाकिएछ । बिहान उज्यालो भएको थाहै भएन । अचानक देवीलाल सरले मेरो ढोका ढकढक्याएर ‘गुरु, उठ्नुहोस्, कञ्चनजङ्घाको सौन्दर्य छोपिएला !’ भन्दा मात्र म ब्युझिएँ र बाहिर निस्किएँ । त्यति बेला मात्र मलाई राँगेरुङको सौन्दर्यले मोहित बनायो । आँखैअगाडि देखिने दार्जिलिङ सहरको पूर्वी भाग, त्यसपछाडि रहेको नेपालको कञ्चनजङ्घा हिमाल र दायाँपट्टि देखिने सिक्किमको नाम्चीमा रहेको चारधाम आदिलाई छर्लङ्ग देख्दा म त निकै भावुक भएछु । यस अवसरको सदुपयोग गर्दै हामी राँगेरुङको चियाकमान घुम्न निस्कियौँ । तल खोलाको कलकल आवाज, पारि झरनाको छङछङ आवाज, चियाबगानमा चराको चिर्बिर स्वर र फूलको सुगन्ध बोकेर दौडिएको शीतल पवनको प्रवाह आदिले हामीलाई त लट्ठै बनाएछ । हामीले एक घण्टाभन्दा बढी चियाकमानको भ्रमण गरेपछि म त चियासँगै कुराकानी पो गर्न थालेछु । त्यस समयमा मैले चियासँग गरेको कुराकानीको एउटा अंश यस्तो छ -
राँगेरुङ पुगेँ, देखेँ चियाबारी हराभरा
सारा सौन्दर्यका धारा बगेका छन् गरा गरा
चियाको बोटले सोध्यो, गर्छौ रे कवि गौरव !
“मजस्तो हरियो तिम्रो कविता बन्न सक्छ र ?”
यसरी राँगेरुङले जतिसुकै मायाको पोखरीमा डुबाए पनि हामी त्यहीँ डुबिरहने अवस्थामा थिएनौँ । त्यसै दिन बिहान ११ बजे घुम जोरबङ्गलो कलेजमा विद्यार्थीहरूसँग कविता लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्नुपर्ने थियो । त्यसैले सरस्वती बहिनीको अपार आत्मीयता मिश्रित खाजा खाएर राँगेरुङमा उत्पादित चिया उपहार ग्रहण गरी ज्वाइँका साथमा हामी घुमतिर लाग्यौँ ।
८. आठौँ कार्यक्रम घुम कलेजमा
अगस्ट २१, २०२४ (२०८१ भदौ ५ गते): हामी राँगेरुङमा हुँदादेखि नै स्रष्टा सुमित्रा अविरलको निरन्तर फोन आइरहेको थियो । हामी समयमा नै त्यहाँबाट हिँडे पनि घुमको ट्राफिक जामका कारण दश मिनेट ढिलो घुम जोरबङ्गलो कलेज (डिग्री कलेज) मा पुग्यौँ । त्यहाँ उक्त कलेजका स्नातक तहका र घुम गल्स स्कुल तथा घुम ब्वाइज स्कुलका ९–१२ कक्षाका २०० भन्दा बढी विद्यार्थीहरूका साथमा झन्डै तीन घण्टा कविता लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्ने मौका पाइयो । क्याम्पस प्रमुख विनय गजमेरको अध्यक्षता, नेपाली विभागीय प्रमुख डा. महेश दाहालको कवितात्मक एवम् अत्यन्त प्राज्ञिक सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा यस कार्यक्रमको सम्बन्धसूत्र बन्नुहुने स्रष्टा सुमित्रा अविरल र मेरो सिङ्गो यात्राको सारथि बन्नुहुने डा. सुकराज दियाली र देवीलाल प्रधानको पनि सहभागिता रहेको थियो । उक्त अवसरमा मैले कविता, गीत र गजल लेखनका लागि आवश्यक वार्णिक, मात्रिक, लोक, बहर र मुक्त छन्दका बारेमा जानकारी दिई लोक छन्द र मुक्त छन्दमा कविता लेखनको कार्यशाला नै सञ्चालन गरेको थिएँ । यस छोटो समयमा धेरै जना विद्यार्थीहरूले तत्काल कविता सिर्जना गरेका थिए ।
उक्त क्याम्पसमा पढाउनुहुने विभिन्न विषयका प्राध्यापकहरू, विभिन्न विद्यालयका शिक्षकहरू र नेपाली साहित्यका विभिन्न विधामा कलम चलाइ रहनुभएका स्रष्टाहरूको समेत उपस्थिति रहेको उक्त कार्यशालामा विशेष गरी स्नातक पढ्ने युवा पुस्ताको नेपाली भाषा र साहित्यप्रतिको रुचि देख्दा अत्यन्त खुसी लाग्यो । कार्यक्रम नटुङ्गिए हुन्थ्यो भन्ने सबैको अपेक्षा हुँदाहुँदै पनि चार बजे खरसाङको गोर्खा जनपुस्तकालयमा पुग्नुपर्ने भएकाले हामी कार्यक्रम संयोजक सुमित्रा अविरललाई विशेष धन्यवाद दिँदै घुमबाट बिदा भयौँ ।
९. नवौँ कार्यक्रम खरसाङमा
अगस्ट २१, २०२४ (२०८१ भदौ ५ गते): सोही दिन अपराह्न चार बजे गोर्खा जन पुस्तकालय खरसाङमा हाम्रो स्वागत तथा स्रष्टा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । हामी घुमको कार्यक्रम सकेर खरसाङ पुग्दा ठिक चार बजेको थियो । पुस्तकालयमा स्थानीय स्रष्टाहरूको जमघट हुन थालेको थियो । डा. सुकराज दियाली, देवीलाल प्रधान र म त्यहाँका पाहुना थियौँ भने अन्य स्रष्टाहरू कार्यक्रमका आयोजक हुनुहुन्थ्यो । त्यहाँ विशेष औपचारिक कार्यक्रम नभनेर भेटघाट मात्र भनिए पनि ख्यालख्यालमा एउटा भव्य कार्यक्रम नै सम्पन्न भयो । पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधानको अध्यक्षता र सचिव विनोद रसाइलीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा डा. आशा मुखिया लामालगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा मैले यसपटकको भारत भ्रमण उपलब्धिमूलक रहेको चर्चा गर्दै नयाँ पुस्तामा भाषा, साहित्य, कला र संस्कृतिको हस्तान्तरण गर्न सके मात्र नेपाली जाति र नेपाली भाषा माथि उठ्ने विचार व्यक्त गरेर आफू सिर्जनात्मक लेखनको अभियानमा नै लाग्नुको उद्देश्यका बारेमा जानकारी दिएको थिएँ । साथै शताब्दीभन्दा लामो इतिहास बोकेको यस पुस्तकालयमा पहिलोपटक उपस्थित हुन पाउँदा खुसी लागेको विचार व्यक्त गरेको थिएँ । सो कार्यक्रममा डा. सुकराज दियाली र देवीलाल प्रधानले मेरा बारेमा र यस साहित्यिक भ्रमणका बारेमा प्रकाश पार्नुभएको थियो ।
भारतभर रहुन्जेलसम्मको न्यानो आतिथ्य र सत्कार प्रदान गर्नुहुने सिलिगुडीका खतिवडा परिवारद्वय, दियाली परिवार, रुचाल परिवार, डुवर्स र मिरिकका प्रधान परिवारद्वय, राँगेरुङको बस्नेत परिवारप्रति साँच्चै ऋणी भएर फर्केको छु । साथै नेपालबाट बाहिरिँदै गर्दा चन्द्रगढीकी चेली खगिन्द्रा खुसीले गर्नुभएको बिदाइ तथा नेपाल भित्रिँदै गर्दा मेरा मित्र प्रेम घिमिरेले गर्नुभएको स्वागत र मित्रहरू चैतन्य खरेल र उमानाथ भण्डारीले भद्रपुर एयरपोर्ट नै पुर्याएर काठमाडौँका लागि गर्नुभएको बिदाइ लगायतका हरेक घटनाहरू अविस्मरणीय छन् ।
छोटो भेटघाट भए पनि फलदायी रहेको टिप्पणी गर्दै पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधान, सचिव विनोद रसाइली र साहित्य अकादमी दिल्लीकी नेपाली प्रतिनिधि डा. आशा मुखिया लामालगायतका विशिष्ट व्यक्तित्वहरूले आगामी दिनमा नयाँ पुस्तामा भाषा र साहित्यको जागृति ल्याइदिनका लागि फेरि एकपटक खरसाङ आउनका लागि अग्रिम निमन्त्रणा दिनुभयो । यसरी गोर्खा जनपुस्तकालयमा चार बजेदेखि छ बजेसम्म दुई घण्टाको कार्यक्रम गरी हामी त्यही साँझ सिलिगुडी आइपुग्यौँ । दार्जिलिङ मोडबाट डा. विजय रुचालका साथमा डा. सुकराज दियालीको घरमा पुगेका हाम्रो त्यस रातको बास दियाली निवासमा नै भयो । त्यहाँ पनि देवीलाल प्रधानको साथ यथावत् रह्यो । साथै सुकराजजीकी श्रीमती बबिता दियाली र छोराहरूको उच्च स्वागत र सत्कारमा रमाउँदै त्यो रात बिताइयो ।
१०. दसौँ कार्यक्रम पुनः सिलिगुडीमा
अगस्ट २२, २०२४ (२०८१ भदौ ६ गते): बिहान १० बजेभन्दा अगाडि भारतीय नेपाली साहित्यका विशिष्ट स्रष्टा एवम् भाषासङ्ग्रामी तेजमान बराइली सपरिवार मलाई भेट्नका लागि दियाली निवासमा आउनुभयो । यसरी नै सम्पादक, अनुवादक तथा प्रकाशक प्रदीप रसाइली पनि त्यहीँ आइपुग्नुभयो । उहाँहरूसँग निकै फलदायी बसाइ हुँदै गर्दा साढे दश बजेतिर इन्द्र खतिवडा सर मलाई लिनका लागि त्यहीँ आइपुग्नुभयो । त्यस दिन मिलनमोड स्थित लिटिल एन्जल्स स्कुलका विद्यार्थीहरूमा साथमा कविता लेखन कार्यशाला राखिएको थियो । उक्त कार्यशालामा मैले त्यस स्कुलका विभिन्न कक्षाका १०० जनाभन्दा बढी विद्यार्थीहरूका माझमा कविता लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्ने मौका पाएँ । दिनभरमा जम्मा एक घण्टी मात्र नेपाली पढ्ने सीमित सङ्ख्याका विद्यार्थीहरू भए पनि उनीहरूको नेपाली भाषा साहित्यप्रतिको चासो र सिर्जनात्मक क्षमता निकै अद्भुत लाग्यो । उक्त कार्यशाला सुरु भएको एक घण्टामा कहिल्यै कविता नलेखेका झन्डै एक दर्जन विद्यार्थीहरूले त्यहीँ तत्काल कविता सिर्जना गरेर सुनाएका थिए । कार्यक्रमको समापनसँगै मसँग हस्ताक्षर (अटोग्राफ) लिन लाइन लागेर आएका विद्यार्थीहरूको मुहारमा देखिएको म प्रतिको श्रद्धा र सम्मानलाई व्यक्त गर्न सक्ने शब्द सामर्थ्य नभएको म कस्तो स्रष्टा हुँला ? मेरो मनले मलाई नै प्रश्न गरिरहेको थियो ।
यस कार्यक्रमको आयोजनामा विद्यालयका निर्देशक दीपक न्यौपाने, प्रधानाध्यापक राधिका न्यौपाने, व्यवस्थापक दिवस न्यौपानेको विशेष साथ र सहयोग रहेको थियो भने विद्यालयका शिक्षक तथा कवि विमल खतिवडा माइला र शिक्षक अम्बिका शर्मा तथा नेपाली विभागको विशेष सक्रियता रहेको थियो ।
११. एघारौँ कार्यक्रम देवकोटा सङ्घमा
अगस्ट २२, २०२४ (२०८१ भदौ ६ गते): मध्याह्न साढे बाह्र बजे लिटिल एन्जल्स स्कुलको कार्यक्रम सकिएर दिवस सरका घरमा खाना खाएपछि इन्द्र सरले मलाई दियाली निवासमा पुर्याइदिनुभयो । त्यहाँ एकछिन आराम गर्दै गर्दा मणिपुरका अत्यन्त सक्रिय स्रष्टा राहुल राई बोगिको पनि त्यहीँ आइपुग्नुभयो । केही बेर हामीले भलाकुसारी गर्यौँ । लगातार आठ दिनको भारत यात्राका क्रममा मित्रहरूबाट प्राप्त पुस्तक उपहारले गर्दा झोलाहरू अति नै गह्रुँगा भएका थिए । तिनलाई मिलाउँदा मिलाउँदै डा. विजय रुचाल मलाई लिनका लागि दियाली निवासमा नै पुग्नुभयो । म उहाँका साथमा अब रुचाल निवास प्रधाननगरतिर लागेँ । त्यही दिन साँझ छ बजे सिलिगुडीको अत्यन्त सम्मानित एवम् ऐतिहासिक संस्था देवकोटा सङ्घमा भेटघाट, स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो । सङ्घका अध्यक्ष मिलन रुचालज्यूको अध्यक्षता र कार्यक्रम संयोजक देविका मग्राँतीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा मलाई देवकोटा सङ्घ, सिलिगुडीका तर्फबाट विशेष स्वागत तथा सम्मान अर्पण गरियो ।
सिलिगुडी क्षेत्रका अत्यन्त प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको र छोटो भेटघाटका लागि मात्र तय गरिएको यस कार्यक्रममा निकै लामो समयसम्म नेपाली भाषा, साहित्य र नेपाली जाति र संस्कृतिका विषयमा सार्थक अन्तरक्रियाहरू भए । सहभागीहरूले नेपाली भाषा, साहित्य र सिर्जनात्मक लेखन कार्यशालाका बारेमा विभिन्न प्रश्नहरू राख्नुभयो र मैले पनि सकेसम्म जवाफ दिने प्रयास गरेँ । यसपछि अध्यक्ष रुचालज्यूले आगामी डिसेम्बर २७ मा हुने अगमसिंह गिरी जयन्तीमा आयोजना हुने विशेष समारोहमा सिर्जनात्मक लेखन कार्यशाला पनि सञ्चालन गर्ने गरी पुनः सिलिगुडी आइदिनुपर्ने अग्रिम निमन्त्रणा संस्थाका तर्फबाट गर्नुभयो । उक्त निमन्त्रणालाई सहर्ष स्वीकार गरी हामी त्यहाँबाट बिदा भयौँ । त्यो रात डा. विजय रुचालका घरमा उहाँकी श्रीमती प्रणिशा विश्वको सत्कार र छोराछोरीहरूको बात्सल्यमा लुटुपुटु हुँदै बिताइयो । भोलिपल्ट बिहान पनि विजयजीकै घरमा खाना खाएर केही समय सिलिगुडी भ्रमण गरियो । त्यसपछि अपराह्नतिर इन्द्र खतिवडा सरले मलाई काँकडभिट्टासम्म ल्याइदिनुभयो र नेपाल छाडेको ठिक आठौँ दिनमा म पुनः नेपाल आइपुगेँ । त्यस दिन म झापाको शिवसताक्षी–११, दुधेस्थित आफ्नै घरमा आमाका साथमा बस्न पुगेँ ।
१२. बाह्रौँ कार्यक्रम भद्रपुरमा
२०८१ भदौ ८ गते, शनिवार : एक हप्ताका लागि मेरो यात्रा पूर्वी नेपाल हुँदै भारततिर हुँदै छ भन्ने कुरा थाहा पाउनासाथ मेरा पुराना मित्र प्रेम घिमिरेले मलाई सम्पर्क गर्नुभएको थियो । उहाँले तपाईं यतै आएका बेलामा यदि एक दिनको बसाइ लम्ब्याउन मिल्छ भने हामी भद्रपुर नगरपालिकासँग अनुरोध गरेर नेपाली विषय शिक्षकहरूका लागि एउटा तालिम राख्छौँ भन्नुभएको थियो । मैले उक्त कुराका लागि स्वीकृति प्रदान गरेपछि उहाँले वीरेन्द्र नमुना क्याम्पस, चन्द्रगढीका क्याम्पस प्रमुख तथा सञ्चालक समितिसँग उक्त प्रस्ताव राख्नुभएछ । सो प्रस्ताव क्याम्पस र नगरपालिका दुवै तर्फबाट स्वीकृत भएपछि ८ गते शनिवार दिनभरिका लागि ‘प्रविधिमैत्री एवम् सिर्जनात्मक नेपाली भाषा शिक्षण’ विषयक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।
उक्त कार्यक्रमका लागि म बिहान ११ बजे दुधेबाट चन्द्रगढी पुगेँ । चन्द्रगढी स्थित वीरेन्द्र नमुना क्याम्पसको सभाकक्षमा भद्रपुर नगरपालिकाको सहयोगमा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रममा मैले सहजकर्ताका रूपमा सहभागी हुने मौका पाएँ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यादव पोखरेलको अध्यक्षता र भद्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख पवित्रा ढकालको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ३८ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले यस क्षेत्रको शैक्षिक एवम् प्राज्ञिक उन्नयनका लागि नगरपालिका सदैव लागिरहने विचार व्यक्त गर्दै यस प्रकृतिका कार्यक्रमहरूले शिक्षकहरूको गुणस्तर वृद्धि गर्नुका साथै कामप्रति उत्साह थपिदिने हुनाले नगरपालिकाको सदैव साथ र सहयोग रहने विचार व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख विवेक पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रशिक्षित शिक्षकबाट मात्र शिक्षाको गुणस्तर माथि उठ्ने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रम संयोजक प्रेम घिमिरेको सञ्चालनमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मैले वर्तमान नेपाली पाठ्यक्रमका बारेमा जानकारी दिँदै नेपाली विषय शिक्षणका लागि आवश्यक वर्णविन्यास शिक्षण, व्याकरण शिक्षण, विधा शिक्षण र रचना शिक्षणलाई कसरी सन्तुलित रूपमा शिक्षण गर्ने र आजको प्रविधिको युगमा नेपाली भाषा शिक्षणलाई पनि कसरी प्रविधिमैत्री बनाउँदै शिक्षककेन्द्रित शिक्षणलाई विद्यार्थीकेन्द्रित शिक्षणमा रूपान्तरण गर्ने भन्ने बारेमा प्रविधिमार्फत नै केही विमर्शहरू प्रस्तुत गरेको थिएँ । सहभागीहरूका तर्फबाट धेरै जना शिक्षकहरूले समय छोटो भएको गुनासो गर्दै यस प्रकृतिको एकहप्ते कार्यक्रम सञ्चालनका लागि आयोजक वीरेन्द्र नमुना क्याम्पस र भद्रपुर नगरपालिकासँग अनुरोध गर्नुभएको थियो ।
यसरी नेपालको चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयमा पहिलो कार्यक्रम गरी सुरु भएको मेरो नौ दिने यात्रा चन्द्रगढीकै वीरेन्द्र नमुना क्याम्पसमा आएर नवौँ कार्यक्रम गरी पूरा भयो । यसपछि पनि मेरो गन्तव्य पूरा भएको थिएन । म त्यही दिन साँझ पाँच बजेको विमानबाट भद्रपुर हुँदै सकुशल काठमाडौँ आइपुगेँ । यो यात्रा मेरो एक्लो प्रयासबाट त के यस्तो ऐतिहासिक र अविस्मरणीय बन्थ्यो होला र ! म काँकडभिट्टा पुग्नासाथ मलाई लिन त्यहीँ आउनुहुने र सिलिगुडीदेखि डुवर्स हुँदै मिरिकसम्म साथ नछोडी अन्तिमसम्मका कार्यक्रमहरू सकिनासाथ फेरि काँकडभिट्टासम्म नै ल्याएर नेपाल भित्र्याइदिनुहुने कवि विमल खतिवडा माइला र इन्द्र खतिवडाज्यूको योगदान अविस्मरणीय रहेको छ । यसरी नै सिलिगुडीदेखि मिरिक, दार्जिलिङ, राँगेरुङ, घुम, खरसाङ हुँदै पुनः सिलिगुडीसम्म आउँदा मेरो बैसाखी जस्तै बनेर अकल्पनीय सम्मानभावका साथ सहयात्रा गर्नुहुने डा. सुकराज दियाली र देवीलाल प्रधानज्यूको निःस्वार्थ गुरुभक्तिको प्रशंसा गर्ने शब्द मसँग छैनन् । साथै बाग्राकोटको कार्यक्रमका लागि स्रष्टाद्वय शङ्कर प्रधान र अजय खड्का, मिरिकको कार्यक्रमका लागि अजम प्रधान, दार्जिलिङ र घुमको कार्यक्रमका लागि सुमित्रा अविरल, राँगेरुङको कार्यक्रमका लागि सरस्वती शर्मा क्षेत्री, खरसाङको कार्यक्रमका लागि देवीलाल प्रधान र विनोद रसाइली, लिटिल एन्जल्स स्कुलको कार्यक्रमका लागि विमल खतिवडा र अम्बिका शर्मा र देवकोटा सङ्घको कार्यक्रमका लागि मिलन रुचाल र देविका मग्राँतीप्रति कृतज्ञता व्यक्त नगर्ने हो भने मेरो भारत यात्रा निरर्थक हुन्छ ।
यसै गरी भारतभर रहुन्जेलसम्मको न्यानो आतिथ्य र सत्कार प्रदान गर्नुहुने सिलिगुडीका खतिवडा परिवारद्वय, दियाली परिवार, रुचाल परिवार, डुवर्स र मिरिकका प्रधान परिवारद्वय, राँगेरुङको बस्नेत परिवारप्रति साँच्चै ऋणी भएर फर्केको छु । साथै नेपालबाट बाहिरिँदै गर्दा चन्द्रगढीकी चेली खगिन्द्रा खुसीले गर्नुभएको बिदाइ तथा नेपाल भित्रिँदै गर्दा मेरा मित्र प्रेम घिमिरेले गर्नुभएको स्वागत र मित्रहरू चैतन्य खरेल र उमानाथ भण्डारीले भद्रपुर एयरपोर्ट नै पुर्याएर काठमाडौँका लागि गर्नुभएको बिदाइ लगायतका हरेक घटनाहरू अविस्मरणीय छन् । यी सबै कार्यक्रमका अलग अलग संस्मरणहरू बन्न सक्छन् तापनि मैले उल्लिखित नौ दिनमा सम्पन्न बाह्रवटा कार्यक्रमलाई समष्टिगत शब्दचित्रमा उतार्ने प्रयास मात्र गरेको हुँ ।
यसपटकको यात्रामा मौसम तथा विविध प्राविधिक कारणले गर्दा पेदोङका भानु अधिकारी र निर्मल शर्माको, सिक्किमका मोहन गौतम र गोपाल ढकालको अनि डुवर्सको पल्लो छेउ काल्चिनीका दुर्गा राईको अनुरोधलाई स्वीकार गर्न सकिएन । आगामी दिनमा ती ठाउँहरूसम्म पनि पुग्ने प्रतिबद्धताका साथ जय भानु ! जय नेपाली भाषा साहित्य !!