लोकसंवाद संवाददाता | साहित्य | भदौ १७, २०८१
काठमाडौँ ।काठमाडौँको प्रदर्शनी मार्ग स्थित वाल्मीकि विद्यापीठको नेपाली विभागले १५९ औँ मोती जयन्तीका अवसरमा एक विचार गोष्ठी तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
विभागाध्यक्ष प्रा.डा. नारायण चालिसेको अध्यक्षता, विद्यापीठका प्राचार्य तथा वरिष्ठ समालोचक प्रा.डा. भागवत ढकालको प्रमुख आतिथ्य र ने.सं.वि.का पूर्वरजिस्टार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. देवी नेपालले ‘बहुआयामिक व्यक्तित्वका आलोकमा युवा कवि मोतीराम भट्ट’ विषयक प्रविधिमैत्री गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त गोष्ठी पत्रमा उहाँले जम्मा ३० वर्षको जीवनकालमा मोतीराम भट्टले गरेका अद्भुत काम र अनुपम योगदानलाई विविध साक्ष्यहरूका साथमा प्रस्तुत गर्नुभएको थियो । ‘पिकदूत’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्तिकथा’, ‘शकुन्तला’, ‘प्रियदर्शिका’लगायतका विभिन्न विधाका २५ ओटा कृतिका सर्जक मोतीराम भट्ट नेपाली कविताको माध्यमिक कालका प्रवर्तक, नेपाली साहित्यमा गजलका प्रवर्तक, भानुभक्तको खोजी गरी प्रकाशमा ल्याउने प्रथम अन्वेषक, नेपाली समालोचना लेखनका प्रारम्भकर्ता, जीवनीमूलक निबन्ध लेखनका प्रथम सूत्रधार, नेपाली नाटकमा मौलिकताको थालनीकर्ता, नेपालीमा समस्यापूर्ति कविता लेखनका शुभारम्भकर्ता, प्रकाशन युगका थालनीकर्ता, मोतीमण्डलीका संस्थापक एवम् कुशल सङ्गठक, पुस्तकालयका प्रथम संस्थापक, बहुभाषाका ज्ञाता, कूटकविता र क्वाँटी कविताका प्रवर्तक, प्रथम पत्रकार एवम् पत्रिका प्रकाशक, प्रथम नाटक निर्देशक, गायक तथा सितारवादक, कामले व्यक्तिको मूल्याङ्कन गर्नुपर्ने मान्यताका दृष्टान्त आदि जस्ता डेढदर्जनभन्दा बढी नवीन कार्यका शुभारम्भकर्ता एवम् युगनिर्माता स्रष्टा भएका कारण नेपालका राष्ट्रिय विभूति भएको कुरामा जोड दिनुभएको थियो । साथै उहाँले मान्छे उमेरले, पदले वा सम्पत्तिले नभएर कामले युगौँयुगसम्म बाँच्न सक्ने हुनाले मोतीरामको जीवनीबाट सबैमा समयको सार्थक सदुपयोग गरी काम गर्ने उत्प्रेरणा जागेमा मोतीजयन्ती सार्थक हुने अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भागवत ढकालले नेपाल संस्कृत विश्वविद्यालय र वाल्मीकि विद्यापीठले पूर्वीय वाङ्मयका अनेकौँ पक्षहरूमा अध्ययन, अनुसन्धान र प्रशिक्षण कार्यहरू सञ्चालन गर्न सके यस क्षेत्रप्रति सबैको चासो जाग्ने कुरालाई बुझेर विद्यापीठ केही न केही नयाँ कामहरू गर्नुपर्छ भनेर लागेको जानकारी दिँदै हरेक विभागले यस प्रकारका सिर्जनात्मक कामहरू गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले कार्यक्रममा प्रविधिमार्फत प्रस्तुत गोष्ठीपत्रमा विन्दुमा सिन्धु अटाएको र प्रस्तुति अत्यन्त प्रभावकारी भएका कारण कैयौँ कक्षाभन्दा एउटा यस्तो कार्यक्रम फलदायी हुने विचार व्यक्त गर्नुभएको थियो । यस अवसरमा विशिष्ट अतिथि प्रा. जगत्प्रसाद उपाध्यायले मोतीरामलाई चिन्न सक्ने, पढ्न सक्ने, बुझ्न सक्ने र उनका कार्यहरूलाई उत्प्रेरणाका रूपमा ग्रहण गर्न सक्ने व्यक्ति जीवनमा सफल हुने विचार व्यक्त गर्नुभएको थियो ।
सहप्राध्यापक डा. गणेश घिमिरेको सञ्चालन, विष्णुप्रभा उपाध्यायको स्वागत मन्तव्य, युवागजलकार ज्ञानु विद्रोही (उपप्राध्यापक खगेन्द्रप्रसाद नेपाल) को मोतीरामको गजल वाचन र रामहरि कोइरालाको मोतीरामसम्बन्धी कविता वाचनबाट सुरु भएको उक्त कार्यक्रममा ने.सं.वि. प्राध्यापक सङ्घका अध्यक्ष प्रा.डा. मुकुन्दप्रसाद लामिछाने र आरएमसी संयोजक प्रा.डा. शान्तिकृष्ण अधिकारीले स्रष्टा मोतीराम भट्ट र कविताका विषयमा आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा आयोजित विद्यापीठव्यापी खुला कविता प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूले आआफ्ना कविता प्रस्तुत गरेका थिए । प्रा.डा. ध्रुव भट्टराई, प्रा.डा. जीवन अधिकारी र प्रा.डा. लेखप्रसाद निरौला निर्णायक समितिमा रहनुभएको उक्त कविता प्रतियोगितामा टीका अधिकारी (सुरज) प्रथम, प्रदीप नेपाल द्वितीय र मदन काफ्ले ‘यायावर’, सुभद्रा रिजाल र नवराज आचार्य तृतीय हुनुभएको थियो । उक्त प्रतियोगितामा विजयी कविहरूलाई पुरस्कारका रूपमा नगद, प्रमाणपत्र र पुस्तकहरू प्रदान गरिएको थियो । निर्णायकहरूका तर्फबाट बोल्दै प्रा.डा. ध्रुव भट्टराईले कविता आफैँमा सौन्दर्यको प्रतिविम्ब भएका कारण यसको सौन्दर्यमा बाधा नपुग्ने गरी शब्दको सौन्दर्य, लयको माधुर्य र भावको गाम्भीर्यमा कविले ध्यान दिनुपर्ने विचार राख्नुभएको थियो ।
वाल्मीकि विद्यापीठका विभिन्न विभागका विभागाध्यक्षहरू, प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरूले खचाखच भरिएको सभाकक्षमा कार्यक्रमका सभाध्यक्ष प्रा.डा. नारायण चालिसेले नेपाली विभागले अब निरन्तर रूपमा यस प्रकारका सिर्जनात्मक एवम् अनुसन्धानात्मक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने उपप्राध्यापक तेजविलास अधिकारीले आमन्त्रित सबैलाई विभागका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । तिजको सप्ताह र मोतीजयन्तीको पूर्वसन्ध्या दुवैको संयोग मिलेको हुनाले विभागका सदस्यद्वय चारुभा घिमिरे र विष्णुप्रभा उपाध्यायले तिज विषयक कविता र गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जक बनाउनुभएको थियो ।