ज्ञानमित्र | दृष्टिकोण | भदौ २०, २०८१
महायोगी पायलट बाबाको नामले जनमानसमा सुपरिचित जूना अखाडाका ख्यातिलब्ध सन्त श्री श्री १००८ मण्डलेश्वर स्वामी सोमनाथ गिरिजी महाराज ब्रह्मलीन भएको खबरले उहाँको लाखौ अनुयायीमा शोकको लहर फैलिनु स्वाभाविक नै हो। बाबाले अगस्त २० का दिन चिर निद्रामा प्रवेश गर्नु भयो र अगस्त २२ का दिन हरिद्वारको कनखल जगजीतपुर स्थित आश्रममा उहाँको पार्थिव देहलाई भूमिमा समाधिस्थ गरियो।
'एउटा योगी जसले जीवनमा अनेकौँ पटक भू समाधि लिएर देश दुनियाँलाई आश्चर्यचकित तुल्याउनुका साथै हिन्दू धर्म दर्शन र योगिक परम्पराको प्रचार प्रसारमा आफुलाई होम्यौ, अन्ततः उ आफै प्रकृतिस्थ भएर पञ्च तत्वमा विलीन भयो।'
मृत्युसँग मेरो अनेकौँ पटक जम्काभेट भएको छ, अन्यथा अर्थ न लागोस्, तात्पर्य यो हो कि परिचित जनको देहावसानमा अनेकौँ पटक लेख्ने दायित्व निर्वाह गरेको छु। एक लेखकले यसभन्दा फरक ढंगले श्रद्धा सुमन अर्पित पनि के गरी गर्नु !
२००४ को उज्जैन कुम्भमा बाबासँग पहिलो भेट 'आफु पत्रकार हुँ को दर्पमा' गरेको थिए त्यसपछि उहाँको संगतमा २० वर्ष बितेको, पत्रकारबाट जोगीमा परिणीत भएको 'थाहा भएर पनि केही थाहा न पाएको' जस्तै ढंगले घटित हुँदै गयो।
मेरो नजरमा बाबा एउटा विशाल वट वृक्ष हुनुहुन्थ्यो जसको छहारीमा लाखौ नर नारीले ओत लिने जमर्को गरे, कसले के के पाए त्यो व्यक्ति व्यक्तिमा निर्भर हुने कुरा हो। मेरा लागि बाबा जीवनको पाठशाला हुनुहुन्थ्यो। उहाँको सबल पक्षबाट मात्रै होइन, केही निर्बल अथवा कमी कमजोरीबाट पनि मैले जीवन जिउने कला सिक्ने प्रयास गरे। मेरा लागि सफलता-असफलता कहिल्यै महत्वपूर्ण भएनन्, प्रयास र जीवन जिउने ढंग र दृष्टिकोण महत्वपूर्ण रहे ।
पोहोर नोभेम्बर ताका चितवनको 'लेक ट्वेंटी थाउजेंड' (एलटीके) मा बाबाको पाँच दिवसीय साधना शिविर भएको थियो। ती व्यक्ति जसले बाबालाई विगतमा साक्षात् शिवको अवतार भनी अनेकौँ कथा कहानी प्रचलनमा ल्याउने गरेका थिए, मेरा समक्ष नै बाबालाई 'र को एजेन्ट' भनी रहेका थिए। यो मानवीय प्रवृति नै हो, उसलाई मन पर्यो, राम्रो लाग्यो भने देवत्व करण गर्छ र उसको चाहना मुताबिक भएन भने मान मर्दन गर्न पनि किञ्चित बेर लाउँदैन।
शायद, यो मेरो मात्रै होइन बाबाका तमाम नेपाली भक्तजनको भावना यस्तै रहेको हुनुपर्छ। मलाई लाग्दैन बाबाका कुनै पनि भक्त अथवा शिष्यलाई बाबाले छाडेर गएको भौतिक सम्पदामा कुनै किसिमको किञ्चित पनि लालसा छ। नेपाली जन बाबासँग आध्यात्मिक तृष्णा शान्त गर्न जोडिएका थिए, आध्यात्मिक मार्गदर्शन हेतु बाबाका वरिपरि भेला भएका थिए। बाबाको शेष पछि माताहरूले नेपाल र नेपालीहरुसँग कस्तो सम्बन्ध राख्नु हुन्छ नेपालीहरुको बाबा आश्रमसँग सम्बन्ध त्यसमाथि नै निर्भर गर्छ।
सम्झना आउँछ स्वामी चन्द्रेश को ! उहाँ भन्नु हुन्थ्यो-तिमीहरु सच्चा गुरुको पहिचान बारे सोध्छौ। मेरो अनुभव भन्छ, हरेक गुरुलाई एउटा सच्चा शिष्यको तलास हुन्छ। धेरै गुरुले जीवन भरी एउटा सच्चा शिष्य पाउदैनन्। रामकृष्ण परमहंसले एउटा विवेकानन्द नपाएको भए अहिलेसम्म हराई सक्थेँ। गुरुले जीवनमा हजारौ शिष्य बनाउँछ तर कुनै एक शिष्यले नै गुरु र गुरु कार्यलाई जीवन्त राख्छ।
पायलट बाबाले पनि जीवन कालमा हजारौ शिष्य बनाउनु भयो। कुन शिष्यले उहाँको नाम रोशन गर्छ त्यो हेर्न बाँकी छ। आज बाबा ब्रह्मलीन भएको १४-१५ दिन बिति सक्दा यस्तो केही छाँटकाँट देखा परेको छैन। यसको सट्टा उहाँको सम्पतिमा दावी गर्ने अनेकन अनुहार प्रकट भएका छन्। उहाँले बनाएका महा मंडलेश्वरहरु नै स्वार्थ सिद्धि र हक दावीको फोहोरी खेलमा लागेका छन।
म आफु स्वयंलाई नै पायलट बाबाको उत्तराधिकारी सम्झन्छु। उहाँको सम्पति र आश्रम भवनहरुको उत्तराधिकारी होइन वरन उहाँको ध्यान योग र आध्यात्मिक विरासतको उत्तराधिकारी। बाबाको यस बृहत 'हेरिटेज' र 'इन्हेरिटेंस'को उत्तराधिकारी जो कोही पनि बन्न सक्छ त्यस मध्ये को एउटा पात्र म पनि हो।
बाबा बारे यस सानो आलेखमा केही चर्चा गर्नु बेइमानी हुन्छ। उहाँको झन्डै ५ दशक लामो आध्यात्मिक यात्रा एवं गुरु कार्यको वर्णन एउटा लेखमा समाउन सक्दैन। मेरो मनस्थिति र तन स्थिति दुरुस्त रहेमा शीघ्र नै बाबा बारे एउटा पुस्तक लेख्ने निधो गर्छु। पुस्तकको स्वरुप बारे अहिले नै म स्पष्ट छैन। मेरो चाहना यो पुस्तक बाबाजी सँग नजिक रहेका उहाँका प्रमुख प्रमुख शिष्य एवं व्यक्तित्वहरूसँग प्रत्यक्ष रूपले साक्षात्कार गरेर उहाँहरुको बाबा सँग अनुभव-भोगाई-आध्यात्मिक एवं भौतिक रूपांतरण, बाबा बारे उहाँहरुको विचार एवं दृष्टिकोणको संग्रह बनोस यो पुस्तक।
यसका निमित्त मैले बाबा पछि उत्तराधिकारी नियुक्त हुनु भएको जापानी माता योगमाता कीको आइकावा, चेतना माता, श्रद्धा माता, प्रेमानन्द गिरी, उहाँले बनाउनु भएका महामंडलेश्वर, बाबासँग लामो समय बिताउनु भएका स्वामी मंगल गिरी एवं अन्य थुप्रै जनासँग सहयोग माग्नु पर्ने हुन्छ। उहाँहरुले सहयोग दिनु भयो भने बाबाको जीवन चरित्र बखान गर्ने एउटा अनमोल दस्तावेज तैयार हुन्छ। मेरो विचारमा एक हिसाबले यो गुरु प्रति सच्चा श्रद्धाञ्जलि हुन्छ।
तर कथम् कदाचित् मेरो अपेक्षा अनुसार उहाँहरुको रूचि एवं तत्परता देखिएन भने म बाबा सँगको आफ्नो २० वर्षे एकल यात्रा एवं साहचर्यको आधारमा कलम चलाउने छु।
२० वर्ष पहिला शुरू भएको मेरो संन्यासी जीवन को केन्द्र हरिद्वार रह्यो। 'जैसे उड़ी जहाज को पंक्षी फिर जहाज पर आवे' का माफिक घुमिफिरी म हरिद्वार आई पुग्थेँ। तर अब हरिद्वारको आकर्षण समाप्त नभए पनि कमजोर भएको अनुभूति भइरहेछ। किन, शायद कारण खुलस्त नै छ। आश्रमको नयाँ व्यवस्थापनले कुन गति एवं कार्य दिशा लिन्छ हरिद्वारसँगको नाता सम्बन्ध एवं आत्मीयता त्यसमाथि नै निर्भर हुन्छ। शायद यो मेरो मात्रै होइन बाबाका तमाम नेपाली भक्तजनको भावना यस्तै रहेको हुनुपर्छ। मलाई लाग्दैन बाबाका कुनै पनि भक्त अथवा शिष्यलाई बाबाले छाडेर गएको भौतिक सम्पदामा कुनै किसिमको किञ्चित पनि लालसा छ। नेपाली जन बाबासँग आध्यात्मिक तृष्णा शान्त गर्न जोडिएका थिए, आध्यात्मिक मार्गदर्शन हेतु बाबाका वरिपरि भेला भएका थिए। बाबाको शेष पछि माताहरूले नेपाल र नेपालीहरुसँग कस्तो सम्बन्ध राख्नु हुन्छ नेपालीहरुको बाबा आश्रमसँग सम्बन्ध त्यसमाथि नै निर्भर गर्छ।
भोलि दिनाङ्क ६ अक्टूबर तदनुसार भदौ २१ गते शुक्रवार भदौ शुक्ल तृतीयाका दिन बाबाजीको षोडशीका दिन भक्तहरूले जहाँ भए पनि कुनै संन्यासी अथवा बाहुनलाई भोजन गराएर सामर्थ्य अनुसार लुगा-दक्षिणा अर्पित गरेमा आत्मिक सन्तुष्टि प्राप्त हुन्छ।