डायरीका पानामा अनुभूति: वेगवान भावनाहरूसँग लन्डन घुम्दै

डायरीका पानामा अनुभूति: वेगवान भावनाहरूसँग लन्डन घुम्दै

ज्ञानेन्द्र विवश  |  साहित्य  |  भदौ २२, २०८१

निकै अघि नै यसरी भेटिनुपर्ने थियो हामी । अर्थात् लेखक त्रय नगेन्द्रराज रेग्मी, बद्रीप्रसाद ढकाल र म । तर ढिलै भए पनि भेटिएर यसरी फोटो खिचिनु पनि यौटा अवसर आउनुपर्ने रहेछ । त्यो अवसर जुट्न आयो नगेन्द्रराज रेग्मीको ‘लन्डन डायरी’ नियात्रा कृतिबाट । यस कृतिमा लन्डन यात्राका समग्र पक्ष र पाटाहरूलाई रेग्मीले सरल, सरस र पाठकीय आकर्षणको शैलीमा लेख्नुभएको छ । 

त्यसो त १०० वर्षमा प्रवेश गर्नुभएका पिता तुलसीप्रसाद रेग्मी र ९८ वर्षकी माता मनकुमारी रेग्मीको हातबाट उहाँको चौथो कृति ‘लण्डन डायरी’ नियात्रा संग्रह लोकार्पण गर्नु ठूलो पुनीत नै कार्य मान्नुपर्छ । कृतिको विषयमा लेखौँला । पढौँ, समीक्षा, समालोचना गरौँला । यो सानो आलेख कृतिमाथिको विश्लेषण, विवेचना, समीक्षात्मक टिप्पणी केही होइन । केवल नयाँ नियात्रा निस्किएको सानो निवेदन सार्वजनिक गरिएको मात्रै हो । अहिलेलाई नियात्राकार नगेन्द्रराज रेग्मी र प्रकाशनका लागि अनुसन्धान विमर्शका बद्रीप्रसाद ढकाल क्रमशः बधाई र धन्यवादका पात्र बन्नुभएको छ ।

नगेन्द्रराज रेग्मी स्वतन्त्र साहित्यिक पत्रकारितामा उहिल्यै जीऊ ज्यान अर्पिनु भएका तपस्वी व्यक्ति । राजधानीका स्वार्थी रातहरूलाई हामी निःस्वार्थी मनहरूले धेरै पटक जितेका छौँ, जितेर यहाँसम्म आएका हौँ । म यतिबेला झल्झली सम्झिरहेछु काठमाडौँमा आएर मैले चिनेजानेका र भेटघाट घलाकुसारी गरेका केही लेखकहरूमध्ये उहाँ पनि एक हुनुहुन्छ । 

लाग्छ, यस हिसाबले उहाँसँगको बसउठको यात्राले तीन दशक उकालै हिँडिसकेको हुनुपर्छ । गाउँ छोडेर शहर पसेपछि उहाँ शहरी सुख-सुविधाले मात्तिएर मौन कतै अलमलिनु भएन । आफ्नो प्रतिभालाई धारिलो पार्दै, तिखार्दै लेखकीय स्तम्भ निर्माणमा उहाँ लागिरहनु भएकै हो । लागिरहनु भएकैले अहिले यति गहकिलो कृतिले सिर्जनाको स्वरुप वरण गर्न पायो ।

वास्तवमा डुल्नुको आनन्द त्यहाँ प्राप्त हुन्छ, जहाँ मनले शीतल शान्तिको सुस्केरा फेर्दै आह्लादमय अनुभव गर्न पाउँछ । आफूले पहिल्यै पढेको, थाहा पाएको ठाउँमा पुग्दा र प्रत्यक्ष देखेर, भेटेर, हेरेर थप जानकारी हासिल गर्न पाउनुको अहोभाग्य पनि सार्वजनिक हुन्छ । तथापि छोटो समयमा घुमेर नसकिएका सङ्ग्रहालय, विश्वविद्यालय, शहरका परिवेशहरू र घुम्नुपर्ने, डुल्नुपर्ने ठाउँहरू बग्रेल्ती छन् ।

उहाँसँग चिनारीको हात मिलाइदिने मेरा पुरानै मित्र हुन् । भर्खर चिनिएकासँग नजिक भइयो तर पहिल्यै चिनियाका मित्रसँग भेटघाटको दूरी अनायासै टाढिएको पनि दशकौँ भइसकेको छ । तिनले मेरो गुन भुसुक्क बिर्से पनि तर मैले तिनको यो गुन बिर्सेको छैन । बिर्सिनु पनि भएन । किनभने साहित्यिक हुनुको नाताले सप्रेम संलाप र संवादका सुन्दर सिलसिलाहरू सधैँ उर्वर रहिरहनु पर्छ । गुनासोमा गम खाएर र चित्त दुखाएर चिन्तित हुनुभन्दा उहाँजस्तो सिर्जनशील स्वभावलाई आत्मसात् गर्नु  ठूलो कुरा हो ।

वस्तुतः कतिपय यादहरूले नै हो सिर्जनामा उल्लास थपिदिने । यात्रामा मिठास भरिदिने । त्यसका लागि कसैको प्रेरणा आवश्यक हुन्छ । केही न केही सानै प्रोत्साहनको पनि भूमिका ठूलो हुन्छ । प्रारम्भिक जग निर्माणमा कसैको योगदान निकै ओज पूर्ण हुन्छ । हौसला दिँदै हौस्याउन कै निम्ति पनि साथ संगत, प्रेरणा र प्रभावले बेग्लै भूमिका खेल्छ । यद्यपि आफ्नो धरातललाई कदापि पनि बिर्सिनु हुँदैन भन्ने मेरो मान्यता छ ।

अब साहित्यकार नगेन्द्रराज रेग्मीको हवाई पत्रबाट साहित्यिक आन्दोलनको अभिप्रायतिर फर्किदा यस्तो लाग्छ, जुनबेला देश परिवर्तनको संघारैमा थियो । तिनताक साहित्यको नयाँ पालुवाहरू पल्लवित हुन ताउरमाउर गरिरहेका । अवसर खोजिरहेका, साथ सँगतको अभावमा एक्लै भौतारिरहेका । प्रकाशनको माध्यम नपाएर प्रतिभा मौलाउन नसकिरहेका । 

त्यहीबेला नगेन्द्रराज रेग्मी र विष्णु आभूषणले हवाई पत्रमा साहित्यका विविध विधा छपाएर लेखक, पाठककै घर ठेगानामा पठाउने काम गर्नुभयो । यसले बेग्लै तरङ्ग र सुस्त लेखनमा फड्को मार्न साथ दियो । राजधानीको सीमित घेरा तोडेर धेरै टाढासम्म पुग्यो, पुर्‍याइयो ।

यसरी ४०–५० को दशक बीच व्यतीत कालखण्डलाई कालजयी बनाउँदै नगेन्द्रराज रेग्मीले आज अर्को फड्को मार्नुभएको छ सात समुन्द्र पारि पुगेर ‘लन्डन डायरी’ लिएर फर्किनुभएको छ । 

अन्ततः यसरी रेग्मीको पहिचानको पाटोले साहित्यिक अन्वेषणको गहकिलो उपमा पाएकै हो । मार्से–बतासे, खोटाङको थातथलोबाट काठमाडौँको बासमा उहाँभित्रको सिर्जनात्मक कर्मले सदा आफ्नो धर्म निर्वाह गर्दै आइरहेको छ । मैले उहाँलाई चिन्नुअघि र चिनेदेखि यो क्रमागत सम्बन्धको सिलसिला भङ्ग, भताभुङ्ग भएको छैन । बरु झन् झ्याङ्गिएर विस्तारित भएको अनुभव हुन्छ ।

अहिले भर्खरै ‘लन्डन डायरी’ नामक कृतिले उहाँभित्रको यायावरी मन र मानसिकतालाई चरितार्थ गर्छ । यससँगै उहाँको लेखकीय चिनारीले अर्को फड्को मारेको छ । जहाँ लन्डन यात्रा छोटो समयबीच पनि समय उबारेर अनुभूतिहरूलाई शब्दमा उनेर सुगन्धमय फूलको मालामा उनेर पाठक मनमा पेश गर्नुभएको छ । 

‘लन्डन डायरी’ मा भाषिक मिठास पनि पाइन्छ । सरल र सरस भाषा शैलीको बान्कीमा बुनिएका डायरीका पानाहरूमा अभिव्यक्तिको चोखो स्पन्दन भेटिन्छ । विमानभित्रको वातावरण र मानसिक विचलनका विम्ब महसुस हुन्छ । विमान काठमाडौँबाट दोहा हुँदै बेलायत प्रस्थान गर्दाका उठानदेखि उडानभ रिका अनेक अनुभूतिमय भाव र भंगालाहरू भावविभोर भएर व्यक्तिएका छन् । 

त्यसपछि ‘लन्डन डायरी’ का पाठकहरू रेग्मीले मुख्य दुईवटा साहित्यिक कार्यक्रममा भाग लिँदाको लन्डन यात्रालाई आँखाभरि पढ्छन् । मनभरि गम्छन् । र, तनभरि आनन्दले हर्षित हुन्छन् । यसमा रेग्मीका आँखाले देखेका र लेखेका दृश्य–शब्दहरूसँगै लन्डन देख्छन् । लेखकले चालेका पाइलाहरूसँगै पाइला पछ्याउँछन् । घुम्दाडुल्दा थाकेका थकाइका प्रत्येक प्यासलाई लन्डनका डायरी पिएर तृप्त हुन्छन् । 

आहा कति स्वादिलो, चखिलो र बान्किलो लाग्छ यात्राका प्रत्येक दिनका भोगाइहरू । ती भोगाइमा लन्डन देखिन्छ, पुगिन्छ र पाठकीय मन लोभिन्छ । रेग्मीले नढाँटी, नलुकाई आफूले देखेका दृश्य, पुगेका ठाउँ, भेटेका भेट सबैको सम्पूर्ण विवरण लयबद्ध डायरीमा लेपन गर्नुभएको छ ।

नौलो ठाउँको नवीन गन्तव्यका नयाँपनमा स्वतः रमाउँछन् । यो रमझम त्यत्तिकैमा सीमित हुँदैन । ती यात्राका पलहरूलाई टिपेर, जम्मा गरेर दैनिक डायरीका बुँदा–विम्बहरूमा शब्दातीत हुन्छन् । त्यहाँ जीवनको क्षणिक पलहरूको हार्दिक क्षण दृश्यमान हुन्छन् । ती दृश्यमान क्षणहरूमा लन्डनको दृश्य देखिन्छन् । तिनलाई आफूसँगै अरूलाई पनि साथसाथै डुलाउँछन् ।  

‘लन्डन डायरी’ मा बेलायती साहित्य र संस्कृतिको समृद्धिका पाटाहरू पनि उल्लेख हुँदै अक्स्फोर्ड, क्याम्ब्रिज, शेक्सपियरका सन्दर्भ आउँछन् । वेल्सराज्य, म्यानचेस्टर, लिभरपुल, स्कटलैन्ड, एडिनबरा, डोभर आदि स्थान घुमाइका झलक छताछुल्ल छन् । यी स्थानमा पुग्दा लेखकीय भाव विगत इतिहास खोतल्न पुगेको र त्यसले पाठकलाई राम्रै जानकारी मिलेको महसुस हुन्छ ।

वास्तवमा डुल्नुको आनन्द त्यहाँ प्राप्त हुन्छ, जहाँ मनले शीतल शान्तिको सुस्केरा फेर्दै आह्लादमय अनुभव गर्न पाउँछ । आफूले पहिल्यै पढेको, थाहा पाएको ठाउँमा पुग्दा र प्रत्यक्ष देखेर, भेटेर, हेरेर थप जानकारी हासिल गर्न पाउनुको अहोभाग्य पनि सार्वजनिक हुन्छ । तथापि छोटो समयमा घुमेर नसकिएका सङ्ग्रहालय, विश्वविद्यालय, शहरका परिवेशहरू र घुम्नुपर्ने, डुल्नुपर्ने ठाउँहरू बग्रेल्ती छन् । 

तथापि सीमित समयको एकसरो अवलोकन पश्चात् पनि उहाँको जिज्ञासु स्वभावले आफूले पाइला टेकेका ठाउँका विषयमा तिथि मितिसहित विवरण पेश गर्न उहाँ अगाडि नै पर्नुहुन्छ । यसरी ‘लन्डन डायरी’ का पानामा अनुभूतिका वेगवान भावनाहरूसँग लन्डन घुम्दै हराइन्छ, रमाइन्छ र आनन्दले अघाउँजी भइन्छ । यात्रामा नस्किसकेपछि यति प्राप्ति गर्नु भनेको निकै ठूलो उपलब्धि मान्नुपर्छ ।

अतः ‘लन्डन डायरी’ मा नगेन्द्रराज रेग्मीको स्वीकृत मान्यता शब्दहरूमा साकार भएको प्रत्यक्ष भेटिन्छ । भेटिनु भनेको मनको सुख र शान्ति पनि हो । यात्रामा नस्किसकेपछि यति कोसेली पाठकलाई सुम्पनु कम हर्षको कुरा होइन । कम गर्व र गरिमाको कुरा होइन । त्यसैले यो डायरी एकसरो लन्डन घुमाइको सुस्केरा र सुसेली मात्र पनि होइन ।