जेष्ठ नागरिक लेखिका नन्दकला सुवेदीको ९४ वर्षको उमेरमा निधन

जेष्ठ नागरिक लेखिका नन्दकला सुवेदीको ९४ वर्षको उमेरमा निधन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २२, २०८१

सुर्खेत  ।जेष्ठ नागरिक लेखिका नन्दकला रहिनन् जेष्ठ नागरिक लेखिका नन्दकला सुवेदीको ९४ वर्षको उमेरमा निधन भएको छ ।

सुर्खेत निवासी सुवेदीको आज मिति २०८१ साल, भाद्र २२ गते बिहान सुर्खेत, विरेन्द्रनगरमा निधन भएको हो ।

लेखिका नन्दकलाले सुर्खेत र दैलेख आसपासका क्षेत्रमा गाइने गरेका पूराना भजन र तीज गीतहरूको संकलन 'पूराना भजन र तीज गीतसङ्ग्रह' २०७८ सालमा प्रकाशित गरेकिथिइन् भने २०७९ सालमा उनको 'अठासी वर्षमा कैलाश मानसरोवर' नियात्रा सङ्ग्रह प्रकाशित भएको थियो ।

जुन संग्रहका लागि साहित्य सन्ध्या काठमाडौंले नियात्रा विधाको 'साहित्य सन्ध्या नियात्रा पुरस्कार' प्रदान गरेको थियो। 'अठासी वर्षमा कैलाश मानसरोवर"को भूमिकामा वरिष्ठ नियात्रा लेखक प्रतीक ढकालले सुवेदीलाई 'अनुभव र अक्षरकी सगरमाथा' भनेर सम्बोधन गरेका छन् । त्यस्तै अर्का वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले यसै सङ्ग्रहको भूमिकामा भनेका छन् ,'मुभी क्यामेराले खिचेको जस्तै जीवन्तता खिचेकी छन् नन्दकलाले भौगोलिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक संसारलाई आफ्ना लेखनको मुभि क्यामराले' ।

दैलेखमा जन्मिएकी सुवेदीको कर्मथलो सुर्खेत भएका कारण उनको जीवनको अधिकांश समय सुर्खेतमै बित्यो । ४० वर्षको उमेरमा प्रौढकक्षामार्फत कखरा सिकेर प्रौढ कक्षाकै गुरुआमा भएकी सुवेदीले नेपाल परिवार निय‍ोजन सङ्घको मोटिभेटर एवं सङ्घकै विभिन्न तहको प्रतिनिधि भएर साथै नेपा महिला संगठनमा समेत रहेर लामो समय सामाजिक सेवा गरेकी थिइन् । उनले सुर्खेत नगर पञ्चायतको वार्ड सदस्य भएर जनप्रतिनिधिको भूमिका पनि निर्वाह गरेकी थिइन् ।

सुर्खेतमा सबैकी आमाका रूपमा परिचित करिब एक सयजना सन्तानहरूकी वंशसगरमाथा रहेकी लेखिका सुवेदीको पार्थिव शरीरको आजै कर्णाली क्षेत्रको पवित्र नदी भेरी नदीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जाजकारी पारिवारिक स्रोतले दिएको छ ।