लोकसंवाद संवाददाता | समाचार | भदौ २४, २०८१
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलद्वारा निर्वाचनलाई सम्पन्न गर्न असमर्थ भएको भन्दै राजिनामा गरेका छन् ।
२०८१ भदौ २४ नेपाल पत्रकार महासंघका श्री वरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई सम्बोधान गरिएकाे राजिनामा पत्रमा 'नेपाल पत्रकार महासंघको बिधानको व्यबस्था अनुसार महाधिबेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको अबस्थामा विभिन्न कारणले निर्वाचन हुन नसकेको अबस्था रहेको छ । दुई पटक तोकिएको समयमा निर्वाचन हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ । यो मितिमा निर्वाचन गराउनका लागि आफूले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागतरुपमा अगाडी बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक चल्दै गर्दा बीचवाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सुचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन । बाह्य सरोकारवाला पक्षहरुले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखि राख्दा झनै मन खिन्न हुन गएको छ । यस्तो अबस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन । यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अबस्था समेत सहज रुपमा काम गर्न सक्ने अबस्थामा छैन । तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यबाहक अध्यक्षका रुपमा जिम्मेवारी दिदै आजैका मितिदेखि लागु हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु ।' भनिएको छ ।