अन्तत: लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी ठगीमा ! १२ करोड अनियमितता

अन्तत: लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी ठगीमा ! १२ करोड अनियमितता

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २७, २०८१

मोरङ। नेपालका नेताहरू एकपछि अर्को गर्दै सहकारी ठगी विवादमा मुछिएका छन् ।

एमाले सांसद एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी ठगी विवादमा मुछिएका छन् ।उनले आफ्नी श्रीमतीलाई सहकारीको सञ्चालक बनाई सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ ।

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा करिब १२ करोड रुपैयाँ अनियमितता भएको छ ।  २०६८ सालमा स्थापित सहकारी अहिले संकटग्रस्त छ । १८ करोड ५१ लाख रुपैयाँ कूल पुँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुमान छ । यो सहकारीका

सञ्चाचालकले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको तथ्य फेला परेको छ ।

मोरङको २ बाट एमालेका निर्वाचित पोखरेलले आफ्नी श्रीमती अञ्जला कोइरालालाई सञ्चालक बनाएर संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारसँग मिलेर सहकारीको रकम अपचलन गरेका हुन् । सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण शिक्षिका कोइराला अहिले कालो सूचीमा परेकी हुन् ।

सहकारी ठगी प्रकरणमा सांसद पोखरेल उपरसमेत कानूनी कारबाही गर्न पीडितहरूले माग गरेका छन् । मोरङको कर्सियामा बुधबार भेला भएका करिब दुई दर्जन बचतकर्ताहरूले सांसद पोखरेलकै कारण आफूहरू ठगिएको निष्कर्ष निकाल्दै सरकारसँग कारबाहीको माग गरेका छन् ।

सार्वजनिक लेखा समिति विपक्षी दलहरूले पाउनुपर्ने माग भइरहँदा सभापति पोखरेलमाथि पदमा बस्न कानूनी एवं नैतिक प्रश्न खडा भएको छ । सभापति पोखरेल यसअघि पनि नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको महसुल तिर्नुपर्ने विवादास्पद व्यापारीहरूसँग काठमाडौंको एक होटेलमा उठबस भएको समाचार बाहिरिएपछि विवादमा परेका थिए ।