ज्ञानेन्द्र विवश | लोकरञ्जन | भदौ २९, २०८१
कलाकार शारदा चित्रकार अहिले एक्लो, नियास्रो जीवनबीच पनि सिर्जनाकर्ममा रमाउने चेष्टा गरिरहनुभएको छ । आधा घण्टा अवधिमा जलरङ माध्यममा सिर्जित उहाँकै सानो बेलाको अनुहार आकृति हो उहाँले लिनुभएको चित्र । यस्तै चित्रकलाहरूका सँगालो समेटेर कलाप्रदर्शनी गर्ने तयारीमा लागि रहनुभएकी कलाकारको यो ८४ वर्ष उमेरको इच्छा पूरा होस् । सुस्वास्थ्यको मङ्गल कामना ।
उहाँले यो चाहना राख्नुभएको केही महिनापछि नै अहिले नेपाल कला परिषद, बबरमहलमा उहाँका प्रतिनिधिमूलक कलाकृतिहरूको प्रदर्शनी गरिएको छ । प्रदर्शनीका चित्रकलाको एकसरो अवलोकनबाट उहाँको कलायात्राको चरणलाई राम्ररी बोध गर्न सकिन्छ । जहाँ सानै उमेरदेखि नै उहाँले रेखाचित्र र पानीरङमा कुशल कलाकारिता प्रस्तुत गर्दै आउनुभएको देखिन्छ । १३ वर्षकै उमेरमा उहाँले सिर्जना गर्नुभएको उत्कृष्ट सिर्जनाको झलकदेखि ८४ वर्षको उमेरमा बनाउनुभएको आफ्नै पोट्रेटले उहाँको परिपक्व कला कर्मलाई महसुस गर्न सकिन्छ ।
सो प्रदर्शनीमा उहाँले २०१० सालदेखि २०२० सालमा विभिन्न फलफूलहरू र दृश्यचित्रहरू, २०१३ सालदेखि १५ सालसम्म विभिन्न जनजातिका जनजीवनहरूलाई उहाँले चित्रमा सजीव रूपले उतार्नुभएको छ । जुन चित्र हेर्दा त्यो बेलाको मानिसको पहिरन कस्तो किसिमको थियो र तत्कालीन जीवनशैलीको पनि दृश्य देख्न सकिन्छ ।
त्यस्तैगरी २०२२ सालदेखि २०७३ सालसम्म उपत्यकाका विभिन्न मठमन्दिरहरूलाई सरल र सुन्दर रेखाचित्र तथा पानीरङमा उतार्नुभएको छ । उहाँका यी चित्रहरूमा सम्पदा प्रेमको मीठो झलक महसुस हुनुका साथै छोटो समयमा सरल किसिमले कुनै रेखाचित्रका माध्यमबाट र कुनै पानीरङका माध्यमबाट सम्पदाहरूलाई आकृतिबद्ध गर्नुभएको छ ।
यसरी नै २०२४ सालदेखि २०३६ सालका बीचमा उहाँले पानीरङका माध्यमबाट विभिन्न ठाउँका दृश्यचित्रहरूलाई आकृतिबद्ध गर्नुभएको छ । यसरी यी समयमा सिर्जना गरिएका दृश्यचित्रहरू हेर्दा त्यो बेलाको काठमाडौँको खुलापन र सुन्दर प्रकृतिलाई आँखामा भेट्न सकिन्छ, जुन कुरा अहिले देख्न सकिँदैन ती ठाउँमा गगनचुम्बी महलहरूले भरिएका छन् ।
त्यसैगरी २०२६ सालदेखि ८० सालको बीचमा उहाँले फूलका सिरिजलाई चित्रबद्ध गर्नुभएको छ, जुन पानीरङमा छोटो समयमा तर सशक्त रुपले विभिन्न फूलहरू तिनका रङ फूलका पत्रपत्र केस्रा–केस्राका छायाँ र प्रकाशको सन्तुलित रङ, पात, डाँठ आदि बनाउनुभएको छ । त्यस्तै उहाँले २०६० सालदेखि ७० सालका बीचमा बर्ड सिरिजमा काम गर्नुभएको देखिन्छ जुन पानीरङ र रेखाचित्रमा उतारिएको छ । ती चित्रहरू पनि निकै नै कलात्मक र गतिशील लाग्छन् ।
प्रदर्शनीमा रहेका उहाँका उल्लेखित कलाकृतिहरूका साथसाथै विगत केही वर्षदेखि जुन समय उहाँ पति वियोगले एक्लै रहनुभएको छ, त्यस समयमा उहाँले आफ्नै व्यक्ति चित्र फूलका चित्रहरू पति देवको पोट्रेट तथा अन्य चित्रहरू बनाएर आफ्नो सिर्जनात्मक बानीलाई सकारात्मक रूपले बिताउँदै आउनुभएको छ । उमेरले चौरासीको नेटो काट्दा समेत उहाँमा कला प्रतिको सिर्जनात्मक भोक अझै बाँकी नै छ ।
कलाकार शारदा चित्रकारलाई कलाकै चिन्ता र चासो छ । कलाकै धपेडी र ध्याउन्नमा उहाँका वर्तमान दिनहरू व्यतीत भइरहेछन् । काठमाडौंको तँलाछेँ टोलमा १९९७ सालमा जन्मिनुभएकी कलाकार शारदा चित्रकार पहिलो महिला उपकुलपति र कलाक्षेत्रमा पहिलो महिला प्राज्ञसमेत हुनुहुन्छ । नेपाली चित्रकला र लोककलाको विकास एवम् तिनको संरक्षण एवम् संवद्र्धन कार्यमा उहाँको योगदान रहँदै आएको छ । यसका साथै नेपाली महिला कलाकारहरूको उत्थानमा पनि उहाँले काम गर्दै आउनुभएको छ ।
नेपालका सुप्रसिद्ध कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्री हुनुहुन्छ उहाँ । उहाँले बाल्यकालीन अवस्थादेखि नै चित्रकलाकै वातावरण पाउनुभयो । उहाँका बुबाले त्यो बेला घरमा चित्रकलाकै निःशुल्क कक्षा लिनुहुन्थ्यो । बिहानदेखि बेलुकासमम्म घरमा कला सिक्न आउनेहरूको भीड लाग्थ्यो । यसरी चित्रकलालाई आफूले थाहा पाएदेखि देख्ने, हेर्ने र बुझ्ने अवसर पाएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार त्यसबखत चित्रकार जातिले धर्म, संस्कृति र संस्कारजन्य चित्रकारिता गर्नुपर्ने परम्परागत जिम्मेवारी एकातिर थियो । अर्कोतिर त्यसमा आधुनिक शैली र शिल्प संयोजन गरी चित्ररचना गर्ने गरिन्थ्यो । उहाँका बुबाले घरमा ‘पोट्रेट र स्टिल लाइफ’ गर्न सिकाउनुहुन्थ्यो । घरबाहिर ‘ल्यान्डस्केप’ का लागि लैजानुहन्थ्यो । चित्रकलामा यी तीन विषय आधारभूत कला शिक्षा हुने बताउँदै कलाकार शारदा यसमा पोख्त भएपछि मात्र आफ्नै शैलीमा कलासिर्जना गर्न सकिने पाको अनुभव सुनाउनुहुन्छ ।
उहाँले जनक शिक्षा सामग्री केन्द्रमा ‘आर्टिस्ट’ पदबाट जागिरे जीवन सुरू गर्नुभएको हो । त्यहाँ पाठ्यपुस्तकका लागि ‘कभर आर्ट’ तथा ‘इलस्ट्रेसन’ बनाउने काम उहाँले गर्नुभयो । २०२३ सालमा आयोजित राष्ट्रिय कलाप्रदर्शनीमा आफूले बनाएको आफ्नै बज्यैको ‘पोट्रेट’ चित्रका लागि दुई सय रूपियाँ नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरेको कुरा उहाँ अझै सम्झिनुहुन्छ । त्यसले पनि ती प्रारम्भिक दिनमा आफूलाई चित्रकलामै लाग्न प्रेरित गरेको उहाँ बताउनुहुन्छ । त्यसो त, बुबाले पनि चित्रकला आफूलाई सिकाउने र आफूले गरेका कामको तारिफ गर्ने हुँदा यो क्षेत्रमा लाग्दै आएको अनुभव उहाँ सुनाउनुहुन्छ ।