स्थानीय तहमा आधारभूत अस्पताल: शिलान्यासमा नेकपाका नेताको होड, निर्माणमा बेवास्ता

स्थानीय तहमा आधारभूत अस्पताल: शिलान्यासमा नेकपाका नेताको होड, निर्माणमा बेवास्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०८१

खोटाङ । नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो । 

हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा १५र१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा १० र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार विसं २०७७ मङ्सिर–१५ गते जिल्लाका चार स्थानीय तहमा एकैदिन अस्पताल शिलान्यास गरिएको हो । 

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा मङ्सिर–१५ गते तथा केपिलासगढीमा मङ्सिर–२३ गते शिलान्यास गरिएको थियो । साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल विना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ को अठोटअनुसार बिना शिलान्यास काम सुरु गरिएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले प्रतिनिधिसभा सदस्य एवं प्रमुख सचेतक रहनुभएको समयमा हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा शिलान्यास गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ ले तत्कालीन १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री भएको समयमा जन्तेढुङ्गा गाउँपालिका तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राजन राईले तत्कालीन १ नं प्रदेश सरकारको सामाजिक विकासमन्त्री भएको समयमा ऐसेलुखर्क गाउँपालिकामा शिलान्यास गर्नुभएको हो । 

सबै स्थानीय तहमा शिलान्यास गरिएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला तथा केन्द्रीयस्तरका नेताको उपस्थिति रहेको थियो । आफूले शिलान्यास गरेको अस्पताल भवन निर्माणका योजनाको काम अगाडि बढ्यो या बढेन अहिलेसम्म प्रमुख अतिथि भएर शिलान्यास गर्ने नेताहरूलाई जानकारी छैन ।  

ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले  १८ करोड बजेट उपलब्ध गराए पनि  २० करोडको डिपीआर तयार भएको गाउँपालिकाले जनाएको छ । ऐसेलुखर्क बजारमा निर्माणाधीन अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । 

 हलेसी तुवाचुङ नगरपालिकामा निर्माण गरिने अस्पतालका लागि विसं २०७७ असारमा ठेक्का आह्वान गरिए भदौ–२९ गतेमात्र ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । नगरपालिकाले २३ करोडमा ठेक्का आह्वान गरे ठेकेदार कम्पनी नमूना हिमालयन जेभी विराटनगरले भ्याटसहित  १३ करोड ५५ लाख नौ हजार एक सय ८० मा सम्झौता गरेर निर्माणको काम सुरु गरेको थियो । 

अस्पताल भवन निर्माण सुरु गरेको योजनाको  चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी भएपछि ठेकेदार कम्पनीले अलपत्र पारेको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले जनाएको छ । 

महादेव–खिम्ती–अञ्जना–रुजन जेभीले निर्माणको जिम्मा लिएको रावाबेँसी गाउँपालिकामा निर्माण हुने दश शय्याको अस्पताल अहिले घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ । भ्याटबाहेक  छ करोड ७० लाख लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको अस्पताल भवनको काम अहिलेसम्म अलपत्र अवस्थामा छ । 

केपिलासगढी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल विवस कन्ट्रक्शन एण्ड सप्लायर्स प्रालिले ठेक्का पारेको छ । १८ करोड २५ लाखमा ठेक्का आव्हान गरिएको १५ शय्याको अस्पतालको लागि गाउँपालिकाले रु १२ लाख ५० हजारमा ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।  

निर्माणाधीन अस्पताल भवनको काम ७० प्रतिशत सम्पन्न भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । 'निर्माणाधीन अस्पताल भवनमा स्ट्रक्चरको काम सम्पन्न भएको छ । अहिले वर्षात्को समय भएकाले काम रोकिएको छ', उहाँले भन्नुभयो, 'अस्पताल भवनका लागि ठेकेदार कम्पनीसँग गरिएको सम्झौता आगामी असोजसम्म छ । त्यो समयभित्र सकिने अवस्था छैन । पुनः म्याद थप गर्ने तयारी भइरहेको छ ।'

 कूल १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने जन्तेढुङ्गा गाउँपालिका–२ चिसापानीमा निर्माण शुरु गरिएको १५ शय्याको अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएर काम सुरु गरेको भए पनि अपेक्षाकृत प्रगति नभएको गाउँपालिकाले जनाएको छ । 

महादेव–खिम्ती–अञ्जना–रुजन जेभीले निर्माणको जिम्मा लिएको रावाबेँसी गाउँपालिकामा निर्माण हुने दश शय्याको अस्पताल अहिले घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ । भ्याटबाहेक  छ करोड ७० लाख लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको अस्पताल भवनको काम अहिलेसम्म अलपत्र अवस्थामा छ । 

उता साकेला गाउँपालिका–२ रतन्छामा भ्याटसहित  छ करोड ७६ लाख ७६ हजार ४५५ मा पाँच शय्याको अस्पताल भवन निर्माणको भने, गत वैशाखमै सम्पन्न भएको छ । खानी निर्माण सेवा बानेश्वर काठमाडौँले निर्माणको जिम्मा लिएको अस्पतालको भवन निर्माणको काम तोकिएको मितिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेर भुक्तानीसमेत लिइसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि दिलचक्र राईले जानकारी दिनुभयो । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्ष दिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तिमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा विसं २०७८ सालमा योजना परेको हो । 

तीन वर्षअघि योजना स्वीकृत भएका तीनवटै स्थानीय तहको काम अहिलेसम्म अगाडि बढेको छैन । तीनवटै स्थानीयमा निर्माण गर्ने भनिएको अस्पतालका लागि जग्गा व्यवस्थापन गरेर घडेरी सम्याउने बाहेक अन्य काम भएको छैन । 

अस्पताल भवन निर्माणका लागि मन्त्रालयले स्वीकृति दिए पनि बजेटको व्यवस्था नगर्दा निर्माणको काम अगाडि बढाउन नसकिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । 'गाउँपालिकाको बजेटले अस्पताल भवन निर्माण गर्न सकिने अवस्था छैन । जग्गाको व्यवस्था गरेर डिपिआर निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न गरेर मन्त्रालयमा बुझाएका छौँ', उहाँले भन्नुभयो, 'योजना स्वीकृत भएको तीन वर्ष बित्यो । मन्त्रालयले बजेट उपलब्ध नगराउँदा समस्या सिर्जना भएको छ ।'

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । विसं २०४९ वैशाख–१ गते १५ शय्यामा स्थापना गरेर सञ्चालन गरिएको जिल्ला अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम भइरहेको छ । 

केदार मगर/रासस