भेटघाट : नयाँपनको खुराक र खुसी चेहरामा पनि चित्रित हुँदो रहेछ

भेटघाट : नयाँपनको खुराक र  खुसी चेहरामा पनि चित्रित हुँदो रहेछ

ज्ञानेन्द्र विवश  |  साहित्य  |  असोज ०५, २०८१

बितेको केही महिनादेखि मिलनको खुशीमा मन रमाइरहेछ । नयाँ भेटका भलाकुसारीहरूमा मैले केही न केही नौलो कुराको स्वाद लिन पाउँदैछु । भेटिँदाको खुसी चेहरामा पनि चित्रित हुँदोरहेछ । फूलहरू जस्तै सौन्दर्य र सुगन्धले भरिभराउ हुँदोरहेछ । यसरी भेटहरू खुशी दिनु सँगै त्यसले निरन्तरता पाउनु भनेको नयाँ सिर्जनाको प्रारम्भ हो । अन्त्य हुनु होइन । बरु झन् भेटहरूको निरन्तर भेट हुनु धेरै राम्रो कुरा हो । 

प्रथमतः  खास भेटहरू यस्ता हुन्छन् जुन भेटलाई जिन्दगीभर बिर्सन कदापि सकिँदैन । यतिबेला सम्झन्छु मेरा अग्रज केही साहित्यकारहरू जसले मलाई उचित मार्गदर्शन प्रदान गर्नुभयो र मेरा सिर्जनाको कदर गर्दै उत्साहित पार्नुभयो । ती भेटहरू अब फेरि भेटिन सक्दैनन् । किनभने ती मेरा अग्रज साहित्यकारहरू आज यो संसारमा हुनुहुन्न । तथापि मप्रति उहाँहरूको सद्भावलाई कहिल्यै पनि बिर्सन सक्दिनँ ।

मलाई लाग्छ, वास्तवमा भेटहरू यस्तै प्रेरणादायी हुनुपर्छ । जसले एक पटकको भेटमै केही न केही सकारात्मक परिवर्तनको भाव जागृत गराउन सकोस् । र, त्यसले जीवनमा नयाँ मोड ल्याउन सकोस् ।

यस्तै भेटहरूमध्ये केही समय अन्तरालका अविस्मरणीय भेटहरू सम्झनामा आइरहन्छन् । कतिपय भेटहरू समकालीन साहित्यकारहरूसँगका छन् । कति भेटहरू मेरा गुरुहरूसँगका छन् । कति भेटहरू मेरा अग्रज साहित्यकारहरूसँगका छन् । यी प्रत्येक भेटहरू मेरा लागि प्रेरणा हुन् । मलाई पलपल ऊर्जाशील पार्ने माध्यम हुन् । हरेक भेटलाई मैले उत्तिकै महत्व दिने गर्छु । र, भेटहरूबाट केही न केही नयाँ कुरा सिक्ने अवसरको रुपमा उपयोग गर्छु । यसरी मेरा प्रियजनसँगका भेटहरूलाई मैले यही रुपमा लिने गरेको छु ।

केही समयअघि लेखक भागवत खनालसँग भेट भयो । उहाँ पूर्व सहसचिव हुनुहुन्छ । उहाँले लेख्ने निबन्धको म पारखी पाठक हुँ । मेरा लेखनको पनि उहाँ असल र नियमित पाठक हुनुहुन्छ । त्यसैगरी मेरै कार्यकक्षमा भेटिनुभयो इतिहासविद दिनेशराज पन्त, जसले नेपाल प्रज्ञा–प्रतिष्ठानको पाँच वर्षे गरिमामय प्राज्ञको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । कस्तै हुलमुलमा पनि एकचोटी भेटिएपछि वर्षौंपछिको भेटमा पनि उहाँ पहिलो भेटलाई बिर्सनु हुन्न रहेछ । इतिहासकार त्यत्तिकै कहाँ बन्नुभएको रहेछ र !?

भेटहरूकै सन्दर्भमा व्याकरणविद् चूडामणि गौतम र शरच्चन्द्र वस्तीसँगको प्रेमिल भेट स्मरणीय रहिरहने छ । त्यस्तै भेटहरू साथीहरूसँग अनेक हुन्छन् भइरहन्छन् । भेट भइएन भने त कुनै संवाद नै हुँदैन । संवाद नभएपछि लेखनमा नयाँपन भित्र्याउँनै सकिँदैन । भेटिएका भेटहरू मात्रै होइन नभेटेका भेटहरू पनि थुप्रै छन् । जोसँग प्रविधिका माध्यमबाट भेटिएको छ तर प्रत्यक्ष नभेटिँदा त्यो भेट खासै भेट जस्तो लाग्दो रहेन छ । यसैबीच कविता र समीक्षामा सराबरी सशक्त नारी लेखनको नाम शशी भट्टराई श्रेष्ठसँग पनि भेट्यौँ हामी । भेटिन बाँकी मन्दिरा चापागाईं बहिनी हुनुहुन्छ । उहाँका लघुकथा, कविताहरू मैले पढेको छु । भेटिने भन्दाभन्दै हाम्रो भेट नभेटिएको भेटमा रूपान्तरित हुँदै गइरहेछ । 
यसैबीच नियात्राकार विष्णुप्रसाद शर्मा र अगमसिंह थापा जोसँग भेटिने कुरा निकै लामो समयपछि भेटमा परिवर्तन भएर साकार भयो । साथै पछिल्लोपटक प्रदीप सापकोटा र दिलिप ढकालसँगको सप्रेम भेट लेखकीय विचार साटफेरको भरपर्दो माध्यम बन्न पुग्यो ।

पहिले–पहिले स्कुले जीवनमा भेटहरू नभए पनि कैयौँ भेटहरू हुलाक पत्रका माध्यमबाट हुन्थ्यो । त्यो भेटको सन्दर्भको कुरै बेग्लै । त्यो बेलाको त्यस्तै भेटहरू नै प्रिय हुन्थ्यो । म अझै पनि सम्झन्छु साढे तीन दशकअघिका ती व्यतीत दिनहरू । जहाँ पत्रमित्रका माध्यमबाट मैले सुदूर गाउँदेखि शहर र धेरै टाढा–टाढाका साथीहरूसँग मित्रता गाँस्ने रहर गरेको थिएँ । यसरी ती रहरहरूसँगै मैले धेरै साथीहरूका गाउँठाउँका बारेमा पनि जिज्ञासा राखेर धेरै जानकारी पाएको थिएँ । अहिले सम्झिँदा आनन्द पनि लाग्छ र रमाइलो पलले म पुनः विस्मृत–स्मृतिका पानाहरूमा हराउन थाल्छु ।

त्यो बेला रेडियो नेपालको बाल कार्यक्रम बालबालिकाहरूका लागि कति लोकप्रिय थियो भने हाम्रा कुण्ठित प्रतिभाहरूलाई सार्वजनिक गर्ने एकमात्र माध्यम थियो । जुन माध्यमले हामी धेरै बालबालिकाहरूलाई प्रत्यक्ष भेट नगराए पनि भेट गराए जतिकै सिर्जनाका माध्यमबाट भेटाएको थियो । खुशीलाई शब्दहरूमा व्यक्त गर्नै सकिँदैन ।
हिजो आजको भेट पहिलेका पुराना दिनहरू जस्तै छैनन् । आज समय बदलिएको छ । प्रविधिले हामीलाई धेरै कुराको सुविधा दिएको छ । त्यो सुविधालाई उपयोग गर्न जान्दा फाइदै फाइदा छ, नजान्दा दुःख छ । फाइदाको सदुपयोग गर्नु भनेको भेटहरू भइरहनु हो । संवादहरू गरिरहनु, विचारहरू व्यक्त भइरहनु, भावनाहरू साटिरहनु र अनुभूतिहरू अभिव्यक्तिमा प्रकट गरिरहनु हो । 

अन्ततः नयाँ र पहिलो भेटका नवीनतम् क्षणहरूले केही न केही नयाँपनको आभास महसुस गराउने रहेछ । भेटिनुको यो खास सकारात्मक पक्ष हो । किनभने भेटहरू अनेक हुन्छन् । भेटिनु र छुटिनुको स्वाभाविक प्रक्रियामा भेट हुनु र नहुनुले कुनै असर पार्दैन । तर सिर्जनशील मनहरूको मिलनमा केही न केही र कुनै पनि रूपमा नयाँ सिर्जनाको खेती हुनुपर्छ । जसले नभेटिँदाको पललाई मेटाएर नयाँ र उन्नत बालीको उत्पादन गर्न सक्छ । त्यो बाली भनेको वास्तवमा नयाँ सिर्जना हो सम्बन्धको नयाँ अध्याय र नयाँ आयाम हो । 
भेट्ने आशा र भेटिने बाचा भएपछि दुःखमा पनि खुशीले अँगाल्न आउने रहेछ । मान्छेको स्वभाव न हो बिछोडिने मन कसको हुन्छ ! दुःखमा रुने चाहना कसलाई हुन्छ र ! मान्छेको मन हो भने सानै कुराले पनि हृदय छुन्छ । संवेदित पार्छ र एउटा मन अर्कोसँग भेटिएपछि भावनाका आदान–प्रदानले स्नेहको ढोका खोल्छ । 

यसरी स्नेहको ढोकाभित्र प्रवेश गर्नु र त्यहाँ आनन्दले ढलिमली गर्नु भनेको जिन्दगीको अर्को उपलब्धि हो । जहाँ मनहरू स्वतः रमाउँछन् । जहाँ तनावका बाछिटाहरू पर–पर भाग्छन् र भिज्न भिजाउनबाट जोगाउँछन् । धमिलो मनलाई पखाल्छन्, पगाल्छन् र सुकिलो पारी नयाँ सम्भावनाहरूको खोजीमा यात्रा थाल्छन् ।

भेटिन नचाहनेहरूका लागि भेटको कुनै अर्थ हुँदैन । त्यस्तो भेटले नयाँपनको कुनै खुराक प्रदान गर्न सक्दैन । परिचयको पर्दा खोलेर नयाँ क्षितिजलाई नियाल्न र त्यसपछि नयाँ सम्भावनाहरूको खोजी गर्न सक्दैन । यस्तो भेटको के अर्थ ? 

प्रत्येक भेटहरूले नयाँ कुराको खुराक दिनुपर्छ । नयाँ–नयाँ विचारहरूको संलापमा भेटका क्षणहरू अमूल्य हुनुपर्छ । त्यसैले भेटहरू अर्थपूर्ण हुनुपर्छ । भेटले एक्लोपनका निराशा मेटाउँदै आशाको राजमार्गमा पाइला सार्न मात्रै होइन, फड्को मार्न सक्नुपर्छ । 

अतः प्रत्येक भेटहरू भेट्नका लागि भेटिनुमा मात्रै सीमित हुनु र त्यत्तिकै सकिनु हुँदैन । भेटले फेरि–फेरि पनि भेटिने प्रण गर्नुपर्छ र त्यो प्रणलाई पूरा गर्दै जानुपर्छ ।

भेटिँदाको खुशी बेग्लै हुँदोरहेछ । भेटिने भन्ने आशाको त्यान्द्रोमा बेरिँदा–बेरिँदा बल्ल पछिल्लोपटक गत साता दिलिप ढकालसँग हामी त्यो त्यान्द्रो चुँडालेर भेटियौँ । नभेटिने क्रमले क्रमशः बाटो काट्दै गइरहेको थियो । भेट्ने समय मिलाए पनि शहरी गन्जागोलले हामीलाई भेट्न दिइरहेको थिएन । 

अनायसै आइपर्ने अनेकौं कामका झमेलाहरूले फेरि अर्कै काममा हामीलाई व्यस्त राख्न थाल्थ्यो । अनि हाम्रो भेटले नेटो काटेर जान्थ्यो । आशाहरू निराशामा रूपान्तरित हुँदै गर्दा सायद हाम्रो नभेटिने कुरा सङ्कटा भगवानले थाहा पाउनुभयो । हामीलाई यसरी सन्ध्याकालीन समयमा भेटाएर निकै अघिदेखिको घिडघिडो मेटाइदिनुभयो ।
यसरी भेटिँदा हामीले हाम्रा आ–आफ्ना सिर्जना कृतिहरू पनि आदान–प्रदान गर्यौ । धन्य लामो समयको प्रतीक्षापछि एकैछिनको भेटाइ पनि साह्रै नै आत्मीय रह्यो । 

अध्यापन, पत्रकारिता र लेखनमा निरन्तर क्रियाशील मित्र दिलिप ढकालले स–प्रेमोपहार प्रदान गर्नुभएको उहाँको नवीनतम उपन्यास ‘छलाङ’ लाई पाठकीय आँखाले हेरेर फुर्सदमा छलाङ मारौँला । त्यसो उहाँका मुक्तक र उहाँले सम्पादन गर्नुभएको ‘दोभान’ मा डुबुल्किनु बाँकी नै छ ।