चिरन ‘चिदानन्द’ | साहित्य | असोज ०५, २०८१
उसले मिठो सपना देख्यो
भगवान आएर भन्नु भो
मानिस भएर बेकम्मा भयौ तिमीहरु
परिवर्तन गर्छु भन्दै देशको अस्मिता लुट्यौ
भोका निमुखाहरुको बलि चढायौ
अब अति भो बरु पशु भाको भए यति हुन्न थियो कि ?
ऊ त्रासले बर्बराउदै मधुरो स्वरमा फुस्फुसायो
प्रभु ! हामीहरुलाई पशु नै बनाइदिनुहोस्
तथास्तु ! तिमीहरुको ईच्छा पुगोस्
भगवान अलप हुनु भो
कालो बादल मडारिएसँगसँगै सबै पशुमा परिणत हुदै गए
समय अन्तरलसंगै परिवर्तनका लहरहरु आए
जंगल राज शुरु भयो
ब्वासो,बादर अनि फ्याउरोहरु संसद भवन छिरे
हुँडार अनि स्यालहरु मन्त्रीमंडलमा पुगे
भालुहरु पार्टीको हर्ताकर्ता भए
पार्टी परिवर्तन गर्दै माथिल्लो तहसम्म पुगे
बाघ,सिंहहरु भने प्रतिपक्षमा मै अड्किए
आज सत्ता समिकरणमा भालुहरुको नै जोडतोड़ छ
गाई, गोरु, गधा लगाएत निलगाईहरु जनता नै रहे
सबैले लुक्षिरहने, सन्त्रासमा बाचिरहने
उता भने गिद्धहरु विकासे कार्यकर्ताका रुपमा देश भित्र छिरे
छटपटीले ऐंठन भो उसलाई
आत्तिएर ऊ बिउझियो अनायास
पसिना पसिना भएर
टोलाएर सोचिरह्यो ऊ
वास्तविक संसारसंग मेल खाएको देखेर
देशको परिस्थिति जस्तै
देशको परिस्थिति जस्तै