लोकसंवाद संवाददाता | समाचार | असोज ०६, २०८१
काठमाडौँ ।लेखक ज्ञानेन्द्र विवशको नयाँ निबन्ध सङ्ग्रह ‘अर्धकदको अवसान’ भर्खर सार्वजनिक भएको छ ।
निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नु भएका उहाँले लेखेका कलापरक सचित्र जीवनी कृति र कला निबन्धका पुस्तकहरू पनि प्रकाशित छन् ।
प्रस्तुत ‘अर्धकदको अवसान’ नामक निबन्धसङ्ग्रह निबन्धकार विवशको पन्ध्रौँ कृति हो । यसमा तीन दर्जन निबन्धहरू छन् । भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस सङ्ग्रहभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैँ हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, शारदीय सौन्दर्य, ऋतुहरूमा मङ्सिर, सौन्दर्यको व्यञ्जन, प्रकृति र जिन्दगी, बादल बयान, भेटिनु–नभेटिनु, सौन्दर्य र सुगन्ध, नभेटिएको भेट आदि शीर्षकका निबन्धहरू रहेका छन् ।
निबन्धको प्रकाशकीयमा उल्लेख भएअनुसार प्रत्येक निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषशैलीका माध्यमबाट अभिव्यक्त गरिएको छ । निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगन्ती सुवासहरू पाइन्छन् । यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन् । हाम्रै पाखापखेराका सुसाइहरू छन् । हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन् । हाम्रै जीवन, समाज र समयका तस्बिरहरू छन् । वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप हो ।
अर्धकदको अवसानले समेटेका विचार–भावनाहरू निकै गम्भीर छन् । ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन–विवरणहरू नेपाली समाजका दस्तावेज हुन् । देश र जनतामा आएका दैवी घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेद आदि हाम्रै मनलाई स्पर्श गर्न आउँछन् । यिनमा तथ्यपूर्ण शब्द–तथ्याड्ढहरू छन् ।
वरिष्ठ संस्कृतिविद तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगले मन्तव्यमा भन्नुभएको छ– ‘ज्ञानेन्द्र विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ । अर्धकदको अवसान निबन्ध सङ्ग्रहभित्रका निबन्धहरू पढिरहँदा म आफैँले पनि यस्तो महसुस गरेको छु ।’
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पुस्तकमा उल्लेख गर्नुभएको छ– ‘निबन्धको उत्साहहीन तथ्याङ्कमा पनि निबन्धकार ज्ञानेन्द्र विवश निरन्तर अभियानमा लागिरहनुभएको छ । जुनैै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन् ।
‘सुन्दर प्रकृतिका सौन्दर्यमा लेखकीय संवेदना तीव्र छ । प्रत्येक निबन्धले पाठकीय आकर्षण बटुल्ने र माया पाउने छ भन्ने विश्वाससहित यो पुस्तक यहाँहरूको हातमा सुम्पेका छौं ।’ प्रकाशकीयमा भनिएको छ ।
उहाँका प्रकाशित कृतिहरू– ‘पीडाका अनुभूतिहरू’ (२०५८), ‘क्यानभासका तरङ्गहरू’ (वि.सं. २०५५), ‘राराकी अप्सरा’ (वि.सं. २०५८), ‘मृत्यु उत्सव’ (वि.सं. २०६०), ‘आकृतिको आवाज’ (वि.सं. २०६१), ‘प्रणय र पाइला’ (वि.सं. २०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (वि.सं. २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (वि.सं. २०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (वि.सं. २०७०), ‘सुन्दरीचोक’ (वि.सं. २०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (वि.सं. २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (वि.सं. २०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (वि.सं. २०७८), ‘कलाकार सिद्धिमुनि शाक्य: जीवन र कला’ (वि.सं. २०७८) छन् । यसबाहेक कला, निबन्ध, नियात्रा तथा जात्रासंस्कृति विषयक उहाँका केही पुस्तकहरू प्रकाशोन्मुख रहेका छन् ।
‘शड्ढर लामिछाने राष्ट्रिय प्रतिभा पुरस्कार’ (वि.सं. २०५८) तथा ‘अरनिको युवा कला पुरस्कार’ (वि.सं. २०६१) बाट उहाँ पुरस्कृत भइसक्नुभएको छ ।
लेखक ज्ञानेन्द्र विवश नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य (वि.सं.२०६७–०७०) समेत भइसक्नुभएको छ । सोही प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको ‘आकृति’ पत्रिकाको उहाँ कार्यकारी सम्पादकसमेत हुनभयो । उहाँले केही वर्ष ‘कलाकर्म’ नामक ललितकला पत्रिकाको सम्पादन र प्रकाशन पनि गर्नुभयो । ‘सुरुचि’, ‘हिमालय टाइम्स’, ‘परिस्थिति’ मा उहाँले केही दशक साहित्यिक पत्रकारिता गर्नुभयो ।
उहाँले केही साप्ताहिक र मासिक पत्रिकाहरू विमोचन, नेपाल जागरण आदिमा साहित्यिक स्तम्भलेखन गर्नुभयो । त्यस्तै कान्तिपुरको साप्ताहिक पत्रिकामा धारावाहिक उपन्यास ‘टुङ्नाको धुन’ समेत लेख्नुभयो । उहाँले केही दशक एफएम रेडियो तथा टेलिभिजनमा साहित्य र संस्कृतिसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्नुभयो ।
प्रसिद्ध साहित्यिक पत्रिका ‘मधुपर्क’, ‘गरिमा’, ‘समकालीन साहित्य’ आदिमा उहाँले नियमित ललितकला विषयक स्तम्भ निकै वर्ष लेख्नुभयो । हाल रातोपाटी, साहित्यपोस्ट, बाह्रखरी, लोकसंवाद, प्रभावन्यूज आदि अनलाइन पत्रिका तथा नागरिक दैनिकको ‘अक्षर’ मा निबन्ध र नियात्रा नियमित लेखिरहनुभएको छ । यसअघि उहाँले हिमाल, नेपाललाइभ र स्वतन्त्र समाचारजस्ता अनलाइन पत्रिकाहरूमा पनि नियमित ललितकला सम्बन्धी लेखरचनाहरू लेख्नुभयो ।