हरिविनोद अधिकारी | साहित्य | असोज ११, २०८१
१. जोधाहा राष्ट्रसेवक( खेमराज रेग्मी)
जीवन गाथा सम्बन्धी पुस्तक पुनरवलोकन गर्ने भनेको जस अपजस भन्दा पनि लेखिएका कुराहरुको सत्यापन गर्नु पनि हो । काल्पनिक आख्यान, निवन्ध तथा अन्तरिक्ष यात्रा वर्णनका साहित्यहरूमा समेत सर्जकको अनुभूतिमा बग्नेमात्र हो । तर जीवन गाथालाई आधार बनाएर लेखिएका कृतिहरूको सत्यापन सम्बन्धित व्यक्तिले भनेका, लेखेका र महसुस गरेको कुराहरूबाट मात्र विश्वास गर्नुपर्ने हुन्छ । सामान्यतः जीवन गाथाले दुई कुराहरु दिन्छ जस्तो लाग्छ।
पहिलो हो जीवनका भोगाइ कस्तो रह्यो भन्ने व्यक्तिको आफ्नो सोचाइको प्रवाह र दोस्रो त्यो जीवनी प्रकाशनले समाजलाई के सन्देश दिएको हो र त्यसले दिने सन्देशबाट हामीले के सिक्ने भन्ने पनि हो । जोधाहा राष्ट्रसेवकका रुपमा खेमराज रेग्मी आफ्नो राष्ट्र सेवामा रहँदा पनि परिचित नाम हो- निडर , निर्भीक र भ्रष्टाचार विरोधी । आफूलाई स्पष्ट रुपमा प्रजातन्त्रवादी भनेर छाती ठोकेर भन्ने कर्मचारीका रुपमा उहाँले आफूलाई प्रस्तुत गरेजस्तैैैैैैैैैै उहाँको व्यक्तिगत स्वभावमा पनि नेपाल सरकारको सचिव हुँदा पनि पाइन्थ्यो । तत्कालीन अवस्थामा पञ्च र कम्युनिस्टहरुको घेरामा पनि पर्नु भएको सुनिन्थ्यो । तर प्रजातन्त्र पुनस्र्थापना पश्चात् गठन भएका मन्त्रिपरिषदहरूका प्रजातन्त्रवादी मानिने मन्त्रीहरुसँग पनि उहाँले राय बझाएर दबाब नमानेको उदाहरणहरु यस जीवन गाथामा जताततै पाइन्छन् ।संघर्ष, अवज्ञा र शिर ठाडो राख्न एउटा कर्मचारीलाई पाइलै पिच्छे पर्न समस्याहरुको नालीबेली यस पुस्तकमा पाइन्छ ।
खासमा उहाँले आफ्नो जागिरे जीवनकालको सुरुकै कालदेखि र उत्तरार्द्धसम्मको अनुभवहरु सम्झेर लेख्नु हुँदा नेपालको प्रशासनिक अवस्थाको स्पष्ट छनक पाइन्छ । खासगरी जिल्ला शिक्षा अधिकारी हुँदाका अनुभवहरु स्वादिला छन् र आजसम्मको नेपालको शिक्षा विकासका क्रम कसरी अगाडि बढेका थिए भन्ने उदाहरणहरु प्रशस्तै पाइन्छ ।
पच्चिस शीर्षकमा बाँडिएका विषय क्रम पढ्दा झन्झट लाग्दैन, पुस्तक सरर बग्छ । उहाँले विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी ,प्रमुख जिल्ला अधिकारी र नेपालको सरकारको विशिष्ट श्रेणीको सचिव भएर भोगेका कुराहरु र तत्कालीन नेपाली प्रशासनको अवस्थाले शोधकर्ताहरुका लागि अनुसन्धानको खजाना पनि हुनसक्छ । उहाँले बारम्बार आफ्ना अनुभवहरूको विवरण दिँदा जस्तो सोचेको हो, त्यस्तो मान्छे नपाएको गुनासो पनि छ । राजनेताहरुमा बीपी, गणेशमानजी र किसुनजीप्रति उहाँको अगाध श्रद्धा देखिन्छ भने गिरिजाबाबुलाई राजनेता हुन नसकेको नेताको रुपमा चित्रित गर्नु भएको छ । समकालीन नेताहरुको विवरण चाखलाग्दो छ । कतिपय कुराहरु छुटेका पनि हुनसक्छन् र कतिपय कुराहरु लेख्न छुटाएको पनि हुनसक्छ । त्यसैले जीवन गाथा लेख्न जति सजिलो छ भनिन्छ, त्यति नै अप्ठेरो पनि हुन्छ रे । किनभने जीवन भोगाइमा अनेक आरोह अवरोह हुन्छन् र मानिस आफ्नो आरोहको मात्र वयान गर्छ । तर रेग्मीले आफ्ना अवरोह पनि नढाँटी लेख्नु भएको छ । कतिपय घटनाहरु छुटेको जस्तो पनि लाग्छ ।
यो जीवन गाथा अपुरो देखिन्छ किनभने जीवनमा जागिरे भागमात्र यहाँ छ । त्यो पनि आफ्नो जोधाहा प्रवृत्तिको मात्र वयान गरिएको देखिन्छ । त्यसैले अर्को जीवन गाथाको संगालो जरुरी देखिन्छ । कृतिकार आफैँ एउटा सशक्त वक्ता र लेखक समेत भएकाले जीवन लेखाउन पक्कै नै घोस्ट राइटरको सहयोग लिनु हुने छैन भन्ने अपेक्षा गरिन्छ । किन यो सतर्कता लिनका लागि सल्लाह दिइएको हो भने आजभोलि धेरै गाथा कहनेहरुले पहिले घोस्टको सहयोग लिन्छन् र पछि भन्नुपर्ने कुराहरु छुटाई दिएछन् भनेर गुनासो गर्छन् ।
यो जीवन गाथा पढ्दा साँच्चै नै एउटा जोधाहा राष्ट्रसेवकको जीवनीको स्वाद मज्जा लाग्दो छ । अरु विभिन्न स्वादका परिकारहरु पनि शीघ्र सार्वजनिकरुपमा आओस् भन्ने अपेक्षा गरिन्छ ।
पुस्तकको नाम-जोधाहा राष्ट्रसेवक(जीवनी) लेखकको नाम- खेमराज रेग्मी
प्रकाशक- सुरेश रेग्मी प्रकाशन मिति-२०८१ असार
मूल्य : रु. ५००। ISBN:978-9937-1-6889-2
२. मेरो रोजाइ, मेरो भोगाइ(जगतबहादुर केसी)
पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर केसीको जीवन गाथामा आधारित पुस्तक मेरो रोजाइ, मेरो भोगाइ २०७६सालमा नै बजारमा आएको हो । एउटा सामान्य गाउँको मानिस कसरी पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिसम्म भयो र कति संघर्षहरूको सामना गर्दै खाद्य प्रविधिका लागि मध्यम तथा उच्चस्तरको जनशक्ति तयार गर्न सफल भयो भन्ने गाथा छ ।
आफ्नो भोगाइका क्रममा आफैँले छोराछोरीभन्दा बढी माया गरेर पढाएका र आफ्ना अन्य केही महत्वाकांक्षाहरु प्रति पटक्कै ध्यान नदिई या वास्ता नराखी जीवनको एउटै लक्ष्यको रुपमा विकास गरेको धरान स्थित खाद्य प्रविधि क्याम्पसका विद्यार्थीहरुले कालो मोसो दलेर अपमानित गरेको कुराले उहाँको जीवनको मोड नै परिवर्तन भएको गाथा यसरी भन्नु भएको छ कि प्रत्येक इमान्दार शैक्षिक अभियन्ताको रुपमा सेवा गर्ने क्याम्पस चिफहरुको आफ्नै कथा भन्दै हुनुहुन्छ भन्ने पार्नु भएको छ । त्यो भोगाइ जीवन्त छ र वर्णन पनि कसैप्रति गुनासो नराखी एउटा गुरुको रुपमा आफूलाई सम्झाउँदै भनिएको छ । सत्य घटनाहरूमध्ये मर्मस्पर्शी घटनाको रुपमा कालोमोसो काण्डलाई लिन सकिन्छ । त्यसपछि जुत्ताको माला त सामान्य नै भयो जस्तो गर्नु भएको छ । त्यसमा विद्यार्थीहरूप्रति कुनै गुनासो छैन र आफूप्रति पनि कुनै ग्लानि पालेको पाइँदैन । सामान्य जीवनमा आउने असामान्य घटना त आखिर त्यो थियो तर प्रा केसीले त्यसलाई जीवनको नयाँ गोरेटो तर्फ जाने तयारीको रुपमा लिनु भएको पाइन्छ ।
आफूलाई कम्युनिस्ट भन्न रुचाउने केसीजीले पछि गएर जीवनमा सोचेको भन्दा फरक अनुभूति हुन थालेको महसुस गरेको पाइन्छ । एउटा इमान्दार जीवनी लेखाइ हो भन्नु पर्छ । तर कतिपय भोगाइले अरुको जीवनमा असर नगरोस् भनेर नाम धेरै गोप्य राख्नु भएको पनि छ । इमान्दारिताका साथ बोलेकाले पढ्दा मज्जा लाग्छ, कतै हाँसो पनि उठ्छ त कतै झन्झट लाग्दो पनि छ । सायद उहाँको जीवनमा भोगेका कुराहरूसँग हाम्रो कतिपय भोगाइ मिल्ने , कतिपय नमिल्ने भएका कारणले पनि त्यसो भएको होला । तर एउटा शैक्षिक अभियन्ताले आफ्नो जीवनी सार्वजनिक गर्दा जीवनमा हार खानु हुँदैन भन्ने सन्देश पनि दिएको पाइन्छ ।
एउटा कुराचाहिँ चित्त नबुझ्ने छ, त्यो भनेको आफैँ प्राध्यापक डाक्टर र अनुसन्धाता हुनुहुन्छ तर घोस्ट राइटरलाई किन लेखाएको ? आफैँले लेखेको भए हुने भन्ने प्रश्न चाहिँ समीक्षा गर्दा बारम्बार आउने रहेछ । तर यदि त्यसो नगरेको भए सायद यति बेरसम्म पनि यो कृति नआउने पो थियो कि ? त्यो पनि मननीय विषय बन्नसक्छ ।
पुस्तकाकारमा आएको जीवनीले जगतबहादुर सरको बारेमा धेरै कुरा थाहा पाउन सकियो, त्यसैमा साधु वाद दिनुपर्छ । र अरु कृतिहरु पनि आऊन् भन्ने अपेक्षा गरिन्छ
कृति-मेरो रोजाइ, मेरो भोगाइ(जीवनी) लेखक- प्रा डा जगतबहादुर केसी
प्रकाशक-घोस्ट राइटिङ्, नेपाल, नयाँ वानेश्वर मूल्य- रु. ४५०।
प्रकाशन मिति- २०७६ प्रथम संस्करण ISBN:978-9937-9354-1-8