लोकसंवाद संवाददाता | अन्तर्मन्थन | असोज १२, २०८१
आदरणीय रोचक घिमिरे ! धेरै दिनअघि भेटिने कुरा बल्ल भेटिएपछि पूरा भयो । नेपाली साहित्यका संस्था रोचक घिमिरेसँग भेटिँदाको खुशी कसरी व्यक्त गर्नु र !? कतिपय सन्दर्भहरू अव्यक्त हुँदाहुँदै पनि व्यक्त हुँदा रहेछन् । कति चाहिँ व्यक्त गर्न निकै कठिन ।
साहित्यिक पत्रकार, साहित्यकार, रमेश विकल साहित्य प्रतिष्ठान र भैरव पुरस्कार गुठीका अध्यक्ष, रचनाका प्रधान सम्पादक जुन पत्रिका विगत ६४ वर्षदेखि निरन्तर र नियमित प्रकाशित हुँदै आएको छ । यसबाहेक नेपाल साहित्यिक पत्रकार संघलगायत अरू कैयौँ साहित्यिक संस्थाहरूका उहाँ पूर्व अध्यक्ष तथा सल्लाहकार हुनुहुन्छ । वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई गत भाद्र ३ गते मात्र लगभग १०० वटा साहित्यिक संस्थाहरूबाट संयुक्त रूपमा नागरिक अभिनन्दन गरिएको थियो ।
सोही समारोहमा ‘रोचक–रचना’ शीर्षकमा रोचक घिमिरे अभिनन्दन ग्रन्थसमेत प्रकाशित भएको थियो । सो ग्रन्थमा उहाँको व्यक्तित्व, कृतित्वमाथि ‘हजुरिया जर्नेलको रूप–क्यानभास’ शीर्षकमा मेरो रचनासहित १४२ जना व्यक्तित्वहरूले लेख्नुभएका रचना संलग्न छन् ।
यस्ता आदरणीय व्यक्तित्व जो नेपाली साहित्यका संस्था हुनुहुन्छ । स्वनामधन्य साहित्यकारका रूपमा उत्तिकै स्थापित र सम्मानित हुनुहुन्छ । साहित्यिक पत्रिका प्रकाशनमा निःस्वार्थ सेवा गरिरहनुभएको छ । साहित्यिक र सामाजिक संस्थाहरूमा त्यत्तिकै क्रियाशील हुनुहुन्छ । उमेरले पाकोपन पुगिसक्दा पनि तरुनो जोश र जाँगरले ओतप्रोत हुनुहुन्छ । कार्यक्रमहरूमा जान, प्रमुख अतिथि हुन, धाराप्रवाह बोल्न आदिमा उहाँ अद्यापि फुर्तिलो ज्यानमै जीवन्त–जीवन व्यतीत गरिरहनुभएको छ । मान–सम्मानबाट पनि यथोचित उहाँको कदर भइरहेको छ ।
यसैबीच भर्खरै मात्र लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले ‘साहित्यिक शहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार– २०८१’ उहाँलाई प्रदान गर्ने निर्णय गरेको छ ।
रोचक घिमिरेलाई लामो विरामीले थला पारेको छैन । सधैँ सिर्जनशील र काममै व्यस्त रहँदा उहाँले पाएको स्वास्थ्य लाभ उहाँका शुभचिन्तकका लागि खुशीको कुरा हो । तर गएको हिउँदमा उहाँलाई भाइरल जरोले समात्यो । उपचार र आराम गर्दै फाल्गुण लागेपछि उहाँलाई बल्ल सन्चो भयो । त्यसपछि उहाँ पुनः साहित्यिक कार्यक्रमहरूमा सामेल हुन थाल्नुभयो । पोखरा ‘लिटरेचर फेस्टिवल’ को निम्तो मान्न जानुभयो । फर्केको दुई दिनपछि फेरि जरोले थला पा¥यो । गर्नुपर्ने काम थाँती रहँदा र घरबाहिर निस्किन नपाउँदा उहाँलाई उकुसमुकुस हुन्छ । आराम र उपचारले बिस्तारै विसेक हुँदै गर्दा उहाँको जीवनकै अर्को महत्वपूर्ण अध्याय प्रारम्भ भयो । त्यो अध्याय थियो– उहाँको नागरिक अभिनन्दन गरिने र अभिनन्दन ग्रन्थ निकालिने । भव्य समारोहका बीच कार्यक्रम हुँदा उहाँलाई हर्ष लाग्नु त स्वाभाविक हो । अरूलाई पनि गर्व लाग्नु र सन्तोषको विषय हुनु ठूलै खुशी मान्नुपर्छ ।
‘रोचक रचना’ अभिनन्दन ग्रन्थका सम्पादक शेषराज शिवाकोटी हुनुहुन्छ । यसलाई नेपाल श्रष्टा समाजले प्रकाशन गरेको हो । यसमा अग्रज, समकालीन र युवा पुस्ताका सशक्त साहित्यकारहरूले रोचक घिमिरेको व्यक्तित्व, व्यक्तित्वका विविध पक्षमा गहिरो विवेचना गर्नुभएको छ ।
अभिनन्दन ग्रन्थमा रोचक रचना लेख खण्ड, कविताखण्ड, कृति चर्चा खण्ड, मित्र खण्ड, परिवार खण्ड, अन्तर्वार्ता खण्ड, सिर्जना खण्डसहित विशिष्ट खण्ड जसमा रोचक घिमिरेलाई प्राप्त हुन आएका चिठ्ठीपत्रहरू उहाँको व्यक्तिगत विवरण र रोचक घिमिरेसँग सम्बद्ध विभिन्न अग्रज साहित्यकारहरूसँगका दुर्लभ र महत्वपूर्ण तस्बिरहरू यसरी समग्रमा ८२६ पृष्ठको रोचक घिमिरे अभिनन्दन ग्रन्थले उहाँको व्यक्तित्वलाई उचाइमा पुर्याएकै थियो र अझ भावी पुस्तासम्म अभिलेखित रूपमा स्थापित गराइरहने कुरामा ढुक्क हुन सकिन्छ ।
वास्तवमा रोचक घिमिरे नेपाली भाषा साहित्यका धरोहर हुनुका साथसाथै उहाँ नेपाली साहित्यका संस्था हुनुहुन्छ जसले भाषा र साहित्यको सेवामा जीवनको ८३ वर्ष उमेरसम्म पनि अथक र अभिराम रूपले सेवा गरिरहनुभएको छ । आजका पुस्ताका लागि उहाँबाट हामीले धेरै प्रेरणा लिन सक्नुपर्छ ।
यस्ता आदरणीय व्यक्तित्वलाई चिनाउने चेष्टा मैले पनि उहिले गरेको रहेछु जुन कुरा यही अभिनन्दन ग्रन्थमा प्रकाशित मेरो लेख ‘हजुरिया जनेलको रूप–क्यान्भास’ शीर्षक पढेर म आफै उहाँप्रति पुनः पूर्ण नतमस्तक भएँ । किनभने उहाँको अभिनन्दन समारोहमा बस्ने सिट त थिएन नै उभिने ठाउँसमेत नहुँदा कतिपय पाहुनाहरू बाटोबाटै फर्किएका थिए । आयोजक संस्थाहरूको एक–एकजना प्रतिनिधि गर्दा नै १०० जनाभन्दा बढी हुन्थे भने अन्य उहाँका शुभचिन्तकहरूको सहभागिता हुँदा प्रज्ञा भवनको त्यो कक्ष आमन्त्रित अतिथि र आयोजकहरूको भीडले भीडमाथि भीड बनेको थियो ।
उहाँको बारे मैले लेखेको कुरा आफैँले पढ्दा आफैँलाई पनि रमाइलो लाग्यो । मैले लेखेको रहेछु– ‘हजुरिया जर्नेल अर्थात् रचनाको व्यक्ति, अरूलाई प्रेरणा दिँदै प्रेरित गर्ने, आफैँलाई बिर्सिएर सेवामा शान्ति खोज्ने रङको एक स्तम्भ !’
‘म जर्नेललाई शब्दमा व्याख्या गरेर आकार दिन सक्दिनँ । हुन त मैले चिनेको जर्नेलसँग मेरो लामो उठबस छैन । दैनिक भेटघाट हुँदैन तथापि रङका मीठा आयामहरूमा आस्वादन गर्दा आफैँलाई रमाइलो लागेर आउँछ । त्यो रमाइलो एक दिन वा एकछिन होइन कुनै पनि समय सम्झनाका डोबमा ब्युँझिएर आगतभरि उत्साह छोडेर जान्छ ।’
उल्लिखित अनुभूतिहरू मेरा वैयक्तिक भावनाहरू हुन् । तथापि पढ्दै जाँदा उहाँलाई मैले त्यो बेला नै एकसरो चिनारीको चित्रणमा सगर्व शब्दचित्र उतार्न सकेको रहेछु भन्ने मलाई महसुस भयो । सम्भवतः उहाँसँग पहिलो भेटको सौजन्य ‘भूतका भिनाजु’ अर्थात् ‘बासुदेव माड्साप’ (बासुदेव शर्मा, लुइटेल) को पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयको कार्यकक्षमा २०५०–५१ सालतिर भएको हुनुपर्छ । जुन समयमा म भूतको भिनाजुलाई भेट्न गइरहन्थेँ ।
सोही आलेखमा मैले लेखेको छु ‘गुरुदेवको सधन्य सौजन्यमा समेटिएका अरू पनि थुप्रै स्वनामधन्य सिर्जनाकर्मीहरू हुनुहुन्छ । पालो आएपछि परिचय अहिलेको पालो गुरुदेवकै निजी सचिव हजुरिया जर्नेलका रङ्ग छटामाथि केही केरकार कनिकुथी गर्छु । यो लेखनीको मेलो उहाँसँगको प्रत्यक्ष संवादका स्वरूपमा आधारित छैनन् । मैले चिनेको, मैले पढेको र मैले बुझ्न सकेसम्मका यी अभिलेखन हुन् । यसमा रचनाको रोचक घिउ स्वाद नआउला मात्र हजुरिया जर्नेलको रङ्ग अनुभूति मात्र रङ्ग अनुभूति !’
‘कहिलेकाहीँ अनुभूतिमा बाँच्नु पनि रमाइलो लाग्छ । सम्झनामा हाँस्नु पनि मिठो हुन्छ । त्यस्तै लाग्छ जर्नेलका रङ्गमा आकार कोरेर अनुभूति बाँच्न खोज्नुको मेरो चेष्टा । चाहना पनि त्यही हो । सम्झनामा रोचक खोजेर रचना गर्नुको अभिप्राय यही अर्थ ज्ञानगुनबाट सार्वजनिक हुँदैछ ।’
स्मरण रहोस् शेषराज शिवाकोटीले प्रकाशन र सम्पादन गर्दै आउनुभएको ‘ज्ञानगुनका कुरा’ मा धेरै अग्रज व्यक्तित्वहरूको कृति र व्यक्तिका समग्र पक्षलाई केलाउँदै विभिन्न व्यक्तित्वहरूलाई लेखाउँदै अभिनन्दन ग्रन्थ स्मृति, ग्रन्थहरू प्रकाशन गर्दै आउनुभएको छ । शिवाकोटीसाहित्यिक सेवकका अर्का आदरणीय र उत्साही व्यक्ति हुनुहुन्छ । यही मेसोमा उहाँले नै लेखाउनुभएको मेरो यो रोचकमाथिको रचना ‘ज्ञानगुन रोचक घिमिरे अभिनन्दन अङ्क’ बाट साभार गरिएको हुनुपर्छ । आफैँले लेखेको पढ्दाखेरि यो कुराको बोध मलाई भयो ।
रचक घिमिरेभन्दा तीन वर्ष कान्छो तर पुरानो र गहिरो मित्रताका साक्षी–सहयात्री परशु प्रधानको गत २०८० चैत्र ५ गते निधनपछि उहाँले लेख्नुभयो– ‘परशु प्रधानको निधनले नेपाली साहित्यक्षेत्रमा ठूलो रिक्तता छाएको छ । नेपाली आख्यानका विशिष्टतम् हस्ताक्षर हुन् उनी । परशुको साहित्यिक जीवनको प्रारम्भिक कालमा उनीसँग मेरो निकटतम सम्बन्ध रह्यो । भोजपुर कुलुङदेखि नै चिठ्ठीपत्रका माध्यमबाट निकटता बढाउने काम उनले गरेका थिए । ‘रचना’ पत्रिका प्रकाशनको शुरूको समयमा भोजपुरबाट प्रशस्त ग्राहक बनाएर उनले गरेको सहयोग अत्यन्त फलदायी रह्यो । पछि रचना परिवारमा नै सामेल भए उनी । रचना आज जुन स्थितिमा छ, त्यसको जग मजबूत पार्न परशुले गरेको सहयोग बिर्सन सकिँदैन । उनका प्रारम्भिक सिर्जना प्रकाशनको अवसर पनि रचनाले पायो । रचनाप्रति वेलावेला कृतज्ञ हुन पनि बिर्सदैनथे उनी । आफ्ना प्रिय मित्र र नेपाली वाङ्मयका शीर्ष साधक परशु प्रधानको अवसानको खबरले मर्माहत भएको छु म ।’
वस्तुतः नेपाली साहित्यका संस्था रोचक घिमिरेसँग भेटिँदाको खुशीका यी एकसरो अभिलेख मात्र हुन् । उहाँका बारे लेख्नुपर्ने विषय धेरै छन् । यौटा कुरा भने यहाँ स्मरणीय हुन्छ उहाँको अनुहारलाई व्यक्तिचित्रमा उहिल्यै साहित्यकार विजय मल्लले उतार्नुभएको रहेछ । आज हेर्दा त्यसमा रोचक घिमिरेको युवा भाव झल्किन्छ । जुन चित्र त्यो बेला जोरगणेश प्रेस, बालाजुमा थियो । त्यहाँ कलाकार टेकबीर मुखिया पनि काम गर्नुहुन्थ्यो । घिमिरेको अनुहारलाई उतार्दै साहित्यकार मल्ल सोध्नुहुन्थ्यो– ‘मुखियाजी रोचकजीको अनुहार चित्रमा आयो ?’