कलाश्रीको कविता विशेषाङ्क विमोचन तथा शान्ति कविता गोष्ठी आयोजना

कलाश्रीको कविता विशेषाङ्क विमोचन तथा शान्ति कविता गोष्ठी आयोजना

लोकसंवाद संवाददाता  |  साहित्य  |  असोज १२, २०८१

काठमाडौँ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले एनएलजी विशेष कविता गोष्ठीको आयोजना गरेको छ ।

सोही अवसरमा प्रतिष्ठानले वार्षिक साहित्यिक पत्रिका ‘कलाश्री’को १२औँ अंक कविता विशेषाङ्कका रूपमा सार्वजनिक गरियो । प्रतिष्ठानद्वारा हालै काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् तथा कवि तुलसी दिवसलगायतले ‘कलाश्री’को कविता अंक विमोचन गरेका थिए । उक्त अवसरमा हास्य–व्यंग्यकवि लक्ष्मण गाम्नागेलाई ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ ११ हजार नगदसहित अर्पण गरिएको थियो । कार्यक्रममा एनएलजी इन्सुरेन्सका अध्यक्ष विमल वाग्लेले नेपाली कलासाहित्य डटकम साहित्यिक इ पत्रिकाको नयाँ अंकको शुभारम्भ गरेका थिए ।

अतिथि कवि विश्वविमोहन श्रेष्ठद्वारा ‘आँसु’ शीर्षकको कविता वाचन गरेर एनएलजी विशेष कविता गोष्ठीको शुभारम्भ गरिएको कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले ‘तिमी नहुँदा पनि उस्तै हुन्छ’ शीर्षकको कविता वाचन गरेका थिए । एनएलजी विशेष कविता गोष्ठीमा कविहरू प्रमोद प्रधान, लक्ष्मण गाम्नागे, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, फूलमान बल, कपिल अञ्जान, हेमन्त विवश, शान्ति प्रियवन्दना, रसिक राज, भैरवी भूगोल, मोहित जोशी, अस्मिता मानन्धर, प्रमोद सारङ्ग र रोशन परियारले आ–आफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रममा विमोचित पत्रिका ‘कलाश्री’माथि महेश पौड्यालले समीक्षात्मक मन्तव्य राखेका थिए भने कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष कवि एवम् निबन्धकार मोमिलाले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा प्रतिष्ठान अग्रसर रहेको बताइन् । कार्यक्रममा प्रमुख अथिति कवि तुलसी दिवस, कवि डा. विमल कोइराला प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीलगायतले बोलेका थिए । ‘कलाश्री’ कविता विशेषाङ्कमा एक सय ७५ जना कविका ताजा कविताहरू समावेश गरिएको सम्पादक मोमिलाले बताइन् ।