९४ लाखभन्दा बढीको भन्सार छलीको सामान, ट्रक र पिकअप गाडी सशस्त्र प्रहरीको  नियन्त्रणमा

९४ लाखभन्दा बढीको भन्सार छलीको सामान, ट्रक र पिकअप गाडी सशस्त्र प्रहरीको  नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज १४, २०८१

रुपन्देही । रुपन्देही र पश्चिम नवलपरासीबाट ९४ लाखभन्दा बढीको भन्सार छलीको सामान, ट्रक र पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–३ बेतहानी ईलाकाबाट असोज १३ गते बेलुका २४ लाख ८९ हजार १ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, जुत्ता, मोबाईलको पार्टस् र उक्त सामान ल्याउन प्रयोग भएको करीब ७ लाख बराबरको एउटा गाडी नियन्त्रणमा लिइएको   छ । 

अवैध रुपले लु १ च ६३२४ नम्बरको फोर्स पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा सामानसहितको गाडी नियन्त्रणमा लिइएको हो । बरामद सामान र गाडी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको सशस्त्र प्रहरीका सह प्रबक्ता  डिएसपि शैलेन्द्र थापाले जनाएका छन् ।

यसैगरी पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–२ चिसापानीबाट असोज १३ गते बेलुका करीब ३२ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिइएको छ । 

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकमा राखेर अवैध रुपले ल्याउँदै गरेको ६ सय बोरा चिनी, मोबाईल कभर, टेम्पर ग्लास तथा विभिन्न किसिमको भाडावर्तन सहितको करीब ३० लाख मूल्य बराबरको ट्रक नियन्त्रणमा लिइएको हो । चिनीको विल बनाएर अवैध रुपमा ल्याइएको मोवाइलको टेम्पर ग्लास १५ हजार २ सय २० वटा, विभिन्न किसिमका मोबाईलका कभर ९ सय ५० वटा, काँसको आरती दानी २ सय ६१ थान र सुराही १३ थान सामान बरामद भएको हो ।

  नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको छ ।सीमा क्षेत्रबाट हुने तस्करिकाबारे  सशस्त्र प्रहरी बलले प्रधान कार्यालयमा सुचना प्राप्त हुने गरि संयन्त्रको बिकाश गर्दै गएपछी ठूलो परिणाममा सामान बरामद हुने गरेको छ ।