ज्ञानेन्द्र विवश | अन्तर्मन्थन | असोज १९, २०८१
नेपाली इतिहास र संस्कृतिका विज्ञ विद्वान आदरणीय प्राध्यापक डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठ; जसले केही महिनाअघि चार दशक खर्चेर तयार पार्नुभएको अत्यन्त महत्वपूर्ण कृति ‘अन्तरङ्गका तरङ्गहरू’ सार्वजनिक गर्नुभएको थियो । १०१ वटा ऐतिहासिक दस्तावेजहरू रहेको ११६० पृष्ठको बृहत सो ग्रन्थकृतिले नेपालको इतिहास, संस्कृति र पुरातत्वका बहुआयामिक पक्षमा सचित्र र सविस्तार व्याख्या–विवेचना गरेको छ ।
यसभन्दा अघि उहाँले अध्ययन, अनुसन्धान गरी लेख्नुभएको एक दर्जनभन्दा बढी नेपाली इतिहास, संस्कृति र पुरातत्वसँग सम्बद्ध महत्वपूर्ण कृतिहरू सार्वजनिक गरिसक्नुभएको छ । तर हाम्रो नेपाली समाज यति कृतघ्न छ कि कृतज्ञतासमेत व्यक्त गर्न कन्जुस्याइँ गर्छ । योगदानको चर्चा र सम्मानको कुरा एकादेशकै कथामा सीमित छ ।
यति गहकिलो कृति लामो र अनवरत अध्ययन, अनुसन्धान, खोज र समर्पण पश्चात मात्रै उपलब्ध हुनसक्छ । यस कार्यमा उहाँले गर्नुभएको प्रयास स्तुत्य र अनुकरणीय छ । यस निम्ति डाक्टर साबलाई हार्दिक–हार्दिक बधाई तथा शुभकामना !
उहाँको निवास एकान्त, शान्त र मनोरम कटुन्जे, भक्तपुरमा यही असोज १५ गतेको साँझ यस्ता अग्रज व्यक्तित्वसँग भेट्नु र कृतिको आदान–प्रदान आफैँमा गौरव र खुशीको कुरा हो । यो अवसरका लागि पुरुषोत्तमलोचन सरलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु । आगामी दिनमा पनि यस्तै गहकिलो ग्रन्थ सिर्जना र प्रकाशनका लागि हार्दिक शुभकामना र शुभेच्छा प्रकट गर्छु ।
यसभन्दा अघि ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’ शीर्षकको उहाँको पुस्तकमा पनि इतिहासका विगत पाटाहरूलाई उतार्न सफल छन् । काठमाडौँ उपत्यकामा मानव विचरणको इतिहास दश लाख वर्ष पुरानो रहेको अन्वेषणबाट प्राप्त प्रारम्भिक तथ्य उल्लेख भएको सो पुस्तकमा उल्लेख छ ।
सधैँ इतिहास र संस्कृतिकै अध्ययन, अनुसन्धानमा व्यस्त रही रमाउने प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ । अलिकति फुर्सद मिल्यो कि आफ्नै विद्यार्थीहरूको लर्कोसँगै नयाँ गन्तव्य प्रस्थान गर्नुहुन्छ । त्यहाँ पुगेपछि केही न केही नयाँ रहस्यको पर्दा खुल्छ । पुरिएर रहेका, छोपिएर र लुकेर रहेका अमूल्य सम्पदाहरूको अध्ययन, अनुसन्धान, नापजाँच गर्नुहुन्छ । अनि त्यसबाट नयाँ तथ्यको फेला पार्नुहुन्छ । भावी पुस्तालाई नयाँ सम्पदाको रहस्योद्घाटन गरिदिनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– ‘स्वर्ग’ र ‘नरक’ को अवधारणा मानवीय चिन्तन र प्रवृत्तिको उपज हो । यस कुरालाई व्यावहारिक दृष्टिले हेर्दा जुन सफा र सुन्दर छ, त्यो स्वर्ग हो र जुन फोहोर र दुर्गन्धित छ, त्यो नरक हो भनी मान्न सकिन्छ ।
इतिहासको खोजी गर्दै र त्यसको अवशेषमा देशको ‘नाम’ र खास ‘जन्म’ खोज्दै पत्ता लगाएपछि सन्तुष्टिको आनन्द लिने आदरणीय व्यक्ति पुरुषोत्तमलोचन श्रेष्ठ हुनुहुन्छ ।
उहाँ अगाडि भन्नुहुन्छ– ‘पृथ्वीनारायण शाहले काठमाडौँ जित्दा गोर्खाली नै थिए । त्यसको ११ दिनपछि पाटन जिते, गोर्खाली नै रहे । एक वर्षपछि अर्थात् वि.सं. १८२६ मा भक्तपुर जिते । अनि मात्र उनी नेपाली भए । सारा इतिहासकारले एक स्वरमा भन्छन्– भक्तपुर जितेपछि गोर्खालीहरू नेपाली भए । गोर्खा राज्य रहेन । राजधानी गोर्खा भएन । देशको नाम नै नेपाल भयो । शाहहरू आए । यहीँ दरबार बनाएर बसे । इन्द्र जात्रालगायत यहाँका परम्परागत उत्सव–पर्वहरूका हिस्सेदार बने । यसो हुनु भनेको पुरानो लवजमा नेवार हुनु हो । परिष्कृत उच्चारण मात्र नेपाल हो ।’
नेवार संस्कृति, सभ्यता प्राचीन रहेको बताउँदै उहाँ यसले नेवार संस्कृति र सभ्यताको तागतलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँको अध्ययनले भन्छ– ‘आभीर (गोपाल, महिषपाल), शाक्य, मल्ल, लिच्छवि, कोलीय, बृजिक जोसुकै होऊन्, यहाँको संस्कृति, संस्कार, जात्रा, चाडपर्व, रीतिरिवाजलाई यसै गरी आत्मसात् गरेका थिए । र, ती सबै नेवार भएका थिए । आज पनि नेवारकै पहिचानमा छन् ।’
यसैगरी उहाँका कृतिहरू जुन इतिहासका ग्रन्थहरूलाई प्रकाशन गर्न पनि प्रज्ञा–प्रतिष्ठान वा अन्य प्रकाशन संस्थाहरूले चासो देखाएको देखिँदैन । ‘अन्तरङ्गका तरङ्गहरू’ नामक बृहत ग्रन्थलाई बरु संचित वचत तथा ऋण सहकारी संस्था लि, भुलाँचा ४, भक्तपुरले प्रकाशित गरेको छ । जुन पुस्तकको मूल्य पाँच हजार रुपैयाँ छ ।
यस्तो तपश्वी अन्वेषक, इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठको योगदानलाई राज्यले सम्झने चेष्टासम्म पनि गरेको जस्तो लाग्दैन । यसैबीच एक दशकअघि लुकेर रहेका इतिहासको अनुसन्धान गरी प्रकाशमा ल्याउने महत्वपूर्ण काम गरेको भन्दै ‘जोशी रिसर्च इन्स्टिच्युट’, ललितपुरले उहाँलाई ‘इतिहास रत्न’ उपाधि दिएको यहाँ सम्झना हुन्छ । हुन त यस्ता तपश्वी साधकहरू आफ्नै कर्ममा मग्न रहन्छन् । तिनलाई राजनीतिसँग कुनै लिनु दिनु हुँदैन । पद–प्रतिष्ठाको पनि मोह हुँदैन । व्यक्तिबाट आफैँ संस्था र स्वनाम धन्य
भक्तपुरको वसन्तपुर दरबारबारे उहाँ भन्नुहुन्छ– ‘काठमाडौंको वसन्तपुर दरबार त हामी धेरैले देखेका र सुनेका छौँ । तर, भक्तपुरमा पनि वसन्तपुर दरबार थियो भन्ने कमैलाई थाहा होला । भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारसँगै श्री पद्म मा.वि. छ । त्यहाँ ढोकाका दायाँबायाँ अजंगका सिंहका प्रतिमा छन् तर ढोकाभित्र पुरानो भवन छैन । वसन्तपुर दरबारको मूलढोका यही हो ।’
इतिहासविद् श्रेष्ठका अनुसार राजा जगत प्रकाश मल्ल (ई.सं. १६४४–१६७३) ले रानी बस्नका लागि सो दरबार बनाइदिएका थिए । जुन वि.सं. १९९० सालको भुइँचालोमा गर्ल्यामगुर्लुम ढल्यो । र, ढोका मात्रै बाँकी रह्यो, तर विडम्बना इतिहास बोकेको त्यो वसन्तपुर दरबारको हालसम्म पनि पुनःनिर्माण हुन सकेको छैन ।
वास्तवमा नदी नालालाई स्वतन्त्र रूपमा बग्न दिनुपर्छ । तिनको बग्ने अधिकारलाई हनन गरेर घर बनाउँदा, बाटो बढाउँदा, पुल पुलेसा निर्माण गर्दा नै हो विपत्तिले विरूप वरण गर्ने । नदी सभ्यता हाम्रो इतिहास हो, पहिचानको अर्को पाटो हो । उहाँले भने जस्तै अब यिनको स्वतन्त्र प्रवाहमा अवरोध हटाउनु आवश्यक छ ।
धनबज्र बज्राचार्यका असली चेला प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको अन्वेषण कार्यले इतिहासका अनेकौँ पाटाहरू प्रकाशमा ल्याएको छ । विश्वमै दुर्लभ चट्टान अभिलेख, गुफा अभिलेख, गहालेख, गुहा चित्र जस्ता दुर्लभ सम्पदाहरूसमेत उहाँले पत्ता लगाउनुभयो । उहाँको मान्यता छ– ‘भौतिक सम्पदा गहन कुरा हो । भौतिक सम्पदा ढल्यो भने त्यो सँग गाँसिएर आएका अभौतिक सम्पदाहरू पनि स्वतः मासिएर जान्छन् । यसबारे लेखिएका सम्पदाहरू ज्ञान सम्पदा हो ।’
थप जानकारी दिँदै उहाँ भन्नुहुन्छ– ‘वास्तवमा ‘ज्ञान सम्पदा’ सम्पदाको पनि सम्पदा हो । त्यसलै यसलाई हामी सबैले बचाएर भावी पुस्ताका लागि समेत सुरक्षित राख्न सक्नुपर्छ । अतीत वर्तमान भएर आउँछ । पाँचौँ शताब्दीका कुराहरू वर्तमान भएर आउँछन् । भोलि भौतिक, अभौतिक सम्पदा ढल्ला तर त्यसबारे लेखिएको ज्ञान सम्पदा कदापि ढल्दैन । त्यो सदा अमर रहिरहन्छ ।’
उहाँलाई चट्टान, गुफा, प्राचीन अभिलेख, शिलालेख, मन्दिर, मूर्तिलगायतका विगतको मानव समाजको जीवनको छनक लुकेको हुन्छ भन्ने कुरामा पूरा विश्वास छ । त्यही विश्वासका आधारमा उहाँले इतिहासका कैयौँ नयाँ तथ्यहरू फेला पार्नुभएको छ । जुन उहाँका लागि मात्रै होइन हामी सबैका लागि ठूलो उपलब्धि हो ।
‘असल काम सुन्दर, उदाहरणीय र प्रेरक हुन्छ । मिलेका मनले गरेका सानो कामले पनि ठूलो उपलब्धि मिल्छ र त्यसबाट सबैको कल्याण हुन्छ’ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।
अहिले बाढी वितण्डाले देशभरि नै मानिसलाई प्राकृतिक विपत्तिले रुवाइरहेको छ । यसै सन्दर्भमा उहाँले गत वर्ष फ्रान्स यात्राका क्रममा ओरेन्ज शहर पुगेर त्यहाँको ‘ला मेन’ मा गर्नुभएको अनुभव यहाँ उल्लेखनीय र सान्दर्भिक हुन्छ ।
यसबारे उहाँ यसरी जानकारी दिनुहुन्छ– ‘त्यहाँ यो खोला देख्नेवित्तिकै यसले मलाई तत्क्षण मेरो देशको मुटुमा रहेको ‘टुकुचा’ लाई झल्झली सम्झायो । मेरो साथमा मेरो परिवारका सदस्यहरू पनि थिए । मलाई जस्तै उनीहरूलाई पनि त्यस्तै झझल्को यस खोलाले दिएको रहेछ र उतिखेरै एकै स्वरले, एक आपसमा एकले अर्काको सही थाप्दै भन्न थाल्यौँ– ‘यो त हाम्रो टुकुचाजस्तै छ त । हेर न, उस्तै सानो, साँघुरो, दुवै किनारामा घरहरू पनि उस्तै गरी ठडिएका, फ्रान्सको टुकुचा ।’
‘ला मेन’ को सुन्दरताले हृदयदेखि उर्लेको फ्रान्सेली मन र सुन्दर सोंच अनि मानव अतिक्रमणले झन्डै लोपोन्मुख एवम् ढलको अवस्थामा परिणत हुन पुगेको हाम्रो टुकुचाको दयनीय नियतिले दिमागदेखि उब्जेको नेपाली सोंच र विचारको प्रतिनिधित्व गरेको छ भन्दा सायद अतिशयोक्ति नहुने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार जल, जमीन र जङ्गलको उच्च सम्मान, संरक्षण, सम्वर्धन सहितको सदुपयोगले देश स्वर्ग बन्छ, दुरुपयोगले नर्क बन्छ । अनि देशवासीले नारकीय दुःख पाउँछन् । फ्रान्सले प्रकृतिप्रदत्त यी तीन बरदानको सम्मानपूर्वक सही ढङ्गले सदुपयोग गर्दै आएको देखिन्छ । ‘ला मेन’ यसको उदाहरण हो ।
‘नेपाल मण्डलबाट निसृत हुने अनेक नदी र खोलालगायत टुकुचा पनि नहुँदो हो त नेपाल मण्डलको सभ्यता र संस्कृतिको कल्पना गर्न सकिन्न । वाग्मती, विष्णुमती, मणिमती, रूद्रमती, मनोहरा, हनुमन्ते, कासांखुसि (खासाङखुसुङ) लगायत टुकुचाबाट पनि उठेको सभ्यता नेपाल मण्डलको सभ्यता हो ।’ इतिहास, संस्कृति र पुरातत्व विषयका गम्भीर अध्येता तथा लेखक पुरुषोत्तमलोचन श्रेष्ठ भन्नुहुन्छ ।
यी नदी सम्पदाहरूको सभ्यता नबुझ्दा र यिनको संरक्षणप्रति उदासीनता देखाउँदा प्राकृतिक प्रकोपका दुःखदायी घटनाहरू घटित हुने उहाँको ठहर छ । वास्तवमा नदी नालालाई स्वतन्त्र रूपमा बग्न दिनुपर्छ । तिनको बग्ने अधिकारलाई हनन गरेर घर बनाउँदा, बाटो बढाउँदा, पुल पुलेसा निर्माण गर्दा नै हो विपत्तिले विरूप वरण गर्ने । नदी सभ्यता हाम्रो इतिहास हो, पहिचानको अर्को पाटो हो । उहाँले भने जस्तै अब यिनको स्वतन्त्र प्रवाहमा अवरोध हटाउनु आवश्यक छ । यसो गर्न सकियो भने बाढी प्रकोपको विपत्ति झेल्नु पर्दैन र सौन्दर्यको हरण भई उजाड वातावरणसमेत आउन सक्दैन ।