ज्ञानेन्द्र विवश | समाज | असोज २६, २०८१
सोचौँ न एकैछिन फुल जस्तै जीवन बाँच्न पाए कस्तो हुँदो हो ? फूलको जस्तै रङ आफ्नो भए कस्तो हुँदो हो ? त्यसैले यो बडा दशैंमा फूलजस्तो जीवन बाँचौँ, फूलजस्तो जीवन हाँसौँ, फूलजस्तो हाँसौँ, फूलजस्तो खुशी साटौँ ।
शुभकामनाका पवित्र सौगातहरूको आदान–प्रदान गर्दै सम्बन्धहरूलाई सुमधुर राखौं ।
फूलको जीवन जीवन्त जिन्दगीको अर्को पर्याय हुन सक्छ फूलको जस्तो निर्दोष निश्चल र निर्मलपन भए जीवनको अर्थ र अभिप्राय नै कति फरक हुन सक्थ्यो होला ? सोचौं न एकछिन, सम्झौं एकपटक फूलको जस्तै जीवन हामी पनि बाँच्ने कोशिश गरी हेरौँ न !
नहुने कुरा नहोला, हुने कुरा त हुन्छ अवश्य पनि हुन्छ । कोशिश न हो, प्रयत्न न हो, प्रयास न हो । यति गर्दा कसो सोँचेको कुरा पूरा नहोला र ! मान्छेले प्रगतिको फड्को मारेर चन्द्रमामा पाइला टेक्नुसँगै बसोबासको चाँजोपाँजो मिलाइसके । तर हामी भने आफ्नै धर्ती–धरातलमा सुखले बाँच्न, खुशी बाँड्न, दुःख साट्न अझै मरितरी घस्रिरहेका छौं ।
आफैंलाई थाहा छैन प्रत्येक पलको मूल्य र महत्वको कुरा । प्रत्येक दृश्य र दर्शनले दिने सन्देश र सद्भावको कुरा । हामीलाई सधैं चाहिने, सबैलाई मनपर्ने फूलकै कुरा गरौं । फूलमा के छैन जीवनसँग तुलना गरौँ । अथवा रूपरङको बान्की–बनोटसँग तुलना गरी हेरौं । फूलको जिन्दगी नै छ अत्यन्त अनुकरणीय !
फूल झैँ फक्रन सिकौं, फुल्न सिकौँ । सुगन्ध आफू वरपर चारैतिर फैलाउन सकौँ । बाधा र बन्धनरूपी दुःख र तनावरूपी काँडाका तिखातिखा विषालु स्वरूप संरचनाहरूलाई लात हानेर फूल जस्तै ढकमक्क फुल्न सकौँ । फैलिन सिकौं ।
आफू आफैँसँग सुरक्षित छैनौँ हामी । जीवनकै भरोसा छैन । यहाँ कहिले, कुन बेला के हुने हो कसैलाई थाहा छैन । तै पनि हामीबीच हुर्कदो छ– लोभ, लालच, घृणा र दोषीपन, निर्दोषीपन, ठूलो, सानो, गरिब, दुःखीको भेदविभेद ।
देवीदेवताको शिरमा पनि शोभायमान । मान्छेका गलामा पनि शोभायमान । पवित्र पुष्प तिमी सबैलाई मनपर्ने । सबैका घरघरमा हुने । फुलेर सारा दुःख र तनावलाई बिर्साउँदै । आनन्दमय शीतल, शान्तिको भाव महसुस गराउने ।
यी अनेकौं असमानता, मतभेद र मतान्तरहरूलाई त्यागेर योभन्दा अलग यात्रामा हिँड्नुको विकल्प छैन । जहाँ मनले शान्तिको आभास महसुस गर्न सकोस् । जहाँ आँखाले सौन्दर्यपान गरिरहन पाओस् । र, हृदय ढक्क नभइकन ढुक्कले मुस्कान ओँठमा, अनुहारमा लेपन गर्दै सधैँ हाँसिरहन सकोस् । हँसाइरहन सकोस् । कसैको पनि कुभलो नहोस् । सबैको शुभमङ्गल होस् ।
काँडैकाँडाको भीडमा पनि बाँच्न सकेको फूल । हाँस्न र हँसाउन जानेकौ फूलले नै । धेरै भीरको भिरालो अप्ठ्यारोमा पनि फुल्न जानेको । कतै कहिल्यै कसैको चासो र चिन्ता छैन । सधैं फूल भएर फुल्नुमै आनन्द छ । आफू मात्र आनन्दित हुनु छैन । अरुलाई पनि आफूलाई भन्दा बढी आनन्दको भाव सञ्चार गराउनुमा झन् आनन्दित ।
फूल कति प्रिय फूल !
अनेकौँ रङहरूका राज्य, साम्राज्य नै फूलका पत्रपत्रमा, फूलका फुलेका पाटाहरूमा आँखाले अघाउँजी हेरेर नघाउने ती रङ्गहरूको विविध बान्कीलाई कुन रङ, के हो कस्तो हो बताउनै नसकिने । अनेक थरी फूल, अनेक थरी रङहरूका मिठासयुक्त मिलनले भरिभराउ ।
चम्पाचमेली, बेगनबेलीहरू, पारिजात सुनगाभाका मगमग बासनाले मनै आनन्दित । वातावरणै सुगन्धित । कति मादक, कति मोहक, कति प्रिय फूल तिमी !
अनेक–अनेक रङहरूका छटा–छविमा छताछुल्ल भएर पनि मिठो सुगन्धको त्यत्तिकै । आनन्दमा लठ्ठै पार्ने । कस्तो रूप ? मौरी र भमराहरू अरू चराचुरुङ्गीहरू रस चुस्न चोर्न फूलमै झुम्मिन्छन् ।
फूलका रङ्गहरू जस्तै अनि रङहरूको सौन्दर्यमा अरू सबैलाई मोहित पार्न सकौँ । सबैको प्रिय हुन सिकौँ । कसैको आँखामा बिझाउने कसिङ्गर होइन । आँखाको नानी बन्न जानौँ ।
फूल जस्तै बनौँ, फूल जस्तै हाँसौं । फूल जस्तै बाँचौं । फूल जस्तै व्यवहार र बोली गरौं ।
कसैलाई नबिझाउने, कसैलाई नदुखाउने प्यारो प्यारो फूल जस्तै स्वभावले जीवन बाँचौं ।
पूजाआजामा फूलकै खाँचो । जात्रापर्व, संस्कार–संस्कृतिमा फूलकै खोजी । बिहे व्रतबन्धमा फूल नै चाहिने । मानसम्मान, पुरस्कार अर्पणमा फूलकै गुच्छा, फूलकै माला ।
अरू त अरू, जन्मदेखि मरणसम्म फूलैफूलको आवश्यकता कति हो कति !? फूल नभए आस्था, आराधना नै अधूरो । फूल भए सबै प्रशन्न र पूर्ण ।
सबैलाई चाहिने, सधैंलाई चाहिने, सबैतिर हुने प्रिय फूल तिमी ! श्रद्धाको फूल, विश्वासको फूल, आस्थाको रङ्गीन जिन्दगी बाँच्ने फूल तिमी ! सारा रङहरूको साम्राज्यमा मनमौजी उपस्थित । आफूलाई सर्वाङ्ग सौन्दर्यका बिस्कुनहरूमा फैलाएर । चुपचाप प्यासी आँखाहरूलाई तृप्त पारिदिने । प्रिय अति प्रिय फूल तिमी नै हौ ।
देवीदेवताको शिरमा पनि शोभायमान । मान्छेका गलामा पनि शोभायमान । पवित्र पुष्प तिमी सबैलाई मनपर्ने । सबैका घरघरमा हुने । फुलेर सारा दुःख र तनावलाई बिर्साउँदै । आनन्दमय शीतल, शान्तिको भाव महसुस गराउने ।
धन्य फूल तिम्रो जिन्दगी ! तिमी जस्तै हामी पनि हुन सकौँ; बन्न सकौँ ।
फेरि कति शौभाग्यशाली !? कति मनमोहनी !
फूलको जीवन, यस्तै जीवन हामी बाँचौँ ! यस्तै जीवन हामी जिउँ । रङहरूका अनेकौं छटा–छविमा रूप–लावण्य प्रस्तुत गर्दै; इन्द्रेणी रङहरूको मिलनमा घोलिँदै, कलाकारको कलाकारिताभन्दा तिक्खर र मौलिक कलाको रहस्यमय स्वरूपमा फूलहरू जस्तै सधैँ फुलि रहौँ । यसरी नै यसैगरी...!
आहा कति दिव्य रूप, कति सौन्दर्यले झकीझकाउ स्वरूप ! जसलाई कसैले सिँगारी दिनै परेन । गाढा रङमा, गाढा रङ छ । फिक्का रङमा फिक्कापनकै उपस्थिति छ । सपक्कै मिलेको । कतै नमिलेको भन्ने नै लाग्दैन । कसैलाई कसैले बनाउनै नसक्ने रङहरूको सम्प्रेषण कति मनमोहनी ।
बडादशैं २०८१ सालको सबै–सबैमा यही नै मेरो हार्दिक मङ्गलमय शुभकामना ! शुभकामना !