ज्ञानेन्द्र विवश | साहित्य | कात्तिक ०३, २०८१
शोकमग्न समयका वर्तमान बाछिटाहरूले भिजाउन थालेपछि कहाँ सौन्दर्यको संसारमा रमाउन सक्नु ! कहाँ प्राकृतिक सौन्दर्यमा भुल्न सक्नु ! मानवीय मन रूवाबासीमा । यात्राले गाईजात्रा मनाउन थालेपछि बेहाल हुनु स्वाभाविक हो । गाई जात्राको उत्सव भए त उमङ्गले रमाउनुहुन्थ्यो । तर जलमग्न जमीनमा ओभानो ओत छैन । पाइला सार्ने डेगिलो ठाउँ छैन । बाटो स्वयम् हराइरहेको बेला । जाँदा जाँदैको बाटो नै नभएको बेला । बाटोबाटै बाटोले आफ्नो अस्तित्व समाप्त पारेको बेला ।
यसरी बिच बाटोमा अलपत्र परिरहेको बेला कहाँ लेखकीय मन ढुक्कले सिर्जनामा रमाउन सक्छ र ! हृदय संवेदित भइहाल्ने रहेछ । मान्छेको मन न हो सानै कुराले र सामान्य दृश्यले पनि मन र मुटु छोइहाल्दोरहेछ । त्यसपछि शोकमग्न परिवेशले अङ्गालिहाल्ने । कहिल्यै नसोँचेको घटनाले आहत पार्ने रहेछ ।
भोग्नेहरूले जसरी भए पनि सहेर बाँच्नै प¥यो । देख्नेहरूका लागि पनि साह्रै कष्टमय पलहरू । बाढीले बाटो र बस्ती बगरमा परिणत गरिदिएपछि हिँड्ने बाटो बिलायो । पुग्ने गन्तव्य अनकन्टारको भयो ।
कति दुःखका कहरहरू भोग्नुपर्ने यो छोटो जिन्दगीले ! कति कठिनाइका कष्टहरू झेल्नुपर्ने यो जीवनले ! थाहा छैन अझै कस्ता अपठ्यारा र असजिला परिस्थितिहरू आउने हुन् !?
जानेहरूको दुःख र गएर फर्किनेहरूको दुःखलाई खै कसले देख्न सक्यो र ! कसले मनन महसुस गयो होला र !? शोकमग्न घडीमा मल्हमपट्टी बिरानै भयो ।
एक्लो यात्री एक्लै रह्यो । सधैँ पतझडको मौसम कायमै रह्यो । सिक्रिटाट रुखले मनै रुवाएर दिक्क पार्यो । सुन्दर प्रकृतिको बेहाल भयो । बोटबनस्पतिका कलिला मुनामुन्टा निमोठिए । पशुपक्षी, कीटपतङ्गले पनि बिल्लिबाठको अवस्था भोगे । भेलबाढीमा बगेरै मरण भयो ।
देखे भने, व्यक्त गरे भने र गुनासा दुखेसाहरू पोखे भने तिनै सास्ती बेहोर्ने यात्रीहरूले गरे । देख्ने र लेख्ने सञ्चारकर्मीहरूले गरे । गर्नु त गरिसके । परन्तु उद्दारको कुनै उपाय गरेनन् । दर्दनाक हेरि नसक्नु दृश्यहरू मात्र देखाए । समाचार मात्र लेखे । ती विचल्लीमा परेका यात्रीको उद्दारको उपायमा सहानुभूति, समवेदना र सद्भाव व्यक्त गरेको थोरै मात्र देखियो । बिचल्लीमा छटपटाएका यात्रीहरूलाई सजिलै गन्तव्यसम्म पुर्याउने कुनै साथ सहयोगको कार्य बाढीसँगै बग्दै गइरह्यो ।
लगातार समाचारहरूमा आइरहे । दुःखहरू पोखिरहे । गुनासाहरू गुन्जिरहे । प्रतिक्रियाहरू प्रकट भइरहे । यस्ता कहालीलाग्दो कष्टका कठिन दिनहरूलाई धन्न नेपाली ज्यानले सहनुसम्म सहेका छन् । र, लक्ष्यसम्म पुग्नलाई हिम्मत हारेका छैनन् । त्यही भएर त राजनीतिक दलका प्रतिनिधिहरूलाई भोट हाल्न पनि मरिहत्ते गर्छन् । जसलाई जिताउँछन् तिनले तिनको आँशु पुछ्नेसम्म चेष्टा गर्दैनन् । दुःख बुझ्नेसम्म समय निकाल्दैनन् । चिन्दैनन्, बोल्दैनन् । टाढिन्छन् र भाग्छन् । थाहै नपाएको जस्तो गर्छन् ।
दशैकै मुखमा यस्तो भवितव्य घटित हुँदा जान पनि गाह्रो । फर्किन झन् साह्रो भयो । कठै नेपालीको जीवन नियति ! प्रत्येक पल पाइला–पाइलामा दुःखका भुँमरीले अत्यास गराउने, आहत गराउने ।
बल्लतल्ल मुस्किलले मिलेको अलिकति खुशी पनि अनायसै खोसिने । त्यो खोसिएको खुशी बाढीको धमिलो भेलसँगै बगेर कतै अनकन्टारमा मिसिने । अनि बाँकी रहने भनेको अभावका अलक्षिना क्षणहरू । दुःखका कहालीलाग्दा कहरहरू ।
जानुपर्ने ठाउँसम्म जानलाई सजिलो बाटो छैन । गाडी गुड्ने सडक त छैन, छैन; मान्छेका पाइला घिसार्ने सजिलो ठाउँसम्म छैन । बाटै छैन । बाटो नभएपछि कसरी गन्तव्यसम्म पुग्न सक्नु ? घिसार्दै पाइलालाई कसरी पुग्नु ? कतिका झोला नै बगायो । हातमा च्यापेर जोगाउँदा–जोगाउँदै धेरैका जुत्ता चप्पल बाढीकै साथ लिएर बग्यो । समाउने आधार र टेक्ने ठाउँ नभएपछि जोगाउनै नसकेर ज्यानै पनि बगेर गयो ।
जानका लागि पनि सास्तीमा महा सास्ती । केही दिन सुस्ताउन नपाउँदै । विश्राम गर्न नभ्याउँदै । भेटघाट, भलाकुसारी, घुमघाम र रमाइलोका महसुस गर्दा नगर्दै । समयले नेटो काट्ने । अनि फर्किनुको हतारो पश्चात् पो देखिने बिजोगको अर्को महा बिजोग ।
कति हन्डर । ठक्कर कति । हैरानी कति । अनेक किसिमका कष्टकर व्यहोर्नु पर्ने । आफ्नै देशको, आफ्नै गाउँ–ठाउँको आफ्नै भूमि–भूगोलको बाटो छिचोल्न पनि कतिसम्म मरिहत्ते गर्नुपर्ने हो ?
कहिले पहिरोको डर । कहिले बाढी प्रकोपको पीडा । कहिले पानीको मुसलधारे वर्षा । कहिले सुख्खा खडेरीको याम ।
बाटो नभए हिँड्ने मान्छेका गन्तव्य पुग्ने यात्रा नै हराउँछ । यात्रा नै जहाँको त्यही टुंगिन्छ । जब बाटो बन्छ । गाडी गुड्छ । यात्रा सहज बन्छ । सुविस्ताको हुन्छ । तर त्यही बाटो पहिरोले बगाएर लगेपछि बाटोको चिनो बानो रहँदैन ।
बाटो नभएपछि कहाँ गाडी गुड्नु ? कहाँ गन्तव्यसम्म सुविस्ताले सजिलै समयमै पुग्न सक्नु ? अनि बल्ल सुरू हुन्छ यात्रीको हालबेहाल अवस्था ।
कसले देख्ने यस्तो बिल्लीबाठको स्थिति !?
समाचारका अक्षरहरूमा पढिन सक्नु यात्राका कठिनाइहरूका पीडाहरू कति हो कति ! टेलिभिजन र युट्युबका च्यानलहरूमा सास्तीका कहालि लाग्दा दृश्यहरू । आनन्दले हेर्न नसक्नुका कति कष्टहरू । हिलोमा गाडिएका छन् । पहिरोको भासमा भाँस्सिएका छन् । हिँड्ने बाटो कहाँ ? पानी बग्ने खोला कता हो ? केही थाहा छैन ।
यस्तो अन्योलको बाटो न घाटोमा पाइला अगाडि सार्न नसकेर अलपत्र विचल्नीमा परेका ज्यानहरू ।
पसिनाले खलखलती । पानी प्यासले प्याक प्याक्ति । भोकले उस्तै ज्यान–प्राण हिरिक्क हुँदै । धिपिक्क निभ्नै लागेको बत्तीजस्तो । जीवन हो बाँचुन्जेल त आश बाँकी नै रहदोरहेछ ।
बोकेका झोला झ्याम्टाहरू कतै फालौँ जस्तो । फेरि त्यसमा रहेका मायाका कोसेलीहरू । लुगाफाटोका केही थान कपडाहरू । खिर्चिमिर्ची अरू केही सामानहरू कता फाल्नु, कसरी फाल्नु र बोकेर लैजानु पनि कसरी बिजोगले बोक्नु !?
नेपालीलाई कहिल्यै खुशीका दिन आएन । शुभ समाचारका सन्देश कुनै बिहान पनि पढ्न पाइएन । कहिले कहाँ दुर्घटना । कहिले कहाँ महामारी । कहिले डेङ्गोले मार्ने । कहिले भूकम्पले ज्यान लाने । कहिले मानवीय प्रकोप । कहिले दैवी विपत्ति । खण्डहर समय र सपनाहरू चकनाचुर हुँदै गइरहेका वर्तमान ।
केवल शोकमग्न परिस्थिति । तिनै शोकले थला परेका मायालु ज्यान–प्राणहरू । आफ्नै आँखा अगाडि आफन्त गुमाउनुका चोटहरू । भोक प्यासभन्दा ज्यानको माया ठूलो भएर पनि परिस्थितिको दाश बन्नुपरेका क्षणहरू । अनवरत करूण क्रन्दनहरू पनि मौन सन्नाटामा अरण्य रोदन भएर जानु अर्को दुःखद पाटो हो ।
अन्ततः जहाँ सुन्नेहरूले सुनिरहे । बुझ्नेहरूले बुझ पचाइदिए । अनि एकघुट्को पानी नपाउँदा घाँटी सुक्यो । रूँदारूँदा आँखा आँशु रित्तियो । ओँठमा कलेटी पर्यो । मन भक्कानिएर अवाक् भयो । केही बोल्न, बोलाउन नसकेर ट्वाल्ल परिरह्यो । जीवन हो कि मृत्यु वरण हो थाहा–पत्तो केही भएन । केवल शोकमग्न वातावरण ।
यसरी शोकमग्न समयका निर्मम प्रहारहरूमा प्रताडित मायालु ज्यान–प्राणहरू ! मृत्यु–उत्सवको ताण्डव नृत्यमा मूकदर्शक बनिरहे । बस्ती, बाटो र मायालु मनहरू बगाएको टुलुटुलु हेर्न विवश भइरहे ।
कस्तो फसादको समय । कस्तो बर्बादीका निष्ठुरी दिनहरू । घाउँ बिना पनि चहर्याइरहे मनहरू । भत्भती पोलिरहे प्रत्येक क्षणहरू । यिनै भए शोकमग्न समयका निर्मम प्रहारहरू । त्यसकै प्रताडनाले प्रताडित मायालु ज्यान–प्राणहरू !