छुटेका सहि उत्तरहरू

छुटेका सहि उत्तरहरू

सुरेश राई  |  साहित्य  |  कात्तिक ०४, २०८१

कोरियामा विदेशीहरुको लागि अध्यागमन विभाग अन्तर्गत 'कोरियन इमिग्रेसन एन्ड इन्टिग्रेसन प्रोग्राम (केआइआइपी) ' भनेर विभिन्न श्रेणीका कक्षाहरु सञ्चालन गरिन्छ । लामो अवधिका निम्ति यस देशमा रहेका विदेशीहरुलाई यहाँको रहनसहनमा सजिलो होस् भनेर यस्ता कक्षाहरूमा कोरियन भाषा र संस्कृतिको अध्यापन गराइन्छ । साथै त्यस्ता कक्षाहरु विभिन्न प्रकारका भिसा परिवर्तनका लागि सहयोगी हुने मात्र नभएर कतिपय अवस्थामा त अनिवार्य समेत गरिएका हुन्छन् । केही समयको लागि म पनि त्यस्तो कक्षाको ज्ञानी विद्यार्थी हुन पुगेको थिएँ ।

कक्षा एकदमै  बहुराष्ट्रिय एवं बहुसांस्कृतिक प्रकृतिको थियो । कक्षामा नेपाल, बंगलादेश , उज्बेकिस्तान, भियतनाम, कम्बोडिया , थाइल्यान्ड र चाइनाका विद्यार्थीहरु समावेश थिए। पहिलो दिनको परिचयात्मक कृत्यपछि जब मैले आफ्नो नजर कक्षा कोठामा सर्सर्ती घुमाएँ तब देखेँ मुस्कुराइरहेका अनुहारहरू ।कोही पोलपोटले मान्छे पोलेको देशबाट , कोही माओको रक्त क्रान्तिले रंगिएको देशबाट त कोही अमेरिकासँग मारामार युद्ध लडेको होची मिन्हको मुलुकबाट आएका । म आफै पनि दश वर्षे सशस्त्र द्वन्द्वमा सत्र हजार मान्छेको चिहान-घाट भएको देशबाट आइपुगेको हुँ । रक्तरञ्जित इतिहास र विगतका मृत ठुटाहरुमाथि वर्तमानका पालुवा बनेर हामीहरु यस गणतान्त्रिक दक्षिण कोरियामा कर्म गर्न सात समुद्र तरेर आइपुगेका छौं । इतिहासमा जतिसुकै मान्छे मरे पनि जत्रोसुकै युद्ध भोगे पनि आफ्नो मुलुकले सोचे जस्तो मुहार नफेरेपछि यो 'हान नदीको जादू'  भएको देशमा हामी यसरी भेटिएका हौँ  .

एक दिन आसन्न मौखिक परीक्षाको तयारी कसरी गर्ने भन्ने विषयमा शिक्षिकाले कक्षामा अभ्यास गराइरहेकी थिइन् । त्यसको निम्ति एक अनलाइनमा  एउटा प्रश्न लेखेकी थिइन्- 'तपाईं किन कोरिया आउनु भएको हो?' 

एक एक जनालाई उनले सो प्रश्न सोध्दै कोरियन भाषाको शुद्धताको जाँच र भाषिक ज्ञानको मूल्यांकन बडो ध्यान दिएर गरिरहेकी थिइन् । सबैभन्दा अगाडि बस्ने सुन्दर युवाले सललल बगेको भाषामा आफूलाई कोरियन ड्रामाहरुले स्कुले जीवनदेखि नै अत्यन्तै प्रभावित गरेको र कोरियाको स्थानीय किम्ची खानकै लागि मात्रै भएपनि एक पटक कोरिया पुग्ने अठोट लिएको कुरा बतायो  । कक्षामा पररर ताली बज्यो । जतिखेर पनि मुस्कुराइरहने अर्की सुन्दर थाइ युवतीले कोरियाको संस्कृति आफूलाई औधी मन पर्ने र कोरियन खानाको लत आफूलाई थाइल्यान्ड हुँदै लागिसकेको हुनाले आएको बताई । उसको भाषा उतिसारो बगेको थिएन त्यसैले थोरै ताली पाई । यसरी नै नानाथरी जवाफ र नानाथरी आवृत्तिका तालीहरू सुनिए । त्यसपछि पालो आयो भियतनामी हँसिलो युवा थान बेइन् जीको । उनले निर्दोष पाराले टुटेफुटेको भाषामा जवाफ दिए 'म त पैसा नभएर पैसा कमाउन कोरिया आएको हुँ' कक्षामा सबै गलल हाँसे । शिक्षिकाले निराश हुँदै भनिन्  'थान बेइन् जी , परीक्षामा पनि तपाईं त्यसै भन्नु  हुन्छ ?' मिस्टर थान बेइनले बडो ढुक्कसँग भने  'हजुर भन्छु' । कक्षामा फेरि अर्को पटक गलल हाँसो गुञ्जियो । तब मिस्टर थान बेइन अझ अगाडि बढ्दै बोले 

'अघि सबैले झूट बोलेका हुन् । खासमा सबै पैसा नभएर कोरिया आएका हुन् ' त्यसपछि वातावरण थोरै भारी भएर गयो । सन्नाटालाई चिर्दै शिक्षिकाले उँचो आवाजमा ठूला ठूला आँखा पार्दै चेतावनी दिँदै भनिन् 

'थान बेइन जी, त्यसरी भन्नु भयो भने तपाईंले परीक्षामा निसन्देह शून्य अंक पाउनु हुनेछ र तपाईं सिधै फेल हुनु हुनेछ ' 

अब भने हँसमुख मिस्टर थान बेइन गम्भीर देखिए । उनी चुपचाप आफ्नो आसनमा बसिरहे । सायद उनलाई ठूलो दुबिधाले सताइरहेको थियो । छोटकरीमा सत्य बोलेर फेल हुने कि फूलथुङ्गा जोडिकन मिलाएर बोलिएको झूटको साहारामा पास हुने ? व्याकरण र नियम मिलेको कपोलकल्पित कुरा ओकल्ने कि टुटेफुटेको उच्चारणमै सहि आत्माको आवाज बोल्ने ?

बरु उत्तरहरू सहि, गलत,नक्कली ,सक्कली , पूर्वाग्रही ,क्लिष्ट , दुरूह या कुनै अभीष्टले भरिएका हुन सक्छन् । छुट्न सक्छन् । लम्बिन सक्छन् । छोटिन सक्छन् । यदि कसैले अबदेखि हृदय खोलेर आफ्नो ब्रह्मले देखेको, आफूले बुझेको ,अन्तर आत्मालाई सहि लागेको उत्तर मात्रै दिनेछु भनेर अठोट गर्यो भने, के आजको समाज र यो दुनियाँ  अनुकुल छ त ?

जब म यो प्रकरणलाई सम्झन्छु मलाई प्रश्न र उत्तरको मेल अनमेल सम्बन्धहरूको गहिराइले तान्छ । मानिस प्रश्न र उत्तरको यस्तो असंगतपूर्ण खेल खेल्न अभिसप्त भैसकेको छ । आफूले दिएको उत्तरले अंक पायो कि पाएन ? पायो भने कति पायो? त्यसले कुनै काम बन्यो कि बनेन ? जागिर पाइयो कि पाइएन?  कुरा यत्तिमै अल्झिएको युगौं भइसकेको छ । मानिस आफूले फुर्का जोडेर बनाएको जवाफमा मख्ख छ ।

जिन्दगीको खाली पानामा केबल समय भर्नका निमित्त  अर्थहीन कति बाँच्यौ होला मान्छे ? सोचिहेर्दा झसङ्ग हुन्छु । खास प्रश्न के थियो? त्यसको खास उत्तर दिन सकियो कि सकिएन? जवाफ धर्मराउँदो आउँछ । कयौं पटक  प्रश्नहरु एकातिर थिए उत्तरहरू उत्तरै दिनको निम्ति मात्रै दिइए । जिन्दगीको प्रश्नको सहि उत्तरबाट भड्केर रुमल्लिरहेकाहरु जब जब देख्छु, ती 'अभागा' हरुको खुबै माया लागेर आउँछ । उसो त आफू स्वयम् पनि ती अभागा मध्यको होइन भनेर कसरी ठोकुवा गर्न सक्छु र ?

प्रश्न के थियो?  प्रश्न थियो 'के तिमीलाई तिम्रो इतिहास थाहा छ? ' जवाफमा उसले छाती चौडा पार्दै हाँकसँग भन्यो 'हो मलाई राम्ररी थाहा छ ' तब उसले डार्विनको उदविकासवादी व्याख्यादेखि कार्ल माक्स र अरु डेड दर्जन विद्वानहरूको मानव इतिहासको कुरा सुनायो । युवल हरारीका पुस्तक सेपियन्स देखि नेक्सस सम्मका कथाहरु बडो गर्वसाथ दोहोर्यायो । जब कि उसलाई आफ्नो माइला बाजेको नाम के थियो? आफ्नो हजुरबुबा  कुन भाइ थिए?  सम्म पनि थाहा छैन । आफ्ना बाजे पुर्खाले कुन खोलाको पानी पिउँथे थाहा नहुनेले प्रशान्त महासागरको इतिवृत्ति थाहा पाएर कस्तो इतिहास जानेको हो यसै भन्न गार्‍हो छ ।

प्रश्न के थियो? प्रश्न थियो 'के तिमी मसँग खुशी  छौ?' 

उत्तर आयो 'रमेश, म तिम्री विवाहिता पत्नी हुँ' 

रमेशले सोच्यो 'हो त ठीकै हो । स्वास्नी भनेको यतिकै खुशी हुनु पर्ने प्राणी हो । उसको स्वधर्म नै लोग्नेसँग खुशी हुनु हो ' उत्तर म तिम्री श्रीमती हुँ आयो र त्यसरी कुरा सक्कियो । भैंसी भनेको कालो हुनु हो र श्रीमती भनेको लोग्नेले जेजसो गरे पनि खुशी हुनु हो । एउटा वास्तविक उत्तर त्यहाँ त्यसरी छुटिगयो।

यो शिलशिला त निकै सानो उमेरबाट सुरु हुन्छ । प्रश्न के थियो ? प्रश्न थियो 'बाबू तिमी ठूलो भएर के बन्ने इच्छा छ?'  बालकलाई इच्छा हुन्थ्यो  घडी,रेडियो मोबाइल ,टेलिभिजन, रेफ्रीजेरेटर आदि खोलखाल पारेर हेर्ने । उसलाई रहर थियो मेकानिक कर्मको ।  तर उसले आफ्नो उक्त चाहनालाई घुटुक्क थुकसँग निल्दै जवाफ दियो  'डाक्टर बन्ने इच्छा छ' त्यो ऊ बोलेको थिएन, त्यो समाज बोलेको थोयो । एउटा बालकको जिब्रोबाट निस्किएको समाजको उत्तर थियो । यसरी त्यहीँबाटै उत्तर फरक पर्न सुरु भयो । त्यसपछि उत्तरहरूको विचलनको श्रृङखला मानिसको लम्बिँदो आयुसँगै उकालो लाग्न थाल्यो ।

के जीवन यात्रामा वास्तविकता भन्दा फरक पर्न गएका अथवा छुटि गएका त्यस्ता उत्तरहरूले मानिसलाई उसको जीवनको उत्तरार्धमा पिरोल्दैन होला ? के एउटा मानिस फगत अंक प्राप्तिको लागि अथवा काम लिनको लागि जिन्दगीभर बनिबनाउ उत्तरको भारी बोकेर हिँड्नु पर्ने हो? भनिन्छ सहि प्रश्न आधा उत्तर पनि हो । तर यथार्थमा प्रश्न प्रश्न नै हुन्छ र प्रश्न नै रहन्छ । बरु उत्तरहरू सहि, गलत,नक्कली ,सक्कली , पूर्वाग्रही ,क्लिष्ट , दुरूह या कुनै अभीष्टले भरिएका हुन सक्छन् । छुट्न सक्छन् । लम्बिन सक्छन् । छोटिन सक्छन् । यदि कसैले अबदेखि हृदय खोलेर आफ्नो ब्रह्मले देखेको, आफूले बुझेको ,अन्तर आत्मालाई सहि लागेको उत्तर मात्रै दिनेछु भनेर अठोट गर्यो भने, के आजको समाज र यो दुनियाँ  अनुकुल छ त ?

बाम्राङ, खोटाङ