रमेश खनालको लघुकथा सङ्ग्रह प्रकाशित

रमेश खनालको लघुकथा सङ्ग्रह प्रकाशित

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक ०६, २०८१

रमेश खनाल साहित्य, कला र खेलकुद क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्छ । अब उहाँ लघुकथाकारका रूपमा पनि नेपाली साहित्यमा उदाउनुभएको छ । ‘युद्धमा बिलाएको सपना’ शीर्षकको लघुकथा सङ्ग्रह उहाँको भर्खरै प्रकाशित भएको छ । जसमा ३१ वटा लघुकथाहरू समेटिएका छन् । 

लामो समय खेलकुद परिषदमा व्यतीत गर्नुभएका रमेश खनाल नेपाली साहित्य र कलाक्षेत्रमा पनि उत्तिकै परिचित व्यक्तित्व हुनुहुन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा परिषद सदस्यको कार्यकाल विताइसक्नुभएका उहाँले ‘अरूपण आर्ट ग्यालरी’ समेत स्थापना गर्नुभएको छ । सो ग्यालरीमा हरेक शनिबार कला सिकाईको कक्षा पनि सञ्चालन गर्दै आइरहनुभएको छ । त्यस्तै सो ग्यालरी एकल र सामूहिक कलाप्रदर्शनीसमेत हुँदै आइरहेको छ ।

‘अरूपण नेशनल रिसर्च सेन्टर, नेपाल’ बाट भर्खरै प्रकाशित ‘युद्धमा बिलाएको सपना’ लघुकथा सङ्ग्रहमा खासगरी युद्धका विविध सन्दर्भहरूलाई लघुकथाको रूपमा उहाँले अभिव्यक्ति दिनुभएको छ । उहाँले उल्लेख गर्नुुभए अनुसार यस सङ्ग्रहका अधिकांश कथाहरू इरान–इराक युद्धमा नेपालीहरूले भोगेका पीडाहरूलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ । कुनै कुनै लघुकथामा व्यङ्ग्यहरू पनि झल्काउने कोशिश उहाँले गर्नुभएको छ । र, यी कथाहरू समकालीन सन्दर्भका यथार्थ चित्रण हुन् । किताबको मूल्य ५० रहेको छ ।

साहित्य सम्बन्धी उहाँका एकमुठी माटो, इन्दिराको भ्यागुता र स्टिना नामक तीनवटा कथा सङ्ग्रह प्रकाशित छन् । त्यसैगरी म घाममा पानी पानी हुन्छु, तेस्रो झर्को घाम लाग्यो, पानी पर्यो, उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता नामक तीनवटा कविता सङ्ग्रहहरू प्रकाशित छन् । त्यस्तै उत्तरचेतनामूलक साहित्यिक अध्ययन शीर्षकको उहाँको समालोचना कृति पनि प्रकाशित छ । 

यसबाहेक कलासम्बन्धी उहाँले लेख्नुभएका कृतिहरूमा कला मन्थन, विश्वप्रसिद्ध कला र कलाकार, नेपालका प्रसिद्ध कलाकार, चन्द्रमानसिंह मास्के, विश्व प्रसिद्ध कला र कलाकार, कला श्रष्टा, विश्वप्रसिद्ध कलाकार माइकल एन्जेलसँग साक्षात्कार, विश्वप्रसिद्ध ग्यालरीभित्र फन्को मार्दा, कलाचिन्तन कला संस्मरण, विश्वप्रसिद्ध महान कलाकार भ्यानगग, अमूर्तकला, कलाका योद्धा मास्टर जीवरत्न शाक्य आदि कलासम्बन्धी उहाँका प्रकाशित कृतिहरू हुन् ।

खनालले दिनुभएको जानकारी अनुसार यही २०८१ सालको तिहार लगतै उहाँको उक्त नवीनतम् लघुकथा सङ्ग्रह ‘युद्धमा बिलाएको सपना’ को लघुकथा समाज, नेपालबाट विमोचन गरिने कार्यक्रम रहेको छ ।