ऋतु आशिक | साहित्य | कात्तिक ०९, २०८१
तिमी भएर त म छु,
अप्ठेरोमा सबैभन्दा मेरो हात समाउने
कोही त छ ?
मलाई केको पीर भन त ?
तिमी होउन्जेल म छु
त्यो चाहिँ बुझेको छु
यो भन्दा बढी के बुझौँ ?
तिम्रा शब्दहरू
सुमसुमाउँदै निदाएको पत्तै भएन ।
तिम्रा पीडाहरू
तिम्रा उच्छवासहरू
तिम्रा पीरहरूले कोतर्दै गरेका हृदयहरू
म फगत हेरिरहेको छ ।
लाटको सेरोले नियाली रहेको बेला
म नियाली रहेको छु ।
तिमीमा भएको उत्पीडन
चिठीमा उत्पीडन पोखिएका हृदयका अंशहरू
झन्–झन् अकासिँदो छन्
ती शब्दहरूले मसँग
हारगुहार खोजिरहेका छन् ।
तिमीमा घात प्रतिघात हुँदैछ
शत्रु र मित्र हामीले चिनेका छौ ।
कतै मेरो देश दोस्रो सिक्किम त हुँदैन ?
पुर्खाहरूको रगत र पसिनाले अर्ज्याको देश
सिक्किम बगे जस्तै बगिरहेको छ ।
पृथ्वीनारायण, बलभद्र, अमरसिंह
भक्ति थापा
शहीद गंगालालले थामेको देश ।
नालापानीमा रगतका धाराहरू बग्दै थिए ।
शहीदहरू ढल्दै थिए
देशको लागि आहुतिको बलिवेदी तयार हुँदैथ्यो ।
देशले बाँच्न पाउनुपर्छ ।
मृत्युको आकार बढ्दै छ ।
देशले ठिङ्ग उभिन पाउनुपर्छ ।
यो अहंमता ममा झन् झन् उभिदै चुलिदै छ ।
देश गल्दै छ
छिमेकीले सिक्किम गलाए झैँ गलाउँदै छ
पार्टी पिच्छेका धुन्धुकारीहरू
देश माथि घातको घात खन्याएर
ओलीको प्रस्थान अमेरिकी बसाइँ
प्रधानमन्त्री भोटो पहिरिएर
महाकालीदेखि एम.सी.सी.को दौडामा
युरेनियम हाम्रो र्एश्वर्यता भरपाई बेचेर
अमेरिकाबाट फर्कदै
कट्टु विहीन फर्केका छन्
मुस्ताङ्गी युरेनियम
३ करोड नेपालीको ५०० वर्षका वैभवता
३ करोडको घडी नाडीमा टाँसेर फर्केको छ ।
युरेनियमको घडी नाडीमा टाँसेर फर्केको छ ।
युरेनियमको सौदाको टाँचा मारेर
देशको वैभवता बेचेर फर्केको छ ।
देशप्रति गद्दारीको कलङ्क बोकेर
निधारमा देशघाती टाँसेर फर्केको छ ।
देश दुखिरहेको छ
देश हचेट हुँदैछ ।
देश झन्–झन् भाँसिदै छ ।
देशद्रोहीहरूले
रङ्गीचङ्गी पार्टीको वर्को ओढेर
कहिले काँग्रेस कहिले एमाले
कहिले माओवादीको खोलमा
लुट खसौट मच्चाइ रहेका छन् ।
मेरो निम्छरो देश
अइया आत्था भन्न पनि सकिरहेको छैन ।
यो तीतो सत्य हो
मौनतामा आफूलाई मोटाइरहेको छ ।
हामी अझै मातृभूमि रक्षार्थ
राष्ट्रिय एकीकरणको डोरीमा बाँधिएर
हामीमा भएको वैभवता
हामीमा भएको वैमन्यश्यता
यी सबै भत्काएर
देश एकीकरणतर्फ आफूलाई अभिषेक गरौँ ।
इटहरी तरहरा
२०८१ असोज २३ बुधबार