खुशीलाई जम्मा गरेर थिग्रिएका प्रेम–परागहरू

खुशीलाई जम्मा गरेर थिग्रिएका प्रेम–परागहरू

ज्ञानेन्द्र विवश  |  साहित्य  |  कात्तिक १०, २०८१

अहिले यतिबेला खुशीलाई जम्मा गरेर थिग्रिएका प्रेम–परागहरू पल्लवित हुने तरखरमा छन् । गत आश्विन ११ र १२ गतेको बाढी वितण्डाको त्राहिमामलाई मुश्किलले कटाएका कहर बिर्सिने चेष्टामा छन् । 
बल्लतल्ल लता–लहराको सहाराले कता र कहाँसम्म पुग्ने हो यिनको यात्रा ? तर त्यसका लागि चाहियो गोडमेल पनि । मल र पानी पनि । अनि चाहियो तिनको सहारा बलियो थाङ्ग्र्रा पनि ।
भाइतिहार आइसक्यो वर्ष दिनको अर्को नेपालीहरूको महान चाड । वास्तवमा हाम्रो समाज संस्कृतिले कति धनी छ भन्ने कुरा हाम्रा चाडपर्वहरूले नै हामीलाई बोध गराउँछन् । गराउँदै आइरहेका छन् । 

भाइ तिहारमा दिदी भाइ र दाजु बहिनीको प्रगाढ सम्बन्धको चिनारी स्पष्ट बोध हुन्छ । यति मात्र होइन पशुपंक्षीको पनि श्रद्धापूर्वक पूजा गर्ने परम्परा हामी नेपालीको कति महान आस्था–अनुरागको आराधना हो ।
फूलै फूलको मौसम खेतबारी, बगैँचा र बारी, कान्ला र पाखा पखेराहरूमा अनेकथरिका फूलहरू फुलेर बनाएको प्राकृतिक सौन्दर्यको बिछट्टको छटा कसलाई मन नपर्ला ? यसका साथै घरघरमा झिलिमिली बत्तीको दीपावलीले भाइतिहारको रौनकलाई नै अर्कै रूपमा प्रस्तुत गर्छ । 

जहाँ मनहरू जतिसुकै दुःखी भए पनि, रोइरहे पनि हाँस्छन्, रमाउँछन् । अरूलाई पनि हँसाउँछन् । मखरमली र सयपत्रीका फूलहरू फुल्दा, मार्सीधान झुल्दा बहिनी आउने, दिदी आउने बाटो हेर्ने नेपाली चलन हो । भाइतिहारको अनुपम परम्परा हाम्रो ।

त्यसैले एकदिन भए पनि यो पर्वले खुशीको सञ्चार गराउँछ । आँशुले लतपतिएका अनुहारमा पनि अलिकति हाँसो पोतिदिन्छ । चेली र माइतीको भेटमा स्वतः उल्लासमय पल उदाउँछ ।
आखिर यस्तै मिलन, हाँसो र खुशी पाउनु, पाइरहनु नै जिन्दगीको सर्वोत्तम सन्तुष्टिको प्राप्ति हो ।

खोजे मिल्छ, गरे पाइन्छ परदेशमा होइन आफ्नै घर देशमा । आफ्नै घर खेतबारी, टारी र जिन्दगीका समर्पित कर्महरूमा सुख, सन्तुष्टि र खुशीका आह्लादित पलहरू । तिहारको आगमनसँगै दिदीबहिनीहरुलाई किनमेलको चटारो छ । किसानहरूलाई चाहिँ पाकेका धानबाली काटेर भित्र्याउन ताउँती छ ।

केही वर्षअघिसम्म काठमाडौँ काँठ क्षेत्रका खेत खल्यानहरूमा फूल खेतीको राम्रो उत्पादन थियो । फूल व्यवसायको पनि राम्रै आम्दानी हुँदो हो । तर केही वर्ष यता ती ठाउँका फूलबारीहरूमा कंक्रिटका विशाल घरहरू ठडिएका छन् । टहराहरू बनेका छन् । गोलभेँडा, च्याउ खेतीका लागि प्लास्टिकको छाना लगाएर टहरा ठड्याइएका छन् । 
यसरी बनाइएका यस्ता टहराहरू हेर्दै कति नराम्रा देखिन्छन् भने ती ठाउँमा फूलैफूलको फूलबारीहरू यो तिहारको छेकमा फुल्दा कति आनन्द हुन्थ्यो । मनै कति रमाउँथ्यो । मौसम पनि कति रमाइलो हुन्थ्यो । वातावरणले बेग्लै उमङ्ग प्रदान गथ्र्यो । 

परन्तु अहिले त्यही ठाउँ हो जहाँ मुस्कान बाँड्ने फूलहरू । सुगन्ध फैलाउने फूलहरू । तिनको अस्तित्व सदाका लागि समाप्त पारिएको छ । त्यहाँ घरै घरमाथि घरको अस्तव्यस्त संरचना निर्माण गरिएको छ । 

असोजको भेलबाढीले ती टहरा र ती खोला आसपासका बस्तीहरूलाई पार्नुसम्म बिजोग त पार्‍यो । तर चेत कहिले आउने ?  बेला बितिसकेपछि होश आउँछ हाम्रो । बेलैमा बुद्धि आइदिए आपत–विपदको आक्रमण टाढिएर जान्थ्यो । आफैँ भागेर जान्थ्यो ।

फूल फुल्ने, पानी बग्ने ठाउँमा घर निर्माण गरेपछि मान्छेको बिजोग त हुने नै भयो । प्रकृतिको दोहन गरेपछि दुःख त आखिर पाउनु नै पर्ने रहेछ ।

फूलबारीको सौन्दर्य भन्नु हेर्नुको आनन्द मात्र होइन । देख्नुको रमाइलो मात्र पनि हुँदैन । त्यसबाट आर्थिक लाभ पनि मनग्यै भइरहेको हुनुपर्छ । तर मान्छेलाई लोभमाथि लोभ बढेपछि । अझ बढी आम्दानीको मात्रा बढाउने चाहना भएपछि । फूलबारीहरूलाई सखाप पारियो । त्यहाँ निर्माण गरियो अनावश्यक घरका घरहरू ।

यसो भएपछि फूलको सौन्दर्य र फूलको सुगन्धले मान्छेका मनलाई प्राकृतिक आनन्द प्रदान गर्न सक्दैन । चराचुरूङ्गी, मौरी, भँवरालाई कहाँ तृप्ति दिन सक्नु फूलबारी नै नभएपछि । कहाँ ती रमाउनु । कहाँ तिनीहरूले रस बटुल्नु फूलबारी नै नभएपछि । मानिसहरू पनि कहाँ आउनु र ?!

ललितपुरस्थित गोदावरी आसपासका यी फूलबारीहरू यति सुन्दर थिए । ती यति रमाइला थिए कि जहाँ मानिस त पुग्थे नै रमाउनका लागि खुशी भेट्नका लागि फूलहरूसँग संवाद गर्नका लागि अनेकौँ चराचुङ्गङ्गीहरू पनि त्यहाँ चिरबिर गर्दै उडिरहेका हुन्थे । मौरी र भँवराहरूको झुण्ड पनि त्यहाँ कति हुन्थ्यो कति !

वातावरण कति गुन्जायमान थियो । कति मगमग बासनाले ओतप्रोत भएको हुन्थ्यो । यता फूल, उता फूल । फूलैफूलको साम्राज्य । सयपत्री र मखमली फूलका पहेँलपुर फूलबारीमा मन कहाँ दुःखले आँशु झार्नु ? बरू फूलबारीमा रमाउनुको आनन्दले खुशीका आँशु झर्थे । हर्षका पानी बग्थे । 

यी सन्दर्भसँगै किसानका पाटो बेग्लै हुन्छ । दुःखपछि सुख आउँछ । सुखले शान्ति र आनन्द दिन्छ । हामी सबैको अन्तिम इच्छा, चाहना, स्वार्थ सबै–सबै यही हो । असारे दबदबे हिलोमा हिलाम्मे भएर रोपेको कर्मले आज सुनको बाली भित्रिँदैछ । 


यसले मनमा शान्ति, सुख र आनन्दको आगमन गराएको छ । हामीले सुख खोज्न टाढा जानै पर्दैन । आफ्नै परिश्रममा, आफ्नै परिवार र आफ्नै पवित्र कर्महरूमा छ सुखका खुशियाली पलहरू । 

खोजे मिल्छ, गरे पाइन्छ परदेशमा होइन आफ्नै घर देशमा । आफ्नै घर खेतबारी, टारी र जिन्दगीका समर्पित कर्महरूमा सुख, सन्तुष्टि र खुशीका आह्लादित पलहरू ।
तिहारको आगमनसँगै दिदीबहिनीहरुलाई किनमेलको चटारो छ । किसानहरूलाई चाहिँ पाकेका धानबाली काटेर भित्र्याउन ताउँती छ । जे होस् बाढीले बचेको धानबालीले यस वर्ष थोरै सह धानेको छ ।

त्यसैले बचेखुचेका बालीलाई समयमै जगेडा गर्नु आवश्यक हुन्छ । वर्ष दिन खानलाई प्राण धान्ने अन्न तिनै हुन् । खेतका गरा–गरामा छरिएका खुशीहरू अन्न–ऐश्वर्य भएर मुस्कानमा बद्लिन्छन् । किसानहरूका मनमा छाएका खुशी भन्नु सम्पूर्ण नेपालीकै प्रतिविम्ब हो । त्यो विम्ब उज्यालो ज्योति हो । भोको पेटलाई भरपेट पार्ने भरिलो भरोसा हो ।
वास्तवमा पिरव्यथाले थिल्थिलो भएका गरिबगुरुवाका घरआँगनमा आएको अलि–अलि खुशीलाई जम्मा गरेर थिग्रिएका प्रेम–परागहरू यिनै हुन् । 

अहिले धान काट्ने हतारोमा खेत–खेतमा कृषकहरू जुटिरहेका छन् । पानीले चुट्नुसम्म चुटेर, बाढीले बगाउन नसकी थिल्थिलो पारेर बेहाल अवस्थामा छोडेका धानबालीहरू ! जहाँ भर्खर चामलका दाना पर्दै थिए । पोटिला, पोषिला चामल बन्दै थिए । यतिबेलै पानीको झापटले हानेर सोत्तर पारेका धानहरू उठेर तङ्ग्रिन सकेनन् ।

किसानलाई भरिलो धान दिन सकेनन् । किनभने धानबालीमा पानीका मात्रा धेरै हुँदा धान फोस्रा बने । चामल हुने धानमा भुस धेरै भए । तथापि सोत्तर धान धन्न फले । किसानका आँशु पुछ्ने माध्यम बने । अलिकति चित्त बुझाउने सहारा भए । तिनै सहारा खुशीलाई जम्मा गरेर थिग्रिएका प्रेम–पराग भए ।