प्रा. डा. हेमनाथ पौडेल | दृष्टिकोण | कात्तिक १५, २०८१
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली काव्यजगत्का मात्र होइन, बौद्धिक क्षेत्रकै एक महान् प्रतिभा थिए । महान् व्यक्तिहरूका सम्बन्धमा केही न केही किंवदन्ती वा किस्साहरू जोडिएका हुन्छन् र त्यस्ता कुरालाई जनमानसले विश्वास पनि गरिरहेको हुन्छ । देवकोटाका बारेमा पनि यस्ता कुराहरू जोडिएका छन् । तीमध्ये एउटा हो– ‘देवकोटा गरिब थिए, जीवनभर गरिबी मैं बाँचे र अन्त्यमा उपचार गर्न सम्म नसकेर उनले मृत्यु वरण गर्नुपर्यो’ भन्ने । के साच्चिकै देवकोटा गरिब नै थिए र जीवनभर गरिबीमै बाँच्न विवश भएका हुन् त ? यसको उत्तर खोज्नु आवश्यक छ ।
देवकोेटा काठमाडौँको डिल्लीबजार, धोबीधारामा बुबा पण्डित तिलमाधव देवकोटा र आमा अमरराज्य लक्ष्मीदेवीका साहिँला सुपुत्रका रूपमा विसं १९६६ साल कार्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मेका थिए भने क्यान्सर रोगका कारण ५० वर्षको अल्पायुमा नै २०१६ साल भदौ २९ गते उनको निधन भएको थियो । उनका बुबा दरबारभित्रका पण्डित थिए भने उनको काठमाडौँको केन्द्र डिल्लीबजारमा घर र घरमा नोकरचाकर, भान्से बाहुनबाहुनी र गोठालासमेत थिए । २००० सालपछि उनले मैतीदेवीमा अहिले देवकोटा सङ्ग्रहालय रहेको घर किने र त्यसलाई कविकुञ्ज नाम राखी त्यहीँ जीवन बिताए । नेपालमा दरबार हाइस्कुल र त्रिचन्द्र कलेजमा अनि विदेश पटनामा गएर उनले पढेका थिए । उनी भाषानुवाद परिषद्मा जागिरे बनेका थिए भने त्रिचन्द्र कलेज र पद्मकन्यामा उनले प्राध्यापन पनि गरेका थिए । प्रजातन्त्रपछि उनलाई राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरेका थिए र पछि राजा महेन्द्रले समेत त्यसलाई निरन्तरता दिएका थिए । उनी ट्युसन पनि पढाउँथे । उनी केही समय डा.के.आई.सिंहको मन्त्री मण्डलमा शिक्षा तथा स्वायत्त शासन मन्त्रीसमेत भए भने नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्थापक सदस्य भएर समेत उनले कार्य गरे । यसका अतिरिक्त देशविदेश गर्ने अवसर पनि उनले प्राप्त गरेका नै थिए । रोचक घिमिरेका अनुसार त्यसवेलै पाँच सयजति पर्ने महङ्गो ब्रिटिस रेले साइकल चढ्थे उनी । यी सब कुराले के देखाउँछ भने महाकवि लक्ष्मीप्रसाद देवकोटा गरिब थिएनन् बरु थिए अत्यन्त भावुक, लहडी र अव्यवस्थित ।
देवकोटा आर्थिक रूपमा गरिब थिएनन् । सुधा त्रिपाठीका अनुसार उनलाई आफ्नै जीवनशैलीले गरिबीको बोध गराएको हो । उनी भावुक र लहडी भएकाले जीवनमा उनले आर्थिक व्यवस्थापन गर्न जानेनन् र सधैँ अभावमा परिरहे । जीवनका हरेक समयमा कुनै न कुनै जागिरमा थिए उनी । काठमाडौँमा आफ्नै घर र खेती गर्ने धेरथोर जमिनसमेत थियो उनको । त्यसमाथि ट्युसन पढाएको आर्जन पनि उनीसँग हुन्थ्यो तर गरिब वा माग्ने देख्यो भने आफूसँग भएको पैसा दिएरै सक्थे उनी । आफूले लगाइराखेको कोट लगलग काम्दै बाटामा मागिरहेको भिखारीलाई दिएर हिँड्ने उनको अव्यवहारिक उदारता र लहडी पन थियो । उनलाई मासु खुब खानु पर्थ्यो । पसलमा भएजति सबै सामान उधारोमा उठाएर हिँड्ने र तलब आएको दिन पसलेले यति भयो भनेका भरमा विश्वास गरेर भए जति सबै पैसा त्यतै बुझाउने गर्थे उनी । एकघण्टा ट्युसन पढ्न आएकालाई कति घण्टा भयो भुलक्कड देवकोटालाई पत्तो हुदैनथ्यो । यसैले दिनको १२–१३ घण्टा ट्युसन पढाएरै बित्नु उनका सन्दर्भमा आश्चर्यको कुरै थिएन । अर्को कुरा उनलाई अटुट रूपमा चुरोट पिउनु पर्थ्यो र त्यसमा पनि प्रशस्त पैसा खर्च हुन्थ्यो । यसले गर्दा लहडी देवकोटालाई आफूले इच्छा गरेको सामान्य कुरा भनेका बेलामा किनिहाल्न नसक्ता गरिबीको बोध भयो होला । अर्कातिर हातमा पैसा जतन गरेर राख्नै नसक्ने आफ्नै जीवनशैलीले नै उनलाई अपुग परिस्थितिमा पुर्यायो होला र उनले गरिबीको बोध गरे होलान् ।
उनका समकालीनहरूले उनलाई चिन्न सकेनन् र तिनीहरूले उनको प्रतिभाको भन्दा अभाव जन्य तथाकथित गरिबी अवस्थाको बढी चर्चा गरि दिएकाले र पछिकाले यसैलाई दोहोर्याएकाले पनि उनी गरिब थिए भन्ने भाष्य निर्माण भयो । उनको लथालिङ्गे दिनचर्या र जीवनशैलीले गर्दा उत्पन्न अभाव र समस्याका कारण उनलाई केन्द्रमा राखेर सरकारको आलोचना गर्ने हाम्रो परम्पराले पनि उनलाई गरिब बनाइरह्यो । यो सही मूल्याङ्कन थिएन । यसैले उनको गरिबी यथार्थ नभएर तुलनात्मक रूपको र मनको थियो ।
देवकोटाको धनी र उच्च वर्गका साथीहरूसँग उठबस थियो । उनको सङ्गत बालकृष्ण सम, पुष्कर शमशेरलगायतका राणा परिवारका व्यक्ति र भाइभारादारहरूसँग थियो । आफू सामान्य वर्गको तर उठबस चाहिँ उच्च वर्गका सँग भएका कारणले पनि तुलना गर्दा उनलाई आफ्नै मनले गरिब बनाएको हुन सक्छ । बालकृष्ण समहरूको आर्थिक जीवनस्तर उत्कृष्ट थियो । आफूले कमाए जति पैसा जतनसाथ खर्च गरेका भए देवकोटाको जीवनस्तर पनि उत्कृष्ट हुन सक्थ्यो । सधैँ सिर्जनामा डुबिरहने देवकोटा आफ्नो लवाइ ख्वाइका बारेमा सचेत हुदैनथे तर जब ती साथीहरूका नजिक पुग्थे तब उनीहरूको र आफ्नो लवाइको तुलना गर्थे होलान् र आफूलाई गरिब ठान्थे होलान् । अर्कातिर उनका समकालीनहरूले उनलाई चिन्न सकेनन् र तिनीहरूले उनको प्रतिभाको भन्दा अभाव जन्य तथाकथित गरिबी अवस्थाको बढी चर्चा गरि दिएकाले र पछिकाले यसैलाई दोहोर्याएकाले पनि उनी गरिब थिए भन्ने भाष्य निर्माण भयो । उनको लथालिङ्गे दिनचर्या र जीवनशैलीले गर्दा उत्पन्न अभाव र समस्याका कारण उनलाई केन्द्रमा राखेर सरकारको आलोचना गर्ने हाम्रो परम्पराले पनि उनलाई गरिब बनाइरह्यो । यो सही मूल्याङ्कन थिएन । यसैले उनको गरिबी यथार्थ नभएर तुलनात्मक रूपको र मनको थियो ।
वनारसमा रहँदा घरतिरको सुविधा सबै छुटेकाले त्यस कालमा उनलाई साँच्चै नै अभाले सतायो होला । त्यस वेला उनी विद्रोही राजनीतिमा सक्रिय पनि थिए । पहिला काङ्ग्रेस रहेका र साथीभाइले अर्थाभावमा सहयोग नगरेपछि कम्युनिस्ट बनेका देवकोटालाई काठमाडौँ फर्केपछि पनि अभाव र गरिबीको बोधले सताइरह्यो । सुकुलमा बसेर पढ्ने, पढाउने र गरिब दुखी प्रति उदार भएर भएको पैसा बाँडेर अभावमा पर्दा अनि सापट लिएको ऋण तिर्न नसक्दा अरूले पनि देवकोटालाई गरिब भनिदिए । यसरी पनि उनी गरिब ठानिएका हुन् ।
अर्को पक्ष भनेको समाजका आँखामा उनलाई गरिब ठहर्याउने उनको वर्ग पक्षधरता पनि थियो । उनी गरिवीहरूका पक्षमा भएकाले पनि उनलाई आफू निम्न वर्गको हुँ भन्ने बोध भइरह्यो होला । लेखनमा उनले ‘गरिब भन्छौ सुखको मझैँ धनी’ भन्दै आफ्नै मनको वर्गको पक्ष लिए । धनीहरूको पक्षपोषण गरेनन् । उनका विचारमा गरिबी नै सुखको मुहान थियो । । यथार्थको गरिबी नभोगेका देवकोटालाई चरम गरिब हुनुको पीडा त थाहा थिएन नै होला । आफ्नो मनको गरिबीलाई भने उनले आफ्ना अमिर साथीहरूसम्म पुर्याउन आफूलाई गरिब हुनुमा नै आनन्द छ भन्दै तिमीहरूलाई त आफूसँग भएको धनले नै पोल्छ भन्ने भाव पोखेर उनीहरूलाई सृजनामा व्यङ्ग्य गरे ।
देवकोटाका अप्रकाशित सबै कृतिलाई प्रकाशन गर्ने र प्रकाशित कृतिहरूलाई ग्रन्थावलीका रूपमा मुद्रण गर्ने निर्णयका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानको २०७९ साल मङ्सिर २५मा सम्पन्न हाम्रो पालाको ३८औँ प्राज्ञ सभाले देवकोटा सङ्ग्रहालयबाट बचेको ८७ लाख रुपैया छुट्याएको थियो तर त्यो कार्य पछि अगाडि बढेको देखिएन ।
अर्कातिर देवकोटा पत्नी मन देवकोटा अत्यन्त धार्मिक स्वभावकी थिइन् । उनी पूजापाठ र धर्म कर्म गर्नमा निकै खर्च गर्थिन् रे । त्यस वेला कविप्रसाद गौतम भन्नेले पशुपतितिर खोलेको कवि हरेराम पार्टी भन्ने एउटा धार्मिक सम्प्रदाय थियो रे र त्यसको उनी भक्त थिइन् रे अनि गुरु मान्न उनी त्यहाँ गइरहन्थिन् रे । त्यहाँ जाँदा उनी देवकोटाले थाहा नपाई टन्न फलफूल मान्छेलाई खर्पनमा बोकाएर र चाँदीका सिक्का दहीका कतारामा हालेर लान्थिन् रे (घिमिरे) । त्यसमा पनि देवकोटा परिवारको निकै खर्च हुन्थ्यो होला र अभाव भइरह्यो होला ।
गरिबीकै कारण उपचार गर्न नपाएर देवकोटाले मर्नुपर्यो भन्ने सम्बन्धमा कुरा गर्दा क्यान्सर रोगजस्तो असाध्य रोग उनलाई लागेको थियो जो त्यस वेला उपचार सम्भव थिएन नै । निदाएको बेलाबाहेक एकछिन पनि चुरोट नटुटाउने आफ्नै लतले उनलाई क्यान्सरका मुखमा पुर्याएको थियो । उनको जति कमाए पनि पैसा जोगाउन नसक्ने स्वभावले उपचार गर्न रकमको अभाव पक्कै भएको हो । सरकारले उपचारका लागि बेलैमा सहयोग नगरेको त हुँदै हो । उनी बितेको साढे छ दशक भइसक्दा आजको अवस्थामा समेत साहित्यकारको उपचारका लागि सरकारले झारा मात्र टार्ने गरेको छ । साँच्चैको सहयोग उपलब्ध हुने गरेको छैन । जिउँदो छउन्जेल राष्ट्रका लागि साँच्चैको योगदान गर्नेहरूको मूल्याङ्कन गर्ने चलन यस देशमा अझै छैन । त्यस बेला त झन हुने कुरै भएन । त्यसैले हाम्रा महाकविलाई पनि ज्युँदो छउन्जेल चिनेर उनको योग्यता र योगदानको कदर गर्ने काम नभएको पक्कै हो । फजुल खर्च गर्ने स्वभाव नभएको भए आफ्नै स्वआर्जन नै उनका लागि पर्याप्त हुने त थियो तर उनको स्वभावले नै उनलाई गरिब जस्तो बनाइराख्यो ।
यसरी यथार्थमा नभए पनि उपर्युक्त विभिन्न कारणले देवकोटाले आफूलाई गरिबका कोटिमा राखे र अरूले पनि गरिब देवकोटा भनि दिइरहे । यसरी उनले आफूलाई त्यस वेलाको सामन्ती समाजका गरिब सरह कै स्थानमा पाए र उनको मनको क्षोभको साधरणीकरण भयोे । उनी स्वाभाविक रूपमा नै गरिब प्रति सहानुभूतिशील हुन पनि पुगे र उनका कविता–काव्यमा गरिब प्रतिको स्वर प्रकट भयो । यसै कारण उनी दीनदुखीको चित्रण गर्न विशेष आकर्षित भए र उनले आफ्ना धेरै कविता–काव्यमा गरिवीलाई विशेष चित्रण गरे ।
यथार्थमा देवकोटा राहुल सांस्कृत्यायनले भनेजस्तै बुद्धपछिका महान् व्यक्ति नै थिए र थिए भारतका प्रसिद्ध कवि पन्त–प्रसाद–निरालाका बराबर एक्लै । उनी काव्यसागरका देवता नै थिए । उनी जुनसुकै वेलामा पनि लेखि नै रहेका हुन्थे । स्वप्नमा पनि उनी काव्यसंसारमै विचरण गरिरहन्थे । उनका लहडी जीवनसँग जोडिएका कैयौँ किंवदन्तीहरू छन् । लेखेर जतासुकै फालेका उनका कविता समकालीन कति जनाले आफ्नो नाममा छापेर कविको परिचय बनाएका थिए रे भन्ने पनि छ । अचम्मको जीवन चर्या भएका देवकोटा साँच्चै नै अचम्मका व्यक्ति नै थिए होला भनेर अनुमान गर्न सकिन्छ नै ।
देवकोटाले विभिन्न विधामा कलम चलाए र विशेषतः कविता र निबन्धमा उचाइ प्राप्त गरे । उनलाई प्रसिद्ध तुल्याउन उनका फुटकर कविता नै पनि पर्याप्त छन् । फुटकर कविताबाहेक उनले थुप्रै महाकाव्य र खण्डकाव्य लेखे जसले नेपाली कवितालाई शिखरमा पुर्याए । आधुनिक कवितालाई उचाइमा पुर्याउने काम पनि देवकोटाले नै गरेका हुन् । उनीअघि मौलिक नेपाली महाकाव्य लेखिएको थिएन । उनले शाकुन्तल महाकाव्य लेखेर त्यो खाँचो पनि पूरा गरे । देवकोटाका सयौँ फुटकर कविताका साथै शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वन कुसुम, प्रमिथस, पृथ्वीराज चौहान आदि महाकाव्य र मुनामदन, कुञ्जिनी, राजकुमार प्रभाकर, लूनी आदि खण्डकाव्य रहेका छन् । कविता–काव्य सृजनाको विष्मयकारी रचनाशक्ति उनमा रहेको थियो । शाकुन्तल महाकाव्य तीन महिनामा सुलोचना महाकाव्य दश दिनमा र कुञ्जिनी खण्डकाव्य एकै रातमा लेखेर उनले असाधारण कवित्व शक्तिको प्रदर्शन गरेका हुन् । यसपछि नै देवकोटाका सम्बन्धमा अनेक रोचक कल्पनाहरू फिँजिन थालेका हुन् । आशुकवित्व एवं कल्पनाका धनी देवकोटा निश्चय नै नेपाली साहित्यका अपूर्व काव्यव्यक्तित्व हुन् ।
उनका रचनामा प्रतिभाको प्रवाह र सामाजिक दायित्वको निर्वाह राम्ररी भएको छ । उनको सशक्त कल्पनाशील प्रतिभा विद्युत् शक्तिझैं चम्किने पूर्ण चपल, सुन्दर र सबल छ । भावको मौलिकता, कल्पनाको सशक्तता, विचारको आधुनिकता, छन्दको अनेकता र भावुकता अनि सिर्जनाको उन्मुक्तता कवि देवकोटाका प्रमुख विशेषता हुन् ।
महाकवि देवकोटाका आधा दर्जन महाकाव्य, तीन दर्जनभन्दा बढी खण्डकाव्य, डेढ दर्जनभन्दा बढी कविता–सङ्ग्रह, पाँचवटा निबन्ध, प्रबन्धका सङ्ग्रह, पाँचओटा अङ्ग्रेजी भाषाका कृति, चारवटा अनूदित कृति, तीनवटा समालोचना, दुईवटा नाटक, एउटा कथा र एउटा उपन्यास गरी आठ दर्जन जति कृति प्रकाशित छन् । देवकोटाका अप्रकाशित सबै कृतिलाई प्रकाशन गर्ने र प्रकाशित कृतिहरूलाई ग्रन्थावलीका रूपमा मुद्रण गर्ने निर्णयका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानको २०७९ साल मङ्सिर २५मा सम्पन्न हाम्रो पालाको ३८औँ प्राज्ञ सभाले देवकोटा सङ्ग्रहालयबाट बचेको ८७ लाख रुपैया छुट्याएको थियो तर त्यो कार्य पछि अगाडि बढेको देखिएन । देवकोटाका समग्र कृतिहरू एकमुष्ट रूपमा ग्रन्थावलीका रूपमा उपलब्ध हुनु आवश्यक छ ।
महाकवि देवकोटाका काव्य कृतिहरू अत्यन्त उच्च प्रतिभाबाट अलङ्कृत र निसृत छन् । कविताका सागर र प्रतिभाका अपूर्व भण्डार, काव्यसम्राट देवकोटा सारस्वत प्रतिभा सम्पन्न व्यक्ति थिए । कवित्व शक्ति उनमा अतुलनीय थियो । नवीनता र मौलिकताको छाप जुनसुकै काव्य रचनामा पनि उनले दिएका छन् । उनका रचनामा प्रतिभाको प्रवाह र सामाजिक दायित्वको निर्वाह राम्ररी भएको छ । उनको सशक्त कल्पनाशील प्रतिभा विद्युत् शक्तिझैं चम्किने पूर्ण चपल, सुन्दर र सबल छ । भावको मौलिकता, कल्पनाको सशक्तता, विचारको आधुनिकता, छन्दको अनेकता र भावुकता अनि सिर्जनाको उन्मुक्तता कवि देवकोटाका प्रमुख विशेषता हुन् । उनका समस्त कृतिहरूमा विचारको तीक्ष्णता, भावनाको उच्चता र स्वतःस्फूर्तता पाइन्छ । यस हिसाबले देवकोटा समकक्षी कुनै नेपाली कवि छैनन् । नेपाली साहित्यमा सङ्ख्यात्मक र गुणात्मक दुवै योगदानका दृष्टिले देवकोटा अद्वितीय प्रतिभा हुन् ।
अन्त्यमा ११६ औँ जन्मजयन्तीका सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्धा सुमन !
मिति: २०८१ कार्तिक १४
ग्रिफिन, ब्रिसबेन, अस्ट्रेलिया