पूर्व उपकुलपति जगतबहादुर के.सी.को प्रभाव कृतिले पारेको 'प्रभाव' !

पूर्व उपकुलपति जगतबहादुर के.सी.को प्रभाव कृतिले पारेको 'प्रभाव' !

हरिविनोद अधिकारी  |  साहित्य  |  कात्तिक २३, २०८१

पूर्वाञ्चल विश्व विद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जगतबहादुर के.सी.को प्रभाव (Impression) नामक आत्मपरक निबन्धहरूको सँगालो हेर्ने मौका पाएँ ।

सलबहादुर हिमकला खत्री प्रतिष्ठान प्रकाशक रहेको र नेपाली प्रकाशनहरूमध्ये आफ्नो विशिष्ट परिचय बनाउन सफल ओरेन्टल पब्लिकेसनले संयोजन गरेको प्रभाव सङ्कलनले दिएको सन्देश के पाएँ भने पूर्व उपकुलपति भइसक्नु भएका प्राध्यापक डाक्टर जगतबहादुर के.सी.जीको जुन प्राज्ञिक प्रतिष्ठा तथा सामाजिक सम्मान हाम्रो समाजमा देखिन्छ, जुन संघर्ष र भवितव्यले आफूलाई आफैँले निर्माण गरेको व्यक्तित्वका रुपमा परिचय दिन सक्नु भएको छ, त्यसको मुख्य चुरोमा उहाँमा रहेको पितृ देवो भवः, मातृ देवो भवः, गुरु देवो भवः भन्ने वेदवाक्यहरुको पालना नै मान्नुपर्छ । 

म प्रभावलाई सकारात्मक सन्देशहरुको निबन्ध सँगालोको रुपमा लिन्छु । आफ्ना पिताज्यू सलबहादुर खत्रीप्रतिको आस्थाले र त्यसमा उहाँले व्यक्त गरेका सम्मानका स्मृतिहरुले कतै आँखा रसाउँछ त कतै त्यस्ता धार्मिक तथा कर्मशील पिताको पथप्रदर्शनले उहाँमा सधैँ अव्यक्त उर्जा प्राप्त भएको बुझ्न सकिन्छ । आफ्ना पुर्खाहरुका बारेमा कतै नढाँटी आफूमा त्यसले पारेको सकारात्मक प्रभावका कारणले नै समाज सेवामा आफू यो उमेरसम्म लागिरहेको स्पष्ट धारणा राख्नु भएको छ । 

उहाँकी माताको इच्छामरणलाई उहाँले जस्ताको तस्तै पस्किनु भएको छ । माताजी हिमकला खत्रीमा देखिएको अपूर्व आध्यात्मिक क्षमताको जति प्रशंसा गरे पनि कमै देखिन्छ । साँच्चै उहाँ त पुराणमा वर्णित स्वर्गबाट यो पृथ्वीमा आएका देवीहरुको मानवी अवतारका रुपमा सेवाको प्रतिमूर्ति र सन्तानहरुकी साक्षात् दुर्गा माताको रुपमा अवतरित भएर आफ्नो अन्त्यकालको समेत पहिले नै घोषणा गर्नसक्ने क्षमता भएकी देवीको रुपमा देखिन्छ । त्यस्ती आमाको सन्तान हुनुमा जुन गर्व प्राध्यापक डाक्टर के.सी.ले गर्नु भएको छ, सायद त्यसैको प्रतिफलले होला, उहाँले जीवनमा आफूलाई सत्मार्गको पथिक सम्झनु भएको हुनुपर्छ । अनेक लोभ लालचबाट विचलित नभई, विद्यार्थीहरुको मान र अपमान दुवैलाई साकार र निराकार स्वरुप मान्ने समभाव देखाउन सक्नुभएको पनि त्यही प्रभावले हो जुन उहाँमा जन्मदै देखि माता पिता र  पुर्खाबाट प्राप्त भएको रहेछ । 

स्वर सम्राट नारायण गोपाल गुर्वाचार्य, नेपालीमा गौरव गौतम बुद्ध, राष्ट्र निर्माता बडामहाराजा पृथ्वीनारायण शाह, नेपालका शाह राजाहरूमा राजा महेन्द्र र वीरेन्द्रप्रति उनीहरुको दूरदर्शिताप्रति आकर्षण देखाउनु हुन्छ ।

अर्को उहाँमा परेको प्रभावमा गुरुहरू हुनुहुन्छ । उहाँले विद्यालयदेखि विश्व विद्यालयसम्मका गुरुहरुलाई सम्मान गर्नु भएको पाइन्छ जसमा सबैभन्दा बढी उहाँको जीवनमा प्रभाव छोड्न सफल मध्ये प्राध्यापक अमृतप्रसाद प्रधान देखिनु हुन्छ । सायद यति सरल भाषामा प्रधान सरको बारेमा परेको प्रभावलाई उहाँका विद्यार्थीहरुले व्यक्त गरेका होलान् । उहाँले प्रधान सरलाई एउटा शैक्षिक अभियन्तासँग शिक्षा प्रदान गर्दा कसरी प्रजातान्त्रिक गुणहरु समावेश गरिन्थ्यो भन्ने बारेमा तत्कालीन पब्लिक साइन्स कलेजको व्यवस्थापन अनि होस्टेलको समग्र परिचालनले देखाउन खोज्नु भएको छ जुन सबै विद्यार्थीहरुले गुरुबाट कसरी प्रभावित भएर शैक्षिक प्रक्रिया सञ्चालन गर्ने भन्ने पनि  स्पष्ट पार्नु भएको  छ। अमृत सरको इहलीला अन्त्यको समेत सजीव वर्णन गरेर आफ्ना प्रिय र सम्मानित गुरुप्रति शब्द श्रद्धाञ्जलि समेत  व्यक्त गर्नु भएको मैले पाएँ । अरु गुरुहरुमा शिक्षाको जगमा आफूलाई ज्ञान दिने हर्कजङ्ग खापुङ् हुनुहुन्छ ।

आफूले नदेखेको भए पनि शैक्षिक अभियन्ता देवीप्रसाद उप्रेतीको देन समेतको आफूमा प्रभाव परेको देखाउनु भएको छ । कलेजको कक्षामा प्राध्यापन गर्न आउनु हुने सुरेशराज शर्माप्रतिको आफ्नो सम्मान आजसम्म रहेको देखाएर आफ्ना जीवित गुरुलाई साक्षात भगवानको रुपमा प्रस्तुत गर्नु भएको छ । अर्का गुरु सुरेन्द्र के.सी.प्रतिको सम्मान र प्रभावप्रति नतमस्तक देखिनु हुन्छ । 

आजको उहाँको सामाजिक प्रतिष्ठाको जगमा आफ्ना पुर्खा पद्म नरसिंहप्रतिको आस्थाले आफ्नो पहिचानको खोजीमा प्राध्यापक के.सी. कति लालायित हुनुहुन्छ र आफूमा उहाँको व्यक्तित्व र कर्मशीलताले पारेको प्रभावलाई खुलासा गर्नु भएको छ । आफू भारद्वाज ऋषिको सन्तान र नेपाली थरहरुमध्ये चौलागाईँ खत्री भएको स्पष्ट पार्नु भएको छ । अर्थात् जब मानिसमा भौतिक सुविधा हुन्छ र पनि उसमा एउटा हुटहुटी पलाउँदो रहेछ र आफू कुन कुलको सन्तान हुँ भन्ने जिज्ञासा पलाउँछ, त्यस्तो जिज्ञासाले जगत सरलाई पनि आफ्ना पुर्खाको बारेमा जान्ने हुटहुटीे देखिन्छ । सायद यस्तो जिज्ञासाले आफू पनि एउटा समयमा अरुले सम्झिने पात्र होइन्छ भनेर यो प्रभावले पनि आफ्ना भविष्यका सन्तति तन्तु नातिद्वय आदित्यजङ्ग थापा र आराहण के.सी.को नाममा समर्पण गर्नु भएको होला । हिजो र भोलि नै त जीवनको निरन्तरता हो, वर्तमान त बाँचिएकै छ भन्ने प्रभाव पनि उहाँमा परेको पाइन्छ । 

उहाँले संसारलाई नजिकबाट चियाउने कोसिस गर्नु भएको देखिन्छ र पुराणहरुमा वर्णित दत्तात्रेयका चौबिस गुरुले जीवनमा प्रभाव पारेको भनेजस्तै उहाँमा आदिकवि भानुभक्तले नेपाली भाषामार्फत् नेपालीहरुलाई एकतामा बाँध्न खोजेकोले प्रभाव परेको बताउनु हुन्छ । त्यस्तै स्वर सम्राट नारायण गोपाल गुर्वाचार्य, नेपालीमा गौरव गौतम बुद्ध, राष्ट्र  निर्माता बडामहाराजा पृथ्वीनारायण शाह, नेपालका शाह राजाहरूमा राजा महेन्द्र र वीरेन्द्रप्रति उनीहरुको दूरदर्शिताप्रति आकर्षण देखाउनु हुन्छ । 
राजाहरुको बढी प्रभाव पर्नुमा कता कता उग्र राष्ट्रवादको नाराले पनि आकर्षित गरेको पाइन्छ । उहाँ  विभिन्न निबन्धमा आफूलाई कम्युनिस्ट भएको बताउँदा अलि बढी भारत विरोधी भावनाले ओतप्रोत भएको र पछि कम्युनिस्ट भावनाको अन्तर्घुलनमा राजाहरुको निर्दलीय स्वभावमा आफू बढी नै आकर्षित भएको पनि देखाउन खोज्नु भएको छ । पछि उपकुलपति हुुनुमा पनि उहाँमा त्यही राजावादी भएको दोषारोपण गर्नेहरु पनि देखिने कुरा समेत लुकाउनु भएको छैन । उहाँको सामाजिक जीवनमा चीनको प्रभाव पनि परेको छ । त्यसो त गुणग्राही के.सी.जीले विचरा टेकबहादुरलाई, वर्माबाट खेदिएर आसाम हुँदै पोखरा आउनु भएकी धनमाया , आफ्ना ससुरा महाजन प्रभुराम कार्कीको जीवनी र संघर्षको पनि आफ्ना निबन्धहरुमा बारम्बार सम्झना गर्नुहुन्छ । 

प्रभाव निबन्धहरुमा प्राध्यापक के.सी. एक स्पष्टरुपमा आफ्ना विचारहरु राख्ने विद्वानको रुपमा देखिनु हुन्छ । जसले जसरी बुझून् तर उहाँ आफूलाई पारदर्शी देखाउन भने सफल हुनु भएको छ । एकहजार चन्द्र दर्शनको छेउमा आउँदा पनि उहाँमा समाजलाई केही दिने जुन पावन भावना देखिन्छ नढाँटी कन, त्यो नै उहाँको विशेषता हो । उहाँका निबन्धहरुले के पनि देखाउँछ भने उहाँमा आजसम्मको यो निष्कपट सेवा, सामाजिक, साहित्यिक तथा शैक्षिक सेवा, सबैको पछिल्तिरको उर्जा भनेको पिता , माता र गुरुहरुप्रतिको श्रद्धाभावले नै हो भन्नचाहिँ कन्जुस्याईँ गनु पर्दैन । 

उहाँमा रहेको प्राज्ञिक उर्जाले अरु आलोकित गरोस् र एउटा खाद्य वैज्ञानिकका नाताले सकेसम्म अरु अनुभवहरु समेत सम्झी सम्झी लेखेर वितरण गर्नु भयो भने हाम्रो वैज्ञानिक साहित्य र सामाजिक रुपान्तरणका लागि कोसेढुङ्गा साबित हुनेछ । 

एउटा वैज्ञानिक, प्राज्ञिक तथा सामाजिक अभियन्ता जसले रेडक्रसको सिद्धान्तलाई नेपाली समाजमा प्रचार गरेको छ र नेपाली राष्ट्रियताको पक्षमा आफ्नो कलम चलाएको छ, उहाँका अन्य कृतिहरुको अपेक्षा गरिन्छ । सबैभन्दा मुख्य विशेषता के छ उहाँमा भने उहाँ मनमा एउटा कुरा र  लेख्ने अर्कै गर्नु हुँदो रहेनछ । उहाँ जस्तो प्राज्ञिक व्यक्तित्वको पुस्तक पठनीय, संग्रहणीय र मननीय देखिन्छ । 

उहाँको स्वास्थ्य स्थिति राम्रो रहोस् र सम्झेको लेख्ने क्षमता अरु बढोस् , यही शुभकामना के.सी. सरलाई । उहाँको मातृसेवा, पितृसेवा र गुरुहरुप्रतिको आदर स्मरणीय छन् र प्रेरणादायक पनि छन् । 

पुस्तकको नामः  प्रभाव  (Impression) निबन्ध सँगालो
लेखकः  जगतबहादुर के.सी., (पूर्व उपकुलपति, पूर्वाञ्चल विश्व विद्यालय, प्राध्यापक, डाक्टर खाद्य वैज्ञानिक)
प्रकाशकः सलबहादुर हिमकला खत्री प्रतिष्ठान, अनामनगर काठमाडौँ, नेपाल 
प्रकाशन मितिः २०७८ प्रथम संस्करण 
मूल्यः रु. ३५०।(Impression)