तिहारको मिलन–उत्सव: दिदी र बहिनीका अमूल्य मायाका छचल्कनहरु

तिहारको मिलन–उत्सव:  दिदी र बहिनीका अमूल्य मायाका छचल्कनहरु

ज्ञानेन्द्र विवश  |  साहित्य  |  कात्तिक २४, २०८१

तिहारका रङहरू अनुहारमा पोखिएपछि । मिलनका भेटहरू दृश्यमा देखिएपछि । यौटा विछट्टकै मिलन–उत्सवको स्वरुप वरण गर्छ । जहाँ वर्ष दिनभरिका सबै पीडा र दुःखहरु शून्य हुन्छन् । त्यहाँ अनुहार भरि मुस्कानका छचल्कनहरु छरिन्छन् ।

खुशी भनेको त्यही हो । सन्तुष्टिका क्षण भनेका तिनै हुन् । आफन्तको आगमन भनेको यही हो । विछोडको पीडा गायब हुने भनेको यही बेला हो ।

तिहारका रङ, फूल, सेलरोटी, देउसी र भैलो अनि झिलिमिली बत्तीको सौन्दर्य जीवनको वास्तविक प्रतिविम्ब हो । हाम्रो आदिम परम्पराको अविच्छिन्न क्रमागत सिलसिला ।
यही मेसोमा भेटिएका भेटहरू सधैँ मुस्कानमा उपस्थित भइ रहुन् । बिछोडका पीडाले कहिल्यै पनि सताउन नआउन् । दुःखका चोटहरूले कहिल्यै पनि तर्साउन नखोजुन् । 

दिदी र बहिनीका अमूल्य मायाहरू हामीले सधैँभरि यसरी नै पाइरहौँ । तिहारका माला जस्तै शोभायमान भएर ती गलामा सजिएर बसुन् । सुगन्धित भएर मगमग वासनाहरु दिदी र बहिनीको माया भएर फैलिरहन् । तिहारका ओखर जस्तै बलियो । मखमली माला जस्तै नओइली ।

अन्ततः तिहारका फूलहरू जस्तै फुलिरहुन् ती मीठो–मीठो सुवास बोकेर । देउसे र भैलेका गीत र नाचहरू जस्तै ती उमङ्गले रमाइरहुन् । चङ्गा जस्तै आकाश–आकाशमा उडिरहुन् । पिङ जस्तै मजाले मच्चाएर चन्द्रमा छुन उद्दत रहुन् । सेलरोटीको चक्र जस्तै त्यस्तै भइरहोस् माइती र चेलीको सम्बन्ध ।

औँसीको रातलाई पनि उज्यालो पार्दै झिलिमिली बत्तीको दीपावलीमा रातहरू पनि दिन जस्तै बनिरहुन् । अनि त्यहाँ ‘भैलिनी आइन आँगन, गुन्युचोलो माग न, हे औँसी बार गाईतिहार भैलो ।’ भट्याउने दिदीबहिनीहरुको हुल घर–घर पुगुन् । 

त्यस्तै ‘भन, भन भाइ हो देउसुरे ।’ को अर्को लहरले बेग्लै तरङ्ग फैल्याउन् । जहाँ पराम्परागत बाजागाजाका साङ्गीतिक गुञ्जन गुञ्जिरहुन् । नृत्यको रोमाञ्चक प्रस्तुतिले दर्शकलाई प्रशस्त आनन्द प्रदान गर्न सकुन् ।

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । यो टीका दाजु र भाइको दीर्घायु र समृद्धिको प्रतीक मानिन्छ । यससँगै दाजु र भाइको आरोग्य र समृद्धिको कामना गर्दै आरती गरिन्छ । आरती गरिँदा दियो र फूलहरू प्रयोग गरिन्छ । जलद्वारा अभिषेक गर्दै दिदीबहिनीले वरिपरि घुम्छन् । 

मूलतः दिदी र बहिनीका अमूल्य मायाहरू हामी पाइरहन सकौँ । दाजु र भाइका मायाले पनि दिदी र बहिनीलाई पुगिसरी होस् । दिदी र भाइ, दिदी र दाइहरूको आत्मीय नाता सदा कायम रहिरहुन् । जहाँ कुनै किसिमको विछोडको पीडाले अलग्याएर एक्ला–एक्लै बनाउन नसकोस् । 

वस्तुतः दुःख जति पर भागुन् । खुशीहरुले जीवनधाम सधैँ रमाइलो बनिरहोस् ।

बोटबाट चुँडालिएर पनि सियोले घोचिएर र उनिएर माला भएर फूलले शोभा दिन्छ तिहारमा । मृत्तक ठानिँदैन । दुखेर रगताम्मे भएको लाग्दैन ।

यही फूलको जस्तै यस्तै धैर्य, सहनशील स्वभाव हामीले ग्रहण गर्न सकौँ । जतिसुकै चोटमा पनि हाँस्न सक्ने । जतिसुकै दुःखमा पनि सहन सक्ने ।

एकप्रकारले स्वभाविक जीवनशैली हामीले बाँच्न सकौँ । तिहारमा दिदी र बहिनीबाट पाएको अमूल्य माया जस्तै चोखो । जीवनको स्पन्दन जस्तै पवित्र र आवश्यक ।

तिहारमा दिदी र बहिनीका अमूल्य माया जस्तै फूलको पनि विशेष महत्व हुन्छ । हाम्रा सबै सांस्कृतिक अनुष्ठानहरु आपसी हार्दिक प्रेमले भरिएका हुन्छन् । पशुपक्षी, बोटबनस्पति सबैको पूजा र सम्मान गरिन्छ । त्यसैले तिहारमा सयपत्री, मखमली र अन्य फूलहरू बोटबाट चुँडेर, अनेकौँ फूलहरूलाई डोरीमा उनेर एउटै माला बनाइन्छ । यही माला तिहार पर्वमा दिदी–भाइको हातबाट गलामा लगाइन्छ । फूलका पत्रहरूले पूजा गरिन्छ । सम्बन्धलाई प्रगाढ बनाउने सनातन संस्कृतिको सिलसिलालाई निरन्तरता दिने कोशिश गरिन्छ ।

हामी सबैलाई थाहा छ– फूलले बोटबाट चुँडिएर पनि, घोचिएर पनि र सियोमा रोपिँदै धागोमा उनिएर माला भएर पनि सधैँ खुशी र शोभा दिन्छ । यसमा जीवनको गहिरो दर्शन छ । 
प्रकृतिसँगको सामिप्यको गहिरो नाता छ । एउटा होइन अनेक सन्देश सम्प्रेषण गरिरहेको हुन्छ । जस्तै पीडा, त्याग, धैर्य, समर्पण, माया आदि । वास्तवमा फूलको खास सदुपयोग भन्नु हामीले लगाएको माला, पूजाआजामा प्रयोग गरेको फूल यी सबैले अरूलाई खुशी र प्रेम दिन सक्छ भने र शोभा बढाउन सक्छ भने फूल जस्तै हाम्रो जीवन पनि सार्थक हुन्छ ।
यथार्थमा फूलले तिहार पर्वमा मात्र नभई, जीवनमा हरेक मोडहरूमा पनि धैर्य, प्रेम, र सहयोगको सन्देश दिइरहन्छ । दिदी र बहिनीले असीम माया र आशिषसहित दाजु र भाइलाई माला लगाइदिँदा फूलहरूको यो सन्देश भाइ तिहारको संस्कृतिमा झन् जीवन्त  झल्किन्छ ।

अन्ततः भाइ तिहारमा दिदी र बहिनीका अमूल्य माया छँदै छ । यो माया हरेक वर्ष नवीकृत हुँदै सधैँ झन् नयाँ बनिरहन्छ । विशेषतः दिदीबहिनी र दाजुभाइको सम्बन्ध अत्यन्त विशेष मानिन्छ । चेलीबेटीको आशीर्वाद, दीर्घायु, सफलता र सुस्वास्थ्यको कामना नै काफी हुन्छ । 

भाइ तिहारमा सयपत्री र मखमली फूलमालाका साथै ओखर, बिमिरा र फलफूलहरू विशेष रूपमा आवश्यक मानिन्छन् । यी चिजहरूलाई दाजुभाइको सफलता, समृद्धि, आरोग्य र जीवन्त जीवन यापनको प्रतीकका रूपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदा ओखर, बिमिरा खासगरी सेलरोटी र अन्य मिठाइ तथा विभिन्न फलहरू राखेर पूजा गर्छन् ।

स्मरणीय छ, भाइ तिहारमा दिदीबहिनीले दाजुभाइलाई पूजा गर्न विशेष मण्डप तयार गरिएको हुन्छ । जहाँ दाजु र भाइको दीर्घायु, सुस्वास्थ्य र सफलताको कामना गरिन्छ । मण्डप सजावट, पूजा सामग्री र विधिहरू परम्परागत र प्रतीकात्मक अर्थ बोकेका हुन्छन् । 

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । यो टीका दाजु र भाइको दीर्घायु र समृद्धिको प्रतीक मानिन्छ । यससँगै दाजु र भाइको आरोग्य र समृद्धिको कामना गर्दै आरती गरिन्छ । आरती गरिँदा दियो र फूलहरू प्रयोग गरिन्छ । जलद्वारा अभिषेक गर्दै दिदीबहिनीले वरिपरि घुम्छन् । 

यसरी, भाइ तिहारमा मण्डप सजाएर विधिपूर्वक पूजा गरिन्छ, जसले दिदी–भाइको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँछ । दाजु र भाइलाई तेलको सुरक्षा–घेरा हालिन्छ । दैलोमा ओखर फोरिन्छ । यसको अर्थ आफ्ना दाजुभाइलाई कुनै पनि बाहनामा कालले नलैजाओस् । कुनै किसिमको दुःखले सताउन नआओस् भन्ने मान्यता रहिआएको पाइन्छ । 

यति प्रतीकात्मक र सुन्दर प्रेमको नमूना अरु के हुन सक्छ र ? पवित्र मायाको नाता यहाँभन्दा अरु के हुन सक्छ र ? दिदी र बहिनीका अमूल्य मायाहरू यसरी नै सदा–सदा रहिरहोस् ।