सगरमाथा आधार शिविर : आखिर मैले के पाएँ, के गुमाए ?

सगरमाथा आधार शिविर : आखिर मैले के पाएँ, के गुमाए ?

ज्ञानेन्द्र विवश  |  साहित्य  |  मंसिर ०१, २०८१

सगरमाथा आधार शिविरको यात्रा एक अविस्मरणीय अनुभव । जहाँ मैले म आफूलाई मात्र नभएर समग्र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न सिके  । यो यात्रा मेरो सपना जस्तै चाहना थियो । जुन यथार्थमा पूरा हुन मुश्किल हुने । थर मैले विपनामा परिणत गर्न सकेँ । 

मूलतः शारीरिक र मानसिक सीमाहरूलाई चुनौती दिने यो एउटा परीक्षा र प्रक्रिया बन्यो । यसले शारीरिक कष्ट र मानसिक शान्ति बीचको सन्तुलनलाई अन्वेषण गर्न मलाई प्रेरित गरिदियो ।

वर्ष दिनपछि फर्किएर सम्झिँदा सगरमाथा आधार शिविर पुगेर आखिर मैले के पाएँ, के गुमाए ? वास्तवमा त्यस पदयात्रामा मैले गुमाउने र पाउने भन्दा धेरै कुराको ज्ञान हासिल गर्न सकेँ । त्यो ज्ञान किताब पढेर, वृत्तचित्र हेरेर अथवा पद यात्रीका मुखबाट सुनेर पूरा हुन त्यति सम्भव थिएन । आफैँले भोगेर पाइने सुख नै कस्तै कठिनको भए पनि ठूलो आनन्दको हुने रहेछ ।

सगरमाथाको पवित्र शिखर फेँदीमा पुग्दा, मैले प्राकृतिक सौन्दर्य र आन्तरिक शान्तिको मिलन देखेँ । हिमालका सेता चुलीहरू, बरफले ढाकिएका पर्वत र स्वच्छ वायुमण्डलले मेरो आत्मा छुँदै थियो । यी दृश्यहरूले मलाई केवल प्रकृतिको कदर गर्न, मानवता र पृथ्वीका अन्य जीवहरूको सामूहिक अस्तित्वलाई बुझ्न पनि प्रेरित गरिरहे ।

यस यात्रा मार्फत् मैले एक गहिरो सन्देश पाएँ– जीवनमा कठिनाइहरू र सङ्घर्षहरू आउन सक्छन्, तर ती सबै चुनौतीहरूको सामना गर्ने आत्मबल, साहस र धैर्यले नै हामीलाई जीवनको वास्तविक अर्थतर्फ अघि बढाउने रहेछ ।

यस भ्रमणले मसँग केही महत्वपूर्ण कुरा सँगै ल्यायो । जस्तै शारीरिक रूपले, यो यात्रा मेरो सहनशीलता र मानसिक दृढतासँग जुझ्नको प्रक्रिया थियो । यसले मलाई प्राकृतिक सौन्दर्यको महत्व गहिरोसँग बुझन सिकायो ।  मैले प्रकृतिका असाधारण रूपहरूलाई नियाल्दै, जीवनका सुन्दर पाटोहरूको महत्व महसुस गरेँ ।

ठूला–ठूला शिखरहरू, हिउँले सेताम्य, हावाको सुसाइ र प्रकृतिको शीतल स्पर्शले सिँगारिएका यी हिमश्रृङ्खलाले अनन्त कलात्मक छाप छोड्छन् । तर यस सौन्दर्यको उत्कर्ष भने साँझ र बिहानको सूर्यको किरणमा झल्किन्छ, जब हिमालमा सुनौलो आभा छर्छ । यो अनुभूति साँच्चै नै शब्दमा उतार्न गाह्रो हुन्छ, तर यसको सामिप्यको प्रभावले कुनै पनि दर्शकको मनलाई मन्त्र मुग्ध बनाउँछ ।

यात्राका प्रत्येक पाइला र गन्तव्यमा पुग्दा, मैले शान्ति र सन्तुष्टि पाएको अनुभव गरें । मेरो विचारमा यो निकै ठूलो कुरा हो । त्यस्तै सगरमाथा आधार शिविरको यो यात्रा केवल एक साहसिक यात्रा थिएन, बरु जीवनको एक गहिरो पाठ थियो ।

सगरमाथा, संसारको सबैभन्दा अग्लो चुचुरो, आफैँमा शक्ति र सौन्दर्यको प्रतीक । यसलाई पहिलो पटक बिहानको सुनौलो किरणले चुमिदिँदा सगरमाथा स्वर्णिम मन्दिरजस्तै चम्किन्छ । हिमालको चुलीमाथि घामको पहिलो किरणको सुनौलो रङले ढाकेको यो दृश्य सायद शब्दमा बयान गर्न गाह्रो छ । विशाल हिमनदीहरू र सेताम्मे हिउँको पर्खालबीच सगरमाथा एक स्वर्गीय चित्र जस्तै लाग्छ, जहाँ प्रकृतिको अतुलनीय कला देख्न पाइन्छ । यही हेर्न संसारभरिका पदयात्री यहाँ आउँछन् ।

मैले महसुस गरेँ आकाशको नीलो पृष्ठभूमिमा सुनौलो सगरमाथा एक जादुमय रूपमा उभिएको हुन्छ । हिउँबाट बग्दै आएको चिसो हावा चल्दा, पहाडको त्यो स्वर्णिम रङ र आसपासको वातावरण खुलेर आफ्नो सौन्दर्य प्रदर्शन गर्न तछाडमछनड हुन्छ । एकान्त, शान्त मौनता मनलाई तृप्त पार्ने खालको हुन्छ । वर्षौँको कठिन यात्रामा सफल भई यस दृश्यलाई प्रत्यक्ष अनुभव गर्दा प्रत्येक यात्रीले अद्वितीय आनन्द प्राप्त गर्छन् । 

प्रकृतिसँग एकाकार हुने यो क्षण साधारण जीवनका दुःख कष्टलाई भुलाउने क्षण हो । सगरमाथाको बिहानमा देखिने यो सुनौलो रङले मात्र होइन, जीवन र साहसको सङ्कल्प पनि जन्माउँछ ।

सगरमाथा मात्र एक हिमाल नभई, मानवीय उत्सुकता, साहस र आत्मसम्मानको प्रतीक हो । यसले मेरो सपना जस्तै अरू धेरैका सपनाहरूलाई जीवन्त बनाउने प्रेरणा दिन्छ ।
सगरमाथाको फेँददेखि सर्वोच्च शिखरसम्म फैलिएको भव्य प्राकृतिक सुन्दरतामा झुल्किएको बिहानीको झिल्को जति अद्भूत लाग्छ, त्यसको बयान शब्दहरूले पर्याप्त रूपमा गर्न सक्दैनन् । हिमालयको यो बिछट्टै दृश्यमा जब पहिलो पटक सूर्यको किरण पर्छ, तामाको रङ मिसिएको सुनौलो उज्यालो फैलिन्छ ।

सेता हिउँले छोपिएका पिठ्युँहरू सुनको चमकले झल्किन थाल्छन् । त्यो क्षणमा सगरमाथा आफैँ कुनै सजीव देवता झैँ लाग्छ, जसले आकाशको काखमा आफ्नो भव्य रूप  गर्वका साथ बास लिएको छ ।
सगरमाथामा उभिँदा महसुस हुने त्यो ‘सुन पोखिएको बिहान’ को अनुभूति मात्र पर्यटकका लागि नभई स्वदेशी जनताका लागि पनि गौरवको कुरा हो । यसले हामीलाई हाम्रो अस्तित्व, हाम्रो इतिहास र हाम्रो भविष्यलाई थप गहिरोसँग अनुभव गर्न प्रेरित गर्छ । यो दृश्य कुनै साधारण बिहान होइन, यो प्रकृतिको वरदान हो, जसले आत्मा र मनलाई एकै साथ उज्यालो दिन्छ । जीवन यात्रामा गतिशील हुन प्रेरणा प्रदान गर्छ ।
सगरमाथाको यी सुनौला बिहानीहरूको महत्व मात्र दृश्यात्मक सौन्दर्यमा सीमित छैन; यसले हाम्रो संस्कृति, हाम्रो भूमि र हामी नेपालीको अटुट साहस र सहनशीलताको प्रतीक बनेर हामीलाई ऊर्जाशील बनाइरहन्छ । यी बिहानीहरूले हामीलाई सधैँ प्रेरणा दिन्छन् कि जस्तोसुकै कठोर परिस्थितिमा पनि, हाम्रा जीवनमा ‘सुन पोखिएको बिहान’ आइरहने छन् ।

नेपालका उच्च हिमशृङखलाहरूको उज्यालो बाहिनीमा, कलिलो घामको पहिलो किरणले सेता हिउँका चट्टानहरूलाई सुनजस्तो उज्यालोमा रङ्याउँछ । यो दृश्य मानौं हिमालहरूमा कुनै अदृश्य कुशल चित्रकारले सुन पोखेर चित्रण गरेको हो । हिमाली भेगका स्वच्छ आकाश र शान्त वातावरणमा, बिहानको यस्तो अनुभवले मनलाई आनन्दित बनाउँछ ।

मलाई लाग्यो, सपनाको यो संसार । जहाँ म आफ्नै घरको ओछ्यानमा सुतेर मस्त निद्रामा मीठो सपनाका साथ सगरमाथा आधार शिविरमा पुगेको छु । 

वास्तवमा यो यात्रा सपनाकै सयर जस्तै पनि हो । किनभने यस्ता दृश्यहरू प्रायः सपनामा मात्रै देख्न पाइन्छ । सुनौलो रङले आच्छादित हिमालहरूको अद्वितीय सौन्दर्यलाई प्रत्यक्ष देख्न पाउनु आफैँमा एक दुर्लभ अवसर हो ।

सयौं किलोमिटरको दूरीमा समेत चम्कने यी हिमशिखरहरूले मानव सभ्यतालाई नतमस्तक गराएका छन् । हिमालका बासिन्दाहरूका लागि यी बिहानहरू दैनिक जीवनका हिस्साजस्तै लाग्छन् तर नवागन्तुक पर्यटक र यात्रीहरूका लागि, यो दृश्य उनीहरूको जीवनभरको सम्झना बन्न पुग्छ । हिमालको काखमा बसेर सुनौलो बिहानीको त्यो अनमोल क्षणलाई अवलोकन गर्दा, मन एक प्रकारको विशुद्ध आनन्दमा डुब्छ । सुनजस्तो चम्किलो किरणको प्रभावले वातावरण मात्र होइन, आत्मा नै उज्यालो भएर छाउँछ ।

यस सुन्दरताले मानिसको भावनालाई गहिराइमा छुन्छ । प्रकृतिले प्रदान गरेको यो अनुपम उपहार मानव जीवनलाई पुनः एकपटक मौलिकतामा फर्काइदिन्छ ।

हुन त, हिमाल आफैँमा सौन्दर्यको प्रतिमूर्ति हो । ठूला–ठूला शिखरहरू, हिउँले सेताम्य, हावाको सुसाइ र प्रकृतिको शीतल स्पर्शले सिँगारिएका यी हिमश्रृङ्खलाले अनन्त कलात्मक छाप छोड्छन् । तर यस सौन्दर्यको उत्कर्ष भने साँझ र बिहानको सूर्यको किरणमा झल्किन्छ, जब हिमालमा सुनौलो आभा छर्छ । यो अनुभूति साँच्चै नै शब्दमा उतार्न गाह्रो हुन्छ, तर यसको सामिप्यको प्रभावले कुनै पनि दर्शकको मनलाई मन्त्र मुग्ध बनाउँछ ।

साँझको समय आकाशमा सूर्य ढल्दै गर्दा वातावरणमा एउटा सुकुमारीपन फैलिन्छ । जब अँध्यारो छायाँले पहाड र तलको भूभागलाई घेर्दै जान्छ, त्यतिबेलै सूर्यको अन्तिम किरणले हिमालको चुचुरामा प्रहार गर्छ । 

स्वर्णिम रङमा टल्कँदै गरेका हिमालका यी चुचुराहरूले मानौं जीवनको एक नयाँ परिभाषा दिन खोजिरहेका हुन्छन् । यो पल सुन्दर र अविस्मरणीय मात्र नभएर गहिरो पनि लाग्छ । प्रकृतिको यस अनौठो चित्रणले मानिसलाई आफ्ना सबै चिन्ताहरू भुल्न बाध्य पार्छ । यो प्रकृतिको माया हो, जसमा मानिसले आफूलाई पूर्णतया हराउन सक्छ ।
क्रमशः