काश्यपको 'शराब' सार्वजनिक

काश्यपको 'शराब' सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ०२, २०८१

झापा । गजलकार कृष्ण काश्यपको गजलकृति 'शराब' सार्वजनिक गरिएको छ । शनिबार झापाको दमकमा सार्वजनिक गरिएको 'शराब' काश्यपको दोस्रो गजल कृति हो ।

कार्यक्रममा सिजन दाहाल, सुनिता तामाङ र लीला अनमोलले 'शराब' भित्रका गजल वाचन गरेका थिए । स्रष्टा छापाखानाका अध्यक्ष सुन्दर कुरूपले अध्यक्षता गरेको कार्यक्रम सचिव राजकुमार अनिश्चितले संचालन गरेका थिए ।

साहित्यकार केशव आचार्यले गजल गो कृष्ण काश्यप र गजलका बारेमा एउटा मुक्तक र एउटा गजल लेखेर सुनाएका थिए  । कवि, गजलकार तथा उपन्यासकार घनश्याम पथिकले काश्यप र उनका गजल दुवै अनुशासित रहेका र आफ्नो धर्म दुवैले निभाएका बताए ।

नेपाली गजल लेखन परंपरामा ३ धार देखिएका र ३ वटै धारका आआफ्नै वैशिष्ट्य रहेका उल्लेख गर्दै पथिकले काश्यपका गजल मध्य धारमा रहेका बताए । नेपाली गजलमा बहरबद्ध, स्वनिर्मित गीति तथा लोकलय र मुक्तलयका धार रहेका भन्दै काश्यपका गजल स्वनिर्मितगीति तथा लोकलयमा लेखिएका बताए ।

गजलका न्यूनतम अनुशासनमा रहन भरमग्दुर प्रयत्न गरेका काश्यपका गजलमा समसामयिक विषयदेखि प्रेम प्रणय र मानवीय दुष्चरित्रका प्रसंगसमेत आएका पथिकको आशय थियो ।

धेरै मात्रामा गजल लेखिए तापनि अझै नेपाली साहित्यको मूलधारमा स्थापित हुन संघर्ष गरिरहनुपर्ने अवस्था अन्त्य गर्न गजल स्रष्टाहरू नै जिम्मेवार हुनुपर्ने पथिकको धारणा थियो ।