लोकसंवाद संवाददाता | समाचार | मंसिर ०२, २०८१
नारायणगढ । चितवनको नारायणगढमा रहेको पल्लव साहित्य प्रतिष्ठानले वरिष्ठ कवि तथा समालोचक प्रा.डा. देवी नेपाललगायतका नौ जना स्रष्टाहरूलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरेको छ । वरिष्ठ स्रष्टा, समालोचक तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार डा. महेन्द्रकुमार मल्लको प्रमुख आतिथ्यमा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित पुरस्कार तथा पल्लव साहित्य सम्मान अर्पण (पल्लव कुम्भ) समारोहमा प्रा.डा. देवी नेपाललाई ‘बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१’ प्रदान गरिएको हो ।
उक्त समारोहमा प्रसिद्ध लोकगायिका हरिदेवी कोइराला (पोखरा) लाई ‘युसुफदिन–हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८१’, दैलेखका लोकसाहित्य र संस्कृतिका अध्येता ओम रिजाललाई ‘शेषनाथ लामिछाने स्मृति लोकसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१’, नुवाकोटकी प्रखर स्रष्टा भैरवी भूगोललाई ‘युसुफदिन–हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१’, सुर्खेतका युवा गजलकार धीरेन अनुपमलाई ‘केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१’, झापाका अग्रज स्रष्टा ज्ञानराज सुवेदीलाई ‘केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१’, चितवनकी स्रष्टा उमा कार्कीलाई ‘काजीमान तथा नन्दकुमारी–शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८१’, पर्वतका स्रष्टा विमलप्रसाद पौडेललाई ‘मीना–रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१’ र चितवनकै स्रष्टा चिरञ्जीवी दाहाललाई ‘मीना–रत्न साहित्य बालसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०८१’ प्रदान गरिएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कवि तथा गजलकार हुसेन खाँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. महेन्द्रकुमार मल्लले कला साहित्यका साधकहरूको सम्मानले देशको साहित्य, कला र संस्कृतिको उन्नयनका लागि प्रोत्साहन मिल्ने विचार व्यक्त गर्नुभयो । उहाँले पल्लवले देशभरका स्रष्टाहरूलाई खोजी खोजी हरेक वर्ष प्रदान गर्दै आएको सम्मान र पुरस्कारलाई हेर्दा राज्यको तहमा गरिने कार्यक्रमहरूभन्दा गुणात्मक महत्त्वका दृष्टिले यो निकै माथि रहेका कुरामा जोड दिनुभयो । पुरस्कृत व्यक्तित्व प्रा.डा. देवी नेपालले प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खेसाइँलोले आफू मात्र नभएर सिङ्गो परिवारलाई नै नेपाली भाषा साहित्यको सम्मानमा समर्पित गराएर एउटा उदाहरणीय इतिहास रचेको र अध्यक्ष लामिछानेद्वारा आफ्ना बुबाआमाका नाममा स्थापित पुरस्कार आफूलाई प्रदान गरिएकामा धन्यवाद व्यक्त गर्दै यसले आफूलाई निरन्तर अक्षरको पुजारी बनिरहन प्रेरित गरेको विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा प्रसिद्ध लोकगायिका हरिदेवी कोइरालाले लोकगीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो भने सम्पूर्ण सम्मानित तथा पुरस्कृत प्रतिभाहरूले आआफ्ना शुभेच्छाका साथमा रचना वाचनसमेत गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथिबाट ‘पल्लव’ पत्रिकाको २८ औँ अङ्कको विमोचनसमेत भएको थियो । कार्यक्रममा भरतपुर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति इन्द्रनारायण रेग्मी र रत्ननगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष बाबुराम घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो भने देशका विभिन्न ठाउँबाट आउनुभएका डमरुवल्लभ भण्डारी र लीलानाथ सिलवाल (सुनसरी), शिव त्रिपाठी (पोखरा), कृष्णशरण उपाध्याय (तनहुँ), रसज्ञ छहरा (नवलपुर), सीता अधिकारी (बारा) लगायत चितवनका स्रष्टाहरू विदुर अधिकारी, होमनाथ घिमिरे, राजेन्द्र घायल, पुष्प अधिकारी अञ्जलीले आआफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने आफैँले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा हाल क्यानाडा निवासी यादव सापकोटाले पल्लवलाई अब चितवन र नेपालमा मात्र सीमित नगरेर विश्वव्यापी बनाउने घोषणा गर्नुभएको र आगामी दिनमा यस प्रतिष्ठानको सक्रियता अझै व्यापक हुँदै जाने कुराको जानकारी अध्यक्ष गोर्खेसाइँलोले दिनुभएको छ ।