लोकसंवाद संवाददाता | समाचार | मंसिर ०४, २०८१
काठमाडाैँ । लामो समय सरकारी सेवामा बिताएका स्रष्टा देवेन्द्र के. सी. ‘देवु’ का २ कृति ‘दृढ संकल्प’ र ‘देवु’ एक समारोहमा सार्वजनिक भएका छन् । सोमबार के. सी.को चौथो मुक्तक कृति ‘दृढ संकल्प’ र तेस्रो गीति एल्बम ‘देवु’ लोकार्पण गरिएको हो ।
कवि एवं गीतकार पूर्वमन्त्री एस. पी. कोइराला, कवि एवं गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, कवि, गजलकार एवं समालोचक घनेन्द्र ओझा, प्रकाशक चन्द्रा के. सी.लगायतले उक्त कृतिहरूको विमोचन गरेका थिए ।
समालोचक ओझाले देवेन्द्रका सिर्जनामा आफू जन्मिएको र हुर्किएको स्थान गण्डकी क्षेत्रको प्रकृति, लोक संस्कृति र परंपराका विषय सन्दर्भ नछुट्ने बताए । खरो र दृढ स्वभावका कोमल हृदय भएका व्यक्तिका रूपमा के. सी.लाई परिचित गराउँदै ओझाले उनका रचनाले गिर्दो मानवीयता, भ्रष्टाचार, अनियमितता, राष्ट्रघातमाथि तीव्र र तीखो व्यंग्य गर्दै त्यसमा सुधारको आह्वान गरेका सुनाए ।
बरिष्ठ संगीतकार शक्तिबल्लभले गीति एल्बम ‘देवु’माथि प्रकाश पार्दै देवेन्द्रका गीतमा लोक जीवन झल्कने बताए । सुललित र कोमल गीत लेख्ने के. सी.का प्रस्तुत एल्बमभित्रका गीतले आमश्रोताको हृदय छुने दाबी उनको थियो ।
एल्बममा मुरलीधर, नरहरि प्रेमी, राजनराज शिवाकोटीलगायत ६ जनाको संगीत छ भने नवीन कार्की, समीक्षा अधिकारी, नरहरि प्रोमी, राजनराज शिवाकोटीलगायत ८ जनाको स्वर समावेश छ ।
स्रष्टा के. सी.ले आफूले भोगेको र देखेको जीवन अनि संसारबाटै सिर्जनाका विषय लिएको बताए । लामो समय सरकारी सेवामा रहेर निवृत्त भएका के. सी.ले जागिरे जीवनका प्रसंगहरू पनि आफ्ना रचनामा आएका सुनाए ।