बाबुहरि ज्ञवाली | जीवनदर्शन | जेठ ३२, २०७६
प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान् ।
आत्मन्नेवात्मना तुष्टः स्थितप्रज्ञ स्तदोच्यते ।। ५५
भावार्थ – कृष्ण भगवान्ले भन्नु भयो – हे अर्जुन ! योगी जब मनोगत सम्पूर्ण वासनाहरूलाई त्याग गरेर स्वयं आफू आफैंमा सन्तुष्ट रहन्छ, त्यस्तो अवस्थामा उसलाई स्थितप्रज्ञ भनिन्छ ।
विशिष्टार्थ – योगावस्था भोगिसकेपछि मन तल ओर्ले पनि योगीको लक्ष्य आत्म क्षेत्रमा नै रहन्छ अरू तल्लो स्तरमा उत्रदैंन, अनि जगत् आत्ममय भएको हुनाले ऊ आफूमा आफै रहने हुन्छ अर्थात् आफ्नो स्वरूपमा स्थित रहन्छ । त्यस कारण त्यहाँ विषयभोग गरेर दूषित भएको कुनै कामना नै पुग्न सक्दैन । यस्तो अवस्था प्राप्तिलाई नै स्थितप्रज्ञ भनिन्छ ।
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
बीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते ।। ५६
भावार्थ – दुःखमा, जसको मन उद्विग्न हुँदैन, जो सुखमा पनि स्पृहाशून्य छ, जुन मनुष्य अनुराग, भय र क्रोधले रहित छ त्यस्तो मननशील व्यक्तिलाई स्थितप्रज्ञ भन्दछन् ।
विशिष्टार्थ – संसारमा जसलाई सुख र दुःख भनिन्छ त्यो त्यस योगीमा रहँदैन, किन कि विषयलाई लिएर नै संसारमा सुख र दुःख हुन्छ । त्यस्तो पुरुष विषयमा रहँदैन त्यसैले उसमा राग, भय र क्रोधको स्थान पनि रहँदैन । त्यस्ता व्यक्तिको मन विश्वव्यापी परमात्मामा संलीन रहन्छ त्यसैले त्यो योगी हो, मुनि हो । मनको प्रबुद्ध अवस्था जीव हो, संलीन अवस्था ईश्वर हो र प्रलीन अवस्था शिव वा ब्रम्ह हो । स्थितधी पुरुष ईश्वर हो, भावापन्न हो ।
मनको प्रबुद्ध अवस्था जीव हो, संलीन अवस्था ईश्वर हो र प्रलीन अवस्था शिव वा ब्रम्ह हो । स्थितधी पुरुष ईश्वर हो, भावापन्न हो ।
यः सर्वत्रानभि स्नेह स्तत्तत्प्राप्य शुभासशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।। ५७
भावार्थ – जुन मनुष्य सबै विषयमा स्नेह शून्य छ, तिनै तिनै शुभ तथा अशुभ विषयलाई प्राप्त गरेर राग अथवा द्वेष गर्दैन, त्यो स्थितप्रज्ञ हो ।
विशिष्टार्थ – सबै नै ब्रम्हमय भएपछि उसलाई ‘अहं’ (म) को मात्र ज्ञान रहन्छ । हाम्रो भन्ने ज्ञान रहँदैन । ऊ हमेशा भावावस्थामा रहन्छ अतः अभाव उसमा आउँदै आउँदैन । अतः उसमा शुभ अशुभ पनि हुँदैन, निरानन्द तथा आनन्द पनि हुँदैन ।
यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्य स्तस्य प्रज्ञा प्रतिष्ठिता ।। ५८
भावार्थ – कछुवाले जसरी आप्mना अंगलाई आफ्नो खोलभित्र खुम्च्याउँछ त्यसरी नै योगीले जब विषयबाट आफ्ना इन्द्रियलाई खीच्दछ तब उसको प्रज्ञा प्रतिष्ठिता हुन्छ ।
विशिष्टार्थ – चक्षु प्रभृति पाँच ज्ञानेन्द्रियहरु हमेसा बहिर्मुख रहेर शब्द–स्पर्शादि बाह्य विषयको भोग गर्दछन् । यी सबै इन्द्रियहरूलाई बाहिरबाट समेटेर ल्याएर (जस्तो–जिब्रोलाई उल्टाएर, दृष्टिलाई ऊध्र्वमा स्थिर गरेर काय–शिर–ग्रीबा समान गरेर इत्यादि) यी सबैको शक्तिलाई मनोयोगद्वारा अन्तर्मुखी बनाउनाले एक प्रकारको अभ्दुत गन्ध रस, रूप, स्पर्श र शब्दको उपभोग हुन्छ, त्यसबाट तत्व समूहको ज्ञान लाभ हुन्छ, अनि गन्ध रसमा, रस रूपमा, यस्तै गरी सबैलाई समेट्दै जाँदा एक मात्र शब्दमा परिणत हुन्छ । तब अन्तःकरण त्यही शब्दमा आकृष्ट भएर क्रिया विशेषद्वारा परमात्मामा समाहित हुन्छ । यो समेटिनुको चरम अवस्था आउनाले नै प्रज्ञा प्रतिष्ठिता हुन्छ ।
विषयमा विनिवर्तन्ते निराहारस्य देहिनः ।
रसवर्जे सरोऽप्यस्य परं दृष्ट्या निवर्तते ।। ५९
भावार्थ – आहार विहीन मनुष्य (देही) जीवको मात्र विषय भोगको निवृत्ति हुन्छ, भोगवासना रहिरहन्छ, किन्तु परमात्मा दर्शन भएपछि स्थितप्रज्ञको भोग वासनाको पनि निवृत्ति हुन्छ ।
विशिष्टार्थ – इन्द्रियहरूद्वारा विषय ग्रहण गर्नुको नाम ‘आहार’ हो । यो आहार नभएर देहामिमानको विद्यमानता हो अर्थात् ‘म देही’ मनमा यो धारणा रहन्छ । यसरी साधक शब्द स्पर्शादि विषयहरुको भोगबाट अभिभूत भएपछि तिनीहरूको त्याग हुन्छ पनि । (किन कि कर्मको स्वाभाविक फल भन्दा माथि पुग्नाले एक प्रकारको समाधि भोगबाट विषयज्ञान मेटिन्छ) । किन्तु देहाभिमान–पाशको बन्धन रहनाले उसको बुद्धि व्यावसायात्मिका हुँदैन, त्यसकारण विषय भोगको रस मनमा रहिरहन्छ, भुल्न सक्दैन । भोगका विषयहरू देख्दैमा उसको मनमा भोगाकांक्षा फेरि जाग्छ । किन्तु लययोग गरेर जुन व्यक्तिले एक पटक विष्णुपद लाभ गरेको छ उसको चित्ताकाशमा सदाकाल ब्रम्हतेज उभ्दासित भैरहन्छ, अर्को दोस्रो कुनै तेज त्यहाँ प्रतिफलित हुन सक्दैन । यसरी उसमा, विषय पनि रहँदैन, रसको आकांक्षा पनि रहँदैन ।
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः ।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ।। ६०
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।। ६१
भावार्थ – हे कुन्तीनन्दन ! इन्द्रियहरू उत्तेजित भएर, हिताहित ज्ञान सम्पन्न यत्नशील पुरषहरुको मनलाई बलपूर्वक हरण गर्दछन्, त्यसकारण कर्मयोगीले ती सबै इन्द्रियहरुलाई नियन्त्रणमा लिएर ममा समर्पित भएर रहोस् । इन्द्रियहरु जसको वशीभूत छन् प्रज्ञा उसैको स्थिर हुन्छ ।
विशिष्टार्थ – इन्द्रियहरू कर्मेन्द्रिय र ज्ञानेन्द्रिय गरी दस छन् । यिनीहरू बाह्य विषयसंग सम्बन्ध नराख्दा पनि आफ्ना स्वाभाविक वृत्तिले स्वतः क्रियामुखी हुन्छन्, अनि अन्तःकरणमा एक प्रकारको पीडा उत्पन्न गर्छन्, बिस्तारै बिस्तारै क्रिया गर्ने प्रबल इच्छा जगाएर हृदयलाई मन्थन गरिरहन्छन् । यो इन्द्रियहरूको धर्म हो, त्यसैले यिनलाई प्रमाथी भनिन्छ । जसले समुदयतत्व विषयलाई बुझेर कर्तव्य र अकर्तव्य के हो भन्ने कुरा त छुट्याएको छ परन्तु अनुष्ठानद्वारा इन्द्रियहरूलाई आफ्नो नियन्त्रणमा लिन अझै सकेको छैन तर पनि नियन्त्रणमा लिने यथानियम चेष्टा गरिरहेको छ, उसलाई यत्नशील विपश्चित् भन्दछन् । यस्ता विवेकी साधकको मन पनि इन्द्रियहरूका विषयप्रति आकृष्ट हुन्छ । त्यसकारण योगीहरू इन्द्रियलाई संयत गरेर मनै मनले भोगका विषयहरूबाट ती सबैलाई हटाएर मत्पर हुन्छन् अर्थात् मनद्वारा सम्पूर्ण इन्द्रियहरूलाई बांधेर हिरण्मय पुरुषमा दृढ आवद्ध रहन्छन् अर्थात् व्यावसायात्मिका बुद्धियुक्त हुन्छन् । यदि त्यस अवस्थामा मत्पर नभएर प्रकृतिपर हुन्छन् भने इन्द्रियहरूले त्यस्ताको मनलाई जवर्जस्ती वशमा लिन्छन् नै, परन्तु मत्पर भएपछि मनमाथि ती सबैको अरू कुनै शक्ति रहँदैन । त्यसैले भनिन्छ – जसका इन्द्रियहरू वशमा छन् उसको प्रज्ञा प्रतिष्ठता हुन्छ ।
ध्यायतो विषयान् पुंसः संगस्तेषूपजायते ।
संगात् संजायते कामः कामात् क्रोधोऽभिजायते ।। ६२
क्रोधाम्दवति सम्मोहः सम्मोहात् स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात् प्रणश्यति ।। ६३
भावार्थ – विषयहरूको चिन्तन गर्नाले पुरुषको त्यसै विषयमा आसक्ति उत्पन्न हुन्छ, आसक्तिले काम तथा कामले क्रोध उत्पन्न हुन्छ, क्रोधबाट सम्मोह हुन्छ, मोहबाट स्मृति विलोम, स्मृति विलोमबाट बुद्धिनाश तथा बुद्धिनाशबाट प्राणनाश (मृत्यु) हुन्छ ।
विशिष्टार्थ – इन्द्रियलाई नियन्त्रणमा राखिराख्नु पर्छ, चाहे जे कर्म गर यदि मन मत्पर नभएर विषयपर अर्थात् शब्द स्पर्शादि विषयको अवलम्वन गर्न तिर लाग्छ भने मन आफ्नो स्वभाव वृत्ति अनुसार पानीमा दूध मिले जस्तै विषयसंग मिल्दछ, त्यस हेलमेल रूप संगले काम अर्थात् प्राप्तिको इच्छा बलियो बन्छ । त्यस इच्छा रूप आशा मायाविनीको बन्धनबाट त्यो मुक्त हुन सक्दैन । धन, ऐश्वर्य तथा भोगका साधनहरू जति प्राप्त गरे पनि अरू अधिक प्राप्त गर्ने इच्छा बढ्दै जान्छ । ऊ आफ्नो आकांक्षाको पूर्ति कति भयो भनेर सोच्दैन तथापि आकांक्षा मेटिंदैन – यसैलाई नै माया भन्दछन् । यस अपूरणीय आकांक्षामा कतैबाट अवरोध हुन गयो भने क्रोध उत्पन्न हुन्छ । क्रोधवाट सम्मोह पैदा हुन्छ अर्थात् कार्याकार्यको विवेक रहँदैन । सम्मोहले स्मृति विभ्रम हुन्छ अर्थात् स्थूल सूक्ष्म कारणातीत वाक्य मनका अगोचर सत् चित्त् आनन्द स्वरूप जुन ‘म’ हुँ त्यसलाई बिर्सेर अनित्य देहादिमा आत्मज्ञान गरेर म, मेरो यो ज्ञान रूप भ्रम बन्धनमा पर्दछ । यसरी भ्रममा पर्दा बुद्धिनाश हुन्छ अर्थात् ‘म’ नैै ‘म’ यो निश्चयात्मिका बुद्धि अर्थात् स्थिर विश्वासनाश भएर संसयात्मिका वृत्ति उपस्थित हुन्छ । यस्तो अविश्वासले नै नाश अर्थात् मृत्यु हुन्छ, कारण–अविश्वासीहरूको मन (बुद्धि) प्राणप्रयाणकाल (शरीर त्याग समय) मा व्यावसायात्मिका नभएर पुनः शरीर धारण गर्ने वीजरूप विषय स्मरण गरिरहन्छ ।
रागद्वेष वियुक्तीस्तु विषयानिन्द्रियै श्चरन् ।
आत्मवश्यै विधेयात्मा प्रसादमधि गच्छति ।। ६४
भावार्थ – किन्तु जो संयम चित्त युक्त छ त्यस्तो आत्मवशीभूत व्यक्ति रागद्वेषले विहीन इन्द्रियहरूद्वारा विषयहरू भोग गरेर पनि शान्ति लाभ गर्दछ ।
विशिष्टार्थ – ६२–६४ श्लोकहरूमा पुरुषलाई दुई अंशमा विभक्त गरिएको छ – एक विषय ध्यान गर्ने असंयमित चित्त पुरुष, दोस्रो निष्कामी संयत चित्त पुरुष । असंयमी (६२,६३ श्लोकको क्रम अनुसार) आसक्ति युक्त विषयको चिन्तन मात्रले पनि पुरुषको पतन हुन्छ र (६४ श्लोक अनुसार) संयमी अर्थात् आसक्ति रहित भएर विषयहरूको सेवन गर्ने पुरुषले प्रसाद अर्थात् शान्तिमय विष्णुको परम पदको दर्शन प्राप्त गर्दछ । ‘प्रसादस्तु प्रसन्नता’ ।
प्रसादे सर्वदुःखानां हानि रस्योपजायते ।
प्रशन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।। ६५
क्रमशः
याे पनि
संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल