लोकसंवाद संवाददाता | समाचार | असार ०३, २०७६
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, राजघाटका तपराज अवस्थीले लोकसेवा आयोगको परीक्षाका लागि अनलाइन फाराम भर्न धनगढी धाउन थालेको झण्डै एक साता भइसक्यो । तर, उनले अझै फर्म भर्न पाएका छैनन् । यसको कारण हो- आयोगको साइट नखुल्नु ।
उनी शिक्षातर्फको अधिकृत र प्राविधिक सहायकमा आवेदन दिने तयारीमा थिए । तर, आवेदन नै दिन नपाएपछि आफूले गरेको मेहनत पानीमा बग्ने हो कि भन्ने उनलाई चिन्ता छ । ‘महिनौं मेहनत गरेर पढियो, अहिले फर्म भर्न पाइएन,’ उनले दुखेसो पोखे ।
यसको समाधानका लागि लोकसेवा आयोगले पनि चासो नदेखाएको उनको आरोप छ । ‘समस्या देखिएको साता बित्दा पनि यसको समाधान नहुनु आयोगको बेवास्ता हो,’ उनले भने ।
धनगढी–३, बोराडाडीकी सावित्री कुमारी जोशी पनि फर्म भर्न नपाउँदा हैरान छिन् ।
यी त प्रतिनिधि पात्र मात्र हुन्, लोकसेवा आयोगको साइट नखुल्दा थुप्रैले फर्म भर्न पाएका छैनन् ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि आयोगको साइट खुल्न समस्या देखिएको बताएका छन् । केही दिनअघि फेसबुकका एक प्रयोगकर्ताले आयोगको साइट खुल्न समस्या भएको आशयको स्टाटस लेखेका थिए ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी केही दिनयता प्रयोगकर्ता बढेकाले लोकसेवाको साइटमा समस्या भएको बताए । उनका अनुसार जेठ ३० देखि साइट नखुल्ने समस्या देखिएको छ । ‘साइटमा थेग्नै नसकिने प्रयोगकर्ता आए, त्यसैले साइट खुल्न समस्या देखियो,’ उनले भने ।
साइट खुल्न समस्याको तत्काल दीर्घकालीन समाधान गर्नुपर्ने र कम्तिमा पनि सात दिन फर्म भर्ने म्याद थप्नुपर्ने अवस्थीको माग छ । ‘सात दिनदेखि साइट नखुल्दा थुपै्र विद्यार्थीले अझै फर्म भरेका छैनन्, त्यसैले कम्तिमा पनि सात दिन फर्म भर्ने म्याद थप्नुपर्छ,’ उनले भने । उनले आफूलाई अहिलेसम्म १०/ १५ जनाले फर्म भर्न नपाएको दुखेसो पोखेको जानकारी दिए ।
सूचना अधिकारी सुवेदीले म्याद थपका लागि आयोगको बैठकले निर्णय गर्ने जानकारी दिए । ‘साइटमा देखिएको समस्याबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘त्यसकारण यो समस्याको समाधानका लागि आयोगले सकारात्मक निर्णय लिनेछ ।’
उनले साइटमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि लगानी बढाउनुपर्ने र पूर्वाधार थप्नुपर्ने बताए ।